जब जब
बहिष्करणमा परेर
तड्पिरहेको सीमान्तकृत वास्तविक बस्तीहरूमा पुग्छु
आश्वासनले थलिएका निर्दोष 
आँखाहरू देखेर
अनायास मेरो आँखाको परेली आँसुमा रुझेर
मुटुसम्म पुग्ने गरी चिसो हुन्छ।
निर्जन अनकन्टार पुग्न
जेनतेन आफ्नो अस्तित्व 
जोगाउँदै गरेको चिसो बाटोहरूमा
झुटो कुरा बाँड्न सिपालु फटाहा नेता-नेतृको पाइला पर्छ 
चिसा बाटोहरू चिप्लो भएर
गुनगुनाउन थाल्छन् 
गीत नेताका।
सहरका गल्ली हुँदै 
दूरदराजको दूरनियत खेप्दै गरेको 
गाम-बेँसी अनि खलियान हरूमा
हेर्छु एक–दुई दिन घुमेर डुलेर
तब मलाई गलत लाग्छ
मेरो देशको अवस्था।
डाँडा नङ्ग्याएर प्लटिङको नाउँमा 
माटोको व्यापार गरेर
ऐश्वर्यको मातले मदहोस भएका दलालहरूलाई
केही गर्न नसकेको देख्दा 
रिस उठ्छ नबोल्ने देवताहरू देख्दा 
बुझेर पनि अबुझ भएर चुप
बसेका मानिसहरूका हाउभाउ बेहोर्नु पर्दा
खोलाको बाटो मिचेर 
ढुंगा र बालुवा निचोरेर निस्केको 
अवैध सम्पत्तिको रजगजमा 
हुर्केका पालेका
अस्वाभाविक स्वाभिमानी पाजीहरूले 
प्रकृतिलाई दोहन गर्ने जमात देख्दा
देशको न्याय र इन्साफ सँग झोक चलेर आउँछ।
पीडित मन्दिरहरूको ढल्केका गजुर
ललाटमा भाग्यको रेखा किरिङ-मिरिङ भएर
जिन्दगी भार सम्झिँदै गरेको असङ्ख्य युवा 
दोबाटो र चौबाटोमा
उभिएका जी हजुर गर्न नलजाउने 
आधुनिक झोला बोकेका झोलेहरू को लर्को देख्दै गर्दा 
मेरो देशको भविष्य बेथितिमा हुर्कँदै छ।
मेरो देशको
खाद्य वस्तु निर्यात गरेको थियो इतिहास
आज मान्छे निर्यात गर्ने वर्तमान बनेको छ 
हिजो सीता र भृकुटीको गौरवशाली इतिहास बोकेको मेरो देश 
आज बाटो–दोबाटोमा,गल्ली–घुम्तीमा थापेको
वैदेशिक रोजगारी नामको कम्पनीको जालमा परी
देशदेखि विदेशका सहरहरूमा
सफल सपनाहरू देख्न आतुर छोराछोरीहरू
बगरेका हातको पशु सरि बेचिरहेका छ।
शिशिरको रुखझैँ नाङ्गिएको देख्छु
देशको अवस्था 
मनमा एकाएक विद्रोहको ज्वाला बोकेर
जंग बहादुर बनेर जन्मन मन लाग्छ
मनमनै अत्याचार गर्दै गरेको कुलंगारहरूको
रजगजमाथि कोत पर्व दोहोर्याउन मन लाग्छ 
भ्रष्ट नालायकको खुनको खोलामा पौडेर
निस्पन्द, निश्चल, शिथिल चुपचाप उभिएर
आनन्दको एक मुठ्ठी सास फेर्न मन लाग्छ 
मेरो देशमा बेथिति मौलाएको छ।
शोक र सुर्तामा हराएको गाउँ-बस्ती 
भोक-प्यासमा डुबेका चुलो र चोकहरू
अभावको पाप्रा उप्काउँदै
गिट्टी कुटेर भोकको आगो निभाउनेहरू
परिबन्धको छेपारे पेरुङ्गेमा क्रान्तिको 
मुठ्ठी उठाउनेहरू-
ठ्याक्कै पिँद बिनाको लोटा जस्तै 
स्वार्थको उकालोमा 
बेइमानीको वैशाखी टेकेर उमेर निलिसकेकाहरूको
अकल्पनीय रजगज
हेर्छु एक–दुई दिन बसेर दैनिकी बिसाएर
गलत लाग्छ
गलत नै भएको देख्छु।
मेरो देशको वर्तमान पढ्छु 
अमरसिंह काँगडासम्म बढेको कुरा पढ्छु 
बलभद्र नालापानीमा लडेका वीरताको कथा पढ्छु 
तेन्जिङ र पासाङले सगरमाथा चढेको कुरा
भोग्दै छु सन्धि र सम्झौतामा 
निर्दोष खोलाहरू छिमेकीको झोलामा अटेको व्यथा
भोग्दै छु  लिपुलेक दुखेर 
छटपटाएको व्यथाको कथा
भोग्दै छु दैनिक हजारौँ युवायुवतीले देश छोडी जाँदा 
मन फुटेर बगेको 
आँसुको बागमतीको चीत्कार।
बिस्तारै विश्वास बिटुलिएर विकराल रूप लिँदै
मन मनमा 
रिस लाभा बनेर हुँडलिँदै छ
मलाई डर छ
पुनः फेरि 
के युद्धको नाम दिएर 
क्रान्तिको ज्वालामुखी विस्फोट हुन बेर लाग्दैन
भोक र प्यासमा, अभाव र दबाबमा 
पिल्सिएका मान्छेहरूबाट
बेथिति अनि मेरो देश।