‘ए लोभित! तँ घरमै छस्? म अहिले केही हप्ताका लागि घर आएको छु। भोलि भेट्नुपर्छ है। म खबर गर्छु तँलाई,’ एकाबिहानै चुइँयालालले फोन गर्यो।
चुइँयालाल मेरो असाध्यै मिल्ने साथी हो। अहिले विदेशमा काम गर्छ। सानामा हामीले एउटै स्कुलमा पढेका हौँ। एसएलसी परीक्षामा म प्रथम श्रेणीमा उत्तीर्ण भएँ, ऊ चाहिँ तृतीय श्रेणीमा उत्तीर्ण भयो। उसले आफू कमजोर भएँ भनेर मसँग धेरै गुनासो गर्यो। अब आफूले जीवनमा केही गर्न नसक्ने भएँ भनेर आँखाभरि आँसु पार्यो। मैले धेरै सम्झाएँ।
उसले मलाई धेरै पटक खाजा खुवाएर होमवर्क गर्न लगाएको थियो। पढ्न त्यति मन गर्दैनथ्यो। सम्पन्न परिवारको र प्रशस्त पैसा भएकाले ऊ सबै जसो काम पैसाले गराउन चाहन्थ्यो। एसएलसी परीक्षामा पनि उसले मलाई पैसा दिने र मैले उसलाई उत्तर देखाउने प्रस्ताव गरेको थियो। मैले मानिनँ र भनेँ, ‘म तँलाई परीक्षाभन्दा पहिले जे भन्छस् सिकाउँछु तर परीक्षामा यस्तो काम कहिल्यै गर्दिनँ, गर्नु पनि हुन्न।’
उसले यसलाई त्यति सहज रूपमा लिएन तर मेरै सहयोगले उसले परीक्षा दियो र तृतीय श्रेणीमा उत्तीर्ण भयो।
ऊसँग त प्रशस्त पैसा थियो। ऊ पढ्न सहरतिर लाग्यो। मैले पढ्न पाइनँ। भाइबहिनी पढाउनु थियो। म बाआमालाई काम सघाउन थालेँ। म कोदालो बोकेर खेततिर लागेकै दिन ऊ बस चढेर सहरतिर लाग्यो।
ऊ बेलाबेलामा गाउँ आउँथ्यो। गाउँ आउँदा चाहिँ उसले मलाई भेट्न बिर्सेन। भन्थ्यो- ‘लोभित, तैँले पढिनस्। पढ्दा मन फराक हुन्छ। यसरी गाउँमा भासिइस् भने तँ गरिब हुन्छस्। तर चिन्ता नले। म पढेर पैसा कमाउँछु अनि तँलाई त सहयोग गरिहाल्छु नि। तँ थिइनस् भने मैले एसएलसी नै पास गर्ने थिइनँ।’
केही वर्षपछि अर्को पटक ऊ गाउँ आयो। उसले आफ्नो प्रगति सुनायो। आफू स्नातक भएकामा गर्व गर्यो। मैले आफू बाबु भएमा पत्नीको गर्भलाई धन्यवाद दिएँ। हामीले रमाइलो गफ गरेर झन्डै दिन नै बितायौँ। उसले अब आफू विदेश जाने, उतै पढ्ने र काम गर्ने कुरा सुनायो। मेरो त गरिबीसँग जुधेर परिवार पाल्नु थियो। मैले यही सुनाएँ। त्यसपछि हामी बिदा भयौँ। यस बिदाइपछि उसले आजै हो फोन गरेको।
यति बेला मलाई पैसाको साह्रै खाँचो थियो। मैले कतै यसले पत्यायो भने ऋण माग्नुपर्ला भन्ने सोचेँ। फेरि ऊ धनी छ के हात पसार्नु भन्ने पनि सोच आयो। फेरि अर्को मनले भन्यो, धन त क्षणिक हुन्छ। मित्रता भनेको घाटसम्म साथ रहने कुरा हो। उसको बैङ्कमा भएको पैसाले उसको अन्तिम दिनमा काम चल्दैन। त्यस दिन उसको चेक काटिँदैन। के गर्नु त्यो पैसा? ऊसँग पैसा छ। पढेको मानिस मन फराकिलो होला। मलाई पक्कै पत्याउला। भेट गर्दा म यो पनि कुरा राख्छु। मैले मनमनै कुरा खेलाएँ।
नभन्दै उसले फोन गर्यो। ममा एउटा नयाँ आशा पलायो। म उसले भनेको ठाउँमा गएँ। हाम्रो ठाउँको नामी रेस्टुरेन्ट रहेछ। जाने बित्तिकै उसले हाम्रा लागि खानेकुरा मगायो। के ठान्यो कुन्नि आज मासुका परिकार बढी मगायो। हामी खान थाल्यौँ। उसले आफ्नो विदेश बसाइ, कमाइबारे धेरै कुरा बतायो अनि मलाई सोध्यो, ‘तँ चाहिँ के के गर्छस्? कसरी जीवन धान्दै छस्? बता न।’
मैले के बताउन सक्नु! भाइबहिनी पढाउँदा, आफ्नो बिहे गर्दा लागेको ऋण, आमाको उपचार गर्दा गर्दै बचाउन नसकेको पीडा, बा रोगिएर गएको कुरा के बताउनु मैले? म सोच्दै थिएँ, उसले थप खानेकुरा मगायो र भन्यो, ‘आज तँ र म भएर टन्न खानुपर्छ। के यसो पिउँछस्? पिउने भा मगाउँछु। यसैमा त छ मजा। अनि तँ त घोरिइस् नि! के भन्न खोज्दै थिइस्? भन् भन्। किन लजाउँछस्! कि डराइस्?’
यो सुन्दा मलाई भित्रबाट आँट आयो। दुःख पर्दा साथीलाई त हो सुनाउने। भन्नुपर्यो भनेर सोचेँ र भनेँ, ‘चुइयाँ! म पिउन त पिउँदिनँ। यति खेर मलाई साह्रै समस्या छ। ऋणले टाउको पुरिसक्यो। तैँले मलाई अलिअलि सहयोग गर्थिस् कि? म सकेपछि तिर्थेँ। साहुले ब्याज नै बढी लिन्छन् अचेल!’
उसले पिठिउँमा धाप मार्दै भन्यो, ‘यति पनि गर्दिनँ त म! कति चाहियो? एक लाख, दुई लाख? मेरो मनको साथी होस् तँ। मन खोल् साथी मसँग। अलिकति पिऊँ अनि कुरा गरौँला है।’
उसले कुन्नि के नामको एक बोतल मगायो। मलाई पिउन धेरै कर गर्यो। मैले मानिनँ अनि उसले एक्लै पिउन थाल्यो। पिउँदा पिउँदै उसले आफ्नो कमाइ, लगानी, श्रीमतीले गर्ने खर्च, अरूले डुबाइदिएको व्यवसायका बारेमा धेरै कुरा सुनायो। अनि भन्यो, ‘हेर साथी, तँलाई म जति पनि दिन्छु। मसँग पैसा पनि छ तर एउटा चिन्ता छ मित्र।’
‘के चिन्ता भन् न। म केही सहयोग गर्न सक्छु कि!’ मैले काँक्राको टुक्रा चपाउँदै भनेँ।
‘पैसा दिएपछि तेरो र मेरो मित्रता टुङ्गिएला भन्ने मलाई साह्रै डर छ। हेर्, मैले पैसा दिएपछि तैँले तिर्नुपर्छ। पैसा तिर्न तैँले थप काम गर्नुपर्छ। काम गर्दा तँलाई झन् धेरै पीडा हुन्छ। त्यो पीडा मैले कसरी सहने मित्र! फेरि पैसा दिन्नँ भनेको चाहिँ हैन है!’ उसले एक प्याक स्वाट्ट पार्यो।
मलाई के भन्नु के भन्नु भइरहेको थियो, उसले नै थप्यो, ‘पीडा त यसोतसो सहुँला तर पैसा पाएपछि तिर्नुपर्छ भनेर तँ टाढिन्छस्। स्वाभाविक हो, म पनि त्यसै गर्छु। तैँले मेरो फोन उठाउन पनि छाड्छस्। यसो भएपछि तँलाई सम्पर्क गर्न मैले अर्को सिम किन्नुपर्छ। त्यहाँ पैसा खर्च हुन्छ। म गाडी चढेर तँलाई खोज्दै आउनुपर्यो। पैसा खर्च भइहाल्छ। तँ पनि मसँग भेट होला कि भनेर अर्कै बाटो हिँड्छस्। तेरो पनि खर्च बढ्ने भो। अनि तेरो र मेरो फाटो पर्छ। मैले मेरै साथीलाई पक्रन प्रहरी बोलाउनुपर्छ। अनि तेरो र मेरो सम्बन्ध सकिन्छ। हो कि होइन, भन् त? फेरि पैसा दिन्नँ भनेको चाहिँ हैन है!’
यस पटक उसले के टिप्यो मलाई थाहा भएन। मैले चाहिँ एक ढिँडी खुर्सानी टोकेँ र एक गिलास पानी घटघटी खाएँ।
उसको आवाज लरबरिइसकेको थियो। उसले जिउ असहज बनाउँदै भन्यो, ‘पिर छ साथी मलाई। छोराछोरी, स्वास्नीका चाहना पुर्याउन कति गाह्रो छ। पैसा त्यसै आउँछ? तरतरी पसिना चुहाउनुपर्छ। तर आज मन बहलाउन तँसँग बसेर खुब खाइयो। फेरि पनि यसरी खानुपर्छ है। चिन्ता नगर्, म छु नि तेरो साथी। तैँले उहिले मलाई साथ दिइस्, अहिले म तँलाई साथ दिन्छु। केही थप्छस्? खाने बानी नभएको मान्छे! फेरि म जस्तो परिनस्, खाँदा पैसा खर्च भइहाल्छ। अब तँ त मिल्ने साथी! पैसाको के चिन्ता! साथी नै भइसकेपछि आजको पैसा तैँ तिर्। म भोलि तिरौँला। हेर् यी पर्स त टन्न छ। फेरि पैसा दिन्नँ भनेको चाहिँ हैन है!’
ऊ मलाई उसको पर्स देखाउँदै नसाभित्र पस्यो। म निराशाको पोको बोकेर बाहिर निस्केँ।