काठमाडौंको चिसो रात। विनयको बास सानो कोठामा छ। ठूलो कोठा र अलग भान्सा उसलाई चाहियो नै किन र! बिहान पकाएको भातमा चिसो पसेको धेरै घण्टा भइसक्यो। पन्यूँले उप्काएको माथिल्लो भाग त केही कडा पनि भइसकेको छ। उसको भान्सामा दाल र तरकारी सधैं बन्दैन। ती दुईबीच सौतेनो ग्रह परेझैं। एउटाको जोहो भयो भने अर्काेको खोजी पनि नहुने। तरकारीमा अलिक बढी पानी हाल्यो, त्यसले दुवै थोकको काम गरिहाल्छ। यो खासमा घरमा भातका लागि परिबन्द मिलाउन घर छोडे पछिको एउटा परिदृष्य हो।
पछिल्लो करिब ५ महिनादेखि उसको खान्की यही परिकारको बन्छ। आज उसले बन्दागोबी मिसाएको आलुको तरकारीमा पानी ज्यादै खन्याएको रहेछ। नुन र खुर्सानी थपेपछि मात्र जिब्रोले स्वाद भेट्टायो। केही गाँस निलेपछि थालैमा हात चुठ्यो। पातलो डसनालाई ढाकेको तन्नामाथि थाकेको शरीर अलपत्र तेर्स्यायो। मधुरो बत्तीमाथि माकुराले लगाएको जालो कयौं दिनदेखि जहाँको त्यहीँ छ। यो षट्कोण आकारको जालो उसको आफ्नै जीवनसँग मिल्दो छ। मेहनती श्रीमतीले गएको दसैंमा बुकुवाबाट फर्किंदा बेलडाँगीको बस बिसौनीमा ‘चिसोले टन्सिल बल्झिएला’ भन्दै आफ्नो गलोबाट फुकालेर लगाइदिएको गलबन्दीले माकुराको जालोलाई हेरिरहेको छ। श्रीमतीलाई ऊ प्रेमपूर्वक मिनु भनेर बोलाँउछ। उसकी मेहनती मिनुले बुनेको मैलो गलबन्दी र माकुराले मेहनतले बनाएको जालो एकअर्काका मितजस्तै। कोठाको कुनोमा बसिरहेका छन् एकअर्कालाई हेर्दै।
आज फेरि गलबन्दीले तानेर उसलाई रतुवा खोलाको बगरमा पुर्यायो। दुवै स्कुले, दुवै गोठाला। एउटै गाउँ। पानी ओसार्न घरदेखि आधा घण्टा टाढाको बगरमा पुग्नुपर्ने। गाग्रीको घेरोले औंला खिउञ्जेल पानीको भारी बोकेर डिल मास्तिरको गाउँमा उक्लिँदा एक परान जाला जस्तो हुन्थ्यो। यहाँसम्मको हालत कि त्यो गाउँमा छोरी बिहे गरेर दिन अन्यत्रका अभिभावक झस्किने। पानीको हाहाकार! तर विनय र मिनुका लागि भने यसको फाइदा अलिक बेग्लै पाराको थियो। एउटा यस्तो चढ्दो किशोर अवस्थामा रहेछन् कि उनीहरू जतिबेला दिल छातीभित्र होइन हत्केलामा आइसकको होस्। कहिलेदेखि उनीहरू एकअर्कालाई प्रेम गर्न थाले, उनीहरूलाई पनि हेक्का भएन। घर छिमेकमा, कक्षा तलमाथि भए पनि स्कुल एउटै, खर्क, पानी लिन जाने बगरको खाल्डो एउटै। कसैका घरमा बिहे बटुला, स्वस्थानीका साङ्गे हुँदा वा मरुमराउ पर्दा गाउँ नै उल्टिएर सघाउने चलन थियो। गाउँमा हाँसखेल र रमाइलो गर्ने यिनै सन्दर्भहरू अवसर बन्थे। इच्छा भएपछिका उपाय उनीहरूले पहिल्याइहाल्थे। यस्ता अनेक अवसर र ठेगानाहरूले उनीहरूलाई नजिस्क्याइरह्यो।
भर्खर स्कुलको पढाइ सकेका उनीहरू एकदिन गाउँबाट अचानक बेपत्ता भएको हल्ला गाउँ पर्तिरको पेल्टिमारीको सुकेको वनमा डढेलोझैं फैलियो। गाउँमा अर्म—पर्म जाँदा पनि उनीहरूका आँखा एकाकार हुन्थे। गाउँका हरेक घरमा उनीहरू भागेको खबरको चर्चा हुने नै भयो। कतिपयले आफ्ना चढ्दो उमेरका छोराछोरीलाई विनय र मिनुको नामै काढेर ‘त्यस्तो चाहिँ नगर्नु है’ भनेर थर्काए। कसैले गाउँमा खबर ल्यायो, एक हप्ताअघि नै मिनुले नयाँ लुगा किन्छु भनेर आफूले पेवा पालेका दुई वटा सप्रिएका कुखुराका भाले र एउटा खसी बेचेकी थिई।
समय वर्षातको रतुवाको भेलझैं एक फेरा उर्लिएर आयो, उसैगरी गयो। उनीहरू पनि गाउँको चर्चाको चुलीबाट झरे। बिस्तारै यो भागी बिहेलाई गाउँले सामान्य मान्दै गयो। उनीहरू एउटा महिना काठमाडौंमा बिताएर एक साँझ गाउँ फर्किंदा फेरि एक झट्का गाउँले उनीहरूको चर्चामा समय खर्चियो। बिस्तारै उनीहरू घर परिवार र समाजको पोयोमा मिसिँदै गए। गाउँमा एउटा सार्वजनिक रूपमा स्वीकृत जोडी थपियो। गाउँको कथामा केही सम्बन्धहरू थपिए। कोही कसैको श्रीमती, बुहारी, सालो, सोल्टी, सासू, ससुरो, सम्धी, सम्धिनी आदि अनेक भए। एउटा सम्बन्धले यसखाले हाँगाबिँगा हाल्यो।
तर निम्न मध्यम वर्गको जीवन चलाउन अलिक चर्काे नै पर्दाेरहेछ। अनुहार र त्यसमा प्रकट हुने प्रेमले पेटको दन्कँदो आगो निभाउन वा खिया परेर रंग उडेको र पोहोर सालको असिनाले ठाउँ/ठाउँमा प्वाल पारेको छानोको टिन टाल्न, अलिक बढी निचोरर धुँदा पिरिक्क च्यातिने श्रीमतीको चोलो फेर्न सक्दैनथ्यो। ती सबैथोक गर्न चाहिने दाम—दमौडी कमाउने चटारोले विनयलाई पछाडिबाट जोडले लखेट्यो। ऊ यी तमाम अवस्थाको लखेटाइको एकै झट्कामा काठमाडौंको सडकमा मजदुरी गर्न पुग्यो।
घर छोड्नु अघिको अन्तिम रात अंगालोमा कसिएकी मिनुले आँसुसरीको आवाजमा उसको पेटमा पसेको विनयको बिउले उकास्न खोजेको पेट मुसार्दै भनेकी थिई, 'यति ठूलो भारी म एक्लै कसरी उचाल्दी हुँला, हेक्का त राखेका छौ नि।'
गोंगबु उत्रिएको एक सातापछि ऊ एउटा चार तल्ले पक्की घरको बाहिरी भित्तोमा रंग दलिरहेको थियो। टाढा टाढासम्मका अग्ला घरहरू हेरेर ऊ घरिघरि टोलाउँथ्यो। कम बोल्ने युवकसँग हातमा मोबाइल थिएन। सातामा एक पटक उसले ठेकेदारबाट पाउने ज्यालाले टाल्नुपर्ने धेरै प्वाल साथमै थिए। बिहान खाएको चियादेखि साँझको भातसम्मको खर्चले उसको आधा आयस्ता सकिदिन्थ्यो। चियासँग खाजाको रूपमा चना खाएको दिन ऊ बिहानको भात खाँदैनथ्यो। भोक नलागेर होइन, अभावले जब्बरसँग बास गरेको खल्तीलाई थप रित्तिन नदिन ऊ रंगहरूले वास्तविक रंगको हुर्मत लिइसकेको पाइन्टलाई कम्मरमा अड्याउन बाँधेको पेटीका दुई वटा घाट साँघुरा बनाउँथ्यो। खुकुलो भएर पाइन्ट नझरोस् भनेर मात्र होइन, भोकको ज्वालाले पेटलाई धेरै नदपेटोस् भनेर पनि हो। जसरी उसका बाबु बुकुवाको बगरमा खेत जोत्दा भोकाउँदै गएपछि पटुकी बढी कस्थे।
पुरानो मोडलको नोकियाको मोबाइल जोड्न उसलाई पुरापुर पाँच महिना लाग्यो। टेलिफोन नपुगेको बुकुवा गाउँमा उसकी मिनु थिई। घर छोडेको पाँचौं महिना भइसकेको थियो। उसलाई झस्कान वा भनौं मिठा कल्पना गराउन मिनुको पेटमा हुर्किरहेको अर्काे प्राण पनि थियो। फोनमा बोल्ने सुविधा कहाँ सजिलो थियो र बुकुवा गाउँमा। अँध्यारो कोठामा रंग इनामेलको गन्ध बोकेका लुगासँगै छिर्दा उसलाई केही नमिठो लाग्थ्यो। कसैले केही सोधिदियो भने मात्र उत्तर दिने मेलो पर्छ। भन्नुपर्ने धेरै छन्, तर सोधिदिने उसका आँखा अगाडि यहाँ कोही छैनन्।
काठमाडौंको गरिब डेरा नजिक उसले एक जना किराना पसलेलाई चिनेको छ। एक साताका लागि उधारो पनि चल्छ उसको त्यहाँ। पसलमा रहेको टेलिफोनको नम्बर उसले अस्ति भर्खरै हो गोँगबु बसपार्कमा भेटिएका गाउँका एक जना शिक्षकको हातमा थमाएको। त्यो नम्बर घरमा पुग्दा मिनु औधी खुसी भएकी थिई।
हातमा फोन परेको अर्काे साताको एउटा मधुरो साँझ उसले परिचित पसलेबाट खबर पायो कि गाउँबाट उसलाई कसैले फोन गरेको थियो। भोलिपल्ट बिहान ठिक ७ बजे ऊ त्यहाँ फोन सुन्न पुग्नु थियो। खबर ठूलो थिएन, तर गह्रौं थियो। उक्सिरहेको मिनुको पेट समयले बिसाउने दिन नजिक आइरहेको थियो। खर्चको कुरो गर्न गाउँबाट प्यारीले गरेको फोन राख्नुअघि उसले गोठको भैंसी, खोरका बाख्रा र कुखुराको पनि खबर सोध्यो। सुत्केरी भएका बखत चारछाक मिठो—स्वादिलो खुवाउन उसले ती घरपालुवाको खबर जान्नुपर्ने थियो। डेराबासको खर्चका भ्वाङ टालेर अनेक आवश्यकतालाई निमोठ्दै उवारेका केही थान नोटहरू जुटाएपछि उसले एक अपराह्न साहुलाई घर जाने निधो सुनायो।
***
मिनुलाई मिठो लाग्ने पुष्टकारी र रत्नपार्क आसपासको सडक पेटीमा किन्न पाइने सस्ता कपडाले भरिएको मैलो झोलालाई बाँया हातको आड बनाएर बसको सस्तो अर्थात् अन्तिम सिटमा उसले यात्रा थाल्यो।
ताला लगाएको सानो डेरालाई एक्लै छोडेर ऊ घर जाँदैछ। सुविधाको हिसाबले डेरा र बुकुवाको घरमा खासै अन्तर छैन। एक कोश टाढाको पानी भर्ने खाल्डो, घाँस दाउराका लागि तीनगाँउ छिचोलेर पुग्नुपर्ने चुलीको डाँडो, बाख्रावस्तु चराउने बर्खाको रतुवाको भंगालोले छेकारो पारेर छोडेका ढिस्का दिमागले एक—एक गरी उसलाई सम्झिए। थोरै शान्त र बढी क्लान्त हृदय भएको गह्रौं जिन्दगी बोकेर कैयौं दिनपछि गाउँ फर्किरहेको युवकलाई बाँकी मान्छेका गफ, बसको गति, झ्यालबाट छिरेको चिसो सिरेटोले पटक्कै छोएन। घरी आँखा भरिन्छन्, घरी कल्पनामा सिला खोजेको मन्द खुसीले अनुहार उज्यालिन खोज्थ्यो। बगरको गेग्रयानजस्तै असन्तुलित अनुभूतिका अनेक घुम्ती पार गर्दै उसको यात्रा बढिरहेको छ।
एउटा बलियो विश्वासको रूपमा उसको गलामा आज पनि त्यही बुट्टे गलबन्दी बेरिएको छ। आफन्तहरूले जात नमिल्दी केटीसँग सम्बन्ध नगाँस भनेर दिएको दबाब र हेयपूर्ण बचनको एउटा निर्जीव साक्षी उसको लागि भरोसाको बलियो बिम्ब बनेको थियो। त्यसमा बसेका अनेक रंगहरूले उनीहरूको प्रेमले लुकामारीले खेल्दाका हेर्न मिल्ने—नमिल्ने सबै दृष्यहरू देखेको छ। घरिघरि उनीहरू एकाकार हुँदा काँसघारीमा उनीहरूले एकै लयमा फेर्ने तातो सास पनि त्यसले भोगेको छ। अर्थात् उनीहरूले लाज पचाउँदै जिम्मेवारीको बिउ रोपेको पहिलोपटक त्यही गलबन्दीले थाहा पाएको थियो।