‘दाइ, मम लैजानुस् न’ सानुमायाले सुरिलो आवाजमा अफर गरिन्। मसँग पैसा थिएन। मैले भनें, 'पैसा सकियो बैनी, भोलि लैजान्छु।'
उनले भनेकी थिइन्, 'पैसाको के कुरा भयो र दाइ, लगेर तातो पारेर खानुहोला।'
हिजै त हो, सानुमायाले एक प्याकेट मुङको दालमोठ सित्तैमा दिएको। पैसा दिँदा पर्दैन पर्दैन भनेर जोड गरिन्। नलगी सुखै पाइएन। आज फेरि बिनामूल्य यो मम।
मैले भनेको थिएँ 'यस्तै गर्न थाल्नु भयो भने तपाईको पसलमा आउनै छाडिदिन्छु।' तर त्यतिबेरमा प्याक गरेको मम मेरो हातमा परिसकेको थियो।
मेरो एउटा साह्रै खराब बानी छ। मधेशतिर बस्ने पहाडी मुलको मानिस देख्यो कि 'यहाँको पहाड घर कता पर्यो कुन्नि' भन्नै पर्ने। काठमाडौंमा बस्ने मानिसलाई जन्म ठाउँ सोध्नै पर्ने। जागिरेलाई जागिर खाएको अवधि सोध्नै पर्ने।
सामान किन्न पसलमा गएको म। सानुमाया देख्दा मनमा लागेको थियो, जापानी नानी सिड्नीकी साहुनी भनेर। किन्तु पूर्वीय पारामा नेपाली बोलेको सुनेर स्वभाव अनुसारको शब्द प्याच्च फुटिहाल्यो 'धरान तिरकी बैनी हो?'
उनी मुसुक्क हाँस्दै मतिर मुखातिव भइन्। अहो! गोरो पहेँलो वर्ण, हल्का रंगाएको कपाल, घाँटीमा मैले कहिल्यै नदेखेको डिजाइनको सुन्दर चम्किलो हिराको हार। कानमा कान्तिपूर्ण टपक्क टाँसिएका टप। सुहाउँदो नेप्टो नाक र ससाना किन्चित चिम्से गाजलु आँखा।
विदेशी बानाको पहिरनभित्र लुक्न नमाने जस्तो देखिने सुन्दर देह। मैले मनमनै सोचें, यिनको लोग्ने कति भाग्यमानी! मलाई सानुमायाको लोग्नेप्रति कता-कता इर्ष्या लागेको थियो।
सानुमायाले भनिन्, 'कसरी थाहा पाउनु भयो म धराने हुँ भनेर? दाइ त मुख हेरेर मान्छे चिन्ने कस्तो सिपालु। यहाँ कता बस्नुहुन्छ दाइ? कहिले आउनुभयो? बसाइ कति छ?'
मैले नबिराइकन सबै कुरा भनेपछि उनले भनिन्, 'बस्नुस् न!'
म बसें। ग्राहक आइरहे I सिद्धहस्त सानुले सामान बेचिरहिन्। सानो हाते मेशिनमा खटखट हिसाब हान्दै बिल दिंदै गरिन् उनले। सिड्नी सहरको रक्डेल काउन्टीमा रहेको उनको दुकान धेरै चल्तीको रहेछ। दुकानमा दाल, चामल, तेल, चिउरा, चाउचाउ, मस्यौरा, सिन्की, अचार, दालमोठ लगायत जेरी, मम, लालमोहन, पेडा, बर्फी अनि रसबरीका साथै हरियो सब्जी र फलफूल समेत पाइने। तर दुकान्दार भने एक्ली सानु मात्र।
म टुल अलि पर सारेर कहिले सानुमाया र कहिले पल्लोपट्टि जोडिएको कफी शपको अगाडिको ठूलो टेबलको चारैतिर बसेर कफी खाइरहेका वृद्धवृद्धाहरुलाई हेरिरहें। उनीहरू सबै अत्यन्तै वृद्ध थिए। तर बोली भने छिल्लिएको र ‘भल्गर’ थियो।
सांकेतिक भाषामा आफ्नो रसिक जवानीका अनुभव बाँडिरहेका व्यतित व्यक्तिहरु। मैले मनमनै सोचें, हामी नेपालीहरुमा वृद्धावस्थालाई रमणीय बनाउन जान्ने कलाको विकास कहिले हुने होला?
सानुमाया अस्ट्रेलिया आएको बीस वर्ष भयो। अङ्ग्रेजी फौजको लाहुरेकी छोरी उनी बडो ल्याड प्यार पाएर हुर्किन्। फकल्यान्डको युद्धमा परेका बाबु भाग्यले बाँचेका थिए। दिनहुँ आमा रोएको देखेर कलिली सानुमाया पनि आमासँगै रुन्थिन्।
बाबा लडाइँमा गएको कुरा बुझेकी उनले आमाको बलिन्द्र रोदनको कारण बुझिनन्। तथापि आमा रुनु बालिकालाई रुलाउन काफी थियो। उनी नौ कक्षामा पुगेपछि बाबा रिटायर भएर आए। बाबाबाट युद्धका कुरा सुनेर उनले नक्सामा फकल्यान्ड खोजिन्। बाफ्रे! कति टाढा, कति अनकन्टार।
स्कुलमा ‘गोर्खा भर्ती बन्द गर्’ नारा सुनेर उनी पनि त्यो नारा समात्न पुगिन्। ख्यालख्यालमा सानुमाया कम्युनिस्ट बनिन्।
सानुमायाले काम गर्दागर्दै कफी बनाइन्। बाहिर पानी पर्न थालेपछि गोराहरु वाउ वाउ! गर्दै लाखापाखा लागे। 'ल दाइ कफी खानुस्। जाडोको औषधी!' हामी कफी खान थाल्यौं।
वर्षाको कारण ग्राहक आउने क्रम बन्द भयो। सानुमायाले तौलियाले मुख पुछिन्। सानो टिकुली ऐना हेरेर लिपिस्टिक लगाइन्। कपाल मिलाउँदै भनिन्, 'के गर्नु दाइ! ख्यास्सको मुख पारेर बस्यो भने ग्राहक आउन छाड्छ। भन्छन् नि, सामान राम्रो भएर मात्र कहाँ हुन्छ? साहुनी पनि राम्रो हुनुपर्छ रे। नक्कली सामान किन्नु परे सुन्दरी साहुनीकहाँ जानू।'
मैले भनेको थिएँ, 'नक्कली माल बेच्नुहुन्छ कि क्या हो बैनी?'
उनले जिब्रो टोक्दै भनिन् 'मैले त नेपाल तिरको कुरा गरेको पो। यहाँ त समातेर लान्छ। अच्छा एउटा कुरा नि दाइ, तपाई साहित्यमा रुचि राख्नु हुन्छ?' मैले उत्तर दिन नपाउँदै उनले मेरो हातमा एउटा पुस्तिका थमाइहालिन्। मैले एउटा पाना पल्टाएँ। कविता रहेछ। ‘लाहुरेनी’ शीर्षकको कवितामा लेखिएको थियो:
'ऐना नहेर् लाहुरेनी अनुहार नहेर्
तेरो माया टाढा छ बाटो नहेर्
धेरै फुर फुर नगर् लाहुरेनी हतार नगर्
तेरो माया रणमा पर्यो शृंगार नगर्
खतरा छ यहाँ जोगाउन बैंस लुका
जवानी संभालेर राख् नक्कल नपार्'
अर्को पाना पल्टाएँ। ‘देशको माया’ शीर्षकमा रहेछ।
'यहाँ आमा रुन्छिन् फर्केर आऊ
के छैन यहाँ सुन फलाऊ
विदेशको चौकीदारी होइन आमाको रखवारी गर
जे मिल्छ खुसीले पेट भर भयो नजाऊ
फर्केर आऊ भाइ नेपाल सजाऊ
धेरै रोइन् नेपालआमा आँसु पुछ हँसाऊ'
मैले सोधेको थिएँ, 'कति राम्रो लेखाइ! कसले लेखेको यो?' उनी विनम्र मुस्काइन्।
'दाइ मैले लेखेको, बाह्र पढ्दा।'
उनी बाह्र पढ्दै थिइन्। देशसेवा गर्ने उत्कट आकांक्षा थियो। उनलाई सिकाइएको थियो- वाममार्गको यात्रा कठिन छ। साधा जीवन उच्च विचार, अनुशासन र वैचारिक मर्यादा। एकदिन यस्तो आउनेछ, जब कोही गरिब हुने छैन। सबै प्रकारको शोषणको समूल अन्त्य हुनेछ। जातपात , उच-नीच , हेपाइ र अवहेलना समाप्त हुनेछ।
नेपालीले आफ्नै माटोमा काम पाउनेछन्। महिलाहरु राज्यशक्तिको निर्णायक तहमा आसीन हुनेछन्। सर्वत्र सुखैसुख हुनेछ। नेपाल हेरेर अचम्मित हुनेछन् विदेशीहरु। कति रमणीय कुरा, कति आनन्ददायी! यति ठूलो अभियानको अभिन्न अङ्ग बन्ने तीव्र र रोमान्चक उत्कन्ठा। उनी सर्वजन सुखानुभूतिले पल्लवित र पुलकित हुन्थिन्।
फेरि हुरी आयो। पश्चिम नेपालमा क्रान्ति सुरु भयो रे। अब त्यो हुरी आँधीबेहरी भएर आउँछ पूर्वमा। सामन्तीको सर्वनाशको बीजारोपण आहा! एकथरीले अनेक तिलस्मी कुरा गर्न थाले। अर्काथरी वाममार्गीहरु हैन है हैन! त्यो गलत हुरी हो। त्यो हुरीले सुख ल्याउने छैन। त्यसले धेरै रगत माग्नेछ। धेरै युवायुवतीको अमूल्य जीवनको मूल्यमा आउनेछ त्यो आँधी।
जीवनको मूल्यमा? उनले सहसा प्रश्न गरेकी थिइन् आफैसँग। सानुमाया दोधारमा परिन्।
एकदिन बाबाले भने, 'जोशमा आउने हैन है छोरी। मैले मेरो जीवनमा धेरै रगत बगेको देखेको छु। मेरै हातबाट छुटेको गोलीले अर्जेन्टिनी युवक छट्पटाएको दृश्यले मलाई अझै लखेट्न छाडेको छैन। उसले थरथर काँप्दै खल्तीबाट आफ्नो नवजात शिशुको सानो फोटो निकालेर चुम्यो। अनि ऊ शान्त भयो फेरि अशान्त हुनु नपर्ने गरी।
मैले त्यो एकान्त युद्धभूमिमा स्वर्गवासी बाको आवाज सुने ‘हे छोरा प्रभासचन्द्र, हे नेपाली बहादुर, हे मूर्ख गुर्खा! आज आफ्नो माटो छाडेर यति टाढा आएर अर्को जीवनलाई माटोमा मिलाइस् हैन? के पाइस् प्रभास तैले? आफ्ना बालबच्चाको जीवन सुखी पार्न अर्काका बच्चाहरुलाई टुहुरा बनाइस्।
जा हे मूढ नेपाल गएर तिनको रगतको मूल्यले किनेको मासु खाएर धन्य बन्। जा गएर चार कोठा बना फलाम र सिमन्टीको र मोज गर्’ बाबाको आवाज सुनेर थर्र काँपेको थिएँ म।' सानुमायाको बाटो बदलियो। उनी विवाह गरेर पतिसमेत अस्ट्रेलिया पुगिन्।
सानुमायाको चुम्बकले तानेर बोलाउन थाल्यो मलाई। हरेक तेस्रो दिन म उनको पसल पुग्न थालें। उनको जीवन यन्त्रवत चलिरहेको थियो। उता उनीप्रतिको मेरो दिलचस्पी गहन हुँदै थियो? मलाई मेरो त्यो उन्माद बारे आफैसित प्रश्न गर्न मन लाग्यो। परन्तु हृदयको कुनै कुनो थियो, जसले मलाई प्रश्न गर्न प्रतिबन्ध लगायो।
प्रश्नले त्यता नजान प्रेरित गरिरह्यो। भावनाले त्यतै जाने प्रेरणा दिइरह्यो। पसलमा पुग्नासाथ जति नै व्यस्त भए तापनि टाउको नउठाइ स्वस्फूर्त उठ्ने आँखा र 'बस्नुस् न दाइ' का मिठा तीन शब्द। ममा पलाएको दिलचस्पीभित्र के थियो? अझै प्रश्न गर्दै छु आफैलाई। उनीसँग भेट नभएको धेरै समय बित्यो। तथापि उत्तर पाएको छैन। सायद कहिल्यै पाउने छैन। कहाँबाट कहाँ पुगेर अल्झिन्छ मन।
आजको परिदृश्य भिन्न थियो। सधैँ मजाक गर्दै उन्मादी कुरा गर्ने कफी शपका वृद्धवृद्धाहरु रोइरहेका थिए। सार्वजनिक ठाउँमा धरधरी रोइरहेका छन् वृद्धहरु। तर त्यहाँ आउने जानेहरु र सँगैको टेबलमा कफी खानेहरु मात्र होइन, कफी साहु समेत देखेको नदेख्यै गरिरहेका।
व्यस्तताबीच सानुमाया पनि त्यो दृश्य देखिरहेकी थिइन्। परन्तु उनी पनि नदेखे जस्तो गरिरहिन्। त्यो दृश्य देखेर मलाई नेपालको साम्झना आयो। नेपालमा भए यसरी उमेर पाकेका सात आठ जना नारानारीहरु समवेत रोइरहेको हेर्न सयौं जम्मा हुने थिए। उस्तै परे पुलिस पनि आउन सक्थ्यो। एउटा ठूलो रमिता हुने थियो।
मैले सानुमायालाई सोधें, 'बैनी, यिनीहरु किन रुँदै छन्? किन कोही वास्ता गर्दैन?'
‘यिनीहरू बेलाबेलामा यस्तै गर्छन् दाइ। यी सबैसँग दु:खद अतीत छ। यिनीहरूमध्ये कोही पनि नब्बे वर्षभन्दा कम उमेरको छैन। यी सबै एकल नरनारी हुन्। कसैका जीवनसाथी मरे, कसैका छाडेर गए, कसैले आफै छाडे।’
म- यिनका छोराछोरी नाति-नातिना छैनन्?
सानुमाया- कसैका छन्, कसैका थिए। पन्चानब्बे वर्षको व्यक्तिको छोरै सत्तरी या पचहत्तर वरिपरिको होला। अठार उन्नाइस वर्षका सन्तान बाबुआमासँग छुट्टिएर बस्ने चलन छ यहाँ। कदाचित बसिहाल्यो भने पनि उसले पैसा कमाउनुपर्छ र खाए बसेको तिर्नुपर्छ। उसलाई कसैले कहाँ बस्छस् भनेर सोध्यो भने उसको जवाफ हुन्छ, बाको घरमा बस्छु।
जसरी चराले बचेरा हुर्काएपछि बचेराहरू भुर्र उडेर जान्छन्, जसरी आफूले हुर्काएका प्राणभन्दा प्यारा बचेरा अन्जान गन्तव्यतर्फ जाँदा चराहरु खुसी भएर बिदा गर्दछन्, जसरी हिजोसम्म आफू भोको बसेर खुवाएका बचेराले अन्जान गन्तव्यमा के खालान् भन्ने चिन्ता चराचरीले गर्दैनन्, त्यस्तै हो यहाँ। यहाँ छोराछोरी मात्र होइन, बाबुआमा पनि स्वतन्त्र हुन चाहन्छन्।
नेपालमा चार/पाँच जना छोरा बुहारी, नातिनातिना एकै घरमा बस्छन् भन्दा यिनीहरू आश्चर्यचकित हुन्छन्। हुन त अचेल नेपालमा पनि विवाह भएको छोरो स्वतन्त्र हुन चाहन्छ। तर बाबुआमा त्यो चाहदैनन्। नेपाली बाबुआमालाई सन्तानको बन्धन मन पर्छ।
ऊ त्यो रातो अनुहारका बुढा छन् नि दाइ, उनको सत्तरी वर्षको छोराले दौडिरहेको ट्रेन अगाडि हाम फालेर आत्महत्या गर्यो। एकदिन यस्तै बसेर हाँस्दा हाँस्दै उनको फोन बज्यो। पुलिसको फोन रहेछ। पुलिसको जात न हो, प्वाक्कै भनिदिएछ तिम्रो छोरा जोनले आत्महत्या गर्यो।
म पसल बन्द गरेर बुढालाई लिएर ट्रेन स्टेशन गएँ। लास उठेको थिएन। मृतकका दुई आँखा ट्वाल्ल खुला थिए। सायद ती आँखाले आफ्नो जीवनका अनन्त कथा भनिरहेका थिए। बुढा छोराको लासलाई अंगालो हालेर धरधरी रोए एक्लै। रोदनमा साथ दिने न कोही कुटुम्ब, न छिमेकी न कोही मित्र। पन्चानब्बे वर्षको बाबु सत्तरी वर्षको छोराको लाससँग पसारिएर एक्लै रोइरह्यो। त्यहाँ उसको बलिन्द्रधारा रोदन सबैले सुने तर कसैले गुनेन।
वृद्धले छोराको जुत्ता झिके, जुत्तालाई छातीमा टाँसे र एउटा प्लास्टिकको झोलामा राखे। त्यो बुढाकै जुत्ता थियो जो एक महिनाअघि जोनले ‘यो जुत्ता म लगाउँछु है ड्याड’ भन्दै मागेर लगेको थियो। रुँदारुँदा थाकेपछि बुढाले भनेका थिए, 'बरु कहिल्यै भेट नहोस्, तर आफ्नो अगाडि सन्तानको लास देख्नु नपरोस् कसैले पनि। बरु चरा सुखी छन् यहाँ। सन्तान उडेर गयो त गयो फेरि चिन्नु नपर्ने, भेट्नु नपर्ने, शोक गर्नु नपर्ने।'
सानुमायालाई यी वृद्धहरुको बारेमा सबै थाहा छ। कहिलेकाहीँ उनीहरू सानुकहाँ आउछन्। एउटा सिङ्गो चिकेन र एक डल्लो काउली र पल्लो रक्सी पसलबाट दुई बोतल बियर लिएर जान्छन्। उसिनेको चिकेन र काउलीसँग बियर खाएर त्यही सुरमा घडी दुई घडी नशालु निद सुत्छन्। एक्लो जीवन, दिन काट्न त सजिलो छ तर रात भने कहर बनेर आउँछ। विखरित जीवन, जहाँ छोराछोरी दुई महिनामा भेट गर्न आउँछन् दुई बोतल रक्सी र उसिनेको चिकेन लिएर। बरु सरकारले पन्ध्र दिनमा एकपल्ट सन्चो बिसन्चो र सुख दु:ख सोध्छ।
सानुमाया र पति अच्छाहाङ दुवैजनाले धेरै भाँडा माझे, भुइँ पुछे यहाँ। सानुले नर्सिङ गरिन्। नर्सिङ गरेपछि वृद्धाश्रममा नोकरी मिल्यो। सानु भन्दै गइन्, 'यहाँ विदेशमा बस्नेका समुद्र र पार्कमा खिचेका फोटा देखेर नेपालमा बस्नेहरू रोमान्चित हुन्छन्। राम्राराम्रा लुगा, घडी र मोबाइल देखेर नेपालमा बस्नेहरू सोच्दछन्, विदेशमा एक कल्पवृक्ष छ जो जे माग्यो त्यही पुर्याउँछ।
यहाँ सुकिला रेस्टुरेन्टमा बसेर बर्गर, पिज्जा र बियर खाएका फोटा देख्नेहरुलाई नेपालमा खाने गरेको दालभात, ढिंडो र रोटीसँग वैरभाव पैदा हुन थाल्छ। हामी यति पनि सोच्न सक्दैनौं कि ती सुकिला रेस्टुरेन्टहरु यिनै आप्रवासीका पसिनाको मूल्यमा सुकिला भएका हुन्। यहाँ राम्रो र सजिलो काम पाउन कति पापड बेल्नुपर्छ भन्ने कुरा भोगेकालाई मात्र थाहा छ। यहाँ आएर जति पसिना नेपाली युवा बगाउँछ नि दाइ, त्यसको आधा मात्र नेपालमा बगाउने हो भने नेपाल स्वर्ग हुन्छ।
यताको सरकार बाठो छ दाइ, साह्रै नै चलाख। काम लिन बिछट्ट सिपालु। बोका व्यापारीले बोकालाई घाँस देखाउँदै गन्तव्यमा पुर्याउँछ, तर खान दिदैन नि! हो त्यस्तै हो यहाँको सरकार। सुरुमा कलेजले पैसा लुट्छ, पछि होटेल, कारखाना, डिपार्टमेन्ट स्टोर र खेतबारीले पसिना लुट्छ। अनि बल्लबल्ल स्थायी आवासीय भिसा पाएपछि तीस पैंतीस वर्षको ऋण दिएर बैंकले लुटिरहन्छ आजीवन।
एक दुई वर्ष हो र? जिन्दगानीभरिलाई मूर्ख बनाएर चरप्प अँठ्याइरहेको थाहा पाउँदासम्म मानिस बूढो भइसकेको हुन्छ। हाम्रो नेपाले सरकार त बरा कनिका बाँडेर समृद्धि सपना देख्छ। श्रम, इमान र बुद्धिको सङ्गम पो रहेछ दाइ समृद्धि त।'
सानुमायाले काठमाडौंमा पनि घर किनेकी छन्। चार करोड हालेर किनेको घर छ महाराजगंज तिर। दिदीको छोराको नाममा छ घर। माथिल्लो तलामा उनीहरु बस्छन्, तल्लो तलाको भाडा उठाएर खान्छन्। बेलाबेलामा गुन्द्रुक, मस्यौरा र अचारको सिसी कोसेली पठाउँछ भतिजाले। फोनमा भन्ने गर्छ 'यता नआऊ है सानिमा! यता बस्न लायक छैन।'
उसलाई सानिमा आएर सम्पत्ति खोस्ली भन्ने डर छ। बरु भन्ने गर्छ 'तिम्रो नाति बल्ल सात वर्षको भयो। तर अहिलेदेखि नै म त अस्ट्रेलियाको आमाकहाँ गएर पढ्ने हो।' भतिजोलाई थाहा छ, सानिमालाई बोलीले खुसी पार्नुपर्छ।
सानुमाया बारे मेरो कौतुहल अझै बाँकी नै थियो। मैले सोधेको थिएँ, 'एउटा कुरा सोध्छु है बैनी?'
उनी म बसेको टुलतर्फ आफ्नो कुर्सी सार्दै नजिकै आएर भनिन्, 'म कस्तो देखिन्छु दाइ?'
त्यो मेरो प्रश्नको उत्तर थिएन। मेरो हृदय रोमान्चले भरियो। सानुको उमेर पैंतालिस पुगिसक्यो, तथापि सौन्दर्य सग्लो छ अझै। मैले भनेको थिएँ, 'तिमी फक्रेको फूल जस्तै छौ सानु। तिमी सगरमाथाको चुचुरोमा फुलेको पुष्प हौ। तिमी कृष्णकी रुक्मिणी हौ, सत्यभामा हौ। तिमी निर्दोष कामिनी हौ, सुकोमला र सुवासिनी।
त्यसमा पनि तिमी एक कोमलाङ्गी नारी हौ, निरुपम, अप्रतिम र अपरिमेय।' परन्तु सानुमाया प्रमादी भइनन्। पानी भरिएका दुई आँखा बोलिरहे, तर उनी त्यो भाषा बोलिनन्, जुन भाषा ‘म कस्तो देखिन्छु?’ प्रश्नमा अन्तर्निहित प्रतीत हुन्थ्यो। उनले भनिन्, 'ल अब सोध्नुहोस् के सोध्न्नु छ।'
'अच्छाहाङ कहाँ हुनुहुन्छ? तपाईको पति?'
सानुमायाले भनिन्, 'बुढोलाई कहाँ फुर्सद छ र दाइ। विचरो बुढो भित्र सामान मिलाइरहेका छन्। मेरो काम पसलमा बस्ने, बुढोको काम सामान मिलाउने, म्याद चेक गर्ने र लिस्ट बनाउने। साँझ पसल बन्द गरेर म खाना पकाउन थाल्छु। बुढोले प्रत्येक भोलिका लागि पसलमा सामान सजाएर राख्छन्। सजिलो छैन दाइ गरिखान।'
सानु भन्दै गइन्, 'हामी यहाँ आएपछि साह्रै दु:ख पायौं। कोठा भाडा तिर्नै पर्यो, कलेज फी तिर्नै पर्यो, आउँदा लागेको ऋण तिर्न घर पैसा पठाउनै पर्यो। सुरुमा निर्वाह चलाउन कामाउनु जरुरी थियो। पछि कमाउने धुन सवार भयो। हामी एकोहोरो कमाउने तर्फ लाग्यौं। म घर हुँदा अच्छा काममा, अच्छा घर हुँदा म काममा। हाम्रो लागि के रात के दिन।
कहिले बिहान हुन्छ, कहिले रात पर्छ केही थाहा नहुने। हामी मेसेज पठाउथ्यौँ ‘रिच्ड होम, एट वोर्क, हाउ आर यू’ यस्तै। घरमा हुनेले खाना पकाउने, आफू खाएर जाने र अर्कोलाई खाना राखिदिने। पन्ध्र दिनमा चार घण्टासँगै बस्ने संयोग मिल्दथ्यो। हामी आमाछोरी सुते जस्तो सँगै सुत्ने गर्थ्यौं। हामी कामका कुरा गर्थ्यौं, अनि कमाइका। कति काम गरियो, कति ओभरटाइम गरियो र कति बचत भयो, यस्तै कुरा हुने गर्दथे।
अच्छाको अङ्ग्रेजी राम्रो थिएन। अङ्ग्रेजी राम्रो नहुनेले पाउने भनेको भाँडा माझ्ने, भुइँ पुछ्ने र दोहोरो वार्ता गर्नु नपर्ने काम नै हो। अनि मैले सोचें, यसरी त अच्छाले जीवनभरि भाँडा माझ्ने भए। सात वर्ष दु:ख गरेपछि हामीले काम छाडेर पसल सुरु गर्यौं। भाग्यले साथ दियो। हाम्रो पसल चल्यो।'
सुरुमा बाध्यता, त्यसपछि नशा र अझैपछि जीवनपद्धति बन्यो कमाउने प्रवृत्ति। उनी भन्दै गइन् 'सबै यन्त्रवत चलिरहेछ दाइ। पहिले नभएको धनले मन पोल्यो, पछि भएको धनले। पहिले के खाउँला भन्ने पिर थियो, पछि कसले खाला। यो लोभ होइन दाइ। यो पसल बग्दो जीवन हो, एक अविरल प्रवाह। जसरी नदीलाई आराम गर्ने फुर्सद छैन, त्यसैगरी मेरो पसल चलायमान छ।'
आफ्नो जीवनको मेलो सोझो भएपछि सन्तान जन्माउने योजना थियो सानुमायाको। उनले आफ्नो जैविक आवश्यकतालाई उज्यालो भविष्यको कामनामा दबाएर राखिन्। उनको सारा जवानी सपना देखेरै बित्यो।
उनी भानिरहिन् 'यो संसारमा मैले सबैभन्दा बढी माया गर्ने व्यक्ति हो मेरो अच्छा। यति विनम्र, सहनशील, शालीन र परिश्रमी मानिस भेट्टाउन कठिन छ दाइ। अच्छा जस्तो जीवनसाथी पाउनु मेरो सौभाग्य हो।
एकदिन मैले सपनामा एउटा दिव्य देवी देखें। देवीले भनेकी थिइन् 'तिम्रो सन्तान छैन त के भयो? तिमी एक होइन अनेक अनाथ शिशुको आमा बन्न सक्छ्यौ।' त्यो सपनाछि म एक्लै धरधरी रोएँ। किन्तु त्यही सपनाले मलाई बेसहाराको सहारा बन्न प्रेरित गर्यो। हामीले विगत पाँच वर्ष यताको सम्पूर्ण कमाइ अनाथ शिशु र वृद्धहरुको सेवामा खर्च गरेका छौं। हाम्रो पैसा अस्ट्रेलिया र नेपालमा मात्र होइन, अफ्रिका पनि पुग्छ। तर हामीलाई ‘दानवीर’ को नाम कमाउने चाहना छैन।
धेरैपछि मात्र हामी डाक्टरकहाँ गयौं। अच्छाले भनेका थिए- 'यदि रिपोर्ट राम्रो आएन भने तिमीले नयाँ जीवन सुरु गर्नुपर्छ सानु।'
म एक्लै गएर रिपोर्ट लिएँ। रिपोर्टमा अच्छा पिता बन्न नसक्ने कुरा उल्लेख थियो। मैले अच्छालाई भानिदिएँ, 'रिपोर्ट हरायो अच्छा! तर डाक्टरले भनेको छ ‘तिमीहरुको इच्छा पूरा हुनेछ।’ मैले बजारबाट भिटामिनको गोली ल्याएर दिएँ।
अच्छा त्यो गोली खुरुखुरु खाँदै छन्। उनलाई आशा छ, सायद गोली खाएपछि सब ठिक हुन्छ। आज्ञाकारी बालक जस्तो निर्दोष, निश्चल र निर्मल अच्छा। म अच्छालाई अंगालो हालेर रोइरहें। मैले मनमनै सोचें, यसमा तिम्रो कुनै दोष छैन अच्छा! यो मेरो लागि विधाताले रचेको नियती हो। म तिमीलाई छाडेर अर्को जीवन सुरु गर्न सक्दिनँ।
अरु केही दिन नसके तापनि तिमी मलाई पिताले दिने स्नेह त दिन सक्छौ। पति स्वार्थी हुन सक्छ, तर पिता कदापि स्वार्थी हुन सक्दैन। पति एकदिन छाडेर जान सक्छ, तर पिता किमार्थ जाने छैन।'