आलिया अमेरिकी राज्य क्यालिफोर्नियाको 'लस एन्जलस' पुगिसकेकी थिई। मलाई आफू पुगेको भनेर नेपालमा उसको 'क्यानोन' क्यामेराले खिचेका हाम्रा संयुक्त फोटाहरू ई-मेल गरेकी थिई।
उसका र मेरा सिंगल फोटाहरू पनि फाट्टफुट्ट पठाएकी थिए। त्यस मध्येको एउटा संयुक्त 'सेल्फी'लाई धुलाएर कोठामा सजाउन मन लाग्यो। समस्या के थियो भने आमोईले यो कसको फोटो भनेर निहुँ खोज्लिन् भन्ने पिर परिरह्यो। एउटा मनोवैज्ञानिक पिर थपियो। आमोईले गज्जबकी रहिछे पो भन्लिन् कि, के थाहा?
आलियालाई अमेरिका पुगे नि उही सिम्पानीका काइँला मिजार/मिजार्नीको जीवनका थप उतारचढावको ‘स्टोरी’ चाहिएको भन्दै ई-मेल गरेकी थिई।
ई-मेलका फोटाहरू सुटुक्क 'ग्यालरी'मा सेभ गर्दै आलियाको ई-मेललाई 'इगनोर' गरिदिएँ। इगनोर गरिरहेँ।
लस एन्जलसको नामी 'युनिभर्सिटी'बाट पत्रकारितामा 'मास्टर्स' सकेकी आलियालाई अमेरिकी चुनावको 'हट केक' न्युजमा टिप्पणी या विश्लेषण गर्ने जाँगर किन मरेको होला? विश्वभरका 'पोलिटिकल डेस्क' हेर्ने पत्रकारहरू ट्रम्पको विजयलाई आफ्नै किसिमले व्याख्या र विश्लेषण गरेर अझै थाकेका थिएनन्।
रोज सम्पादकीयहरू 'ट्रम्पको पुनः सत्ता पलट' बारे आइरहेकै थिए। तर एक दशक राजनीतिक समाचारहरूमा कलम चलाएकी आलिया चाहिँ पूरै 'युटर्न' भएर किन सिम्पानीका काइँला मिजार र मिजार्नीको जीवनको विवेचना मसँग भिख मागेसरि माग्दै बसेकी होली? अनौठो यही थियो।
ल्यापटप नचलाएको हप्तौँ भइसकेको थ्यो। देउरालीको दैनिकी चलाउन 'वाइफाई' चाहिन्न थ्यो।
नौबिसेमा आलु कत्तिको हुने भयो? कसले कति मुरी धान बेचे? अब ब्याडे राँगो देउरालीमै हुने भयो। देउराली-कोटगाउँ सडक पिच हुने हल्ला छ रे। रमेशको बिहेको निम्तोको कार्ड देउरालीमा पनि आइपुग्या छ। ठिटामिटा जन्ती जाने भइसके। आमोईहरूले पनि रत्यौलीमा श्लील-अश्लील गीतमा रमाइलो गर्ने भनेर सल्लाह गरिसके। रमेशको बिहे भए पनि देउरालीका बुढाउहरूले आफ्नो बिहेको किस्सा सुनाए। पुरातन बिहेका किस्सा अबका 'जेन जी जेनेरेसन'लाई प्राचीन युगको कथासरि भइसक्यो।
मैले पनि मदन दाइ र मणिराम मामालाई जन्ती जाने वचन दिएँ। मणिराम मामाको धारावाहिक अकण्टक प्रवचन नसुनेको लामै समय भइसकेको थ्यो। कानलाई हल्का सास्ती भए पनि सबै अरू 'ब्यागेज'लाई छाडेर मामाका अथाह शब्द भण्डारहरूको क्षमता ममा भइदिए हुने भन्ने लोभ लागिरहन्थ्यो।
हो, यस्तै चटारो देउरालीमा चलिरहन्छ।
मदन दाइले व्यवस्थापन गरेको जिपमा अटसमटस जन्तीहरू गुन्द्रुक खाँदिएसरि म पनि खाँदिएको थिएँ। उन्मत्त बिहेका जन्तीहरूको मुखमा छाडा शब्दहरू सुनकोशी बगिरहेको जस्तै बगिरहेको थियो।
पाइन्टको खल्तीमा हालेको फोन निरन्तर 'भाइब्रेट' भइरह्यो।
फोन आमोईको थियो कि भन्ने चिन्ता लागिरह्यो। हिजोआज आमोईलाई 'काँसो'ले समातेको छ। बिहानै घरबाट जन्ती बनेर हिँड्दा आमोई काँसिरहेकी थिइन्। मुस्किलले खल्तीबाट मोबाइल निकालेँ। फोन नम्बर स्वदेशको थिएन। प्लस एकबाट सुरु भएको लामो 'डिजिट'वाला नम्बर उही आलियाको थियो।
फोन अमेरिकाबाट 'डाइरेक्ट' गरेकी थिई। मलाई बिहेमा समेत खुलेर झुम्न नदिने आलियासँग लास्टै रिस उठ्यो। आलियालाई मसँग जोडिदिने सिरी दाइसँग पनि झोक चल्यो। नेपालमा आलिया रहँदा बस्दा म पनि फुरुङ्गै भएको थिएँ। देउरालीमा आमोईलाई ढाँटेर एयरपोर्टमा आलियालाई बिदाइ गर्न पुगेकै थिएँ। मैले आलियालाई अत्यधिक मन पराए पनि मनको बह पोख्न सकेको थिइनँ। आलियाको मनमा के थियो मप्रतिको धारणा? म अनभिज्ञ थिएँ।
जनवरी २० भन्दा अगाडि नै काइँला मिजार/मिजार्नीको जीवनको आरोह अवरोह बारे थप लेख्छु भने नि आलियाले मानिन। जनवरी २० नवनिर्वाचित अमेरिकी राष्ट्रपतिले शपथ लिने डेटलाइनलाई आलियाले इन्कार गरी। मेरो निमित्त त झन् जनवरी २० सँग 'गोरु बेचेको' साइनोसम्म थिएन।
मैले मुस्किलले पाँच दिनको समय मागेर फोनमा आलियसँग बिदा मागेँ। तर फोनमा नभनेर आलियाले खुसुक्क 'एसएमएस'मा लेखी- 'आई ह्याभ ए बिग सर्प्राइज, माई डियर। वेट एबाउट फिप्टिन डेज।’
म खुसीले भित्रभित्रै फुलेल भएँ। आलिया मलाई मन पराउँछे भन्ने लाग्यो। अरू के हुन सक्थ्यो र आलियाको बिग सर्प्राइज!
जन्तीको जिप कटारी बजार पुग्यो। कटारी बजार पुग्नु अगाडि मणिराम मामाको दिव्य प्रवचन 'गान्धी र स्त्रीहरू' भन्ने विषयमा थियो। वास्तवमा जन्ती हिँडेका बेला गान्धी अर्थात् 'बापु'ले आफ्नो 'ब्रह्मचार्य' प्रयोगार्थ 'न्युड वमन' सँग नग्न सुतेको प्रसङ्गले सबै जन्तीलाई झस्काएको थियो।
फोन हातमै थियो। बेहुलाले फोन गरेर म लगायत जन्तीहरूको खबर सोध्यो। मैले जन्तीहरू कटारी बजारमा पुगेर हाँसको छोयलासँग कोदोको लोकल तानिराखेको खबरले बेहुलोको मुख रसाएको हुनुपर्छ। फोन राख्यो।
हाम्रो जिप जन्तीभन्दा निकै अगाडि हुइँकिसकेको थियो।
रमेशको बिहे सकियो।
मैले देउरालीबाट पुरानो सिम्पानीको दृश्य सम्झन खोजेँ। दिमागमा केही फुरेन। अब काइँला मिजार/मिजार्नी बारे के लेखूँ आलियालाई?
यस्तो पनि लाग्यो। किन आलिया अमेरिका बसेर तत्कालीन राष्ट्रपति 'बिल क्लिन्टन' र 'मोनिका'को 'सेक्स स्क्यान्डल' बारे लेख्दिन?
अचम्म त के भयो भने मिजार्नीको चिठी खोज्दा मिजार्नीकी छोरीले लेखेको चिठी पाएँ। आमोईलाई सोध्दा ती दुई चिठीहरू निकै पहिलै आएको बताइन्। बेलाबखत चिठी लिएर आउने मिजार्नीका ज्वाइँ सम्मरे पनि कलेजेको रोग लागेर बितिसकेका थिए। उनले रोज रोज गोरखपुरबाट देउराली मिजार्नीको चिठी ल्याउँथे। मैले थोरै चिठीको मात्रै प्रतिउत्तर पठाएँ। सम्मरेले हरेक पटक ‘मिजार्नीलाई भेट्न हिँड्नुस् न ठुला साना’ भन्दा मलाई देउरालीबाट गोरखपुर जाने कहिल्यै चाँजो परेन।
‘प्रिय ठुला साना,
मिजारकी छोरीले पनि तपाईंलाई ठुला साना सम्बोधन गरी भनेर छक्क नपर्नु होला। तपाईं त्यस्तो व्यक्ति हो जसलाई मिजारका तीन पुस्ताले प्रेमले ठुला साना भनेर प्रेमिल नाउँ राखिदिए। त्यसैले मैले पनि तपाईंलाई ठुला साना भन्ने हक थियो, छ अनि रहिरहनेछ।
ठुला साना,
भाग्यले हो वा कर्मले सिम्पानीका काइँला मिजारले वयोवृद्ध उमेरमा तरुनी मेरी आमासँग दोस्रो बिहे गरेपछि मेरो दाइ र मैले सिम्पानीमा जन्म लियौँ। तपाईंलाई थाहै छ ठुला साना, कसैले मलाई जन्मनुभन्दा अगाडि मेरो सिम्पानीको पारिवारिक 'बायोडाटा' देखाएर जन्मने हो भनेर सोध्थे भने म जन्मन मान्ने थिइनँ। तर त्यो सुविधा जन्मने कसैलाई पनि हुँदैन।
ठुला साना,
गरिबीको दलदल त हामीले कति भोग्यौँ, तपाईं कल्पना गर्न समेत सक्नुहुन्न। हाम्रा बा अर्थात् तपाईंका काइँला मिजार बितेपछि हाम्रा भाँडामा हाल्ने अन्नको एक दाना समेत थिएन। मेरी आमाले 'जा ठुला सानाका पुगेर मागेर ले' भनेपछि तपाईंकी आमोईले होस् कि तपाईंले आफ्नो घरमा भएको जे छ त्यो दिनलाई कुनै लोभ गर्नु भएन। टिबीले थलिएका बालाई मिठो मसिनो खानुपर्दा पनि तपाईंकै नाउ लिनुहुन्थ्यो। भलै तपाईं घरमा त्यति बेला हुनुहुन्नथ्यो। बाले सधैँ ठुला साना नाउ बारम्बार जपिरहँदा मलाई को होलान् र कस्ता मान्छे होलान् ठुला साना लागिरहन्थ्यो।
ठुला साना,
हामी गरिबीको गर्तमा त थियौँ, थियौँ। अलि बुझ्ने भएपछि जातको दलनमा कसरी घट्टमा घुन पिसिए सरी पिसिएका रहेछौँ भन्ने थाहा हुँदै गयो।
ठुला साना,
तपाईंको जात ठुलो हुनाले तपाईंलाई स्कुल, धारा, मन्दिर र पँधेरोमा अपमान सहनै परेन। बिहे र व्रतबन्धमा हामी अछुत हौँ भनेर खाने भिन्नै व्यवस्था गरिन्थ्यो। मैले सम्मरे भिनाजुलाई सोध्दा जात व्यवस्थामा देउराली पुरानै अवस्थाबाट टसमस नभएको बताएका थिए।
ठुला साना,
तपाईंप्रति मेरा मूलतः तीन वटा गुनासाहरू छन्। तपाईं देउराली/सिम्पानी एरियाको एक्लो बौद्धिक व्यक्तित्व हुनुहुन्छ। अमेरिकाबाट 'अन्तर्राष्ट्रिय सम्बन्ध'मा मास्टर्स सकेर देउरालीमा ढुक्कै भैँसी पालेर किन बस्नुभयो?
तपाईं देउराली/सिम्पानीकै शान हुनुहुन्छ। जबकि समाज रूपान्तरणको पक्षमा तपाईं किन मौन बस्दिनु भयो? तपाईंलाई लिङ्कन र गान्धी मात्रै होइन। तत्कालीन विघटित सोभियत संघका 'कम्युनिस्ट' नेताहरू नपढ्नु भएको पक्कै नहोला।
मैले सुनेको थिएँ। अफ्रिकाका चरम गरिबी मुलुकहरूमा त तपाईंले 'युएन' मार्फत जागिर नै खानुभएको थियो भने एसियाको मध्यपूर्व देश जापानमा आधुनिक अर्थशास्त्र समेत पढ्नु भएको थियो।
जसले विश्व बुझेको छ, उही मान्छे चुपचाप बसिदिए पछि कसरी समाजको अनुहार बदलिन्छ?
ठुला साना,
सम्पत्तिमा लोभ नगर्नुहुने तपाईंले समाजको विद्यमान छुवाछुत रोक्न तपाईंबाट किन कुनै कदम चालिएनन्?
अन्त्यमा ठुलो साना,
मिजारकी छोरीले 'छोटी मुख बढी बात' गरी नभन्नु होला। हुन त एक्लो बृहस्पति झुट भन्ने उक्ति देउरालीमा तपाईंलाई 'फिट' हुन्छ। अमेरिका र जापानका गल्लीहरूमा ‘विथाउट ड्राइभर’ वाला ट्याक्सी चढेर फर्कनु भएको तपाईंलाई गाउँका वडाध्यक्षले बाटो पिच गर्ने 'एजेन्डा'लाई चुनावी मुद्दा बनाउँदा कति दिक्क लाग्दो हो। स्वास्थ्य चौकीमा 'भिडिओ एक्स रे' मेसिनको उद्घाटन हुँदा तपाईंलाई 'आइन्स्टाइन'को चर्चित 'फर्मुला' याद हुँदो हो। अमेरिका र जापानका सुविधा सम्पन्न अस्पतालको याद आउँदो हो।
ठुला साना,
तपाईं गोरखपुर आउनुस् कि मलाई देउरालीमा भित्र्याउनुस्। कि हिँड्नुस् जाऔँ अमेरिका। चुपचाप देउरालीमा नसड्नुस्। आगे तपाईंकै मर्जी।
तपाईंकी
सावित्री मिजार।
मिजार्नीकी छोरीको चिठीले मेरो हृदयमा चस्का दियो। मलाई बिजुलीको करेन्ट लागेको जस्तो भयो। म चिर निद्राबाट ब्युँझिएँ। मलाई मिजार्नीकी छोरीको अर्को चिठी खोल्ने हिम्मत आएन।
मलाई कतै मिजार्नीकी छोरी सावित्री नै आलिया नगरकोटी त होइन भन्ने लागिरह्यो। फोटो फ्रेममा सजिएकी आलिया नगरकोटी मलाई भने 'हलिउड'की 'आलिया भाट' भन्दा अझ राम्री लाग्यो।
चाहे आलिया नै सावित्री होस् वा नहोस्; प्रेम प्रस्ताव होइन, बिहेको प्रस्ताव राख्छु। अनि मात्र लेख्छु काइँला मिजार र काइँली मिजार्नीको 'लाइफ स्टोरी'।