धादिङको बांगेपिपलकी पार्वती कार्कीले आफ्नो जीवनमा ऋणको भारी कहिल्यै बिसाउन पाएकी थिइनन्।
सधैं ऋणको चक्रव्यूहमा पिल्सिएकी उनलाई यो ऋणबाट कहिले मुक्ति पाइएला जस्तो लाग्थ्यो। आफूले थाहा पाएदेखि ऋण नभएको कहिल्यै भएन — न बिहेअघि, न बिहेपछि।
'सबभन्दा गाह्रो काम नै ऋण माग्न लाग्छ। तर ऋणमुक्त हुने खोज्दा झन् पटक पटक माग्नुपर्यो,' पार्वतीले भनिन्, 'अहिले आएर बल्ल जीवनमा ऋण मुक्त हुन पाइने भयो।'
पार्वतीको जीवनमा अहिले अप्रत्याशित खुसी आएको छ।
उनी एनसेलले गत असारमा सञ्चालन गरेको ‘सधैं अन करोडपति’ योजनाको बम्पर उपहार विजेता बनेकी छन्। उपहारमा एक करोड रूपैयाँ पाएकी छन्।
उपहारमा पाएको एक करोड रूपैयाँमध्ये २५ लाख रूपैयाँ सरकारलाई कर बुझाएपछि उनको खातामा ७५ लाख रूपैयाँ हुन्छ। यो ठूलो रकमले पार्वतीलाई आफ्नो जीवन सहज बनाउने रहर छ।
'पहिलो काम नै ऋणको भारी बिसाउने हो। लामो समयदेखि बोझ बनेको ऋण अब बिसाउन पाइने भयो भन्ने सोच्दा पनि खुसी लागेको छ,' उनले भनिन्, यो ऋण कहिले सकिएला र सुख पाइएला भन्ने हुन्थ्यो। सबैको ऋण तिर्न पाउने भएँ। दंग छु।'
उनको थाप्लामा अहिले नौ लाख रूपैयाँभन्दा बढी ऋण भएको उनले बताइन्।

पार्वतीले फर्केर विगत हेर्दा उनको जीवनमा खुसी कहिल्यै स्थायी भएन। जब खुसीको वातावरण बन्न खोज्छ, तब केही न केही कारणले भताभुंग हुन्थ्यो।
२०७२ सालको भुइँचालोमा त उनलाई बज्रपात नै पर्यो।
पार्वतीले त्यो भुइँचालोमा एक महिना दुई दिन उमेर पुगेका छोरा गुमाइन्। धन्सारमा सुतिरहेका छोरा गुमाउनु पर्दाका पीडा उनको जीवनभर सायदै कम होला!
त्यो भूकम्पले उनको काखको सन्तान मात्रै खोसेन, भर्खरै बनाएको नयाँ घर पनि ढलायो। कार्की परिवारमाथि एकैसाथ पीडा बजारियो।
पार्वती रोइन्, ओठ र गला सुकाइन्। तर गुमेको सन्तान र सम्पत्ति कहिल्यै नफर्कने गरी बिलाए। उनी र उनको परिवारले यो सबै चुपचाप सहँदै जीवन अगाडि बढाए।
यसपछि कार्की परिवारले जीवन चलाउन झन् धेरै संघर्ष गर्नुपर्यो। ऋण तिर्ने पैसा कमाउन उनका श्रीमान धनबहादुर पटक पटक विदेश गए। तर उनले राम्रो काम पाएनन्। उल्टो शरीरमा रोग थप्दै फर्किन बाध्य भए।
विदेशमा धन कमाएर सुखी जीवन जिउने आशामा डेढ दशकभन्दा बढी बित्यो। तर धन कमिएन।
'श्रीमान धेरै पटक विदेश जानुभयो, ज्यान फालेर काम गर्नुभयो। तर कहिल्यै राम्रो कम्पनी परेन, धन कमाउन सक्नुभएन। कुवेतमा अचेत भई लडेर अस्पताल भर्ना हुनुभयो। शरीरमा अनेक रोग लाग्दै गए। कमाउन विदेश गएको, फर्किँदा उल्टो ऋण थपियो,' पार्वतीले भनिन्।
विदेशबाट फर्केका श्रीमानले नेपाल आएर थप ऋण खोजेर काठमाडौंमा नौ लाख रूपैयाँ लगानीमा पसल सुरू गरे। त्यो पनि चलेन। दुई वर्षपछि ६० हजार रूपैयाँमा बेच्नुपर्ने बाध्यता आइलाग्यो।
यति हुँदा पनि पार्वती धनबहादुरलाई सम्झाउँथिन्— पैसा न हो, गएको चिन्ता नलिनू! आऊला कुनै दिन!
'आफैले आफैलाई झूट बोल्दै एकदिन जसरी सबै फिर्ता आउँछ भन्दै श्रीमानलाई सम्झाउँथेँ,' उनले भनिन्।
यसैगरी उनका कैयौं दिन, महिना र वर्ष बिते। तर प्रत्येक पटकको प्रयासमा उनले पाउनेभन्दा गुमाउनेको अंश बढी हुन्थ्यो। जति प्रयास गर्दा पनि उनले भने जस्तो प्रतिफल पाइनन्।
झन्डै डेढ दशकमा पार्वती र उनको परिवारले सबै प्रिय चिज गुमायो।
यसरी चारैतिर अन्धकार जस्तै थियो।
'यही बेला उपहार पाएँ। अब ऋण तिर्न बुढाको रोगी शरीर घोटिनुपर्दैन होला,' उनले भनिन्, 'सम्झिँदा पनि मन शान्त हुन्छ।'

अब ऋण तिरेर बचेको पैसाले केही उद्यम गर्ने सोच छ उनको।
'यो पैसा राम्रो ठाउँमा सदुपयोग गर्न सकियो भने भोलिका दिन सहज हुन्छ भन्ने थाहा छ। त्यसैले अब श्रीमानलाई नेपालमै राखेर दुवै जना काम गर्छौं,' उनले भनिन्।
उनका एक छोरा छन् जो प्लस–टु पढिरहेका छन्। बाँकी पैसा छोरालाई पढाउन पनि खर्च गर्ने पार्वतीले बताइन्।
धदिङबेसीबाट सल्यानटार हुँदै गंगाजमुना गाउँपालिका–६ बांगेपिपल आइपुगेकी उनको त्यहाँ अहिले सानो घर छ। नियमित आम्दानीको स्रोत छैन। महिला स्वयंसेवकका रूपमा थोरै रकम भत्ता आउँछ।
जीवनभर संघर्ष गरेकी पार्वती अब नयाँ शिराबाट सुरू गरेर अगाडि बढ्न चाहन्छिन्।
'अब केही दिगो हुने काम गर्ने हो। उपहार पाएर मेरो जीवन नै बदलिएको छ। गाउँभरि हाइहाइ गरे। करोडपति आई, करोडपति गई भन्छन्। साह्रै रमाइलो लागेको छ,' पार्वतीले हाँस्दैभनिन्।