जब म १७/१८ वर्षको एक लक्का जवान ठिटो थिएँ, उच्च शिक्षा अध्ययको लागि विश्वविद्यालयमा भर्ना भएँ।
बिहान क्याम्पसमा अध्ययन र दिनभरी निजी स्कुलमा अध्यापन गराउँदैमा दिनचर्या चलेको थियो।
क्याम्पसमा अध्ययन गर्दै जाँदा उनीसँग माया बसेको पत्तै भएन।
पछिल्ला दिनहरूमा म क्याम्पसमा अध्ययनभन्दा पनि उनलाई हेर्न जान्थेँ। उनलाई क्याम्पसमा एकछिन पनि नदेख्दा र साँझ फोनमा घन्टौंसम्म नबोल्दा केके छुटे जस्तो लाग्थ्यो। उनले पनि धेरै माया गरेको आभास दिलाउँथिन्। साँझ घन्टौंसम्म कुरा मारेर रात कटाउँथ्यौं।
नाइल नदीभन्दा लामा सपना बुनेर सगरमाथाभन्दा विशाल, सुपरियर भेनेकाभा भन्दा स्वच्छ माया गर्न पुगेछु। तर वर्मुण्डा त्रिकोण जस्तो उनलाई मैले बुझ्न सकिनँ र मेरो जिन्दगीका सपनाहरूलाई अफ्रिका महादेशको जस्तो भविष्य, मरूभूमि जस्तो उजाडिलो बनाई सपनाका महलहरूमा आगो सल्काएर आफू निजामती कर्मचारीसँग विवाह गरेर मलाई भुइँ मान्छेको संज्ञा दिँदै गइन्।
भनिन्छ नि कसैलाई पनि हदभन्दा बढी माया नगर्नु भनेझैं मेरो माया लोक सेवा अर्थात् निजामतीसँग बिक्री भयो। मेरा सपनाहरू केही हदसम्म अरूण ग्रह जस्तै बने। मनमा बेचैनी र छट्पटहाटको सीमा रहेन र जिन्दगी जीवन र मृत्युको दोसाधमा पर्यो। भोक, निन्द्रा, प्यास सबै एकाएक हराम भए आफ्नै मन वर्मुण्डा त्रिकोण जस्तो भयो। मनमनै सोचेँ- मेरो प्रेमको तगारो के हो? उत्तर फ्याट्टै आइहाल्यो- गरिबी र बेरोजगारी।
सायद म सरकारी जागिरे भएको भए अथवा सम्भ्रान्त परिवारको भए मेरो प्रेम फुल्थ्यो, फक्रनथ्यो र फल लाग्थ्यो होला। यी दुई कुराको अभावमा मेरा हजारौं सपना बोकेको मायापिरती सिसा फुटेझैं एकाएक चकनाचुर भइ फुटेर मेरा जिन्दगीका सबै हाँसो, खुसी लुटेर गयो।
एकदिन म कुर्सीमा पुरूषोत्तम बजगाईद्वारा लिखित पुस्तक नीलो प्रेम हातमा लिई उनका यादहरू भुलाउने कोसिस गर्दै थिएँ। यतिकैमा उनको यादमा झन् डुबेछु। आँखा धर्मराए। बिस्तारै वरपरको वातावरण अन्धकारमय भयो र म अचानक बेहोस हुन पुगेछु। संयोगबस त्यही समयमा साथी मलाई भेट्न आएको रहेछ। उसले हतार हतारमा हस्पिटल पुर्याएछ।
केही समयको उपचारपश्चात् मेरो होस खुल्यो, जसबेला म हस्पिटलको बेडमा भएको मलाई स्वयम् भान भयो। अनि मलाई यहाँ किन ल्याएको भनेर साथीलाई सोधेँ। साथीले सबै कुरा बतायो। अझै पनि उनको याद मनमा झल्झल्ती आइरहेको थियो। केहीबेरपछि औषधिका पोका र डाक्टरको परामर्शपश्चात हस्पिटलबाट फर्कियौं। त्यसदिन साथी मसँगै बस्यो। मलाई एक्लै छोड्न मानेन। साथीले भन्यो- आज रक्सी खानुपर्छ अनि फ्रेस हुन्छस्। मैले पनि इन्कार कसरी गर्नू! उनको याद कम गर्नलाई पनि पहिलो पटक रक्सी पिएँ। रक्सीको मातमा सबै कुरा साथीलाई पोखेछु। साथीले सान्त्वना दिँदै अबको यात्रा लोक सेवा तयारी गर्नुपर्छ र जसरी पनि निजामती जागिर खानुपर्छ भनेर सम्झाउँदै थियो कतिखेर सुतिएछ पत्तै भएन।
भोलिपल्ट बिहान दुई जना नै अवेरसम्म सुतेछौं। उठ्दाखेरी घडीले ९:०० बजाइसकेको रहेछ। हतार हतारमा १०:०० बजे पढाउन स्कुल गएँ। मेरो मलिन अनुहार देखेर विद्यार्थीहरू 'सर किन आजभोलि निराश देखिनुहुन्छ? भनेर सोधे।
मैले कामको अलि चाप छ त्यसैले होला भनेर टारिदिए। सधैं हँसिलो मुहारमा विद्यालय उपस्थित हुने म आजभोलि मलिन मुहारमा उपस्थित हुँदा थाहा पनि कसरी नपाउन सर पीडामा भएको र सरको मनमा बेचैनी बढेको।
रूखका नयाँ पल्लवी पलायझैं मेरा पनि सपनाका पल्लवीहरू पलाउन सुरू गरे र जिन्दगीले नयाँ मोड लियो। लोक सेवा पढ्ने निधो गरेँ। त्यही दिन साँझबाट जिके पढ्न सुरू गरेँ। किताबको पानैपिच्छे उनको तस्बिर मात्र देख्छु। किताबमा लेखेका हरेक अक्षरहरूलाई उनले गरेको म्यासेज जस्तो लाग्थ्यो। जिके याद पनि कसरी होस् जब म पढ्न बस्छु उनी किताबमा जिके बनेर आइदिन्छिन्। हाँसो थोरै भयो, रूवाइ धेरै भयो तर आशा कहिल्यै मरेन।
मेरा जीवनका सबै समय लोक सेवालाई दिने निधो गरेँसँगै निजी स्कुल अध्यापनबाट पनि राजीनामा गरेँ।
मैले उनको स्थानमा लोक सेवालाई अंगालेँ। साथीहरू घुम्न जान्थेँ, म पुस्तकालय जान्थेँ, उनीहरू प्रेमको गीत गुनगुनाउँथे म जिके, संविधान, ऐन नियमावलीको गीत गुन्गुनाउँथें। साथीहरू बजारमा आएका नयाँनयाँ फेसनका कपडा लगाउँथें म फाटेको कपडालाई दश ठाउँमा आफै सिलाएर सेतो सट र नीलो कोटको खोजीमा तल्लीन रहन्थें।
पसिना चुहाउँदै कोचिङ पढे निन्द्रा, भोक, तिर्खा, आफन्त नभनी बन्द कालो कोठामा गुप्तबास बास बसेर तयारी गरेँ झन् परीक्षा नजिकिँदै गर्दा जीवन नै तयारीका लागि व्यतित गरेर पहिलो पटक जाँच दिएँ तर प्रिय लोक सेवा पनि मेरी उनी जस्तै कठोर भइन्। उनको हृदय पग्लिएन त्यो पहिलो पटकको असफलता मेरो नाम प्रथम पत्रमै अटाउन सकेन।
आँखा रसाए मन भक्कानियो तर मैले हार मानिनँ, फेरि पढेँ। लोक सेवालाई भेट्ने अनि आफैसँग हराएँ। पढ्दै जाँदा मध्यरात भैसक्दा दिमागमा केही थान कुराहरू खेल्न थाल्थे, भावनाहरू कल्पित हुन्थे। असफलता तिमीले कहिलेसम्म साथ दिन्छौ देऊ। मलाई थाहा छ कि तिमीले पनि मेरी उनी जसरी एकदिन अवश्य साथ छोड्नेछौ।
मन्दिर गएर नमागेको पल थिएन, आँसुले नुहाएँ, दिनरात नभनी पढें अनि कयौंपटक जाँच दिएँ तर नाम आएन।
एक पटक सुदूरपश्चिम प्रदेशबाट चौथो तहमा नाम निकाल्न सफल भएँ तर बिडम्वना वैकल्पिक १ नम्बरमा परियो। पीडामाथि पीडा थपियो मनमा बलिरहेको आगोमा झन् घिउ थप्ने काम भयो। अनि आफैले आफैसँग प्रश्न गरेँ- के म योग्य छैन? पहिलो प्रेमिका। उनीसँग योग्य देखिएन, अहिले लोक सेवासँग पनि योग्य देखिएन तर पनि हार मानिनँ। पुन: सुरू गरे वैकल्पिक पश्चातको अर्को जाँच मेरो हातमा पर्यो। अर्थात् म सफल भई पाँचौंमा तहमा सिफारिस भएँ। जुन दिन असफलताको चाबी खिइन्छ नि त्यो दिन सफलताको ढोका स्वत: खुल्दा रहेछन्। सबै साथीहरूले बधाई दिए सामाजिक संजालमा फोटो राखे। म सफल भएको उनले पनि खबर पाइन्।
अर्कै फेसबुक आइडी खोलेर 'बधाई छ तिमी मेरो लागि जन्मेका रहेछौ। तर मैले बुझिनँ। बुझ्न ढिला भयो। सक्छौ भने मलाई माफ गरिदेऊ। हुन त म तिमीले माफी दिन लायक पनि छैन। यदि समय मिल्छ भने एकपटक भैटौं न' भनेर लेखेको म्यासेज मेरो म्यासेन्जरमा अचानक भेटेँ।
केहीबेर मन भक्कानियो अनि मुटुमाथि ढुङ्गा राखेर प्रतिक्रिया स्वरूप लेखेँ- तिमीलाई नपाउँदाको पीडामा म हाँस्न सिक्दैछु, आँसु लुकाउन सिक्दैछु, तिमीलाई माया गरेकोमा मलाई गर्व छ। आज तिमिले मलाई लोक सेवा उपहार दिएर गयौ अर्थात् निजामती कर्मचारी बनायौ। मेरो प्रेम साँचो थियो, रहिरहनेछ। अब म तिमीलाई चाहेर पनि यो जुनीमा भेट्न सक्दिनँ। सरी! अर्को जुनीमा भेटौंला, तिमी पनि नीलो सारीमा सजिएर आउनु ल।'