हरेक वसन्तसँगै मेरा कलिला हातहरु
आज दह्रो अनि बलिया भए,
सबैभन्दा सानो नम्बरको जुत्ता खोज्ने गोडाहरु
आज सजिलै हरेक महिना जुत्ता फटाउन सक्ने भए,
हरेक नयाँ वर्षले वर्षैपिच्छे नयाँ स्वरुप दिएर गयो
तर अफसोच,
तिमी र ममा थोरै फरक छुट्याइएर गयो
म तिमी जस्तै 'म' हेर्न त्यो समय भेट्छु भन्छु,
तर म तिमी जस्तो हुँदा तिमी म जस्तो रहेनौ
त्यसैले आजकल लाग्छ,
तिम्रा हातमा परेका चिराहरु पो रहेछन्
जस्ले आफ्ना रसहरु दिएर मेरा हातखुट्टा र शरीर पुष्ट बनाएर गए!
ती त तिम्रा रंगिन रहरहरु पो रहेछन्
जस्ले मेरो दुनियाँ सजाउन आफ्नो संसार बिर्सिएर गए!
मैले मेरा आँखाका सपनाहरुमा
तिम्रा रसिला आँखाहरु देख्छु र कल्पना गर्छु,
तिम्रो आधा उमेरका इच्छाहरु!
मैले सम्झेदेखिको तिम्रो पुष्ट गाला अनि
तिम्रो आँखाको नानीमा सर्लक्क परेका गाजल
मलाई नानीमा सजाउँदै गर्दा सुकेछन्!
हरेक नयाँ वर्षले मलाई नयाँ स्वरुप दियो
अनि तिम्रो स्वरुप लिएर गयो
त्यसैले तिम्रा आँखामा हेर्दा भाउन्न हुन्छ मलाई
तिम्रा लर्खराएका खुट्टाहरु हेर्दा चसक्क गर्छ मलाई
तिम्रो लर्बरिएको बोली सुन्दा आँखा छचल्किन्छ मेरा
त्यसैले नयाँ साल नआओस् अब,
मलाई तिम्रा पहिलेकै आँखाहरु मन पर्छ
तिम्रो कालो कपाल अनि पोटिला नङहरु नै मन पर्छ
तिम्रो पुक्क परेको गाला र नचाउरिएको छाला नै पर्छ मलाई
आफ्नो होइन, तिम्रो स्वरुप परिवर्तन हुने डर छ मलाई
त्यसैले,
होस् म स्वागत गर्दिनँ नयाँ वर्ष तिमीलाई
किनकि मलाई मेरी आमाको उमेर ढलेको मन पर्दैन।