कुनै समय हाँस्ने, खेल्ने १६ वर्षीया झरना आजकल उदास र चुपचाप रहन थालेकी थिइन्। केही दिनअघि, भवन निर्माणमा काम गर्दा लडेर उनकी आमाको मृत्यु भएको थियो।
उनका बुवाको त्यसअघि नै मृत्यु भइसकेको थियो। अब ऊ बस्ने कोठामा झरनाबाहेक कोही थिएन। यो एक्लोपन उनको दुःखको कारण बनेको थियो।
आमाको मृत्युपछि एक दिन उनले ठेकेदारलाई भनिन्, 'हजुर, यदि तपाईंले हुन्छ भन्नुभयो भने म मेरी आमाको ठाउँमा काम गर्न चाहन्छु...।'
'हुँदैन ... हुँदैन, तिमी अझै सानै छौ, म तिमीलाई काम दिन सक्दिनँ।'
'सर, उमेरले के फरक पार्छ? यदि तपाईंले मलाई काम दिनुभएन भने, म कहाँ जाऊँ? मेरो कुनै सहारा छैन, या त मैले भिख माग्नु पर्नेछ वा पाइला पाइलामा ठक्कर खाँदै भौंतारिनु पर्नेछ। यस्तोमा मानिसहरूले मलाई चिथोरी चिथोरी खानेछन्। यदि तपाईंले मलाई मेरी आमाको ठाउँमा काम दिनुभयो भने, मेरो दुई छाकको व्यवस्था गर्न सक्षम हुनेछु र बस्नको लागि यो कोठा पनि हुनेछ। भगवानले पेट दिनुभएको छ भने, मैले त्यो भर्नुपर्छ, सर।'
'ठिक छ, तिमीले भनेको कुरा ठिकै हो। तिमी आफ्नी आमाको ठाउँमा काम गर्न सक्छौ तर कसैले तिम्रो उमेर सोध्यो भने १८ वर्ष भन्नु नि। तिम्रो नाम के हो ?'
'मेरो नाम झरना हो।'
'ठिक छ, जाऊ, भोलिदेखि काम गर्न आउनू।'
'हुन्छ सर, हजुरलाई धन्यवाद।'
अब झरना आफ्नी आमाको ठाउँमा काम गर्न जान थालिन्। उनको छेउको कोठामा लक्ष्मी काकी पनि एक्लै बस्थिन्। उनी पनि आफ्नो जीविकोपार्जनको लागि त्यही निर्माणाधीन भवनमा काम गर्थिन्। उनको एक छोरी सबिना थिइन्, जसलाई उनले एक वर्षअघि विवाह गरिदिएकी थिइन्। काम पाएपछि झरना खुसी थिइन्। फुर्सद भएपछि उनी लक्ष्मी काकीलाई भेट्न जान्थिन्। लक्ष्मी काकीले पनि उनलाई धेरै माया गर्थिन्।
एकदिन लक्ष्मी काकीले थाहा पाइन् कि उनकी छोरी सबिनाको लोग्नेले उनलाई हरेक दिन कुटपिट गर्छ। लक्ष्मी काकीलाई यो कुराले चिन्तित बनायो। त्यसैले उनी केही दिनको लागि छोरीको घरमा गइन्। उनले सोचेकी थिइन् कि उनी त्यहाँ गएर ज्वाइँलाई सम्झाउनेछिन्, सायद सबै कुरा मिल्नेछ। लक्ष्मी काकीले त्यहाँ गएर ज्वाइँलाई धेरै सम्झाइन् र लगभग दस-बाह्र दिनमा फर्किइन्।
फर्केको केही दिनमै लक्ष्मी काकीले झरनाको स्वभावमा केही परिवर्तन भएको महसुस गरिन्। अब ऊ पहिले जस्तो झरना रहिनन्। यस्तो लाग्थ्यो कि उसको हाँसो र खुसीले उसलाई एक्लै छोडेर गइसकेको थियो। लाग्थ्यो निराशा र उदासिपन उसको नयाँ साथी बनेको थियो। एक दिन उनले झरनालाई सोधिन्, ' झरना तिमीलाई कुनै समस्या छ? हिजोआज तिमी किन यति दुखी देखिन्छौ? सबै ठिक त छ?'
'सबै ठिकै छ काकी, कहिलेकाहीँ आमालाई सम्झन्छु त्यसैले नरमाइलो लाग्छ।'
'नानी, तिमीले आमालाई सम्झनु ठिकै हो तर तिमी कहिलेसम्म यसरी दुःखी र निराश रहन्छौ? हाम्रा ठेकेदार धेरै राम्रो हुनुहुन्छ, उहाँले तिम्रो उमेर सानो भए पनि तिमीलाई काममा राख्नुभयो, नत्र तिम्रो दुःखमा कसले साथ दिन्छ। हाम्रा ठेकेदार धेरै दयालु हुनुहुन्छ, भगवानले उनलाई सधैं खुसी राखून्।'
झरना काकीको कुरा चुपचाप सुनिरहेकी थिइन्, त्यसपछि केही नभनी आफ्नो कोठामा गइन्। लक्ष्मी काकीले मनमनै सोचिरहेकी थिइन् ... ऊ सानै छे, निर्दोष, उसले अझै पनि आफ्नी आमाको मृत्युको पीडा बिर्सन सकेकी छैन। अनि इँटा बोकेर माथिसम्म लैजाने बानी पनि छैन। बिचरी केटी थाकेको हुनुपर्छ।
विस्तारै पाँच महिना बित्यो, झरनाको शरीरमा परिवर्तन हुँदै गयो। उनी कम्मरमा पटुको प्रयोग गरेर आफ्नो पेट लुकाउने प्रयास गर्थिन् तर छेउमा बस्ने अनुभवी लक्ष्मी काकीले बुझिन् कि केही नराम्रो भएको छ। झरना यसरी निराश हुनुको कारण उनकी आमा होइन अरू नै केही कारण थियो। लक्ष्मी काकीले झरनालाई ध्यानपूर्वक हेरिन् र यो कुरा लुकाउने र अन्त्य गर्ने समय बितिसकेको पनि बुझिन्।
अब केही गर्न सकिँदैनथ्यो। यस बारेमा झरनालाई सोध्ने हिम्मत जुटाउन सकिरहेकी थिइनन्। तै पनि उनले झरनाको हेरचाह गर्न थालिन्। उनले सोचिन् कि उनी एक निर्दोष बालिका एक्लो कसैले उनलाई ललाइफकाइ फसाएर यो कुकर्म गरेको हुनुपर्छ। भगवानले त्यो पापीलाई कहिल्यै क्षमा नगरोस्।
अन्ततः एक दिन लक्ष्मी काकीले झरनालाई सोधिन् 'नानी, त्यो को हो? जसले तिमीलाई यो अवस्थामा पुर्यायो। मलाई उसको नाम भन म तिम्रो विवाह उसैसँग गराइदिनेछु।'
झरनाले यो प्रश्नको जबाफ दिइनन्। काकीले त्यो व्यक्तिको नाम जान्न धेरै पटक प्रयास गरिन् तर झरनाले सुइँ र धागोले आफ्नो ओठ सिलाएको जस्तो लाग्थ्यो। लक्ष्मी काकीले बारम्बार सोध्दा सोध्दा थाकिन् तर उनले झरनाको ओठको एउटा पनि टाँका खोल्न सकिनन्।
गर्भवती झरना इँटाले भरिएको डोको बोकेर सिँढी चढ्दै र ओर्लँदै गइन्। समय बित्दै गयो, झरनाको हाँस्दो खेल्दो बालापन स्वभाव कतै हराएर गएको थियो। उनी आमा बन्ने उमेरकी थिइनन् तर कसैले उनको गरिबीको फाइदा उठाएर समयभन्दा पहिले नै यो अवस्थामा ल्याएर छोडिदिएको थियो। त्यो पनि केही क्षणको स्वार्थको लागि मात्र।
एक दिन, माथिल्लो तलामा इँटाको डोको बोकेर जाँदै गर्दा, झरनालाई प्रसव पीडा हुन थाल्यो। उनले डोको त्यहीँ छोडिन् र जसोतसो आफ्नो कोठामा आइन्। लक्ष्मी काकीले सिँढीमा इँटाले भरिएको डोको लडेको देखेर डराएकी थिइन्। उनले वरिपरि हेरिन् तर झरनालाई कतै भेटिनन्। उनी तुरून्तै कोठामा आइन्। त्यहाँ पुग्दा, उनले झरनालाई प्रसव पीडाले छटपटाइरहेको देखिन्। आफ्नो अनुभवको प्रयोग गर्दै, उनले सफलतापूर्वक झरनाको प्रसूति गराइन्। झरनाले एउटा छोरा जन्माइन् जुन एकदमै कमजोर थियो। लक्ष्मी काकीले झरनालाई आमाले जस्तै स्याहार गरिन्। उनले उनको पूरा हेरचाह गरिन्। हेर्दाहेर्दै एक महिना बित्यो।
आज जब लक्ष्मी काकी खाली डोको लिएर ओर्लँदै थिइन्, उनी छक्क परिन्। झरना इँटाले भरिएको डोको बोकेर माथि चढिरहेकी थिइन्। यो देखेर उनले भनिन्, 'हे झरना, तिमी यो के गर्दैछौ छोरी? तिम्रो शरीर अझै कमजोर छ, केही दिन पर्ख, तिम्रो बच्चा कहाँ छ?'
झरनाले भनिन्, 'काकी तपाईं पनि बुढी भइसक्नु भएको छ, मलाई कहिलेसम्म तपाईंले यसरी स्याहार... हेरचाह गर्नुहुन्छ? मैले यो कमजोर शरीरलाई बलियो त बनाउनै पर्छ नि। छोरा झोलुङ्गोमा छ, उसले पनि एक्लै हुर्किन सिक्नु छ, काकी। मैले काम गरे भने खान पाउँछु, खाएपछि मात्र उसले दूध पिउन पाउँछ र पेट भरिन्छ।'
झरनाको कुरा सुनेर लक्ष्मी काकीको आँखाबाट आँसु बग्न थाल्यो। उनी थप केही बोल्न सकिनन्। जब उनी तल आइन्, उनले बच्चालाई झरनाको पुरानो साडीको टुक्राबाट बनेको झोलुङ्गो रूखको हाँगामा झुण्डिएको देखिन्। जब ऊ रुन्थ्यो, आउँदा जाँदा झरनाले झोलुङ्गो हल्लाइदिन्थिन्। यदि धेरै रोयो भने, साडीको घुम्टोमा छोपेर दुध चुसाउँथिन् र फेरि काममा फर्किन्थिन्। झरनाको यो संघर्षपूर्ण जीवन देखेर, लक्ष्मी काकीले उनलाई सधैं सोध्थिन्, 'नानी, मलाई भन, ऊ को हो? तिम्रा सबै समस्याहरू समाप्त हुनेछन्।'
झरनाले यसको कुनै जबाफ दिइनन्। लक्ष्मी काकीले सोचिन् कि झरनाको जीवन बर्बाद पार्ने र लुक्ने त्यो व्यक्ति को होला? हरेक दिन उनी कुमारी आमा बनेको तीतो सत्यबाट गुज्रिरहेकी छिन्। लक्ष्मी काकीलाई थाहा थियो कि झरनाको संघर्ष अझ धेरै लामो छ। झरना एक दृढ शक्ति भएकी महिलाको अवतार थिइन् । उनले यो संकटको समयको पनि दृढ भएर सामना गर्नेछिन्।
अर्कोतर्फ, गर्भवती लक्ष्मी काकीकी छोरी आफ्नो लोग्नेको अत्याचार सहँदा सहँदा जीवनदेखि निराश भइसकेकी थिइन्। लोग्नेको अत्याचार सहन गर्न नसकेर उनी लक्ष्मी काकीकहाँ बस्न आएकी थिइन्। झरनाको उनीसँग गहिरो मित्रता थियो। झरना प्रायः उनीसँगै गएर बस्थिन्। उनलाई निराश देखेर, झरनाले धेरै तरिकाले सम्झाउँथिन्। सबिना पाँचौं महिनामा थिइन्।
एक दिन उनले झरनालाई भनिन्, 'झरना, मेरो लोग्ने अति क्रूर छ। उसले भन्दै थियो कि यदि छोरी जन्माएँ भने, उसले मारिदिनेछ। त्यसैले म उसको नजिक जान डराउँछु। ऊ हरेक दिन मादक पदार्थ सेवन गरेर घर आउँछ र मसँग क्रूर व्यवहार गर्छ। म मेरो जीवनबाट थकित भएको छु। मलाई लाग्छ यस्तो जीवन भन्दा मृत्यु राम्रो हो। यदि मैले छोरी जन्माएँ भने, उसले यहाँ आएर मेरो बच्चालाई मार्नेछ। त्यस्तो हुन दिनु भन्दा मैले मेरो जीवन समाप्त गर्नु नै राम्रो हो।'
'के भन्दैछौ सबिना? तिमी यहाँ आमासँग छौ, तिमी डराउनु पर्दैन। एउटा बेकार, क्रूर व्यक्तिको लागि तिमी किन आफू र आफ्नो बच्चाको जीवन समाप्त गर्न चाहन्छौ?'
त्यही बेला लक्ष्मी काकी कोठामा छिरिन् र उनीहरूको कुराकानी सुनिन्। उनले सबिनालाई भनिन् 'छोरी, अब तिमी सधैं यहाँ मसँगै बस्नेछौ। उसको हातबाट दिनहुँ कुटाइ खाएर आफ्नो जीवन नर्क बनाउनु पर्दैन।'
केही महिनापछि सबिनाले एउटी सुन्दर छोरीलाई जन्म दिइन्। उनको लोग्नेले यो कुरा कतैबाट थाहा पायो। थाहा पाउने बित्तिकै ऊ लक्ष्मी काकीको घरमा आयो। त्यतिबेला झरना पनि सबिनाको नजिकै बसिरहेकी थिइन्। सबिनाको लोग्नेलाई देखेर झरना त्यहाँबाट निस्कन लागेकी थिइन्। डराएर सबिनाले झरनाको हात समातेर रोकिन्। आउने बित्तिकै सबिनाको लोग्नेले आफ्नो वास्तविक रूप देखाएर कराउन थाल्यो 'छोरी जन्मियो, मैले भनेको थिएँ, छोरी नजन्माउनू भनेर।' उसले झरनालाई तर्फ हेर्दै भन्यो 'थाहा छैन छोरीहरू कलंक हुन् भन्ने कुरा।'
यो उपहास सुनेपछि झरना अवाक भइन्। लोग्नेको कुरा सुनेर सबिना रुन थालिन्। यसैबीच, लक्ष्मी काकी पनि त्यहाँ आइपुगिन्। छोरी रोएको देखेर र ज्वाइँले यस्तो कुरा भनेको सुनेर रिसले सीमा नाघेको थियो। उनले ज्वाइँ भनाउँदोलाई धकेलेर कोठाबाट बाहिर निकाल्दै भनिन्, 'आइन्दा मेरो घरतिर पाइला नटेक्नू र मेरी छोरीलाई नहेर्नू नत्र म प्रहरी बोलाएर थुनाइदिनेछु।'
प्रहरीको नाम सुन्ने बित्तिकै ऊ डरायो र त्यहाँबाट गयो। सबिना बेस्सरी रोइरहेकी थिइन् र भनिरहेकी थिइन्, 'अब म के गरूँ? बच्चालाई कसरी हुर्काऊँ? मसँग त्यति ताकत पनि छैन।'
झरनाले काखमा खेलिरहेको आफ्नो छोरालाई देखाउँदै भनिन्, 'सबिना, हेर, तिम्रो छोरीलाई बुबाको नाम त छ, तिम्रो लक्ष्मी काकी हुनुहुन्छ। मेरो बच्चाको बुबाको नाम पनि छैन। मेरो वरिपरि कोही छैन। भगवानले हामीलाई जुन जीवन दिनुभएको छ, हामीले जतिसुकै दु:ख र पीडामा भए पनि त्यसलाई पूर्ण रूपमा बाँच्नुपर्छ। जसले मेरो बाध्यताको अनुचित फाइदा उठाएर मलाई अविवाहित आमाको रूपमा छोडिदियो। म मेरो जीवनमा उसको फोहोरी नाम मेरो ओठमा कहिल्यै आउन दिने छैन। म त्यो व्यक्तिलाई घृणा गर्छु, र छोरालाई उसको नाम दिनु त धेरै टाढाको कुरा हो। तिम्रो श्रीमानले मलाई दिएका गालीहरू, यस्ता गालीहर"बाट म धेरै पटक शिकार भइसकेको छु।
उसले मेरो इच्छा विपरीत ममाथि जबरजस्ती गर्यो। मैले केही गर्न सकिनँ सबिना, तिमीले भन यसमा मेरो के गल्ती थियो? लक्ष्मी काकी त्यसदिन कोठामा थिइनन्। उनी तिमीलाई भेट्न गएकी थिइन्। यहाँ म एक्लै थिएँ। ऊ रातमा आयो र निर्दयी रूपमा मलाई आफ्नो शिकार बनायो। म रोएँ, बिन्ती गरिरहेँ तर उसलाई कुनै असर भएन। यस्तो लाग्थ्यो कि मेरो शरीर उसको हो, उसले मेरो चीरहरण गर्यो।
आफ्नो वासना पूरा गरेपछि ऊ फेरि कहिल्यै मकहाँ आएन तर मलाई आफ्नो निशानी छोडेर गयो। मैले बुझ्न पनि सकिनँ कि मभित्र कोही हुर्किँदैछ, कसैले आकार लिन थालेको छ। सबिना, मसँग जे भयो त्यो अरू कसैसँग कहिल्यै नहोस्। मेरो गल्ती थिएन तर मानिसहरूले मलाई चरित्रहीन र वेश्या भन्न थाले। त्यसलाई के भो र जसले मलाई मानिसहरूको नजरमा चरित्रहीन बनाएर छोड्यो। सबिना, मैले हिम्मत हारेको छैन किनकि मलाई थाहा छ कि म निर्दोष छु । गल्ती त्यो जनावरको हो, चरित्रहीन त त्यो हो । सबिना, यो लडाईमा म एक्लै थिएँ । मेरो कोही नभए पनि, लक्ष्मी काकीले मलाई सहारा दिइन् । उनी तिम्री आमा हुन् र आमाको सहारा सबैभन्दा ठूलो हुन्छ ।'
सबिनाले झरनाको कुरा सुनेर रूँन छोडिन्। उसलाई अचानक साहस बढेको जस्तो लाग्यो। झरनाको साहस र जोश देखेर उनी छक्क परिन्। सबिनाले अचम्म मान्दै झरनालाई हेरिरहिन्।
ज्वाइँलाई लखेटेपछि बाहिरै उभिरहेकी लक्ष्मी काकीले आज पहिलो पटक झरनाको मुखबाट उसले छातीभित्र लुकाएर राखेको सत्य थाहा पाइन्। यो सबै सुनेर, उनले आफ्नो आँसु थाम्न सकिनन् किनकी आजसम्म मनमनै झरनालाई यो गल्तीको दोषी ठानिरहेकी थिइन्। आज उनले यस कुरामा पश्चाताप गरिरहेकी थिइन् किनकी यस्तो पनि हुन सक्छ भनेर उनले कहिल्यै सोचेकी थिइनन्। आफू नारी भएर पनि उनले सधैं झरनालाई शंकाको घेरामा राखिन्।
झरनाले निराश सबिनालाई आफ्नो सकारात्मक सोचले बाँच्ने नयाँ बाटो देखाइन्।
सबिनाले सोधिन्, 'झरना, आखिर तिमीलाई यति धेरै साहस कसरी आयो?'
'सबिना, मलाई पनि इनार वा पोखरीमा हाम फालेर मर्न वा यो बच्चालाई मारिदिने मनमा विचार नआएको होइन तर मैले आफैलाई नियन्त्रण गरें। मैले सोचेँ कि भगवानले मेरो गर्भमा एउटा जीवन राखिदिनुभएको छ। यसको जीवन समाप्त गर्ने अधिकार पनि उहाँलाई छ, मलाई होइन। म यसलाई मारेर हत्यारा बन्न चाहन्नथें। आफूलाई मारेर म संसारसँग हार्न चाहन्नथें। यदि म चाहन्थें भने, म यहाँबाट टाढा कतै जान सक्थें तर मैले त्यसो गरिनँ। मलाई यो अवस्थामा पुर्याउने व्यक्तिलाई देखाउन चाहन्थें कि उसको दुई क्षणको आनन्दको लागि, उसले मलाई जीवनभरको कत्रो पीडा दिएको छ। सायद मलाई र मेरो बच्चालाई देखेपछि उसले सधैं आफ्नो हृदयमा पीडा महसुस गर्नेछ र भविष्यमा उसले म जस्तो अरू कुनै गरिब झरनालाई कुमारी आमा नबनाओस्।'
'म र यो प्यारो बच्चालाई देखेर, उसले सधैं ती क्षणहरू सम्झोस् जतिबेला एउटा गरिब केटीले रूँदै मागेको दयाको भिख अस्वीकार गरेको थियो। मेरो जिब्रोले उसको सम्मानजनक जीवनलाई दाग लगाउन सक्छ। मैले उसको नाम भनिदिन्छु कि भनेर उसले हरेक क्षण डरैडरमा बाँचेको हेर्न चाहन्छु। यही नै उसको हार र मेरो जित हो सबिना।'
झरनाको कुराले सबिनाको जीवनप्रतिको दृष्टिकोण नै परिवर्तन गरिदियो।
अब उनीभित्र पनि झरनाको जस्तै विचारधाराले जन्म लिएको थियो। झरना कोठाबाट बाहिर निस्कँदा उनले लक्ष्मी काकीको आँखाबाट आँसु बगिरहेको देखिन्। उनलाई देखेर झरना उनको नजिकै गइन् र सोधिन् 'काकी तपाईं किन रोइरहनु भएको छ? आज मैले तपाईंकी छोरीलाई जीवनको परिचय गराएको छु, जुन थाहा पाएपछि उनले कहिल्यै आफ्नो जीवन समाप्त गर्ने बारेमा सोच्ने छैन, चिन्ता नगर्नुस्।'
लक्ष्मी काकीले भनिन् 'झरना, यी आँसु सबिनाका लागि होइनन्, मेरो पश्चातापका लागि हुन्, नानी।'
'अरू केही नभन्नुस् काकी, तपाईंले मलाई आमाले जस्तै मेरो हेरचाह गर्नुभयो। यदि तपाईं नभएको भए मेरो यात्रा अझ कठिन हुने थियो' यति भन्दै झरना आफ्नो कोठातिर गइन्।
ढोका बाहिर उभिएकी, लक्ष्मी काकीलाई आज झरनाको कुराबाट आखिर त्यो क्रूर यौन पिपासु मानिस को थियो भनेर महसुस गरिन्।
***