'केलाई कविता भन्ने केलाई नभन्ने' विषय जति गम्भीर देखिन्छ, त्यति नै गह्रौ यसको विषयमा बोल्न। अरुलाई झै मलाई पनि कविताको विषयमा बोल्न त्यति सजिलो लाग्दैन।
तर आज धृस्टता गर्दैछु। तर के कविता हो, के होइन भनेर म पक्कै भन्दिनँ। त्यो भन्न सक्ने मसँग लागत छैन। केबल आज म कविता बारे बोल्न खोज्दै छु। बोल्न सक्छु वा सक्दिनँ, म भन्न सक्दिनँ।
ओड्सवर्थ भन्छन्- कविता भनेको अनुभूति वा भावनाहरुको धाराप्रवाह संप्रेषण हो जसलाई सृजना गर्न एकान्तपन चाहिन्छ। कविता आफैमा एकान्तको साथी हो जसको सुरुआत नै एकान्तपनबाट हुन्छ। मलाई लाग्छ, कवितालाई बुझ्न पनि एकान्त नै चाहिन्छ, रमाउन भिड पनि काफी छ।
प्रत्येक वर्ष एकेडेमीले कविता प्रतियोगीता बडो धुमधामका साथ गर्छ अनि नतिजा निकाल्छ पुरस्कृतहरुको। जब पुरस्कृतहरुको नाम बाहिर आउँछ तब नेपाली मिडियामा र सामाजिक संजालमा अनौठो माहोल सृजना हुन्छ।
कतिलाई ती कविता कविता जस्ता लाग्दैन वा पुरस्कृत हुने जस्ता लाग्दैन, कतिलाई लाग्छ। खैर, यो वर्ष त्यो माहोल रहेन वा मलाई थाहा भएन। तर हरेक वर्ष कविता लेख्नेहरु नै मेरो कविता कविता उसको कविता अकविता भनेर तर्क दिन थाल्नु हुन्छ तब किन-किन कवि कवि नभएर राजनीतिज्ञ जस्तो लाग्न थाल्छ।
पहिलो कुरा कवितालाई राम्रो र नराम्रो भनेर कसरी छुट्टायाउने? अर्को कुरा, कविता यस्तै हुनुपर्छ भनेर जिद्दी गर्नु कतिको सुहाउँदो कुरा हो? साहित्यका हरेक बिधा समयसँगै परिवर्तित मोडहरुमा रुपान्तरित हुन्छ्न्। कविताले पनि साहित्यका अरु बिधाहरुले झै कयौँ मोडहरु पार गरिसकेको छ।
पूर्विय साहित्यमा हरेक शास्त्रीय कृतिहरु उदाहरणका लागि गीता, महाभारत, रामायण, सबै कवितात्मक ढंगले लेखिएका थिए। त्यो समयका साहित्यिक कृतिहरु हेर्ने हो भने सबै बिधाहरु कवितात्मक नै थिएँ। पश्चिमी साहित्यमा पनि त्यही लागु हुन्छ बिउल्फदेखि सोक्रेटिज र सोफोक्लिजका हरेक कृति कवितात्मक शैलीमा लेखिएका थिए।
विस्तारै जसरी समाज परिवर्तन भयो, हाम्रा लेख्ने शैलीहरु पनि परिवर्तन भए। त्यसका साथै साहित्यका माध्यमबाट हाम्ले हेर्ने दुनियाँ नै फरक हुँदै गयो। कविताको बद्लदो इतिहासलाई हेर्दा कवितालाई साँघुरो दृष्टिगोचराले हेर्नु कविताको व्यापकतालाई साघुर्याउनु त होइन भन्ने कुरा हामीले बिर्सनु हुन्।
नेपाली कविताले पनि विभिन्न चरणहरु पार गरिसकेको छ। लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, शिद्धिचरण श्रेष्ठ, बालकृष्णसम जसरी छ्न्दमा लेख्नेहरु विस्तारै घट्दैछौँ।
अहिलेका कविता र ती कविता एकै ठाउँमा राखेर हेर्ने हो भने कतिलाई अहिलेका कविता अकविता पनि लाग्न सक्छ। अथवा कविताको शास्त्रीय मोड मन पराउनेहरुलाई लाग्न सक्छ, कविता लयमै हुनुपर्छ। तर के अहिलेका कविता कविता नै होइनन् त?
त्यसैले कवितालाई बुझ्न हरेक व्यक्ति कवि हृदयको भएपुग्छ जसलाई लागोस्। कविता भनेको पानी हो, कस्तो भाडोमा राख्ने, कसरी खाने त्यो तपाईको हातमा छ।
समयसँगै कविता एकान्तमा बसेर पढ्ने कुरा मात्र रहेन, अब त यो हेर्ने, अभिनय गर्ने, अथवा मनोरन्जनका अरु कुनै बिधा झैँ रमाउने चिज पनि बन्यो। स्लम पोएट्री वा पोएट्री पर्फमेन्स अहिलेका युवाहरुले रुचाउने कविताको अर्को मोड बनेको छ।
अब हामी देवकोटा जसरी छन्दमा लेख्ने सुदेश सत्याल र कविताको पछिल्लो ट्रेन्ड लिएर कवितालाई मन्चन गर्ने नवराज पराजुली एउटै मन्चमा भेट्छौँ। यसले कविताको साँघुरोपनभन्दा पनि फराकिलोपन महशुस गराउँछ।
अहिले पनि कविताका छुट्टाछुट्टै अभियानहरु चल्दैछ्न्। पोस्टर कविता अभियान, भित्तामा कविता यसले कविताका छोटाछोटा स्वरुपहरुलाई अघि बढाउदै छ्न्। समालोचक महेश पौडेलको भाषामा भन्दा छोटा झिल्काजस्ता कविताहरु लेख्दैछौँ।
यसलाई बद्लिदो समसँगै कवितामा परेको कलात्मक प्रभाव मान्न सकिन्छ। अब हामीसँग लामा लामा कवितामा रमाउने न समय छ न एकाग्रता नै, कतिलाई लाग्ला यस्तो छोटो पनि कविता हुन्छ। कतिलाई लाग्ला कविता भनेको यस्तै हुनुपर्छ।
पुस्तान्तरण, प्रविधि, भूमण्डलीकरणा यी यस्तै चिजहरुले कविताको स्वरुपमा अनौठो हलचल ल्याएको छ। यो हलचललाई हृदयगमन गर्ने कि विरोध वा बिम्ब, शिल्प, कविताको विषयलाई लिएर कवितालाई नै विरोधाभाष नजरले हेर्ने यो हाम्रै हातमा छ।
कविताको विषयमा जति बोल्दै जान्छु, त्यति आफूले आफैँलाई बढी पाखण्डी ठान्छु। खासमा कवितालाई लिएर बहस गर्नु आफ्नो पाखण्डलाई आफ्नै शिल्पले छोप्न खोज्नु हो। कविताको उपस्थिति बिना किताब, बिना मन्च पनि उत्तिकै हुनेछ।
लयमा बाच्नेहरु सबै कवितात्मक शैलीमै बाचेका हुन्छ्न्। कविता नै लेख्नुपर्छ भन्ने बाध्यता छैन। वास्तवमा कविताको उपस्थिति हरेक मिलेको र अमूर्त चिजहरुमा छ र हुनेछ। खोइ किन हामी मेरो कविता कविता उसको कविता अकविता भन्छौँ।
कविताको विषयमा थप कुरा गर्दा मलाई पछिल्लो समय कविता लेखेर नै विश्व माझ चिनिएकी रुपी कौरको बारेमा केही भन्न मन लाग्यो। भारतीय मुलकी क्यानडेली कवि उनले कविता र चित्रकलालाई अनौठो तरिकाले फिउजन गरेर कविता लेख्ने शिल्पलाई अझ बृहतर बनाइन्।
जसको कविता सुरुमा देख्दा यस्तो पनि कविता हुन्छ भन्ने हामीजस्ता पाठकलाई लाग्न सक्छ। पश्चिमी साहित्य समाजले पनि सुरुमा उनको उनको कवितालाई अपनाउँन गाह्रो मान्यो। अझै कति समीक्षकहरु उनका कवितालाई कविता मान्न तयार छैनन्।
मेरै उमेरकी उनको कविता जब पढेँ, लाग्यो- मैले भन्न नसकेको कुरा उनले कवितामार्फत भनिन्। अब उनको शैली उनको मात्र रहेन। हाम्रो पनि बन्यो। अब उनकै शैलीमा लेख्नेहारुको भिड बनेको छ जसले अक्षर र चित्रकलाको अनौठो फिउजन प्रस्तुत गर्दैछ्न्।
उनलाई आइकन मान्नेहरुको भिड छ। उनका कविता न हाम्रा देवकोटा न ओड्सवर्थ न शेली न हाम्रै मनु मन्जिल वा सरस्वती प्रतिक्षाका जस्ता छन्। अब हामी उनका कवितालाई अकविता मान्ने वा कविताको बदलदो स्वरुपलाई सहर्ष स्वीकार्ने यो हाम्रै हातमा छ। प्रस्तुत छ रुपी कौरको एउटा भावानुवाद कविता:
ऊ सोध्छ
के अझै हामी साथी बन्न सक्छौँ?
म भन्छु, कसरी एउटा मौरीले
फूललाई चुमेर पातमा आफ्नो घरबार बनाउँने सपना
नदेखी बस्न सक्छ?
मलाई धेरै साथी चाहिदैन।
यसरी हेर्दा केलाई कविता मान्ने, केलाई कविता नमान्ने भन्न त्यति सजिलो छैन। अब कविताको दुनियाँ केही शास्त्रीय कृतिको बिडो थामेर अघि बढ्ने बिधा मात्र रहेन। समयसँगै यसको बहुआयामिकता र बद्लिदो स्वरुपलाई हामीले स्विकार्नै पर्छ।
र अर्को कुरा, कविता यस्तै हुनुपर्छ, यस्तै बिम्बहरुको प्रयोग गर्नुपर्छ, यस्तै शिल्पमा लेख्नुपर्छ भन्ने बहस पनि समयसापेक्ष रहेन। साथसाथै, प्रतियोगिता बारे हुने बहस नेपाली राजनीति जस्तो हुन पुगे मेरा जति राम्रा अरुका जति नराम्रा।
र पनि दुई/चार प्राज्ञले निर्कोल गरेको पुरस्कार तपाईले सोचे झैँ नतिजा आउनुपर्छ भन्नु काव्यिक मन्चहरुमा असुहाउँदो लाग्दो रहेछ र यसले अन्ततोगत्वा प्रतियोगिता र नतिजाको संस्कृतिलाई अब हाम्ले बदल्न पो आवश्यक छ कि भन्ने संकेत गर्दो रहेछ। आखिरमा कविता कविता नै हो। यसले हल्ला होइन, एकान्तको बाटो रोज्छ।