पानी पर्नै लागेको मौसम, आकाशमा काला बादलहरू मडारिँदै गर्दा बेलाबेला सातोपुत्लो उड्ने गरी गर्जिएको मेघ अनि चट्याङका झिल्काहरू। मान्छेहरू आफ्ना आफ्नै सुरमा मौसमको हडबडाहट सँगै कुदिरहेका थिए। यस्तैमा बसबाट ओर्लनासाथ ऊ कुद्दै नजिकको ठुलो क्याफे पुग्यो। क्याफे लगभग सुनसान नै थियो।
पुराना फाट्न लागेको जुत्ता, सामान्य फर्मल ड्रेस अनि गह्रुङ्गो झोला बोकेको ऊ। नयाँ विचारको समयमा पुरानै सामान्य अनुहार लिएर अन्तिमको एउटा कुनाको टेबलमा बस्न मात्र के भ्याएको थियो एक हँसिली मुहार भएकी वेट्रेस ओठभरि मुस्कान भर्दै हातमा मेनु बुक बोकेर सोध्न पुगी।
‘सर के लिनु हुन्छ? अर्डर प्लिज!’
‘सर प्लिज’ शब्दबाट ऊ कति पनि प्लिजड् भएन। ऊ कठोर थियो या उसको बोली, मेनुलाई बेवास्ता गर्दै फोनको स्क्रिनमा निहुरिएको टाउकोलाई स्थिर राख्दै एकै स्वरमा भन्न पुग्यो एउटा- 'अमेरिकानो सिंगल सट।क'
सिंगल सटको प्रतीक्षा जारी थियो। ऊ धेरै चुरोट तान्ने मान्छे पनि थिएन। सिगरेट र कफी अर्थात् 'डबल सी' यसको छुट्टै बेग्लै नसा छ, ऊ यसै भन्ने गर्थ्यो। उसको नितान्त एक्लो जीवनमा डबल भन्ने चिज सायद यिनै 'डबल सी' मात्र थिए। सिगरेटको एक खिल्ली उसका हातमा सलबलाउँदै गर्दा धुवाँको एक मुस्लो त्यो कुनामा रङमङिसकेको थियो। उसका आँखाले धुवाँमा अनेकन् आकृतिहरू कोर्दै थिए। चित्रहरू बन्ने र बिलाउने क्रम निरन्तर जारी थियो।
अमेरिकानो सिंगल सट, त्यही कालो कफी लिएर केही छिनमै वेट्रेस आइपुगी। थाहा छैन ऊ कुन कुरामा ध्यानमग्न थियो। आँखाहरू अझै पुतपुताइरहेका धुवाहरूमा नै हराएका थिए।
‘सर! हजुरको अमेरिकानो सिङ्गल सट’ भन्दै फेरि पनि बनावटी थियो या नेचुरल मुस्कानका साथ टेबुलमा कफी राखेर बिदा भई! ऊ कफीलाई गहिरिएर नियाल्दै थियो। रिफाइन चिनीका सानु दुई प्याकेट, एक सानु चम्चा अनि कफी सहितको प्लेट, प्लेटमा चिनी र चम्चा उसका लागि बेकामका थिए। बेकामको चिजलाई यसै छोडेर ऊ तितो कफीको सुरुवाती एक चुस्कीको मिठास आफूमा भर्दै गर्दा कता कता विगतको पहिलो क्यापुचिनोको यादहरूमा डुबेको थियो।
यादहरू क्रमशः कुनै सिनेमा चले झैँ चल्दै जान्छन्।
‘तिमी के लिन्छौ?’ मेनुको बाक्लो ठेली पल्टाउँदै उनले सोधिन्।
म अलमल्ल थिए। जीवनको पहिलोपल्ट म उनीसँग ठुलो क्याफेमा पुगेको थिएँ। त्यसअघि पनि केटाहरूसित सानातिना कफी सप र चिया पसल त गएकै थिएँ तैपनि उनीसँगको त्यो बसाइ, त्यो भव्य क्याफे अनि बजाइएको मधुर संगीतले मलाई रोमाञ्चित बनाइरहेको थियो। म के खाने वाला थिएँ सोच्न र खोज्न दुवै सकिरहेको थिइनँ।
मुस्कुराउन नजाने पनि फिस्स हाँस्दै उनलाई हेरेर भनेँ, ‘तिमी जे अर्डर गर्छौँ मलाई नि त्यही है!’
ऊ अझै अलमलमा थिई। हातमा पेन र पेपरसहित वेटर अर्डर लेख्नको लागि तयार थियो।
‘दुइटा क्यापुचिनो र एउटा फ्रेन्च फ्राई।’
वेटर अर्डर लिएर गइसकेको थियो। म उनीसँग बोल्नको लागि विषयहरूको छनोटमा थिएँ। कति गाह्रो कतै अकवार्ड फिल नहोस् भनी जसोतसो फाट्टफुट्ट गफ त दिइरहेकै थिएँ। उनी कति शान्त र मौन थिइन्, म भनी छुट्टै उत्सुकतामा रमाइरहेको थिए। सधैँ दूध चियामा रमाइरहेको म अब क्यापुचिनोको दुनियाँलाई चिन्दै थिएँ।
चौपट्टै राम्री उनी। इन्द्रका अपसराहरू कस्ता थिए कुन्नि! कुनै अप्सराभन्दा कम थिइनन् मेरो कल्पना र सोचाइभन्दा परको, उनीसँग बसेर कफी पिउन पाउनु स्वयंको लागि आश्चर्यको विषय थियो। लजालु स्वभावको म त्यति धेरै राम्रो पनि त थिइनँ। खै भाग्य कुण्डलीको कुन उल्काको प्रभाव थियो कुन्नि! तर म खुसी थिएँ।
क्यापुचिनो आइसकेको थियो। आहा! कति राम्रो मुटु चित्रको कला। साँच्चै मायालु जोडीहरूकै लागि रहेछ क्यापुचिनो, मनमनै कल्पिएँ। मुटु चित्रले मेरो मुटुमा छुट्टै ढ्याङ्ग्रो बजाएको थियो। त्यही बेला सम्झिएँ चकलेटको विज्ञापन- 'फिर से मन मे लड्डु फुटा।'
त्यति बेलासम्म मैले उनीसँगको जीवनको कल्पनाका थुप्रै लड्डुहरू फुटाइसकेको हुँदो हुँ। थोरै लाजसँग रातो पिरो भएको थिएँ। उनले कफीमा रिफाइन सुगर घोल्दै गर्दा चिनीसँगै म पनि रिफाइन भई घोलिएर विलीन भइसकेको थिएँ। क्यापुचिनो साँच्चै मिठो थियो। त्यो पल, ती समय अनि मधुर संगीत सबै मिठा थिए।
त्यो समय मिठासमा नै सकियो। समय बित्दै गयो। कफीले निद्रा लाग्दैन, मान्छेहरू यसै भन्ने गर्छन्। सायद त्यसै होला म पनि निदाएको थिइनँ। क्याफिनको नशाभन्दा छुट्टै नशा मलाई उनको लागेको थियो। कफी त यसै बदनाम भए जस्तै लाग्थ्यो। सधैँ आफ्नै खयालमा हुन्थेँ। अनेकन् कुरा र प्रसङ्ग ल्याएर गफ पनि हाँकिरहन्थे। उनी मेरा लागि अब दैनिकी जस्तै थिइन्। मेरा हर खुसीको आदतमा, सानातिना सुख दुःखका कुराहरूमा, सुनाउन भनी साँचेर राखेको हरेक कुरामा उनी थिइन् तर पनि डर लागिरहन्थ्यो कतै म उसलाई इरिटेट पो गरिरहेको छु कि!
कुनै कविले भनेझैँ डराएको मनले लगाएको पिरतीमा साँच्चै पिर मात्र बाँकी हुने रहेछ। थाहा छैन मन किन डराएको थियो तर पनि हुने हार दैव नटार भनेझैँ हुने कुरा जसरी नि हुनु थियो। सबै कुरा बदलिँदै थिए। आखिरमा बेवकुफ त मन नै थियो। क्यापुचिनोको मिठासमा हराउँदै गर्दा उनका अगाडि आत्मसमर्पण गरेका मेरा भावनाहरू अनियन्त्रित भइसकेका थिए। अनियन्त्रित भावनाहरूबाट एउटै परिणाम आउनु थियो, जुन दुर्घटना थियो।
त्यस्तै दुर्घटनाका सिकार मेरो स्वयंको कल्पनाहरू भए। मैले सिर्जना गरेको भावी हाम्रो जीवनका कल्पनाहरू, आकाशमा उडिरहेको कल्पनाका संसारहरू कहिल्यै देखा नपर्नी गरी पातलमुनि धसिएका थिए। मन घायल भएको थियो। भावनाहरू टुक्रिएर छरपस्ट थिए। मैले बताउन सकिनँ या उसले सुन्न चाहिन। उसले सोचेको म र मैले सोचेको उसको लागि म दुवै छुट्टै थिएँ। भिन्न थिएँ।
क्यापुचिनोबाट अब मिठास भर्ने तत्त्वहरू- दूध, चिनी, ती कलाहरू हामी छुट्टिएसँगै छुटिँदै थिए। मिठास त उसले लगिसकेकी थिई। मैले चाहेर पनि रोक्न सकिनँ, सायद ऊ रोकिने पनि थिइन।
म अब कफीसित मात्र बाँकी थिएँ। तितो कालो कफी, बिनारंग पानीसँगको मात्र कफी। क्यापुचिनोको छोटो रङ्गिन पलहरूबाट अब बदलिएर म पनि अमेरिकानोमा अभ्यस्त भइसकेको थिएँ। हरेक कफी अनि सम्झनामा ऊ सधैँ मिठास बनेर आउँथी। म त्यही तितो कफीमा घोलेर पिइदिन्थेँ। जस्तै तितै भए नि पछिसम्म मिठास बाँकी रहिरहन्थ्यो। म पनि बाँकी राखिरहन चाहन्थेँ, सधैँ कैद गरेर ती तिता अनि मिठा सम्झनाहरू।
यादहरूको रिल सकिँदै थियो। स्मृतिहरू धमिलिँदै थिए। बाहिर केही हदसम्म वर्षा थामिँदै थियो। उसको कफीको चुस्कीहरू सकिँदै थिए। चुरोटको धुवाँ कुनामा नै बिलाइसकेको थियो। दुई केटा र केटी उसका टेबलको विपरीत अर्को कुनामा बसी खासखुस गरेको सुन्दै गर्दा दुई मुटु सहितको कला कुँदिएको क्यापुचिनो उनीहरू सामु आइपुगिसकेको थियो। उसले केही छिन टोलाउँदै गर्दा सायद ऊभित्र बाँकी रहेको क्यापुचिनोको स्मृतिलाई त्यही कालो कफीमा एकै चोटि घोलेर अन्तिम चुस्की पियो।
कपको पिँधमा अझै कालो कफीको तिता आभासहरू बाँकी थिए। अगाडिको एस्ट्रेमा धुवाँको सम्झना स्वरूप चुरोटका ठुटाहरू ठिङ्ग उभिएका थिए। विलीन भएको धुवाँ, तितो पिँधमा बाँकी रहेको कफी अनि डढिसकेको चुरोटका ठुटाहरूको सम्झना उसले त्यही छोडेर गयो। खै कता गयो? कहाँ गयो? कसैलाई थाहा भएन। त्यसपछि ऊ कहिल्यै त्यो क्याफेमा फर्किएन। सायद अन्त कतै कुनै क्याफेको कुनाको टेबलमा एक सर्को धुवाँको मुस्लोमुनि बसेर कालो कफीसँगै तितो जीवन पिउँदै होला।
उसले छोडेको त्यो कालो कफीको तितो सम्झना अझै त्यही क्याफेमा पाइन्छ। कतै कहिल्यै मन लागेको समयमा त्यो क्याफेमा पुग्नु भयो भनी नबिर्सी पिउनु होला ‘अमेरिकानो सिंगल सट’। उर्फ त्यही कालो कफी!