दसैंको केही दिन अगाडिको कुरा। ड्राइभर बिहानै आएर गाडी पुछपाछ गर्दैछ। चिल्लो गाडी टलक्क टल्किएको छ। माथि कोठामा हल्ला गरेको सुनिन्छ। केटाकेटीहरू कराउँदै छन्।
घर ठूलो छ। रमेश कोट पाइन्टमा चिटिक्क छ। श्रीमती पनि राम्री भएकी छन्। छोराछोरीलाई कपडा लगाइ वरी सामान बोकेर रमेश बाहिर निस्किए। भर्याङमा ट्याक ट्याक आवाज गर्दै रमेश तल झरे।
'श्याम, गाडीमा सामानहरू लोड गर त। अनि सुन, म्याडमको सामान कोठामा छ, सुवासले देखाइदिन्छ (सुवास घरमा काम गर्ने केटा), त्यो पनि लिएर आऊ। अलिक गह्रुंगो छ, ख्याल गर।'
रमेश गाडी नजिक पुगे। श्रीमती र छोराछोरी पनि आए। फोटो खिच्ने कुरा चल्यो। आँगनको फूलबारीमा फोटो खिचिए। म्याडमले सुवासलाई घर राम्रोसँग हेरेर बस्नू, घर छोडेर बाहिर नहिँड्नू भनेर सम्झाउँदै थिइन्। ड्राइभरले गाडीको ढोका खोलिदियो। चारैजना गाडीमा चढे। गाडी हिँड्यो।
रमेश आज जन्मघर जाँदैछ। नेपालको पश्चिमी भाग, जाजरकोटमा जन्मिएको रमेश घरपरिवारको पहिलो सन्तान। दुर्गम क्षेत्रमा जन्मिएको ऊ सानैदेखि मेहनती र परिश्रमी थियो। यसपालिको दसैं बिदामा ऊ घर जाँदै छ, परिवारसँग भेटघाट र रमाइलो गर्न।
करिब दश वर्षमा गाउँको घर जाँदा रमेशका मनमा धेरै कुराहरू खेलिरहेका छन्। सँगै पढेका साथीहरूले रमेशलाई कसरी र कस्तो व्यवहार देखाउलान्? अनि रमेशले उनीहरूसँग के कुरा गर्लान्? सँगै पढेका तर कोही जड्याहा भएका, कोही कृषक रहेका कोही सामान्य नोकरीमा लागेका उसका साथीहरूले उसलाई के भन्लान्? साथीहरूको साइनो पुरानै रहला कि घमण्डीपन देखिएला?
गाडी रफ्तारले गुडिरहेको छ। सबैजना यताउती हेर्दै, रमाउँदै, फोटो खिच्दै झ्यालबाट औँला देखाउँदै अगाडि बढिरहेका छ। रमेश विचारमग्न छ।
रमेशको संघर्षको कथा निकै साहसिक र दु:खदायी छ। दश कक्षा उत्तीर्ण गरेर काठमाडौँ छिरेको रमेश एउटा हाकिमको घरमा सहयोगीको रूपमा बस्यो। जीवनमा सवारी साधनको लामो यात्रा रमेशले काठमाडौं आउँदा नै गरेको हो। सुरुमा आउँदा कही गाडी छुट्छ कि भन्ने डरले गाडी रोकिएको ठाउँमा पिसाब गर्न पनि निस्कन सकेको थिएन। ठूला घर, सडक र धेरै मानिस उसले काठमाडौंमा नै देख्यो।
व्यवस्थापन लिएर कलेज पढ्यो। बिहान कलेज जान्थ्यो, दिनभर हाकिम साबको घरमा काम गर्थ्यो। सामान्यत: उसको गृहकार्य गर्ने समय राति दश बजेपछि सुरु हुन्थ्यो तथापि काम गर्दागर्दै पनि पढ्ने बानी परेको थियो। एकछिन समय पायो कि किताब पढिहाल्थ्यो। पढाइमा लगनशील थियो। नजानेका कुरा कलेजका सरहरू र हाकिमका छोराछोरीलाई सोध्थ्यो। सबैले सकेको सहयोग गर्थे।
बिदाको दिन घरको सबै काम भ्याउँथ्यो। व्यक्तिगत सरसफाइ गर्थ्यो र किताब हेर्न थालिहाल्थ्यो। यो देखेर हाकिब र उसकी श्रीमती निकै खुसी थिए। हाकिमले उसलाई सधैं उत्प्रेरणामूलक ज्ञानहरू दिनुहुन्थ्यो। रमेशले यी कुराहरू आफ्नो जीवनमा लागु पनि गर्थ्यो।
कहिलेकाहीँ काम बिगार्दा रमेश निकै डराउँथ्यो। काम बिग्रेको देखेपछि म्याडम कराउनु हुन्थ्यो र सम्झाउने गर्नुहुन्थ्यो। रमेशले सो कुराको सहजै पालना गर्थ्यो। तर कुनैबेला गल्ती नभएको बेला म्याडम कराउँदा भने रमेश निकै चित्त दुखाउँथ्यो। अनि आफ्नी आमालाई सम्झन्थ्यो।
एवं रितले रमेशले एघार कक्षा पास गर्यो। बाह्र कक्षा सुरु गर्यो। सधैं झैँ काम गरेर पढ्ने गर्थ्यो। कहिलेकाहीँ घरमा भोज हुन्थ्यो। खानाको राम्रो व्यवस्था गर्नु पर्थ्यो। धेरै थरिका परिकारहरू बनाउनु पर्थ्यो। त्यसबेला रमेशले पढ्न पाउँदैन थियो। तथापि बाह्र कक्षा पनि प्रथम श्रेणीमा नै पास गर्यो।
त्यसपछि उसले बिबिए पढ्यो। त्यस बेलासम्म रमेशले ठूलो मोबाइल बोक्दैन थियो। जब बिबिए प्रथम वर्ष सुरु भयो उसलाई स्मार्ट फोन दिइयो। सुरुका दिनमा मोबाइल फोनमा लत लागेछ क्यारे, पढाइमा खासै ध्यान दिएन। हुन त यो स्वाभाविक कुरा नै हो, मोबाइल पाएर रमाइला कुराहरू हेर्न पाए कसले दु:ख गर्न मान्छ र? सायद रमेशमा पनि यसै भावना पलाउँदै थियो तर केही दिनमा नै उसले मोबाइल हेर्न चटक्कै छाड्यो। फलस्वरूप पढाइमा अब्बल हुँदै गयो।
बेलाबेलामा हाकिमले रमेशलाई दिने गरेको उत्प्रेरणालाई उसले अवलम्बन पनि गरेको थियो। हाकिमकै घरमा उसले न्यानो माया र प्रेम पनि पायो। उसले व्रतबन्ध गरिदिने र मन्त्र सुनाउने गुरु पायो। तिहारमा टीका लगाउने दिदी पायो। सुखदुःखमा माया गर्ने आमा सरहकी अन्टी पायो। तथापि हाकिमका छोराछोरीको जीवन कहाँ र उसको जीवन कहाँ!
कहिलेकाहीँ रमेश सोच्थ्यो, भाग्यले मानिसले जन्मँदै ठूलो स्थान पाउँछ तर मेहनत र परिश्रमले त्यस्तै स्थान बनाउँछ। भाग्यले पाएको स्थान गुम्न सक्ला तर स्थान बनाउने खुबी भएको मानिसले त जहाँसुकै क्षेत्र र अवस्थामा पनि आफैले आफ्नो स्थान बनाउन सक्ला। जन्मँदा गरिब हुने कुरा रोक्नु आफ्नो वशमा छैन, मर्दा गरिब हुनु चाहिँ आफ्नो कमजोरी हो।
रमेशले हाकिम साहबको घरमा रहँदा नै मोटरसाइकल र गाडी चलाउन सिक्यो। राम्रो चलाउने भैसकेको थियो। जिन्दगी यसैगरी चलिरहेको थियो। अन्तत: हाकिमले रमेशलाई एउटा बैंकमा सामान्य जागिर लगाइदिनु भयो। ऊ खुसी थियो। रमेशमा झन ठूलो हुने आशा पलायो। उसले झन् मेहनत गरेर पढ्यो। रमेशले आफ्नो पढाइ निरन्तर राख्यो र लोक सेवा आयोगको परीक्षा पनि दिइरह्यो।
बैकिङ क्षेत्रको प्रत्येक पटकको परीक्षामा रमेश सहभागी भयो। अन्तत: उसले राष्ट्रबैंकको एउटा विज्ञापनमा नाम निकाल्न सफल भयो। हाकिम र सबै परिवार पनि यो खबरले निकै खुसी भए। उसको आमाबाबुले त खासै कुरा बुझ्दैनन्। तर सरकारी नोकरी खायो रे भनेपछि उनीहरू पनि फुरुक्क भए।
जीवनको दु:ख र पीडाले रमेशलाई संघर्ष गर्न सिकाएको थियो। गरिरह्यो। उसको राष्ट्रबैंकको नोकरीको यात्रा बढ्दै गयो। रमेश क्रमशः प्रगती गर्दै गयो र धेरै माथिल्लो पदमा पुग्यो। रमेशले एउटा चिल्लो गाडी पायो। ड्राइभर पायो। पेट्रोल पायो। त्यतिबेलासम्म रमेशको काठमाडौंमा तीन तले घर बनिसकेको थियो। आवश्यकताअनुसार कोठा भाडामा पनि दिइएको थियो।
सौभाग्यले त्यही बैँकमा काम गर्ने महिला कर्मचारीसँग रमेशको विवाह भयो। उनीहरूबाट एक छोरा र छोरी भए। उनीहरू अहिले दश र सात वर्षका छन्। यी सबैका साथ रमेश अहिले काठमाडौंबाट गाउँको घरमा जाँदैछ।
गाडीको रफ्तारसँग छोराछोरीको हल्लाले रमेशका सोचाइका श्रृङ्खलाहरू बिथोलिए।
गाउँको घरमा पुग्दा त्यहाँका आफन्तबाट पाउने सम्मानले रमेश अहिले नै पुलकित भएको छ। हुन पनि अहिले रमेश सुखी र खुसी छ। अरुभन्दा कत्ति पनि कम छैन। यो सबै सफलताको श्रेय उसको मेहनत र दु:ख नै हो। रमेशले आफूले आफैलाई जितेर यहाँसम्मको उपलब्धी प्राप्त गरेको हो।
अब रमेश धेरै माथि पुगिसक्यो। उसलाई उसको गाँउमा गरिएको स्वागत र सम्मान, उसका परिवारले समेतले महसुस गरेका खुसीका अनुभवहरू र रमेशको बाँकी जिन्दगीका थप सफलताका अरु कथाहरू थपिँदै जानेछन्।
रमेशको जीवनयात्रा संघर्ष र सफलताको कहानी हो। आफ्ना गाह्रा र आप्ठ्यारोलाई चिर्दै ऊ यहाँसम्म आइपुगेको हो। दु:ख पीडामा विचलित नभई सदा अध्ययन र लोक सेवाको परीक्षा तयारीले ऊ जीवनमा सफल भएको छ।
अव ऊ रमेश मात्र होइन, रमेश सर भएको छ। उसकी श्रीमती पनि म्याडम भएकी छन्। उसका छोराछोरी र ऊ पहिले काम गर्ने हाकिमका छोराछोरीबीच केही फरक छैन।
समयको प्रवाहलाई बुझेर आफैले आफैलाई जित्दै अगाडि बढ्ने, दु:खलाई सहने र हरेक खाली समयको सदुपयोग गर्ने अनि हरेक समस्यालाई समाधान गर्दै संघर्षमा उत्रिने मानिसले जीवनमा लक्ष्य प्राप्त गर्छ भन्ने सन्देश रमेशले दिएको छ।