पण्डा- अपना नाम बताओ।
चीसो बतास चलिरहेको छ। आधा आवाज बतासले उडाउँछ, आधा हुतनाथको कमजोर कानले चाल पाउँदैन।
पण्डा- तुम्हारा नाम क्या है?
छेवैमा हुतनाथकी पत्नी दुना गाँस्दै छिन्। उनले कानैमा मुख जोडेर भनिन् 'तपाईंको नाम सोध्दै छन्।'
हुतनाथ- मेरो नाम हुतनाथ, बाको नाम हुमनाथ, बाजेको नाम लुम्बनाथ। हाम हिन्दी नाही जानता है।
पण्डा- अच्छा ठिक छ।
यो हो बद्रीनाथ तीर्थ। हुतनाथ ब्रह्मकपालीमा पिण्डदान गरेर पितृको उद्धार गर्ने हेतुले यहाँ आएका हुन्।
पण्डा- गोदानमा सौ रुपियाँ राख!
हुतनाथ- हाम्रो देशमा दश रुपियाँ राख्छन्।
पण्डा- तिम्रो देशमा गाई सस्तो हुन्छ।
हुतनाथले सय रुपियाँ गोदान गरे।
पण्डा- दान प्रतिष्ठामा पचास।
हुतनाथ- जम्माजम्मी श्राद्ध खर्च कति लाग्ला? मसँग धेरै पैसा छैन।
पण्डा- पैसा नभए नआउनु नि। कुन जिल्ला हो तिम्रो घर?
हुतनाथ- सिन्धुली।
पण्डा- बहुत सुन्दर जिल्ला छ। म दो बार पुगेको छु। श्राद्ध सम्पन्न गर्न करिब बत्तीस सौ खर्चा हुन्छ। अगर पितृको सही तरिकाले उद्धार गर्न चाहन्छौ भने दिल खोलके दान गर। जुन श्राद्धमा ब्राह्मण दु:खी हुन्छ, त्यो श्राद्ध निस्फल हुन्छ भनेर शास्त्रमा लिखेको छ।
त्यहीँ एकजना नेपाली यो वार्तालाप सुनेर उभिइरहेको थियो। ऊ पण्डाको अगाडि आएर खडा भयो। पण्डाले उसलाई देख्ने बित्तिकै भन्यो, 'नमस्कार बले जि! तपाईं यहाँ?'
बले- तिमी कस्तो ब्राह्मण हो पण्डित? बुढो परदेशीलाई लुट्न शरम लाग्दैन? कस्तो धर्मात्मा हो तिमी?
पण्डा- मैले त परिहास मात्र गरेको हो बले जि!
बले (हुतनाथ तर्फ हेर्दै)- आफ्नो सक्य अनुसार दान गर्नुहोला बुवा। अब यसले परेसान गर्दैन।
हुतनाथ बलेसँग केही कुरा गर्न चाहन्थे। तर बले आफ्नो बाटो लागिसकेको थियो।
हुतनाथ- यो कौनो आदमी हो?
पण्डा- हो कोइ नेपाली मवाली! बहुत परेसान गर्छ। बहुत ठूलो गुण्डा हो। यहाँ से लेकर देवप्रयाग तक यसको तुती बोल्छ। अपने आपको मजदुरको नेता बोल्छ हरामी।
हिन्दुस्तानको उत्तराखण्डमा पर्ने बद्री, केदार, गंगोत्तरी र यमुनोत्तरी (उत्तरका चार धाम) यात्रामा जाने धर्मभीरु तीर्थयात्रीहरुले फटाफट यात्रा गर्ने हो भने ऋषिकेशबाट प्रस्थान गरेको बाह्रौं दिन सबै यात्रा पूरा हुन्छ। नेपाली हिन्दुहरुले परापूर्वकालदेखि यी तीर्थमा यात्रा गर्ने परम्परा छ।
अहिले यातायातको सहजताले गर्दा यात्रा सुगम र सहज भएको छ। तथापि चोरी चकारी र लुटेराको डर हुन्छ। विशेष गरेर बद्रीनाथस्थित ब्रह्मकपालीमा श्राद्ध गर्दा पण्डितहरुले सकेसम्म धेरै झार्ने प्रयत्न गर्दछन्। त्यहाँका पण्डाहरु तीर्थयात्रीहरुमा मनोवैज्ञानिक त्रास पैदा गर्न ज्यादै सिपालु हुन्छन्।
हुतनाथले श्राद्ध गरिरहेको स्थानभन्दा पाँच सय मिटर पर खैरातको भात खाने बेला भयो। चैतमा बद्रीनाथ मन्दिरको ‘कपाट’ खुलेदेखि असोज महिनामा बन्द हुने समयसम्म छ महिना यहाँ दरिद्रहरुका लागि नित्य खैरातको भोजन वितरण हुन्छ।
बाह्र बज्यो। दरिद्रताका प्रतिमूर्ति स-साना बालबालिकाहरु दौडेर खाना बाँड्ने ठाउँमा पुगे। चिसो सिरेटोमा दगुर्दै आएका केटाकेटीहरुका फुटेका गालामा परेका चिराहरुबाट निस्केको रगत त्यहीं खाटा परेर जमेको प्रष्ट देखिन्थ्यो।
ती अकिन्चन बालबालिका माझ एक पसर भातको लागि हुने प्रतिष्पर्धाको दारुण दृश्य देखेर कठै भन्ने कोही हुँदैन त्यहाँ। सबै बालबालिकालाई थाहा छ, जो अगाडि पुग्छ, त्यसले पूरा पसर भात पाउँछ, पछाडि पुग्नेले आधा मात्र। त्यो पनि चिसो भइसकेको।
खैरात खान दौडेर आउनेमा नेपाली मजदुरका सन्तानको संख्या ठूलो हुन्छ। न्यानो लुगाको अभावमा काँपिरहेका मसिना लठ्ठी जस्ता हातहरु। पत्तल थापिरहेका शरीरहरु दुब्लो बुख्याँचा जस्ता देखिन्छन्। आलुको झोल र बजारमा मिलेसम्म सबैभन्दा मोटो चामलको भात उनीहरुका लागि राजाले खाने चौरासी व्यन्जन हो।
तिनका आमाहरु छोराछोरी खैरात खान जाँदा बडो खुसी हुन्छन्, किनकी उनीहरुलाई थाहा छ, जे जस्तो खान पाए पनि छाक टर्छ। केटाकेटीलाई पनि थाहा छ, यहाँ छाक टार्नुको कति ठूलो महत्व छ।
देश के हो, परदेश के हो, सम्पन्नता के हो, स्कुल के हो, बालबालिकाले पाउनुपर्ने स्याहार र सुविधा के हो भन्ने कुरा तिनका आमाहरुलाई पनि थाहा छैन। नेपाल राष्ट्र, लोकतन्त्र, नेपालको संविधान, बाल अधिकार, स्वदेशभित्रै श्रमको अधिकार, खाद्य अधिकार, स्वास्थ्य सम्बन्धी अधिकार र निर्वाचित सरकार कुन चरीको नाम हो ती अकिन्चनहरुलाई थाहा छैन। सायद अझै धेरै समयसम्म थाहा हुने छैन।
साँझको समय।
बले र बलेको साथी धीरे रक्सी खान बसेका छन्। उनीहरुका लागि ‘देशी सराब’ सुलभ छ। सरकारले जति नै कडा गरेको घोषणा गरे तापनि देशी सराब पाइने ठाउँ थाहा छ उनीहरुलाई। पुलिसलाई पनि तल्लो स्तरका मजदुर बस्ने विभत्स डेराहरुभित्र के हुन्छ भन्ने सरोकार हुँदैन।
बले- आफ्नै देशमा काम पाइने दिन कहिले आउला धीरे?
धीरे- आफ्नो देशको कुरा छोड् बले। बरु तमी यहाँ काम गन्न आउन लाग्याका कति बस्स भया? तम्रा बाज्या परबाज्या पन आउँदा छिया के?
बले- यो जग्गा कुनै जमानामा नेपालकै थियो।
धीरे- मलाई चुतिया बनाउँदो छस् बले?
बले- हो, कुनै समयमा यो नेपाल नै थियो।
मेरा सात पुस्ता अघिका बाजे यहाँ काजी अमरसिंह थापा श्रीनगरमा बस्दा आएका हुन्। गंगोत्तरीको गंगाको मन्दिर त तैले देखेकै छस्। त्यो मन्दिर काजी अमरसिंह थापाले निर्माण गरेका हुन्। त्यही मन्दिर निर्माण गर्ने समयमा मेरा पूर्खा ढुङ्गा खन्न र बोक्न आएका रे यहाँ। पछि यो जग्गा अंग्रेजले जितेर हिन्दुस्तानमा मिलायो।
धीरे- यो जग्गा नेपालकै रहेको भए अहिले आफ्नै देशमा मजदुरी गरेर खान्छु भनेर छाती फुलाउन पाइने रहेछ है बले?
बले- खै! यो जग्गा नेपालकै रहेको भए हामी काम खोज्न झन् पश्चिम आफ्नो देशको जग्गाभन्दा बाहिर पो जानु पर्ने थियो कि के थाहा। हाम्रा पूर्खाले काम यता गरे पनि आफ्नो माटोलाई बिर्सन सकेनन्। माटो बिर्सेर यतै बस्नेहरुको अवस्था हाम्रोभन्दा राम्रो छ यहाँ।
धीरे (आधा गिलास तन्काएर नमिठो मुख बनाउँदै)- थुक्क हाम्रो फुट्याको कर्म? बरु एक कुडा भन् त बले ‘तमी क्या ठूलो मान्दा छौ? डिल्ली कि काठमाडौँ?
बले- मैले दिल्ली देखेको छु। ‘तर काठमाडौँ टेक्या नाइ’। नदेखे पनि हामी नेपालीका लागि काठमाडौँ नै ठूलो हो। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।
धीरे (एक गिलास सराब एकै सासमा निल्दै)- एउटा कुरा भन् त बले! बहादुरी भनेको के हो? हामीलाई यिनीहरु किन बहादुर भन्छन्? बहादुर भनेको मान गरेको हो कि हेपेको?
बले- बहादुरी भनेको शत्रुसँग पङ्गा लिने शक्ति हो। हाम्रो देशमा ‘हाम्रो बहादुरीको इतिहास गौरवमय छ’ भनेर बखान गर्छन्। देशभित्र छरिएर रहेका स-साना राज्यलाई एउटै बनाएको कुरालाई बहादुरी भन्ने हो भने त त्यो बहादुरी आफ्नै देशभित्रको कुरा भयो।
अब कसले कसलाई कसका विरुद्धमा बहादुर भन्ने? के जुम्लाका मान्छेलाई गोरखाका मान्छेले हामी बहादुर भन्ने? कि इलामका मान्छेले अछामका मान्छेसँग हामी बहादुर छौं भन्ने? निकट इतिहासमा सत्र हजार नेपाली ‘बहादुरीसाथ’ आपसमा लडेर मरे।
बहादुर हुने विदेशीलाई जितेर हो। हाम्रो बहादुरी विदेशलाई जित्न होइन, विदेशीहरुका लागि प्रयोग भयो। जंगबहादुरले लखनौमा देखाएको बहादुरी अंग्रेजको हितमा थियो। प्रथम र द्वितिय विश्वयुद्धमा नेपालीले देखाएको बहादुरी हिन्दुस्तानको लागि थियो।
आज तैंले र मैले उत्तराखण्डमा डोला बोकेर बहादुरी देखाउछौं। अनि हामी ‘ओए बहादुर’ भनेर सम्बोधन गरेको सुन्दा, ए हामी त साँच्चिकै बहादुर हो कि क्या हो! भनेर दङ्ग हुन्छौं। यो बहादुर भनेको हेपेर हो भाइ। यसलाई मान गरेको नसम्झनु। हामो जीवन बेकार छ धीरे! सबैको सुख शान्ति भयो मुकी मात्त क्यान, देशको याद गद्दागद्दै गैजाने भो ज्यान।
धीरे- ओइ बले! तँ त धेरै कुरा जान्दो रहेछस्। कसरी जान्ने भइस् यतिका ज्ञानका कुरा?
बले- ‘जानी क्या हद्दा भया त? जानी खण्ड क्या लट्काउन्या हो? को मतलब गन्न्या हुन? नेपालमा हाम्रा पानी चल्न्या नाइ।’
पाँच गिलास सराब सटासट निल्यो आज बलेले। अरु दिन तीन गिलास खाएर सुतेपछि मस्त छ घण्टा निद्रा लाग्दथ्यो। बिहान ज्यान चङ्गा हुन्थ्यो उसको। बिहान चार बजे घोडालाई दानापानी खुवाएर निस्कन्थ्यो ऊ। आज त के भयो भयो, फिटिक्कै निद्रा लागेन। बलेले घडी हेर्यो, बाह्र बजेछ। एक गिलास पानी खाएर ढलेको बले अतीतमा पुग्यो। धीरेले यतिका कुरा कसरी जानिस् भनेर नसोधेको भए सायद ऊ सधै जस्तै निदाउँथ्यो।
उसले धीरेलाई बोलायो- एई धीरे! निद्रा लागेन?
धीरे- नाइ! आज के भयो भयो। आज मलाई आफ्नो देशको सम्झना आयो बले। हाम्रा सन्तान पनि हिन्दुस्तानमै भारी बोकेर खाने भए हैन त? अहिले नेपालमा कसको सरकार छ बले?
बलेले मनमनै सोच्यो- जीवन एक यात्रा त रहेछ। हुनेखानेहरुको यात्रा फरक, नहुनेहरूको यात्रा फरक। समाजका कथित उच्च जातिका मानिसको जीवनयात्रा फरक, पीडित, प्रताडित र गरिब दलितहरुको यात्रा फरक। ऊ बाह्र वर्षको उमेरमा बाबुको पछि लागेर आएको थियो यो उत्तराखण्डमा।
भारी बोकेर खाने ज्यान तयार नहुँदासम्म उसले पनि एकछाक भात त्यही खैरातामा खाने गर्दथ्यो। आज जस्तै लाग्छ, खानेकुरा नभएर सिस्नो खोज्न भौंतारिनुभन्दा खैरातको साह्रो भात सुखद लागेको थियो उसलाई। पन्ध्र वर्ष पुग्नासाथ उसले पनि भारी बोक्न सुरु गर्यो।
दिनभरि भारी बोक्यो, साँझ बिहान आलुको झोल र भात खायो। कहिलेकाहीँ साथीहरुसँग रमाइलो गर्दै सराब पियो। दुनियाँका सारा सूचनाबाट बेखबर भारीमुनि लादिएको जिन्दगी। थोरै ज्ञान, त्यसैले तनाव पनि थोरै।
प्रत्येक भारी बोकाइ काम पाएको खुसीको क्षण बनेर आउँथ्यो। अज्ञानभित्रको सुखी जीवन!
बलेले धीरेलाई भनेको थियो- बाह्र वर्षअघिको कुरा हो। यो बले गौरीकुण्डबाट केदारनाथसम्म घोडा डोर्याउने काम गर्दथ्यो। गौरीकुण्डसम्म मोटरमा आउने श्राद्धालुहरु कोही घोडामा, कोही डोलीमा र कोही पैदलै केदारनाथ जान्छन्। १४ किलोमिटर पैदल बाटो, जति टाढा गयो त्यति नै उचाइ बढ्दै जाने हुँदा छाती र मुटुका रोगीहरुलाई गौरीकुण्डबाट माथि जान कठिन हुन्छ।
बले गौरीकुण्डका होटेल र धर्मशालाको सम्पर्कमा रहने हुँदा प्रायः प्रत्येक दिन काम पाउँथ्यो। एकदिन उसले बरेलीबाट आएकी मेमसाबलाई घोडा सवारी गराउने काम पायो। मेमसाबले सोधेकी थिइन्, 'कति लिन्छौ बहादुर?' बलेले भनेको थियो 'होटलवालाले भनेन मेमसाब?' मेमसाबले भनिन्, 'हो भनेको छ। म तिमीलाई पचास रुपियाँ बढी दिन्छु।' बले गद्गद् भयो।
मेमसाब बलेसँग कुरा गरिरहिन्। उनको साथमा उनको पाँच वर्षको छोरो पनि थियो। उनी छोरालाई काखमा राखेर सिपालु घोडचढी जस्तै यात्रा गरिन्। सधै घोडाको लगाम समातेर हिड्नुपर्ने झन्झटबाट मुक्त भएको थियो बले। मेमसाबको घोडचढी देखेर कौतुहल जागेको थियो, तर मजदुरले कुनै कुरा सोध्नु मर्यादाको विपरित हुने हुँदा ऊ चुप लागिरह्यो।
उसले मेमसाबलाई चोर आँखाले यसो नियालेर हेरेको थियो। नीलो रङको कुर्ता-सुरुवाल र नीलै ज्याकेट, सुन्दर कालो कपालमा नजानिँदो गरी लगाएको रातो मेहन्दी, चस्माभित्र हो कि होइन जस्तो गरी गाजल लाएका चम्किला आँखा, अग्लो कद र सुडोल शरीर।
मेमसाबले सोधेकी थिइन्, 'के हेर्दै छौ बहादुर?' उसको सातो पुत्लो उडेको थियो। धन्न मेमसाबको साथमा कोही पुरुष यात्री थिएन, नत्र ‘आँख फोड्दुङ्गा’ भन्न पनि के बेर।
मेमसाबले सोधेकी थिइन्, 'तिम्रो नाम के हो बहादुर?' उसले बडो डराइ डराइ भनेको थियो, 'बले'। बलेले मनमनै सोच्यो, पक्कै पनि मेमसाबले पुलिसमा खबर गर्नेछिन् र दुई लाठी खानु पर्नेछ। त्यसपछि उसले मेमसाबतर्फ हेर्ने हिम्मत गरेन। उनले सोधेका हरेक प्रश्नका जवाफ भुइँतर्फ हेरेर दिन थाल्यो। मेमसाबले भनेकी थिइन्, 'किन सिरियस भयौ बले?' ऊ चुप लागिरह्यो।
मेमसाबले भनिन्, 'म यहाँ गौरीकुण्डमा चार दिन बस्नेछु। अहिले म एक महिनाको छुट्टीमा छु। चार दिनपछि घर जाने हो, बरेली। यदि तिमीलाई आपत्ति छैन भने चार दिन मलाई ‘गाइड’ गर। मैले पहाडको ‘सिनरीज’ हेर्नु छ। म आसपासका गाउँ पनि घुम्नेछु। ग्रामीण जनतासँग कुरा पनि गर्ने मन छ। म एक ‘सोसियोलोजिस्ट’ हुँ।
'सोसियोलोजिस्ट के हो थाहा छ बहादुर?' बलेले उनको कुरा आधा मात्र बुझेको थियो। उसले भनेको थियो, 'थाहा छैन मेमसाब। तर म तपाईलाई सहयोग गर्न तयार छु।'
दुई दिन घुमेपछि बलेको हिम्मत बढेको थियो। उसले सोध्यो, 'मेमसाब तपाई किन एक्लै आउनुभयो? साब किन आउनु भएन?'
मेमसाबले भनेकी थिइन्, 'मेरा पति साह्रै असल मानिस थिए। चार वर्षअघि उनको ‘मर्डर’ भयो, तर आजसम्म हत्याराको पत्ता लागेको छैन। अहिले मेरो जीवन पनि सुरक्षित छैन। हाम्रो परिवारमा सम्पत्ति सम्बन्धी ठूलो झगडा थियो।
उनको हत्या भएपछि मैले देवर जेठाजुहरुलाई भनेकी थिएँ 'मलाई जति दिन मन लाग्छ दिनुहोस्। म कुनै विवाद गर्ने छैन।' उनीहरुले मलाई एउटा घर र थोरै जमिन दिएका छन्। म त्यत्तिमै सन्तुष्ट छु। मलाई मेरो र यो बालक छोराको जीवन सम्पत्तिभन्दा मूल्यवान छ।'
उनले बलेलाई भनेकी थिइन् ' यदि तिमी चाहन्छौ भने मसँगै जान सक्छौ। मेरो घरमा ‘सर्भेन्ट क्वार्टर’ पनि छ। म तिमीलाई राम्रै तनखा दिनेछु। खाना नि:शुल्क पाउने छौ।' बले मेमसाबसँग बरेली गयो।
बरेली पुगेर बलेले थाहा पायो, मेमसाबको नाम निहारिका सिंह रहेछ। निकै धनी परिवार रहेछ उनीहरुको। हाइ स्कुलकी शिक्षिका निहारिका सुशिक्षित महिला थिइन्। उनका पति पनि शिक्षित र नाम चलेका युवक थिए।
निहारिकाले भनेकी थिइन्, 'मैले तिमीलाई यहाँ लिएर आउनुको कारण मेरो र छोराको सुरक्षाका लागि हो। नेपाली चौकीदार इमान्दार, बहादुर र निडर हुन्छन्। मैले जब तिमीमा निर्दोष र बहादुर युवक देखेँ, मलाई लाग्यो, यो युवक अवश्य मेरो सुरक्षा गर्न समर्थ हुनेछ।'
बले कम्पाउण्डभित्र रहेको सर्भेन्ट क्वाटरमा बस्थ्यो। खाना मेमको परिवारमा सँगै खान्थ्यो।
ऊ आएको छ महिनापछि एक दिन अचानक मेमसाबले भनेकी थिइन्, 'बले मुझे तुम बहुत अच्छे लगते हो।'
बले अत्यन्तै रोमान्चित भयो। मेमसाबको आशय के हो? उसलाई निद लागेन। अठार वर्षको उमेरमा बले विवाह गर्न गाउँ गयो। तीन वर्षसम्म भारी बोकेर कमाएको सबै धन उसले विवाहमा खर्च गरेको थियो। उसलाई त्यत्रो धन खर्च भएकोमा कुनै पश्चाताप थिएन।
विवाह भनेको जीवनमा एकपल्ट गर्ने त हो। तर भाग्य उसको विपक्षमा गयो। एक वर्षमै पत्नी सुत्केरी बेथाले बितिन्। न पेटको शिशु बाँच्यो न त आमा नै। फेरि विवाह गर्ने अनुकूल मिलेन, उत्कण्ठा पनि रहेन।
निहारिकाको घरका सबै कोठा चोटामा पहुँच भएको उसले धेरै किताबहरु देख्यो। पहाडमा हुँदा सात कक्षासम्म पढेको उसले इतिहास पढ्यो। हिन्दी बुझ्ने हुँदा मुन्सी प्रेमचन्द्रले लेखेका गरिब किसान र अछुत दलितहरुका कहानी बुझ्न उसलाई कठिन भएन। दिनभरि मेमसाब र छोरो दुवै स्कूल जाने हुँदा उसलाई फुर्सदै फुर्सद थियो। बलेले धेरै उपन्यास, समाजशास्त्र र पौराणिक साहित्य समेत पढ्यो।
एकदिन अकास्मात मेमसाबले भनेकी थिइन् 'बले! म तिमीलाई प्यार गर्छु।' बले थर्र काँप्यो। त्यो कम्पभित्र डर र कहाली मात्र थिएन, रोमान्स, उन्माद र प्रमत्तता पनि मिसिएको थियो।
मेमसाबले भनिन् 'मलाई थाहा छ, यो सामाजिक नैतिकताको हिसाबले गलत छ। किन्तु मेरो अन्त:करण यो गल्ती गर्न प्रेरित छ। सामाजिक दृष्टिबाट यो गलत होला, तर मानवीय दृष्टिले नैतिक र उचित छ। म अहिले पैंतीस वर्षकी भएँ। मेरो घरको कुटुम्ब मात्र नभइ मेरा बाआमा समेत मेरो पुनर्विवाह स्वीकार गर्न तयार हुने छैनन्। यहाँ तिमी एक्लै छौ र म पनि एक्लै।'
धीरे- क्या पो छियो त्यो? पिरिम छियो कि जवानीको जोस? कि रायान मुइले।
बले- क्या हुँदो छियो राया, पैली जवानीको जोश त्याँपछि पिरिम।
बले भन्दै गयो- पाँच वर्ष अघोषित पति पत्नीको रुपमा बसेपछि यो बलेले अनुभव गर्यो, निहारिका भित्री मनबाट उसलाई प्रेम गर्दथिन्। निहारिका उसलाई पतिलाई जस्तै सम्मान गर्दथिन् र ख्याल पनि।
उनी भन्थिन्, 'यो सबै प्रारब्धको खेल हो बले। मेरा पति असल थिए। उनी मलाई अपार माया पनि गर्दथे। तर उनको हत्या भयो। म जान्दछु, हत्या गराउने उनकै दाजुभाइ हुन्। परन्तु मसँग कुनै प्रमाण छैन। जब मैले तिमीलाई यहाँ लिएर आएँ, सोचेकी पनि थिइनँ कि यसरी तिमीमा समर्पित हुनेछु। यो सब कसरी भयो? मलाई नै थाहा छैन।'
बले बोलिरह्यो- हेर भाइ धीरे! जबसम्म मलाई निहारिकाको शरीर मात्र प्यारो लाग्यो, मैले त्यो सम्बन्धलाई गहिराइमा गएर बुझ्ने प्रयास गरिनँ। तर जब मैले मप्रति उनको निष्ठा र हार्दिकता रहेको पाएँ, मलाई ग्लानी हुन थाल्यो।
मलाई निहारिकाले भेनेकी थिइन् 'अब हामी विवाह गर्नुपर्छ। म यो सारा समाजलाई त्याग गरिदिन्छु। हामी विवाह दर्ता गरौँ।'
यही कुरा उनले दुई तीन वर्षअघि भनेको भए म सहर्ष स्वीकार गर्ने थिएँ। तर मैले जब उनकै बैठक कोठामा सजिएका सयौं किताबहरु पढें, मेरो चेतनाले विवाह गरेर बस्न स्वीकार गरेन। छोरो अहिले बाह्र वर्षको भयो। जब यो सत्र अठार वर्षको होला, आफ्नी आमाप्रति यसको सोच कस्तो होला? जुन परिस्थितिमा मेरो निहारिकासँग भेट भयो र जुन परिस्थितिमा हाम्रो सम्बन्धले नयाँ मोड लियो, हामीले जति नै स्पष्टिकरण दिए पनि त्यसको औचित्य प्रमाणित हुनेवाला थिएन।
मेरो मनमा प्रश्न खडा भयो- 'के हुर्केको छोराको उपस्थिति भएको भए हामीले यो सम्बन्ध कायम गर्न सक्थ्यौं?' मैले यही प्रश्न निहारिकालाई गर्दा उनी अचम्म परेर मलाई हेर्न थालिन्। सायद मैले उनले सोच्दै नसोचेको प्रश्न गरेको थिएँ। उनी रुन थालिन्। उनको अवस्था त्यस्तो नाविकको जस्तो थियो जसको डुङ्गामा प्वाल परेको थियो र अर्को छेवैको डुङ्गामा पनि प्वाल नै थियो। जुन डुङ्गामा शरण लिए पनि किनारामा पुग्नु सम्भव थिएन।
शारीरिक मिलनको बासनाले मलाई निहारिकाको नजिक लग्यो। शारीरिक बासनाभन्दा माथि पुगेको चेतनाले मलाई उनीबाट टाढा भाग्न प्रेरित गर्यो। पहिले बासना थियो, प्रेम थिएन। पछि गएर प्रेम थियो, बासना थिएन। म विस्तारै उनको शरीरबाटा टाढा हुँदै गएँ। एकदिन केही पनि नभनिकन जम्मा दुई हजार रुपियाँ लिएर त्यहाँबाट भागेँ।
बले त्यहाँबाट नेपाल पुग्यो। नेपालमा ठूलो द्वन्द मच्चिएछ। मानिसहरु बोल्न जान्ने भएछन्। उसका केही साथी नेता बनेर सुकिला भएछन्, केही द्वन्दमा मरेछन्। उसले गाउँको वातावरण बुझ्यो। उसका बाबुबाजेले छाडेर गएको जमिनमा जति नै परिश्रम गरेर खेती गरे तापनि छ महिना खान पुग्दैन।
विवाह गरेर घरजम गर्न पनि मन छैन अब। गाउँमा रोजगारी छैन, छ त केवल राजनीति। कथित माथिल्ला जातको कब्जामा भएको जमिन बाँझो छ। ती हुनेखानेहरु ‘मान्छे कज्याएर खाने जमाना रहेन’ भन्दै जग्गा बाँझो छाडेर सहर पसेछन्। बलेले सोच्यो, मेरो संसार उतै हो। जसरी मेरा पूर्वजले मातृभूमि छाडेर परदेशमा भारी बोकेर जीविका चलाए, मैले पनि त्यही गर्नुपर्छ।
धीरे- क्या हद्दा त है हाम्रो फुट्याको भाग्य! फुट्याको खोरो हाम्रो। कहिले काहीं त साह्रै दिक्क लाग्छ बले मलाई। तेरो त यस्तो कहानी रहेछ। म भए त मजाले विवाह गरेर बस्ने थिएँ। त्यत्रो हबेलीको मालिक, त्यस्ती बैकिनीको लोग्ने भएर नबस्ने अभागी!
तेरो फुट्याको कोरो, कहाँ मालिक हुने भाग्य फालेर यहाँ घोडाको लगाम तान्न आइस! उता बैकिनीको क्या बित्दो होला विचार गद्दोछस्? सिरुपाते चुलठीको काँगियो मेवाना, साइ बाइ गयो पहाडका देश मु बनाइ दिवाना।
बले- तँ कुरा बुझ्दैनस् धीरे, तँ कुरा बुझ्दैनस्।
धीरे- आज मलाई एकजनाले हेपेर गाली गर्यो बले! मेरो देशको नाम लिएर गाली गर्यो। ‘मुकी रिस उठ्यो’। दुई झापड हानेर भागेँ। भोलि काममा जान्न। मलाई कुरेर बसेर त्यसको व्यवहार चल्दैन। पर्सीदेखि काममा जान्छु।
धीरे रुन थाल्यो। रातिको एक बजेको छ। धीरेले जुरुक्क उठेर बत्ती बाल्यो। उसले भन्यो 'यसापन देश हुँदा हुन् काइ? यहाँ आफ्नो देश बिर्सिन हुन्न भनेर टोपी लाएर हिड्छौं हामी। तर साथी! जब साह्रै मन दुखेर आउँछ अनि यो टोपी चिरी फालुँ मान्दो छु। लादोभरि खान नपायापछि मतारीको पन माया लाग्दैन। क्या अद्दो पापी नेपाल सरकार?’
बले- एकदिनको कुरा हो धीरे! एकजना हिन्दुस्तानीले नेपालीलाई बोक्नै नसक्ने गरी सामान लादेर ‘ले उठा हरामजादे' भनेको सुनें। नेपाली भाइ दुब्लो पातलो र रोगी जस्तो थियो। उसले त्यत्रो ठूलो भारी बोक्न नसक्ने बतायो। अनि त्यो इन्डियनको साथीले के भन्यो थाहा छ? उसले भन्यो, ए पहाडी गधा है। दो चाबुक मारो तो चल्ने ललेगा। स्नेह करके पुचकारा तो तुम्हे ही दुलत्ती मारेगा।'
मलाई यति रिस उठ्यो कि मैले त्यसलाई धढाधड लात्तले हान्न थालेंछु। त्यो मानिस तल खोल्सामा पुगेछ। मलाई तीन महिना जेल भयो।
मसँग त्यही जेलमा गुण्डा केटाहरुको भेट भयो। अनि उनीहरुकै सहयोगबाट म मजदुर नेता बन्न पुगें। के गर्छस् साथी! जे जस्तो भए तापनि हाम्रो आमा त नेपाल नै हो। प्रत्येक मानिसको दुई आमा हुन्छन्। एउटी जन्म दिने आमा र अर्की मातृभूमि आमा। त्यही आमा पनि नभए हामी परिचयविहीन हुने थियौं।
बालकृष्ण समले लेखेका छन् ‘देश भक्ति त मर्दैन चुत्थै तेश भए पनि।’ वास्तवमा हाम्रो देश चुत्थो होइन, देशको बागडोर हातमा लिनेहरुले चुत्थो बनाए।
धीरे- इन्डियनले हेप्दा रिस उठ्ने रहेछ साथी। तर नेपालीले के गर्छन् थाहा छ? जब भारी बोकेर हिंड्यो, जात सोध्न थाल्छन्। हिन्दुस्तानीले त कमसेकम हेपेरै भएता पनि बहादुर त भन्छ। एकजना नेपाली तीर्थयात्री र म गफ गर्दै हिंड्दै थियौं। उसले भन्यो 'यो जुनिमा भारी बोके पनि तिमी अब मुक्त हुन्छौ, बद्रीनाथमा तीर्थयात्रीको सेवा गर्न भगवानले खटाएको हो तिमीलाई।'
उसले मेरो नाम सोध्यो। मैले मेरो नाम धीरे हो भनेपछि फेरि सोध्यो, 'जात नि?' मैले मेरो जात भुल हो भनें। अनि उसले भनेको थियो 'ए अछुत पो?'
अच्छा बले एक कुरा बता! सुखी मानिस को हो?
बले- महाभारतको कथामा यक्षले युधिष्ठिरलाई प्रश्न गर्छ- 'सुखी मानिस को हो?' युधिष्ठिर भन्छन्- 'जसको ऋण छैन, जसलाई जहान छोराछोरीको पालन पोषणका लागि परदेश जानु पर्दैन र आफ्नै घरमा एक पेट खाएर शान्तिपूर्वक बस्दछ, त्यही मानिस नै सुखी हो।'
धीरे- यस्तो पो रहेछ! हाम्रो फुट्याको कोरो! अर्को एकजना पढेलेखेको जस्तो, सुकिलो र ‘ह्यान्सम’ मान्छेले भन्यो 'नेपालीको दु:ख देखेर साह्रै दिक्क लाग्छ। नेपालीलाई देशमा पनि दु:ख परदेशमा पनि दु:ख।' मलाई लाग्यो राम्रो मान्छे रहेछ। तर जब भारीको ज्यालाको कुरा भयो, उसले बीस रुपियाँको लागि किचकिच गर्न थाल्यो।
‘हाम्रो दु:ख धेक्यापछि गङ्गा कि पन रुवाइ लाग्दो छ। आमा आमा भनी खण्ड मात्तै क्या हर्नु’? हात्तिले मचर्काइ ल्यायो लालझाडीका केला, धुकले रुइ काट्नु भयो सुख पाउने बेला।
बले नेपाली मात्र होइन, हिन्दुस्तानी मजदुरहरुको पनि नेता हो। ऊ धेरै समझदार छ। परन्तु यो उसको देश होइन। उसको उद्देश्य नेपाली कामदार मात्र होइन, नेपाली तीर्थयात्रीको समेत कल्याण गर्नु हो। बलेलाई नेपालीहरुलाई हेपेकोमा उस्तो गुनासो हुँदैन। आफ्नो आमाको न्यानो काख छाडेर अर्काकी आमाको चिसो काखमा बस्न जानेले धेरै वात्सल्यको आशा गर्नु हुँदैन।
तर जब ऊ नेपाललाई हेपेको सुन्छ, सहनै सक्दैन। आमाको उपहास सुनेपछि उसको चेतना यसरी जाग्दछ, हठात् चेतना गुमाउन पुग्दछ बले।
उसको एकजना मिल्ने हिन्दुस्तानी साथी थियो। मजदुर त हुन्, दु:ख बिर्सने एक मात्र उपाय हुन्थ्यो देशी सराब। रक्सी खाएपछि कस्ता कस्ताको त ‘डिस्कस’ पर्छ! अझ प्रष्ट भन्ने हो भने सँगै मिलेर रक्सी खानु भनेकै डिस्कस गर्न त हो। डिस्कस हो, कहिले सुरम्य र मजेदार हुन्छ भने कहिले तिक्तता पनि पैदा गर्दछ।
उसको साथीले भनेको थियो, 'कस्तो सरकार हो बले तिम्रो देशको? सरकार त सरकार जस्तो पो हुनुपर्छ।'
बलेले भनेको थियो, 'हो सरकार सरकार जस्तो हुनुपर्छ। तिमी ठिक भन्दै छौ साथीI'
साथी- बडो बेकार मानिस हुन् नेपाली।
बले- यही सम्झ, जस्ता हिन्दुस्तानका मानिस छन्, सायद नेपालका पनि त्यस्तै छन्।
साथी- नेपालको के औकात छ? मानिस पनि बेकार, देश पनि बेकार।
बले- मानिसको विषयमा बोल्, सरकारको विषयमा बोल् तर देशलाई हेपेर नबोल्। मेरो देश महान् छ। मेरो देश मेरो आमा हो।
साथी- क्या औकात है तेरी मा कि?
बलेको अगाडि अँध्यारो छायो। उसको चेतना यसरी जाग्यो कि ऊ आफै चेतनाशून्य हुन पुग्यो। बलेले भन्यो 'मेरो आमालाई गाली गर्छस्? तँ अंग्रेजके गुलाम! तेरी आमा गुलाम थिइ, तर मेरी आमा कहिल्यै गुलाम रहिनन्।'
बले र साथीको मल्लयुद्धमा साथीको हात भाँचियो। बले फेरि जेल गयो।