‘जिन्दगीको अविरल यात्रामा भेटिने व्यक्तिहरू कहिलेसम्म र कतिन्जेलसम्म सँगै रहन्छन् भन्ने मात्र हामीलाई थाहा भएको भए सायद तराजुमा नाप जाँच गरेर सम्बन्धहरूमा हामी नजिकिन्थ्यौँ होला। कुनै पनि व्यक्तिसँग नजिकिनुभन्दा ऊसँग छुट्टिन गाह्रो हुन्छ। जीवनको यात्रामा कसैसँग भेटिनु र छुट्टिनु जीवनको अकाट्य सत्य हो तर निरन्तर ती भेटहरूमा खुसी हुनु अनि छुटिँदा मिठो सम्झना, केही अनुभव र भारी मन लिएर हिँड्नु व्यक्तिको नितान्त कर्म हो।’
‘यस्तो सिरियस कुरा नगर न अहिले, तिमीलाई थाहा छ त मलाई गाह्रो हुन्छ भनेर। झन् छुटिने कुरा गर्छौ... जाऊ उता,’ प्रकाशको कुरामा आफ्नो कृत्रिम रिस देखाउँदै आस्थाले उसलाई प्याट्ट पिट्छे।
आस्थाको कृत्रिम रिसमा प्रकाश अझ हाँसिदिन्छ र फेरि भन्न थाल्छ, ‘तिमीलाई थाहा छ, मलाई कुनै पनि प्रकारको सम्बन्ध गाँसिराख्न आउँदैन नि। पहिला पनि मेरो जीवनमा धेरै पटक सम्बन्धहरू यसै छुटिएका छन्। चाहे जुनसुकै स्वरूपका किन नहुन्, यसै हराए सबै, तिमीसँग भेट्नु अघि। सायद तिमी र म पनि कुनै दिन यसै केही नबोली शून्यतामा छुट्टिनु पर्छ होला। अहिले हरेक दैनिकी कति सजिलै हामी एक अर्कालाई सुनाउँछौँ तर त्यो दिन त चिसो शून्यताको सिरेटो चल्छ होला है। कल्पना गर न एक पटक।’
‘मलाई कल्पना-कल्पना केही गर्नु छैन तर तिमी चुप लाग्छौ कि म पिटौँ?’ आस्थाको धम्कीपूर्ण आवाजले यस पटक भने प्रकाश चुप लाग्छ।
त्यो दिन जिस्केरै भनेको त्यो कुरा आज यी दुईको बिच संयोगवश पूरा भएको छ। चिसो शून्यता, भारी मन र दोधारमा उभिएका छन् दुवै।
प्रकाश र आस्था एक अर्कालाई ‘बेस्ट फ्रेण्ड’ भनेर चिनाउँछन् तर अरूको नजरमा उनीहरू प्रेमिल जोडीजस्तै देखिन्छन्— सधैँ सँगै, सधैँ मुस्कानमा। एक अर्कालाई पाएपछि बाँकी संसार बिर्सन सक्ने, एकअर्काको मौनतामा पनि सान्त्वना भेट्ने।
पहिलो भेट कुनै मेलामा परेको आकस्मिक झुल्को जस्तै थियो अनि समयको गोरेटोमा हिँड्दै जाँदा उनीहरू मनको मेलोमा हराए। एकअर्का पाएपछि कोही नचाहिने। अनायासको भेट, समय क्रम सँगैको निकटता र सामीप्यले गर्दा एकअर्काको पूरक बनेका थिए। तर यी दुवैको सम्बन्धमा आज चिसो सिरेटो लागेको छ।
‘एउटा केटा र केटी प्रेममा नबसी साथी मात्र भइरहन सकिँदैन र प्रकाश?’ गफैगफमा कुनै दिन आस्थाले प्रकाशलाई सोधेकी थिइन्।
त्यस बेला हाँसेर उडाएको प्रश्नलाई आज प्रेम प्रस्ताव राखेर मौखिक र व्यवहारिक रूपमा प्रकाशले जवाफ दियो।
अपत्यारिलो र अविश्वसनीय प्रकाशको यस्तो जवाफमा आस्था अलमल्लमा परिन्। आफ्नो जीवनको सबैभन्दा असल साथीको जीवनसाथी बन्ने प्रस्तावमा आस्था प्रेम र मित्रताको दोधारमा परिन्। प्रकाशको यो प्रस्तावले आस्थालाई मुटुको साँघुरो गल्लीमा पुर्यायो, जहाँ मित्रताको उज्यालो र प्रेमको अपरिचित अँध्यारो एकसाथ भिडिरहेका थिए।
प्रकाशको प्रेम स्विकार्ने कि मित्रताको सीमामा अडिने— आस्था मनको मझधारमा अल्झिएकी थिइन् जहाँ न भावनाले सहज बाटो पाउँथ्यो, न निर्णयले। भावनाको गोधुलीमा उभिएकी थिइन् आस्था। मनभित्र हर्ष र डरको दोधार मच्चिएको थियो। एकातिर असल सखा गुमाउने डर, अर्कातिर प्रेमको अपरिचित संसारमा पाइला राख्ने साहस। हृदयको भुलभुलैयामा आस्था हराइरहेकी थिइन्।
अन्ततः आफू मित्रतामा नै खुसी रहेको कुरा जाहेर गरिन् प्रकाशलाई। तरै पनि प्रकाशको प्रेमलाई मात्र अस्वीकार गरी उही मित्रताको चाहा राखेकी आस्थालाई आफैसँग लाज र सर्ममा डुबेको प्रकाशले उही मित्रताको प्रकाश दिन नसक्ने कुरा गर्यो।
प्रेमिल जोडी बन्ने सपनामा आधारित प्रकाशको प्रस्तावले भावनात्मक रूपमा जोडिएको यी दुईको मित्रतालाई किनारामा छोडिदियो। प्रकाशले आस्थालाई असल साथीमा मात्र सीमित गर्न सकेन र आस्थाले प्रकाशलाई असल साथीभन्दा माथि हेर्न सकिन। प्रकाशको प्रेमिल प्रेम प्रस्ताव, र आस्थाको नम्र अस्वीकारको बिच दुवैले जोगाउन चाहेको मिठो मित्रता गुमाए। सँगै हाँसेका पलहरू, दूरी काटेका गल्लीहरू, दोबाटोमा बाँडेका मौनताहरू सबै सबै टुहुरा सम्झनाहरू भए।
कयौँ कुराको महत्त्व त्यो चिज गुमेपछि मात्र थाहा हुने रहेछ। जसरी मृत अवस्थामा पुग्नै लागेको व्यक्तिलाई एक मुट्ठी सासको महत्त्व भए जस्तै प्रकाशलाई उसले प्रेमभन्दा महत्त्वपूर्ण, मूल्यवान् मित्रता गुमाउँदा उक्त मित्रता र आफूलाई सजिलै बुझिदिने साथीको महत्त्व थाहा गर्दै छ।
केही मित्रताहरू खास हुन्छन्। रोमान्टिक प्रेमभन्दा पर। अझ मिठो। त्यसमा कुनै कुराको थपघटको आवश्यकता हुँदैन। ती यथावत् नै ठिक हुन्छन्। केही व्यक्तिहरूलाई मनमा सँगालेर मात्र राख्न सकिन्छ, सँगै जीवन जिउन सकिँदैन। यस्ता कुराहरूमा हामीले चाहेर पनि गर्न सकिने केही होइन रहेछ।
मित्रतालाई प्रेमको परिभाषाको परिधीमा ल्याउनु रोमान्टिक सुनिएला तर यसको प्रक्रिया पनि त उत्तिकै कठिन र जोखिमपूर्ण छ। मित्रतालाई प्रेमको बर्को ओढाउने प्रकाशको नमिठो प्रयासले आस्थासँगको मूल्यवान् मित्रतालाई पूर्णविराम अघिको अन्तिम अक्षर तुल्याएको छ। पूर्णविराम लाग्न नदिन ऊसँग कुनै संयोजक नै छैन।
सायद मुराकामीले प्रकाशहरूकै निम्ति भनेका थिए, ‘केही कुरा नभनेको नै असल हुन्छ। सबै घाउ देखिने हुँदैन र सबै मौनतामा शून्यता हुँदैन।’