मध्यरात -३२ डिग्री सेल्सियसको जाडो।
सडकहरू हिउँले सेताम्मे मात्र हैन सिसाको सिंगो चिप्लेटी बनेका छन्। सुनसान रातमा एक दुइटा गाडीबाहेक मान्छेको त कुरै छोडौं चरो मुसो पनि देखिँदैन। घर-घरका चिम्नीहरूबाट धुँवा जसरी बाफ उडिरहेको छ निरन्तर क्षितिजतिर।
एउटा हातमा खानाको सानो झोला र अर्को हातमा पर्स समातेर घरभित्र छिर्छे रुविना।
यो उसको जागिर खाने घर हो। त्यो घरमा दुईजना अधबैंसे केटाहरू बस्छन् नोडिन र गेरोनिमो। उमेरले मात्र अधबैंसे हुन् उनीहरू।
बुद्धि र विवेकका हिसाबले केटाकेटी नै छन्। शरीरको ओजन क्विन्टल भन्दा बेसी छ। खाना जति खाए पनि नपुग्ने। उठेदेखि नसुतुन्जेल भोक लाग्यो, भोक लाग्यो भनिरहने। फ्रिजबाट काँचो मासु समेत झिकेर खाने भएकोले फ्रिजमा साँचो लगाएको छ।
बेलाबेलामा होस पाउँदैनन् केटाहरू। उस्तै परे चक्कु झिकेर हान्न आउने भएकोले किचन क्याबिनेटमा पनि ताल्चा लगाएको छ।
घरको एउटा कुनामा एउटा सानो कोठा छ। यो उसको अफिस हो। अघिल्लो सिफ्टमा काम गर्ने स्टाफसँग दिनभरिको गतिविधिको बारेमा जानकारी लिन्छे।
औषधिहरूको रुजु गर्छे। पैसा ,चुरोट गिन्छे र कागतमा हस्ताक्षर गर्छे। त्यसपछि कम्प्युटरमा हाजिरी दर्ता गर्छे।
डकुमेन्टको काम सकेपछि ऊ सरासर किचनमा जान्छे र जुठा भाँडाहरू माझ्छे। झाडु लगाउँछे। केटाहरूलाई औषधी खुवाउने बेला भएकाले कम्प्युटरबाट उनीहरूको औषधि रुजु गरेर पालैपालो खान दिन्छे।
उनीहरूले औषधि निले ननिलेको पक्कापक्की गर्नको लागि उनीहरूलाई आँ गर्न लगाउँछे। जिब्रोको तल तर्कुलोसम्म हेर्छे। निलेको पक्का भएपछि कम्प्युटरमा पुन: रुजु गर्छे। त्यसपछि केटाहरू आ-आफ्नो कोठातिर सुत्न जान्छन्।
सबै काम सकेर रुविना सोफामा गएर आराम गर्छे। फोनमा फेसबुक खोल्छे र हेर्दै साथीहरूका फोटाहरू लाइक, कमेन्ट गर्दै जान्छे। कसैले पार्कमा गएर खिचेका फोटा अपलोड गरेका थिए भने कसैले रेस्टुरेन्टमा खान खाँदै गरेका तस्बिरहरू टाँसेका थिए। उसको भूतपूर्व लोग्नेले फोटो अपलोड गरेको थियो नयाँ गर्लफ्रेन्डसँग।
उतिखेरै हटाइ साथीको लिस्टबाट। मनभरि कुरा खेले उसका। बितेका दिनहरू आँखा अगाडि नाच्न थाले। रातिको सिफ्ट भए पनि, ऊ सुत्न पाउँदिनथी। रातभर जागाराम बस्नु पर्थ्यो। तर कहिलेकाहीँ भने सोफामै निदाइदिन्थी ऊ।
त्यो दिन सोफामा यसो के पल्टेकी मात्र के थिई ऊ, नोडिन उठेर बाहिर निस्क्यो। उसले नोडिनलाई बाहिर जानबाट रोक्न खोज्दै भनी, 'नोडिन , तिमीलाई रातिमा बाहिर जान मनाही छ। त्यसमा पनि तिमी एक्लै कतै निस्कन पाउँदैनौ।'
नोडिन सुनेको नसुने झैं गरेर जाकेट र स्नो बुट लगाउन थाल्यो।
"नोडिन , तिमीले सुनेनौ कि मैले भनेको ? तिमी जुत्ता खोल र कोठामा गैहाल। बाहिर तिमीलाई खतरा हुन्छ। चिसो र चिप्लो छ। पसलहरू बन्द छन् यतिबेला।"
"यु क्यान्ट टेक माई लिबर्टी अफ। आइ एम अ फ्री म्यान ," केलेचीको मुखमै नहेरी भन्यो उसले र सरासर बाहिर लाग्यो।
सडक सुनसान थियो। दुई दिनदेखि हिउँ परेकोले गर्दा सडकभरि हिउँ थुप्रिएको थियो। रुविनाले ऊ पर पुग्दासम्म झ्यालबाट हेरी।
प्रोटोकल अनुसार उसले आफ्नो म्यानेजरलाई फोन गरेर रिपोर्ट गरी। कम्प्युटरमा पनि घटना विवरण टाइप गरी र पुन: सोफामा पल्टेर फोनमा गीतहरू सुन्न थाली।
करिब आधा घण्टापछि नोडिन फर्कियो र सरासर कोठाभित्र गयो। म्यानेजरलाई पुन: रिपोर्ट गरी उसले।
नोडिन कोठाभित्र पसेपछि बाहिरको ढोका लगाई र अफिसमा गई। केस नोट बनाई र इमेल गरी।
रात बित्दै जाँदा उसले आफ्ना छोराछोरीहरूलाई सम्झन्छे। दश वर्षकी छोरी आठ वर्षको छोरा एक्लै छन् घरमा।
साथीको छोरी आउछे उनीहरूसँग सुत्न। एक महिनाको लागि भनेर अनुरोध गरेकी थिई बिनासँग रुविनाले।
लोग्नेसँग छुट्टिएको करिब दुई वर्ष पुग्यो। केही वर्षदेखि उनीहरू क्यानडाको टोरोन्टोमा बस्दै आइरहेका थिए। यसरी छुट्टिनाको मुख्य कारण नयाँ वर्षको त्यो रात थियो जुन रात रुविनालाई उत्तमले साथी जफारीसँग आफ्नै कोठामा भेटेको थियो।
वास्तवमा त्यो कर्ण र भानुमतीको जस्तै संयोग थियो। तर उत्तम दुर्योधन नभई राम बन्न पुग्यो। त्यो दिनदेखि उनीहरूको बीच एकले अर्कोलाई आरोप लगाउने र झगडा गर्ने क्रम चलिरह्यो।
अन्तत: रुविनाले नै एक्लै बस्ने निर्णय गर्न बाध्य भई। उसलाई त्यहाँ बस्नसम्म मन लागेन र अन्तत ऊ अर्को प्रोभिन्स अल्बर्टा मुभ गरी।
सोच्दासोच्दै कुर्चीमा निदाउन लागेकी हुन्छे ऊ, बाहिर टिभीको ठूलो आवाज आउँछ।
ऊ बाहिर निस्कन्छे हतार हतार। गेरोनिमो उठेर टिभी खोलेको रहेछ। ऊ अर्धनग्न थियो।
गेरोनिमो चालिस वर्षको छ। मानसिक विकास राम्रोसँग नभएको बिरामी हो। उसलाई बोल्न प्रस्टसँग आउँदैन। हात एकोहोरो चलाइरहन्छ अर्थात् दाइने हातले देब्रे हातको औलाहरू भाँचिरहन्छ। राम्रोसँग हिँड्न आउँदैन।
दिमागको विकास राम्रोसँग नभएकाले गर्दा दिशा पिसाब जहाँ लाग्यो त्यही गर्दिन्छ।त्यसैले गर्दा पनि रुविनाले उसको डाइपर बारम्बार फेर्दिनु पर्छ। कहिलेकाहीँ त उसले एक्कासि टाउको टेबल, भुइँ तथा भित्तोमा ठोक्छ। यस्तो बेला उसले नजिक भएको मान्छेलाई पनि एक दुई मुक्का ठोक्न पनि भ्याउँदछ।
रुविना यस्तो अवस्थामा कतिपल्ट त पछाडिको ढोकाबाट बाहिर भागेर ज्यान बचाएकी छ।
'हाइ बिहेभियर' अर्थात् आक्रामक भएको बेला रुविनाले औषधि दिन्छे उसलाई। तर पनि आजकल औषधिले त्यति असर गर्दैन।
रुविनाले गेरोनिमोलाई कोठामा जान भन्छे। तर उसले टेर्दैन। उसको देब्रे आँखो कानो छ भने दाइने खुट्टो छोटो छ। एउटा खुट्टो भुइँमा लतार्दै बैठक कोठामा यता र उता डुलिरहन्छ। रुविना उसलाई पुन: कोठामा जान अग्रह गर्दै टिभी बन्द गर्दिन्छे।
त्यसपछि ऊ खाना खाने टेबलमा गएर बस्छ। उसलाई बोल्न नआउने भएकोले उसको हाउभाउ बुझेर व्यवहार गर्नुपर्ने हुन्छ। रुविनाले फ्रिजबाट पुडिङ निकालेर दिन्छे। खाँदैन उसले। एकोहोरो भित्तोतिर हेरेर बस्छ। एकैछिन पछि एकोहोरो चिच्याएको आवाज निकाल्छ। रुविना अलि सतर्क भएर बाहिर निस्कने र ढोकानिर गएर उभिन्छे।
गेरोंनिमोले एकैछिनमा डंग डंग टाउको ठोक्छ टेबलमा। हेर्दा हेर्दै उसको निधारबाट रगत बग्छ थाल्छ। रुविना डरले बाहिर भाग्छे। बाहिरबाटै म्यानेजरलाई फोन गर्छे र तुरुन्त इमर्जेन्सीमा पनि कल गर्छे।
केहीबेरमा एम्बुलेन्स पनि आइपुग्छ। त्यतिबेलासम्म गेरोनिमोको अनुहार रगतले लत्पतिएको थियो। बडो होसियारिकासाथ स्वाथ्यकर्मीहरूले उसलाई उठाएर एम्बुलेन्समा राख्छन्।
प्राथमिक उपचारपश्चात् उसलाई हस्पिटल लैजान्छन्। केलेचीले सबै रिपोर्ट तयार गर्छे। यति गर्दा गर्दै उज्यालो हुन्छ।
नोडिन उठिसकेको हुन्छ त्यतिन्जेलसम्म। उसलाई ब्रेकफास्ट बनाएर खान दिन्छे। औषधि पनि दिन्छे। सात बजे बिहानको स्टाफ, वोसागी बिहानको सिफ्टको लागि आउँछ।
सबै कुराहरूको ब्रिफिङ गरेर ऊ घर फर्कछे। छोराछोरीलाई लन्च तयार गरेर डिब्बामा हाल्छे। ब्रेकफास्ट खुवाएर स्कुल पठाउँछे।
सबै काम सकेर दश बजेतिर सुत्छे तर रातको घटनाले गर्दा उसलाई निन्द्रा पर्दैन। दिनभर के के सोची के के। उठेर बेलुकाको खान तयार गरी र छोरा छोरीलाई ल्याउन स्कुल गई। स्कुल नपुग्दै उसलाई काम गर्ने हेडअफिसबाट फोन आउँछ।
केलेचीले चिटचिट पसिना काड्छे। उसलाई म्यानेजरले त्यो रात काममा नजान र भोलि अफिस आउनको लागि फोन गरेको थियो। त्यतिबेला रुविनाले आफ्नो जागिर चट भैसकेको महशुस गरिसकेकी थिई।
भोलि बिहान ऊ केटाकेटीलाई स्कुल पुर्याएर अफिस जान्छे।
केहीबेरको कुराइ पश्चात उसलाई एउटा सानो कोठाभित्र बोलाइन्छ र म्यानेजरले सोध्छ," ह्वाट ह्यापेन्ड लास्ट नाइट? टेल मि एभ्रिथिङ इन डिटेल। "
उसको छातीमा धक धक बढ्न थाल्छ। चिट चिट पसिना छोड्दै भन्छे, " आइ ह्याव मेन्सन अलरेडी इन द रिपोर्ट। "
"डिड यु फलो द पर्सिजर?"
"एस, आइ डिड। "
" नो, यु डिड नट। "
रुविना चुप लाग्छे। एकमनले सोच्छे मुखभरिको जवाफ दिन्छु। यसै जागिर गयो, उसै गयो। फेरि अर्को मनले भन्छ, 'कुल डाउन'।
'अर्कोको देशमा भोलि पनि जागिर खोज्नु पर्छ।'
म्यानेजरले फाइलबाट एउटा कागत निकाल्छ र साइन गर्न भन्छ, "दिस इज योर फस्ट रिटन अप। इफ यु डोन्ट लर्न फ्रोम दिस, आई हाभ टु टर्मिनेट योर इम्प्ल्योइमेन्ट। '
उसलाई रिंगटा लाग्छ। अँध्यारो मुख बनाएर कागजमा साइन गर्छे।
"आइ ह्याभ यु स्केजुअल्ड टु द नेक्ट् हाउस फ्रम टुमोरो। यु क्यान रेफुज इफ यु डोन्ट लाइक", चिसा आँखाले रुविनालाई हेर्दै भन्छ।
रुविनालाई एकैछिन पनि त्यहाँ बस्न मन लागेन।
'बाई'! पनि नभनी निस्की।
रुविना भोलिपल्ट काममा गइन बरू बायोडाटा बोकेर अर्कै काम खोज्न लागी। वाल्मर्ट , होम डिपो , सबवे , म्याक्डोनाल्ड कता कता मात्र पुगिन ऊ।
"जागिरमा कसैले बोलाएनन्। काम खोज्दा खोज्दै महिनौ बित्यो। सिफ्टको काम मात्र भेटिन्थ्यो, तर उसको समय मिल्दैनथ्यो।
छोरीहरूलाई एक्लै घरमा छोडेर रातिमा काम नगर्ने निर्णय गरेकी थिई उसले।
बिहान आफैं स्कुल पुर्याउन पर्थ्यो अनि बेलुका लिनजानु पर्थ्यो।
एकल महिला भत्ता मिल्थ्यो सरकारबाट। त्यसैमा छोराछोरीको लागि सरकारले दिने भत्तासमेत गरेर पनि जोडेर खान र बस्न मुश्किल पर्थ्यो उसलाई।
******
काम छोडेको करिब एक महिना पछि 'हेनरी केयर सेन्टर' बाट इन्टरभ्यूको लागि फोन आयो। बाक्लो हिउँ परेको र बाटो चिप्लो थियो। आधा बाटो नपुग्दै गाडी चिप्लियो र सडक छेउको पोलमा ठोक्कियो। तर उसलाई भने केही भएन। पुलिसलाई कल गरी। केहीबेरमा पुलिस आइपुग्यो।
पुलिसले उल्टै पोलमा क्षति पुगेको भन्दै दुई सय पचास डलरको टिकट हातमा थमाएर पठायो। इन्टरभ्यू पनि छुट्यो। दशा लागे दश थोक हुन्छ भनेझैं भयो उसलाई।
उसलाई रातमा निन्द्रा पर्न छोड्यो। भोक लाग्न छोड्यो। छोरीहरूको भविष्यको चिन्ताले दिनदिनै गल्दै गई। डाक्टरले डिप्रेसनको औषधि खाने सुझाव दियो।
एन्टीडिप्रेसान्ट खान थाली। उसका साथीहरूले 'काम गर्यो भने सबै ठिक हुन्छ, हामी काम खोज्दिन्छौ भन्थे। तर उसले काम नपाएकी कहाँ हो र! तर आफ्नो समयमा काम काम खोजेकी थिई।
एक जना चिनेको नेपालीको रेस्टुरेन्ट थियो चर्चिल रोडमा। उनले रेस्टुरेन्टमा राति बाह्र बजेसम्मको सिफ्टमा काम गर्न बोलाए। काम सबै गर्न पर्थ्यो। भाँडा धुने, भुइँ पुछ्ने, कुकलाई काटकुट गर्न सहयोग गर्ने, खान सर्भिस गर्ने सबै काम गर्न पर्दथ्यो। तर पनि ऊ खुसी नै थिई। ट्याक्स कटाएर दुई हजार डलर हात पर्दथ्यो। त्यो पैसाले भाडा, ग्रोसरी र अन्य खर्च चलाउँथी।
काम गर्दागर्दै त्यही काम गर्ने सेफ अशोकसँग माया बस्यो। अशोकको पनि आफ्नै कथा व्यथा थियो। चार महिना अघिमात्र इन्डियाबाट क्यानडा आएको थियो ऊ।
नेपालमा एउटी छोरी थिई। ऊ इन्डियामा हुँदै उसकी श्रीमतीले छोडेर जीपको ड्राइभरसँग हिँडेकी थिई। सबै कुरा न रुविनाले उसलाई सुनाइ न उसले रुविनालाई।
छोराछोरी हुँदैमा र उमेर ढल्कदैमा माया गर्न नहुने त कहाँ पो थियो र! फेरि प्रेम भन्ने जातै अनौठो न उमेरले छेक्ने, न जातले। रुविनाले पनि डेटिङ सुरू गरी अशोकसँग। बिस्तारै डिप्रेसनको गोलीहरूसँग डिभोर्स भयो उसको। छोराछोरीहरू पनि हुर्कंदै गए। काम गर्दागर्दै पुराना दिनहरू बिर्संदै गई उसले।
रेस्टुरेन्ट प्रत्येक सोमबार बन्द हुन्थ्यो। रेस्टुरेन्ट बन्द भएको दिन उनीहरू कहिले सस्काचेवन नदीको किनारमा गएर कन्चन पानीसँग आफ्नो प्रेम मिसाउँथे भने कहिले सहरका विभिन्न मलहरू घुम्न निस्कन्थे। तर छोराछोरीहरूको स्कुल छुट्ने बेला घर फर्की सक्थे उनीहरू। अशोक पनि उसका छोरीहरूलाई आफ्नै जस्तै गरेर माया गर्दथ्यो।
त्यो माया स्वतस्फुर्त थियो। कुनै दिन पनि रुविनाले उसँग सर्त राखेर प्रेम गरेकी थिइन। छोरीहरूलाई स्वीकार्छौ कि स्वीकार्दैनौ भनेर पनि सोधिन। सायद उसलाई राम्रोसँग थाहा थियो सच्चा प्रेममा कुनै सर्त हुँदैन भनेर।
छोरीहरूलाई लिएर ट्रि हाउस घुम्न निस्कन्थे। उनीहरूसँगै आइसक्रिमको मज्जा पनि लिन्थे। ट्रि हाउसमा लुकामारी गर्दैगर्दा लुकेर सुटुक्क माया साटासाट गर्न पनि भ्याउँथे।
एकदिन रुविनाले अशोकसँग आफ्नै रेस्टुरेन्ट खोल्ने प्रस्ताव राखी। उसको प्रस्तावले अशोकलाई सोच्न बाध्य बनायो। काम गर्ने रेस्टुरेन्टको साहु पनि उसको आफन्त नै थियो। काम छोडिहाल्न सजिलो थिएन।
तर रुविनाले उसलाई "बिजनेसमा कोही पनि आफन्त हुँदैन। सधैंभरि आफन्त भन्दै अर्कोको काम गरेर मात्र पनि हुँदैन। यो दुनियाँ सबै स्वार्थी छ। हामी दुवै जना काम गर्न सक्षम छौं। आफ्नै रेस्टुरेन्ट खोलौं" भनेर सल्लाह दिई।
अशोकलाई पनि रुविनाको कुरा सही लाग्यो। सोच्यो 'आफ्नै अङ्कल भनेर के गर्ने काम गरेको तलब भन्दा कहिले नाफाको एक पैसो दिने हैन। " नो रिक्स, नो गेन। " अलिकति पैसो लाइन अफ क्रेडिटबाट र अलि अलि दुबै जनाको सेभिङबाट लगानी गर्ने सल्लाह गरे उनीहरूले।
करिब दुई महिनाको निरन्तर खटाइ र खोजाई पछि रुविना र अशोक मिलेर "द हिमालय इटरी ' नामक रेस्टुरेन्ट खोले।
रात दिन खटेर काम गरे। अशोकले किचनको सबै कुरा म्यानेज गर्दथ्यो भने रुविनाले बाहिरको सबै समाल्थी। व्यापार राम्रो भएकोले गर्दा उनीहरूले बैंकको ऋण पनि समयमै तिर्न सके।
दुवै जना मिलेर रिभर भ्यालीमा एउटा घर पनि किने। सबै कुरो सोचेजस्तै हुँदै गएपछि एकदिन आफ्नै रेस्टुरेन्टको पार्टीहलमा दुबै जनाले भव्यसँग विवाह गरे। चिनेजानेकाहरू सबैलाई निम्तो पनि गरे।
बिहे गरेको पाँच महिनामै रुविनाले घोर्ले छोरो पनि जन्माई। सुत्केरी भएसँगै उ घरमा बस्न थाली। अशोक एक्लै घर र रेस्टुरेन्ट खट्न थाल्यो। उ बिहान चार बजे उठ्थ्यो। श्रीमतीको लागि खाना तयार पार्थ्यो र काममा निस्कन्थ्यो।
बिहान पाँच बजेदेखि राति बाह्र बजेसम्म लगातार खट्दथ्यो। रुविनाले धेरै कुरा थामेकी थिई किचनमा, तर उसको अनुपस्थितिमा किचनमा काम गर्ने दुई जना मान्छेहरू पनि अलमल मात्र पर्दथे। उबर र स्किप द डिसेसबाट उसको धरै अर्डर आउथ्यो। बाहिर नयाँ स्टाफ राखेको थियो तर पनि बिजी भएको बेला रेस्टुरेन्ट कच्ची सडकको गाडीझैं लर्खराउथ्यो।
घरमा पनि रुविनाले एक्लै सबै गर्न परेको थियो भने रेस्टुरेन्टमा भने जस्तो व्यापार भएको थिएन। भएको व्यापारबाट घरको मोर्ट्गेज तिर्न पनि धौ धौ पर्न थाल्यो। एक महिना नहुँदै रुविना रेस्टुरेन्टमा काम गर्न थाली।
रुविना काममा फर्के लगत्तै व्यापारले पिकअप लिन थाल्यो। घर र बिजनेस दुबैतिर मिलेर संघर्ष गरे दुवै जनाले। यो उनीहरूलाई सजिलो पक्कै पनि थिएन, तर उनीहरूको दृढ इच्छाशक्ति र अनुशासनले यो सबै सम्भव भएको थियो।
एकदिन अशोक साथीको निम्तोमा क्यालगरी गएको थियो।
कार्यक्रम सकेर फर्कने क्रममा ठूलो हिमपात भयो। बाटो हिउँले गर्दा चिप्लो र धुमिल थियो। बीच बाटो नपुग्दै भित्री बाटो जोडिने ठाउँमा एक्कासि गाडी ट्रकसँग ठोक्किन पुग्यो बाटोदेखि केही तल खस्यो। र एकैछिनमा गाडीमा आगो लाग्यो।
केहीबेरमा एम्बुलेन्स र दमकल आइपुग्यो। त्यतिन्जेल अशोकको शरीर धेरैजसो जलेको थियो। मेडिकल टोलीले उसलाई अस्पताल लग्यो। गाडी पूर्णतया जलेर ध्वस्त भैसकेकोले गर्दा पुलिसले उसको परिचय पनि पत्ता लगाउन सकेन।
उता रुविनाले भने अशोकलाई दिनभर कुरिरही। फोन गर्ने कोशिस गरी तर फोन उठेन। उसले अशोकको साथीहरूलाई समेत फोन गरी। अशोक क्यालगरीदेखि हिँडिसकेको पत्ता लागेता पनि ऊ कता गयो , कहाँ छ केही पत्तो लागेन। सधैं केहीबेर ढिलो हुँदा बित्तिकै फोन गरेर जानकारी गराउँथ्यो रुविनालाई। आज गरेन।
राति अबेरसम्म पनि अशोक नफर्केकोले ऊ पुलिसचौकीमा रिपोर्ट गर्न गई। प्रहरीहरूले अनुसन्धान गरेरमात्र खबर गर्ने भनी घर पठाए। रातभर निन्द्रा लागेन उसलाई।
उसका साथीभाइहरूलाई फोन गरेर सोधी। अहँ कतैबाट पनि केही पत्तो भएन। भोलिपल्ट पुन :पुलिस चौकी पुगी रुविना।
केहीबेरको पर्खाइपछि महिला पुलिस आएर उसलाई भित्र लगी। पुलिसको कुरा नसकिँदै बसेको कुर्चीबाट भुइँमा लडी रुविना। धेरैबेरसम्म पनि होस आएन उसलाई।
तुरुन्त एम्बुलेन्स बोलाएर अस्पताल पठायो पुलिसले। केहीदिन ट्रमा सेन्टरमा उसको उपचार भयो। तीन दिनपछि मात्र ऊ घर फर्की। रित्तो थियो घर। छोराछोरीहरू सबै साथीको घरमा थिए।
घरबाट निस्केर सस्काचेवन नदीतर्फ पाइला बढाई रुविनाले। पुलको छेउमा धेरैबेर उभिई ऊ। कालो चिकाडी र सानो भागेरा हिउँमा चारा खोज्दै थिए। सेतो खरायो उसको खुट्टा छुँदै खोलातिर झर्यो।
उसले छोराछोरीहरु सम्झी। नदीमा पानी सीसाझैं जमेको थियो। पानीमा आफ्नो बिम्बदेखि। छोराछोरीले आमा भनेको आवाज कानमा ठोक्कियो।
उसले पछि फर्केर हेरी। छोराछोरी आफैंतिर आउँदै थिए। उनीहरूको पछि पछि थियो उत्तम। सानो छोरो बोकेर उसकै साथी बिना पनि सँगै आइरहेकी थिई।
उसलाई सपना हो कि विपना छुट्याउन मुश्किल पर्यो। कतै सपनामै छु कि भन्ठानेर दाइने हातले बिस्तारै देब्रे गाला चिमोटी।
एकैछिनमा आँखा अगाडिको दृश्य डाँडामाथिको हुस्सु झैं विलय भयो। एक्कासि एकहुल सेता चराहरू भुर्र उडे पुलमाथि।