‘जहिल्यै सुत्ने बेला 'लभ यु' भनेर मात्र माया हुन्छ ? माया गर्न पनि जान्न परो नि। न कहिले के छ, कस्तो छ भनेर सोधेको छ, न कहिले घरको काममा सघाएको छ। खाली उही चाहिने बेला मात्र, अरू बेला मतलब छैन। यस्तालाई के भन्छन् थाहा छ ? महास्वार्थी। आफू बिरामी परेको बेला बुढा तातो पानी देऊ न प्लिज भनेर माग्नु पर्छ। न छोरा छोरी बिरामी हुँदा वास्ता छ। यस्ता मान्छे त एक्लै बस्नु पर्छ’, बन्दना ठुस्किँदै अर्कोतर्फ फर्की।
"हैन किन त्यतिकै रिसाएकी हँ। मैले माया गर्न नजाने तिमीले सिकाऊ न त। के भो फेरि आज ?", भन्दै बुढी ठुस्किने कारण जान्न खोज्छ आदित्य।
केहीबेर कोठामा सन्नाटा छाउँछ।
भित्तामा झुन्डिएको भित्ते घडीको एकोहोरो 'छक् छक् छक्' मात्र सुनिन्छ कोठामा। अर्को कोठामा सात वर्षको छोरा प्रनित सुतेको छ।
"आफूले भनेको बेला पाएन भने कति छिटो उठ्छ रिस। अरूको पनि इच्छा, चाहना हुन्छ होला नि। आफूलाई मन लागेको बेला लुपुक्क पर्दै आउने, मन लागेको छैन भने घन्टौं ल्यापटप र मोबाइलमा झुन्डेर बस्ने। हिजो को को सँग च्याट गर्दा चाहिँ बोलाएको पनि सुन्ने होइन।", बन्दना भुन्भुनाउँदै थिई।
आदित्यले कुनै रेस्पोन्स गरेन। एकछिनसम्म बन्दना एक्लै गन्गनाई।
निन्द्रा त कहाँ लागेको थियो आदित्यलाई, तर बुढीलाई घुर्की देखाइरहेको थियो। कहिलेकाहीँ एकछिन घुर्की देखाएपछि बुढी लुसुक्क पर्दै फर्किन्थी र उसको छातीमा गएर टासिन्थी। आज पनि सायद त्यस्तै सोचेको थियो होला उसले तर सोचेजस्तो भएन।
धेरैबेरसम्म एक्लै गुनासो पोख्दै थिई बन्दना।
बुढाको कुनै प्रतिक्रिया नआएकोले ऊ ओछ्यानबाट जुरुक्क उठी र सरासर अर्को कोठामा गई।
आदित्यले साँचेर राखेको झिनो आँस पनि मार्यो। ऊ धेरैबेसम्म ओल्ट्याई पल्टयाई गरिरह्यो। धेरैबेरसम्म निन्द्रा नलागेपछि नजिकैको सिरानीमुनिबाट मोबाइल झिक्यो र किशोर कुमारको 'आनेवाला पल, जानेवाला है' गीत बजायो।
अर्को दिन बिदा थियो।
उनीहरू अबेरसम्म सुते। छोरो उठेर खेलौनाहरूसँग खेल्न थाल्यो। आदित्यले छोरालाई आफूसँग बोलायो। ऊ पनि हातभरि खेलौनाहरू बोकेर गयो र सिरकभित्र घुस्यो।
आदित्यले कथा सुनाउन थाल्यो "पुन्टे र बयर।"
छोराले कति बुझ्यो कति बुझेन त्यो चाहिँ थाहा भएन तर कथा सकिउञ्जेल चुप लागेर सुनिरह्यो। उसले बेला बेला इङ्ग्लिसमा उल्था पनि गर्दिन्थ्यो।
धेरैबेरसम्म बाउछोरा चल्दै बसिरहे। बन्दना उठेर बाथरूम छिरी। फर्केपछि छोरालाई ब्रेकफास्ट तयार गरी। बुढालाई चिया बनाई र उनीहरूलाई बोलाई। धेरैबेरसम्म कोठाबाट निस्केन आदित्य। सधैंजसो बिहानै उठ्ने, योगा गर्ने र एकछिन भए पनि बाहिर निस्केर जम्पिङ ज्याक गर्ने बुढो अबेरसम्म कोठामै बसेको देखेर बन्दनालाई कारण बुझ्न गाह्रो भएन। चिया लगेर कोठामै राखिदिई। नबोलीकनै फर्केर सरसफाइ गर्न लागि।
******
चार वर्षअघि ठूला ठूला लगेजहरू घिसार्दै एयरपोर्टको बिजुली भर्याङ चड्दा धुलो र धुँवाको जिन्दगी, अभावै अभावको जिन्दगी सिस्डोलमै छोडेर आएजस्तो लागेको थियो उनीहरूलाई।
उसले सोचेकी थिई, "अबको बसाइ भनेको झन्झटरहित हुन्छ। धुलो, धुँवा र फोहोरोको डुंगुरले भरिएको काठमाडौंको गल्लीमा मास्क लगाएर हिँड्नु पर्दैन। आवश्यकताभन्दा बढी नै अरूको बारेमा चासो राख्नेहरूसँग भेट हुँदैन।
नर्स थिई बन्दना वीर अस्पतालको।
साथीहरूसँग भन्थी,"अस्पतालभित्र छिर्दा पनि नाकै समातेर छिर्नु पर्ने छि: छि: छि: कति फोहोरो। म त कहिले भिसा लाग्ला र त्यो नर्कबाट निस्कुला भनेकी थिएँ।"दुई चार वर्ष पहिले छिरेका उसका साथीहरू केही नबोली उसका कुरा सुनिदिन्थे।
उनीहरूले आफ्नो कथा भन्न चाहेनन् सायद उसको ओठको लालित्यलाई पुछ्न चाहेनन्।
"काम त पाइन्छ नि यहाँ ?" उसले सबैलाई प्रश्न गर्थी।
"सबैले काम गरेकै छन्। काम त पाइहाल्छ नि ढिलो चाँडो", उनीहरू कुरा नलम्बाइकनै भन्थे।
नर्थफेसको ज्याकेट, नीलो जिन्सको पाइन्ट र काने टोपी लगाएर क्यानडाको चिसोसँग जुध्न एयरपोर्टबाट निस्कँदै गर्दा आदित्यका आँखा तनक्क तन्केका थिए। फनक्क घुमेर चारैतिर हेरेको थियो।
चिल्लो भुइँ , छुँदै मयल लाग्ला जस्ता भित्ता, अग्ला र सलक्क ज्यान परेका मान्छेहरू देख्दा आफूलाई ठिङ्ग बुख्याचा उभिएझैं ठानेको थियो उसले।
पाँच पाँचवटा लगेज साथैमा राखेर फोयरको बीचोबिचमा उभिएका थिए उनीहरू। उनीहरूको पनि के दोष, अजयले नै बाहिर निस्कने गेटको भित्रपट्टि उभिनु भनेको थियो।
ऊ लिनलाई त्यही आउँदै थियो। मान्छेहरू यताउति गर्ने बाटोमै उभिएकोले गर्दा होला सबैले उनीहरूको अनुहारमा हेर्थे र मुसुक्क हाँस्दै आफ्नो बाटो लाग्थे।
धेरैबेरको कुराईपछि अजय आइपुग्यो। उसलाई देखेपछि ढुक्क भएको थियो आदित्य। गाडीमा बसाल्यो तीनै जनालाई र ब्रिटानिय रोड हुँदै टोरोन्टो डाउनटाउनतर्फ हान्नियो ऊ।
एक दुई दिन अजयले नै बिहान साँझ गरेर उनीहरूको ग्रोसरी लगायतका सामान किनमेल गर्न सहयोग गरेको थियो। बस्ने अपार्टमेन्टको व्यवस्था पनि उसैले गरिदिएको थियो। स्कुलदेखिकै कुस्ती खेल्ने साथी थियो ऊ।
अजय धेरै व्यस्त थियो। अरू साथीहरू पनि थिएनन् अजय बाहेक।
आदित्यले आफूले चिनेका जति सबैलाई सोधीखोजी गरेर सम्पर्क गर्यो। धेरैसँगको सम्पर्क पहिलो र अन्तिम भएको थियो एकैपल्ट।
चिनेकाहरूले छुट्टिकोबेला बोलाएर भात खुवाएर पठाए। तर कसैले पनि उसलाई "जागिर खोज्नलाई यसो गर, उसो गर " भनेर उपाय बताएनन्। बरु सबैले भन्थे "आतिनु हुँदैन जागिर पाइहालिन्छ नि ढिलो चाँडो।"
बैंकमा खाता खोल्न, सोसल इन्सुरेन्स नम्बरको लागि आवेदन भर्नकोलागि भने अजयले नै सहयोग गरेको थियो।
पछि आदित्यले जर्ज ब्राउन कलेजबाट 'अप्लिकेसन डेभलपर'को दुई वर्षे कोर्स गर्यो र एउटा प्रतिष्ठित बैंकमा जागिर सुरू गर्यो। बन्दनाले पनि नर्सको लाइसेन्स निकालेर सेन्ट जोसेफ हस्पिटलमा काम सुरू गरेकी थिई।
एक वर्ष भएको थियो उनीहरूले नर्थयोर्कमा घर किनेर सरेको।
*******
सरसफाइको काम सबै सकाउँदा समेत आदित्य कोठामै थियो। त्यो दिनभर दुबै जना बोलेनन्।
सरोज, उदय, विनोद र जीवनको एउटा म्यारिज ग्रुप थियो। छुट्टीको दिन सितन पानीको व्यवस्था गरेर पालैपालो सबैको घरमा बस्थे उनीहरू। आज आदित्यको घरमा बस्ने प्लान थियो।
घरको माहौल पहिलेनै तातेकोले अझै दाउरा थप्न चाहेन। जीवनलाई फोन गरेर उसको घरमै बस्ने योजना बनायो। नबोलीकनै खाना खायो र निस्क्यो घरबाट।
फ्रिजमा सबै कुरा रित्तिएको थियो। ग्रोसरी गर्न जाने योजना थियो बन्दनाको। केटाकेटी लिएर एक्लै ग्रोसरी गर्न जान गाह्रो थियो उसलाई। खाने तेल, दाल, चामल सबै रित्तिएको थियो। केटाकेटीलाई खाजा खुवाउनको लागि केही थिएन।
'केटाहरूको जात घरमा के छ के छैन केही मतलब छैन। आठ घण्टा काम गरे भने आफ्नो जिम्मेवारी पूरा भएको ठान्छन्। उनैलाई केही भन्न हुँदैन एकैचोटि पटकाझैं पट्किन्छन्' भाँडा धुँदै गर्दा तिनैँग गुनासो पोखी उसले।
बेलुका सात बजेतिर बल्ल घर फर्कियो आदित्य।
सिधै गएर सोफामा बस्यो। नेटफिल्क्समा अमेरिकन क्राइम सिरिज नार्कोस लगायो।
बन्दना खाना बनाउँदै थिई। उसलाई हेर्दा पनि हेरेन। छोरा प्रनित बाबाको नजिकै गएर बस्यो। क्राइम सिरिज ड्रग्सको अवैध कारोबार गर्नेहरूको बारेमा थियो। हिंसात्मक शो थियो त्यो। बन्दनाले छोरालाई उठाएर बेडरूममा लगी।
'छोरालाई पनि त्यस्तै देखाउनु, आफू पनि त्यही काम गर्न जानू नि अब। केही कुराको मतलब छैन', उसले बेडरूमबाटै सुनाई।
आदित्य सुनेको नसुनेझैं गरेर बसिराख्यो। केहीबेरमा निस्केर बन्दनाले खाना पस्केर टेबलमा राखी दिई र छोरालाई खुवाउन थाली। छोराले खाइसक्दा समेत ऊ सोफाबाट उठेन। पस्केको भात चिसो भैसकेको थियो।
'खाना नखाने भए अघि नै भन्नु नि। मैले खानै बनाउने थिइनँ। सधैं फाल्नु पर्छ खाना' भन्दै उसले आफूलाई थोरै भात थालमा राखी र खान बसी।
आदित्यले एकोहोरो टिभीमा मात्र हेरिरह्यो। बुढीको कुरामा कुनै मतलब राखेन।
खाना टेबुलमै छोडेर बन्दनाले जुठोभाँडो गरी र आफ्नो कोठातिर लागी। धेरैबेरमा उठेर दराजबाट ग्रेगुज झिकेर आधा गिलास जति खनायो। अलिकति पानी मिसायो। फ्रिजमा बासी पोलेको कुखुराको खुट्टा थियो। निकालेर ततायो र सितन बनायो।
त्यो रात पनि उनीहरू अलग अलग नै सुते। बोल्दा पनि बोलेनन्।
बन्दनालाई रातभर निन्द्रा लागेन। एकमनले सोच्थी 'यी केटाहरूको को जात सधैं आफू ठूलो हुनुपर्ने। हाँ त्यसैको लागि त हो रिसाएको। रिसाएर आफ्नै टाउको दुखाउनु भन्दा मै गैदिन्छु।' एकछिन पछि सोच्थी,' यी केटाहरूसँग कति ठूलो इगो हुन्छ। ऊ आए पनि त हुन्छ। के सधैं मै जानु पर्छ र? म पनि हेर्छु नि कति दिनसम्म नचाहिने रैछ।' निन्द्रा पटक्कै लागेन।
'बिहे गरेको एक दुई वर्षसम्म कति धेरै ख्याल राख्थ्यो। कपडा लगाउँदा पनि नोट गर्थ्यो। गुलाबी रंगको कुर्ता उसलाई असाध्यै मन पर्ने। नाक चिमोट्दै 'लुकिङ गोर्जियस' भन्थ्यो। खानेकुरामा पनि कहिले दोष लगाएन। तर प्रनित जन्मेपछि कति धेरै परिवर्तन। यहाँ आएपछि जस्तो कपडा लगाउँदा पनि देखेको नदेखेझैं गर्छ। मप्रति कुनै इन्ट्रेस्ट नै छैन। के सबै लोग्ने मान्छेहरू यस्तै हुन्छन् ?'
राति घद्रयाक्क गर्दै मास्टर बेडरूमको ढोका खुल्यो। सोची फकाउन आउँदै छ।
मनमनै खुसी पनि भै 'बल्ल आज आफैं आउने भयो' भन्दै। सिरकले मुख घप्लक्क ढाकी र भित्तातिर फर्की। धेरैबेरमा आदित्य बाथरूमबाट निस्कियो र सरासर आफ्नै कोठामा गयो। बन्दना निरास भै।
धेरैबेरसम्म सुक्क सुक्क मात्र गरिरही।
सिरानीमुनिबाट मोबाइल झिकेर समय हेरी। बिहानको तीन बजिसकेछ। आँखा काँचै थिए। झिमिक्क पनि गरेकी थिइन ऊ ।
"यदि उसले मलाई साँच्चैकै माया गर्छ भने, उसलाई थाहा हुँदैन कि म के चाहन्छु ? अहँ! उसले मलाई हैन मेरो शरीरलाई हो माया को नाटक गरेको। यो छालाको माया छाला प्राप्तिको लागि हो। जुनदिन मेरो कसिलो छाला खुम्चिन थाल्छ, छाती झोलिन थाल्छ त्यसै दिनदेखि उसको प्रेमको बहाना पनि झोलिन थाल्छ।
'मलाई के मन पर्छ ? म के चाहन्छु ? अहँ कुनै मतलब छैन उसलाई। समय मिल्यो कि साथीहरू चाहियो। जब सुत्ने बेला हुन्छ तब उसलाई मेरो आवश्यकता पर्छ। मेरो कुनै कुराको प्रशंसा गर्नु पर्यो भने घाँटीमा गाँड झुन्डिन्छ। मैले के लगाएकी छु कस्ती देखिएकी छु अहँ कुनै मतलब छैन। काम कस्तो छ ? दिन कस्तो बित्यो कुनै दिन सोधेको छैन। अरूका बुढीहरूको कुरा गर्दा चेपा जस्तो हुन्छ थुतुनो।'सोच्दा सोच्दै उसलाई रिंगटा लागेजस्तो हुन्छ। उठेर किचनमा जान्छे र पानी पिउँछे।
फर्केर अलिकति झ्याल खोल्छे कोठाको। हिउँले पुरेर घर पछाडिका रूखहरू हिमश्रृंखलाजस्तै देखिन्छन्। बत्तीको प्रकाशमा पैंयुको फूलझैं नाँच्दै झरेको देखिन्छ हिउँ।
'कति मुलायम देखिन्छ। कति कोमल छ बिल्कुल फूलजस्तै। तर यथार्थमा कति कठोर र निर्दयी छ। किन होला सबै वस्तुजस्तो देखिन्छन् वास्तवमै त्यस्तो हुँदैनन्', उसले मनमनै सोची।
'आदित्य देख्नमा कति सुन्दर छ। आँखा कति निर्दोष देखिन्छन्। अरूसँग बोल्दा सधैं हाँसेकै हुन्छ। त्यसैले त होला बिहेको अर्को दिन बैनीहरूले मलाई जिस्काउँदै भनेका थिए 'कति भाग्यमानी होस् के त त्यस्तो राम्रो खसम पाइस्।' अहिले थाहा पाउँदैछु म कति भाग्यमानी रैछु भन्ने।'
'कैयौंपल्ट ऊ रिसाउँदा पनि म नै पहिले बोलिदिन्छु। हाँ! टाउको दुखाएर बस्नु भन्दा सानै भएको ठीक भन्दै। भरे केही नराम्रो भयो भने पनि समाजले सबभन्दा पहिले मलाई नै दोषी देखाउँछ।
आफ्नै बुवा आमाले त 'तिम्रो बानीले होला भन्दै प्रश्न तेर्साउनुहुन्छ भने पराइको के कुरा गरौं। त्यसैले स्वीकारिदिन्छु नगरेको गल्ती। सायद त्यसैले पनि होला उसको आँट बढेको।'
जति जति सोच्दै जान्छे उति उति पुराना घटनाहरू उसको आँखा वरिपरि नाच्छन्।
'सधैं कमारी जस्तै गरेर बस्नु भन्दा एक्लै बस्छु। मार्था, जेनी, रिकी सबै बसेकै छन् एक्लै। जो होगा देखाजाएगा। '
'हैन मार्था, जेनी र रिकी जस्तो पारिवारिक संरचना हाम्रो हैन। रिकी आफ्नो स्टेप फादरसँग बस्छे। मार्थाको आमाको तेस्रो विवाह हो रे। उनीहरूको केटासाथीहरू छन्। जेनी विवाह नगरेको केटासँग कोठा सेयर गरेर बस्छे।'
'तर हाम्रो पारिवारिक संरचना फरक छ। दश पन्ध्र वर्षमा बिहे गरेको बुवाआमा अहिलेसम्मसँगै हुनुहुन्छ। मेरो अलग्गिने निर्णयले मलाईभन्दा गहिरो घाउ बुवा आमालाई पर्नेछ। मैले त केही दिनमा बिर्सिदिउँला यो घटना। तर बुवाआमाले कसरी सक्नुहोला बिर्सनु। हैन यस्तो कुरा सोच्नु हुँदैन।' पुन कोल्टे फेर्छे ऊ।
बिहे भएको अर्को साल बुढाले हिराको पथ्थरजडित औंठी गिफ्ट दिनेबेला उसको मुलायम रौं मुसार्दै निधार, आँखा र ओठमा कसरी चुम्बन गरेको थियो। नाक समातेर 'कति राम्री हौ के तिमी ' भन्दै गर्लम्म अंगालोमा कसेको थियो। प्रेमको स्वर्गीय अनुभव गराएको थियो उसले। तर अर्को दिन म ढिलो घरमा पुग्दा उसको स्वरूप द्रोपदीलाई घिसार्दै गरेको दुशासनको भन्दा कम थिएन। किन आउछ यति ठूलो परिवर्तन यत्ति छिटै। कतै बाइपोलर त छैन ऊ ?' मनमनले सोच्छे उसले।
अर्को दिन ऊ काममा गई।
जेनी उसँगै काम गर्थी। 'यु लुक स्याड ब्यान्ड्यना। इज एभ्रीथिङ्ग ओके ?' उसले सोधी।
कहिले पनि बुढाको बारेमा कुरा नगर्ने बन्दनाले जेनीसँग सबै कुरो खोली।
'माई एक्स वाज अ बिग आस्होल' नाउ आई रेग्रेट फर दोज टु इयर्स। अल मेन आर पर्भर्ट।' उसले उसका अरू साथीहरूको बारेमा पनि सुनाई।
रिकीले पनि भर्खरै पन्ध्र वर्षको विवाहलाई अदालतमा लगेर बुझाएकी थिई। उनीहरूको कुरा सुन्दै बन्दनाको मन डराउथ्यो। कति कुराहरूमा ऊ अझै बुढासँगै डिपेन्ड थिई। काम र किचनबाहेक अरु धेरै कुराहरू थाहा थिएन उसलाई। बैंकको कामदेखि अन्य अफिसियल कामहरू सबै आदित्यले गर्थ्यो।
'ब्रेक द रिलेसन बिफोर इट इज टू लेट' जेनीले स्ट्रेस दिँदै भनी।
******
आदित्यको मनमा पनि कुराहरूको महामारी नै चलेको थियो। बन्दनासँग विवाहपछिका दिनहरू फिल्मको रिल घुमेझैं फनफनी घुमिरहेको थियो।
दिउँसो जीवनले भनेको सम्झ्यो 'मु.. मैले ठोकेर भन्छु स्वास्नीको माया पैसो हुन्जेल हो। तिम्रो चेकिङ एकाउन्टमा महिनामा कति आउँछ मायाको मात्रा पनि त्यही हो। पैसा घट्यो कि माया पनि घट्यो। पैसा बढ्यो अनि थाहा हुन्छ माया भन्ने चिज।
'एउटीले त लोटरी परेको एक सातामै दश वर्षे सुमधुर वैवाहिक सम्बन्ध तोड्न डिभोर्स फाइल गरी अरे भर्जिनियामा ,' विनोदले भन्यो।
'माकसम आइमाइहरू आफूलाई चैं नचाहिनेझैं गर्छन्। जतिबेला पनि केही न केही बहाना निस्की हाल्छ ', उदयले थप्यो।
'छोड यार सबै कुरा। बिजनेस गर्नु पर्छ मिलेर। जागिरले पैसो कमाइन्न। पैसो नकमाउँदासम्म न हामी खुसी न हाम्रा भोगिनीहरू खुसी। खातामा टन्न पैसो नहुन्जेल सधैं किचकिच हो साथीहरू ' विनोदले भन्यो।
'मिस्टर ज्याकल एण्ड मिस्टर हाइड' नामक किताब उसको सिरानी मै थियो। हिजोमात्र पढेको थियो।
तिनै कुरा सम्झ्यो ' साला सबै पाखण्डी छ जिन्दगी। मन नपरी नपरी पनि बाहुनको जनैझैं सधै भिर्नु पर्ने सम्बन्ध। अरूको लागि हाँस्नु पर्ने। अरूकै लागि बाँच्नु पर्ने। अरूको भन्दा ठूलो घर चाहिने। अरूको भन्दा राम्री श्रीमती चाहिने। अरूको भन्दा राम्रो गाडी चाहिने। त्यसैको भारीले थिचेर घाइते भएको देखाउन नहुने। खोक्रो आडम्बर देखाउन नहुने। थुक्क साला जिन्दगी। सयमा एकजना समाजको आँखामा सफल ठहरिन्छ। अनि सबैले त्यसैको बारेमा लेख्छन्, त्यसैलाई पूजा गर्छन। त्यसैको चाकडी गर्छन्। हप्तौ घरमा नबोलेका बुढाबुढी पनि अरूको अगाडि मुनामदन बनेर उभिन्छन्। आखिर कहिलेसम्म मन्चन गर्ने हो यो नाटक। सेक्सपियरले त्यसै भनेको हैन 'जिन्दगी एक नाटक हो' भनेर।
'आखिर किन हाम्रो बीचमा सधैं मनमुटाव हुन्छ? के सबै विवाहित जोडीहरूको यही दशा हो ?'
'अहँ यो हुनै सक्दैन। कैयौं साथीहरूको देखेको छु। कति प्रेम गर्छन् आफ्ना श्रीमानहरूलाई। कति इज्जत त आदरभाव प्रकट गरेर बोल्छन्। जहिले च्याठियर बोलेकी छे। हैन कति हेप्न सकेकी यसले। जहिले चाट्न जानुपर्ने।'
रातभर यस्तै कुरा खेलाएर जाग्राम बस्यो आदित्य।
बिहानै उठेर बाहिर निस्क्यो। गाडी स्टार्ट गरेर भिक्टोरिया स्ट्रीट हुँदै उडवाइन बीच पुग्यो र गाडी रोक्यो।
पश्चिम दिशाबाट बहदै गरेको चिसो हावाले लेक ओन्टारियोको सतहको पानीमा तरंग ल्याइरहेको थियो। आफ्नो मनभित्र उठेका तरंगहरू र पानीमाथि उठेका तरंगहरूको बीच कुनै मेल देखेन उसले।
किनारै किनारा करिब एक किलोमिटर जति हिँड्यो। धेरैबेरसम्म बाटो छेउको ढुंगामा बसेर लेकको छेउछाउ चर्दै गरेका पानीहाँसहरूलाई हेर्यो।
आफूभन्दा धेरै खुसी देख्यो पानी हाँसका जोडीहरू।
बन्दनाले पनि छोरालाई स्कुल छोडेर काममा गई। सम्बन्ध सुध्रेला भन्दा झन् बिग्रेर गैरहेको थियो।
बिहान घरबाट निस्केदेखि उसले फोन पनि गरेको थिएन।
'कता हो ?' भनेर टेक्स्ट गरेकी थिई बन्दनाले तर कुनै रेस्पोन्स गरेन उसले।
"इज एभ्रीथिङ्ग ओके ?' जेनीले बन्दनालाई देख्ना साथ सोधी।
मार्था पनि सँगै थिई। राति नसुतेको र खाना पनि नखाएकोले गर्दा बन्दनाको अनुहारको रंग उडेको थियो। उनीहरूको अनुहारमा दयाको संकेत प्रष्टै देखिन्थ्यो।
'इफ यु डिभोर्स हिम, द गभर्मेन्ट विल गिभ यु अ गुड मोनी', मार्थाले सुनाई।
किन किन उनीहरूको दयाभाव उसलाई पटक्कै मन परेको थिएन। उसले रोक्न खोज्दा खोज्दै पनि आँखा भरियो। घोप्टो परेरै बाथरूम गई। धेरै बेरसम्म रोई। ऐनामा अनुहार हेर्दा आफैंलाई उदेक लागेर आयो।
दुई दिनदेखि मेकअप गर्न पनि छोडेकी थिई। त्यसमाथि अनिन्द्रा र स्ट्रेसले गर्दा डार्क सर्कल देखिएको थियो। आँखा राता र सुनिएका थिए। छुट्टी मागेर छिट्टै घर फर्की।
बेलुका छोरो सुतिसके पछि ऊ आदित्यको सामुन्ने गएर उभिई। ह्विस्की पिउँदै थियो उसले।
नबोल्दै उसका आँखाबाट आँसु खसे। 'म बस्दिनँ यो घरमा सधैं नोकर्नीझैं भएछु। सक्दिनँ म हजुरजस्तो निष्ठुरी बनेर बस्न। जहिले रुवाएको छ', भन्दै सुक्क सुक्क गरी।
'नबसे गए भयो। कसले छेकेको छ बाटो। जहिले ठुस्स परेकी छ। बिनासित्ती रिसाएकी छ। घरमा आएर तेरो बिग्रेको थुतुनो हेर्न भन्दा घरै नआउ जस्तो हुन्छ। अरू घरमा आउँदा त तेरो ओठ च्यातिएर कानसम्म पुग्छ नि। मलाई देख्दा किन खुम्चिन्छ कुन्नि तेरो निधार ?
बन्दनाले यो भन्दा धेरै सुन्न सकिन। रूदै बाथरूमभित्र छिरी। पानीको धारो खोलेर धेरैबेरसम्म मनको पीर पखाली।
केहीबेरमै अचानक ठूलो आवाज आयो। केही भत्के जस्तो। ऊ हतारिँदै लिभिङ रूममा आई। आदित्य कुर्चीबाट भुइँमा ढलिसकेको थियो। उसका खुट्टा तनक्क तन्किएका थिए। टाउको भित्तातिर फर्केको थियो भने आँखाले एकोहोरो ट्वाल्ल परेर हेरेजस्तो देखिन्थ्यो। तलामाथिको दाँत बानेको थियो। मुखमा फिज निस्केकोजस्तो देखी उसले।
छाती जोडजोडले उफ्रिन लाग्यो। 'बुढो' भन्दै उठाउन खोजी। तर आदित्यको शरीर सम्पूर्ण रूपमा चेतानाशून्य भैसकेको थियो। एकछिनसम्म के गर्ने के नगर्ने सोच्नै सकिन। उसलाई भननन रिंगटा लाग्यो। टेबुलको खुट्टा समातेर बल्ल बल्ल उठी र फोन समातेर इमर्जेन्सी नम्बरमा कल गरी।
करिब पाँच मिनेटभित्रै एम्बुलेन्स आयो।
मेडिकल टिम आएर आदित्यको प्राथमिक चेकजाँच गर्यो। त्यसपछि तुरून्त मेट्रो सिटी अस्पतालमा लगे उनीहरूले।
छोरा प्रनित सुतेको थियो। उसलाई घरमा एक्लै छोडेर जाने अवस्था रहेन बन्दनाको। रातको समय भएकोले फोन गरेर बोलाउने कोही थिएन। छिमेकी नाम मात्रको थियो। उनीहरूसँग परिचय त थिएन अरू कुरा के गर्नु। रात भर बन्दना रूदै बसिन् छोरासँग। अर्को दिन बिहानै छोरालाई साथीको घरमा छोडेर ऊ अस्पताल पुगी।
आदित्यको अवस्था सामान्य भैसकेको थियो। अधिक स्ट्रेस र रक्सीको कारणले गर्दा ब्रेनमा असर पर्न गएको कुरा डाक्टरहरूले बताए। आदित्यको अनुहार असमन्जस्याताले झुकेको थियो। हिजो र आजको स्वरूपमा आकाश जमिनको फरक पाई उसले।
काखको दूधे बालकलाई झैं गरेर उसको टाउको मुसारी। हेर्दाहेर्दै आदित्यको आँखा रसाए। यो भन्दा पहिले यस्तो निहत्था कहिले देखेकी थिइन आदित्यलाई। नबोलेरै प्रेमले निथ्रुक्क भिजाइदिई उसलाई।
अस्पतालको कागजी प्रक्रिया सकेर उनीहरू घर फर्के। डाक्टरहरूले आदित्यलाई अल्कोहलको मात्रा कम गर्न भनेका थिए। स्ट्रेस नलिन सुझाएका थिए । सकेसम्म छुट्टीमा केही समयको लागि बाहिर घुम्न जाने सल्लाह पनि दिएका थिए।
भोलिपल्टै आदित्यले कम्पनीको म्यानेजरलाई इमेल गरेर एक महिनाको लागि छुट्टी मिलायो।
साँझ बन्दनालाई आफू सुतेको कोठामा बोलायो। उसलाई आफ्नो छेउमा बस्न लगायो। छोरा प्रनित पनि सँगै थियो। उतिखेरै बाबासँगै सिरकभित्र घुस्रियो। बन्दनाका आँखा अझै ओझिला थिए। आदित्यले दाइने हातको बुढी औंलाले आशु पुछिदियो। मुलायम औलाहरू मुसार्दै भन्यो,
'होंठो से छु लॊ तुम
मेरा गीत अमर कर्दो
बनजाओं मित मेरे
मेरी प्रित अमर कर दों '
'छि छोरो त्यही छ के भनेको होला' भन्दै उसको हातबाट आफ्नो हात छुटाई बन्दनाले।
'तिमी पनि खाली डरमात्रै मान्छेऊ। बुझ्नु सुझ्नु छैन। त्यो मलाई मन पर्ने गजल बजाऊ पो भनेको स्पिकरमा ' उसले हाँस्दै भन्यो।
'नबुझ्नेलाई पहिले बुझाउनु पर्यो नि ' उसले आँखा तर्दै भनी।
'तिमीले माया गर्न सिकाउन त पहिले। त्यसपछि मैले अर्थ बुझाउला ' आदित्यले बन्दनाको मुलायम केश मुसार्दै भन्यो।