कुरुक्षेत्रको महायुद्ध समाप्त भयो। भव्य समारोह बीच राजा युधिष्ठिरको राज्याभिषेक सम्पन्न भयो। दरबारभित्र शान्ति थियो। तर निराश र ओइलाएको मन लिएर राजगद्दीमा बसेका युधिष्ठिरको मन शान्त थिएन। उनका भाइ र बाँकी रहेका सभासद भने उत्फुल्ल थिए।
एकदिन बिहानै पाण्डव राजप्रासाद बाहिर एउटा माग्ने आएर उभिइरहेको थियो। उसलाई आशा थियो, कोही आउला र दु:ख र दर्दबारे सोधखोज गर्ला। भित्र राज्यप्रणाली र प्रजाको अभिमत सम्बन्धमा राजाका सामु माइला भाइ भीमले बिन्ती गर्दै थिए 'राज्यमा सर्वत्र शान्ति र अमनचयन छ महाराज! कोही भोको छैन, कोही नाङ्गो छैन, कुनै विद्रोह छैन, महाराजको सुशासनमा समस्त प्रजाजन आनन्दमा छन्।'
बाहिर एउटा जोगी आए। जोगीले माग्नेलाई सोधे'के आशाले यो द्वार कुरेर बसेका छौ? यहाँ रमिता छ, सत्ता उन्मादको रमिता! जाऊ बरु कुनै किसानको द्वारमा, आफ्नो गाँस काटेर पनि एकछाक खान दिनेछ।'
माग्नेले भने,'अलि सुस्त बोल जोगी बाबा! खतरामा परौला।' जोगीले भने,'राजा शासन गर्न सिपालु छैनन्, तर दयालु छन्।' माग्नेले भनेका थिए,'भाइहरु मूर्ख छन् भन्ने बिर्स्यौ बाबा?' जोगी 'अहो! यो जनता हो, यसले मैलेभन्दा ज्यादा बुझेको रहेछ' भन्दै बाटो तताए।
यो दृष्टान्तको अर्थ हो- राजा युधिष्ठिरको सत्ता पानि प्रजाका सम्पूर्ण आवश्यकता पूरा गर्न सक्षम थिएन। राजा युधिष्ठिर जस्ता निस्वार्थ र सत्यका पक्षधर राजालाई पनि वास्तविक धरातलीय सत्यबाट टाढा राखिएको हुन्छ। सत्ताको सार्वभौम र सार्वकालीन अटल चरित्र हो यो। समस्या त्यहाँ उत्पन्न हुन्छ,जब भुइँबाट उदाएको शासक समेत यथार्थबाट टाढा पुग्दछ।
नेपाली जनतालाई थाहा थियो र अहिले पनि थाहा छ की नेपाल राष्ट्रले समृद्धि हासिल गर्न केही समय अवश्य लाग्नेछ। सबैले बुझेका छन्, समृद्धि कुनै कल्पवृक्ष या 'पाकताउली’ होइन जसले बिना कुनै प्रयत्न र परिश्रम अन्न र फलफूलको वर्षा गरोस् र 'अटोमेटिक’ तयारी खाना पस्केर बाँडोस्।
दुख यस कुरामा होइन की सरकारहरुले काम गर्न सकेनन्। दु:ख त यो कुरामा छ की गफ धेरै भयो। वाणीको अनुशासन कायम भएन, जिब्रो ज्यादा चन्चल भयो, सरस्वतीको वर्षा धेरै भयो। महाकविले भनेका छन्- बोल्दै नबोलिकन बोल्नु गरेर काम।
बहुदलीय पद्धति र तत्पश्चात संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि गठन भएको सर्वाधिक शक्तिशाली र लोकप्रिय सरकार हो वर्तमान सरकार। सरकारलाई तगारो तेर्स्याएर समृद्धिको मार्गमा व्यवधान गर्ने कुनै शक्ति थिएन। बन्द, हड्ताल, तोडफोड र होहल्ला कतै थिएन। चुनावमा मत नदिनेहरु पनि प्रधानमन्त्रीतर्फ इंगित गर्दै भन्ने गर्दथे- अब यिनले केही गर्छन्।
तत्कालीन नेपालको राजनीतिक परिदृश्यमा छाएका केपी ओली र प्रचण्डको'गलामिलन’ लाई साधारण जनताले इमान्दार र प्राकृतिक मिलन मानेका थिए। दुई 'लालजोडी’ नेपाली राजनीतिक रङ्गशालाका 'सेलिब्रिटी’ बनेका थिए। दुई दक्ष क्याप्टेनले उडाएको वाइडबडीले समृद्धिको यात्रालाई सुरम्य र महनीय बनाउँछ भन्ने विश्वास थियो सर्वत्र।
तर उहाँहरु आफैले त्यो आलिङ्गन् प्राकृतिक मिलन नभइ फगत तत्कालीन दाउपेच मात्र थियो भन्ने प्रमाणित गरिदिनु भयो। सायद उहाँहरु मुलुकको समृद्धिप्रति बफादार हुनुहुन्छ, तर त्यो बाहिर देखिन सकेन।
सबै भन्छन्, देश संकटमा छ। उहाँहरुका सहयोगी र पार्टीलाई माया गर्नेहरु पनि भन्न थालेका छन्- 'कमरेडहरु! अति भयो।' महिनौँदेखि भेटघाट भइरहेको छ अविरल। तर उहाँहरुलाई थकाइ लाग्दैन। मानिस एउटै व्यक्तिलाई तीन दिन भेट्नु पर्यो भने थकित हुन्छ, हैरान हुन्छ। उहाँहरु सधैँ भेट्नुहुन्छ, घन्टौँ कुरा गर्नुहुन्छ, मिडियामा निरन्तर छाइरहनु भएको छ। के कुरा भए? केबल मानिसको व्यवस्थापन।
देशको व्यवस्थापनका लागि पनि वार्ता गर्नुपर्छ भन्ने कुरा हरायो। आफूलाई मत दिने जनताप्रति त संकोच लागेन रे लौ भयो, बालुवाटार दरबारको भित्तो, दुबो, वृक्ष, बैठकको कुर्सी, चिया खाने कप र भित्र पस्ने ढोकासँग त संकोच माने हुने। हैरान भइसके होलान् निर्जीव र आवाजहीन साक्षीहरु!
प्रमुख प्रतिपक्षी दलका नेता नेहोरा गर्न बालुवाटार पुगेको खबर सुनिन्छ। बडो दुखिया बनेर परित्यक्त जस्तो अलि पर राखिएको कुर्सीमा लुसुक्क परेर बसेको फोटो देखेर के भन्दा हुन् उहाँका मतदाता र शुभचिन्तक! चार-चार पल्ट प्रधानमन्त्री भएको व्यक्तिलाई आफू स्खलित भएको पत्तै छैन। उहाँको यो चाला देखेर देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको मर्मस्थलमा कति दर्द हुँदो हो! यस्तो प्रतिपक्ष पाउँदा पनि आफ्नै जहाज सोझो पारेर उडाउन सक्नु भएन। कठै! भन्न मन लाग्छ।
संसदीय पद्धति स्वीकार गरेर संविधानमा सही गर्ने, लामो समय निद्रामग्न भएर हतारमा लटर-पटर पारेर संविधान ल्याउने, संविधानमा के छ? थाहै नपाएका अकिन्चनहरुलाई दियो बाल्न प्रेरित गर्ने। त्यही पद्धतिभित्र चुनावमा 'प्रचण्ड बहुमत’ प्राप्त गरेर सर्वसम्मत रुपमा संसदीय दलको नेता चुन्ने। अनि कार्यपालिका र प्रधानमन्त्रीलाई आफ्नो काबुमा राखेर पार्टीले लाए अह्राएको काम गर्न खटाउने।
संसदीय प्रणाली सोभियत शासन जस्तो 'कलेक्टिभ हेड अफ स्टेट’ रहने 'प्रेसिडियम’ प्रणाली होइन। यो प्रधानमन्त्री पद्धति हो। हात बाँधेर राखेको प्रधानमन्त्रीले यो गरेन, त्यो गरेन भनेर अरुले आलोचना गर्न मिल्छ, तर सम्बन्धित पार्टीका मानिसले उपहास गरेको शोभा दिँदैन।
के रोग लाग्यो लाग्यो यहाँ। कोभिड बिर्साउने रोग। अनि 'कोभिड’ पनि बिर्साउने। अहिले यिनै तीन जनाको वृत्तमा चक्कर लाउन विवश छ नेपाल। दुईजना कम्युनिस्ट पार्टीका पाइलट र एकजना नेपाली कांग्रेसका। अरु त यसो देखा पर्ने र आफू या आफ्नाको उद्धार गर्ने मेसो मात्र हो। लेख्ने कराउने पनि थकित हुने बखत आयो अब। धेरै कराउनु पनि कतै 'फत्तुर’ लागेर झमेलामा परिएला भन्ने डर बोकेर बस्न बाध्य छन् सायद।
भुइँलाई आकाशमा उचाल्दै 'स्विजरल्याण्ड सपना’ देख्नेहरु, समृद्धिको मजालाग्दो रुमानी सपना देखाउनेहरु, केही सीप नलागेर कहिले यता र कहिले उता भौँतारिँदै पौडी खेल्दा पनि किनारा फेला पार्न विफल र विकल विद्वान विदुषकहरु! भरिभराउ छ हाम्रो नेपाल। जनता त बबुरो! मिर्जा गालिबको शेर- 'कित्ना कौफ है रातके अन्धेरोँमे, पुछ उन परिन्दोंसे जिनके घर नहीं होते' जस्तै अवस्थामा छ।
अहिले पनि यसो मौका पर्दा बीपी, गणेशमान, किसुनजी, पुष्पलाल आदिको कुरा गरिन्छ। कार्ल मार्क्स यस्ता थिए, उस्ता थिए भनेर बखान पनि गरिन्छ। लेनिन पनि यादमा पर्छन यदाकदा। 'बीपीको सपना’ भन्दै भाषण ठोक्छौँ हामी। बीपीको सपना एक जीवनपद्धति पनि हो, बिर्सन्छौँ। लेनिनको जीवनचर्या कस्तो थियो? यो भन्दैनौं, भन्न मिल्दैन। लेनिनले यसो भनेका थिए मात्र भन्छौँ।
लेनिन धनी, सुसंस्कृत र शिक्षित परिवारमा जन्मे। तथापि उनी साधारण खाना खान्थे, साधारण पहिरनमा हुन्थे, नरम बिछ्यौना होइन, साधारण रुसी जनताको जस्तै बिछ्यौनामा सुत्थे, सर्वसाधारण रसियन जनताको जीवनस्तरभन्दा माथिल्लो स्तरमा बसेनन्। आफू र आफ्ना राजनीतिक सहकर्मीलाई न्यूनतम जीवनयापन गर्न पुग्ने सुविधा मात्र दिए। परन्तु यो भन्नु हुँदैन!
हिन्दुस्थानका प्रसिद्ध कवि राहत इन्दोरीले भनेका छन्:-
'झुठोंने झुठोंसे कहाँ है सच बोलो,
सरकारी एलान हुवा है सच बोलो
घरके भितर झुठोंकी एक मन्डी है
दरबाजे पे लिखा है सच बोलो
गंगा मैया! डुब्ने वाले अपने थे
नावमे किसने छेद किया है सच बोलो
यस्तै छ हाम्रो देशको अवस्था पनि। आफूले यात्रा गर्दैरहेको जहाजमा प्वाल परिसक्यो। किन्तु प्वाल पार्ने को हो? सत्य लुकेर बसेको छ। समृद्धि यात्राको वायुयानमा हावा छिरिसक्यो। कसले छिरायो? सत्य लुकेर बसेको छ। लुकेर बसेको छ सत्य एउटा कुनामा। थाहा छ त्यो कहाँ छ। तथापि विडम्बना! भन्न मिल्दैन। मन्त्री बनाउन गाह्रो भयो। दवाव र सवालजवाफ साह्रो भयो। मेरो सुझाव सुन्नुस् महोदय! अब गाई कि त्रिशूल गर्नुस्।
निजामती सेवाको प्रमुख अधिकारी मुख्य सचिव। राष्ट्रिय समृद्धिको रथ तान्ने संयन्त्र। सरकारको नीति कार्यान्वयन गर्ने हर्ताकर्ता! तीन वर्षसम्म पदमा रहेको कमाइ सहसचिवले छाडेको राजदूत पद। के गरूँ साथी! जब मन कहिल्यै तृप्त हुँदैन त के गरूँ? चुपचाप बसेँ आफू बनाएँ। मलाई कुनै इतिहास बानाउनु छैन।
कौन सा चुनाव लड्नु छ लोकप्रिय बनेर? देश गुनको भेष, के रह्यो अब शेष? निजामती सेवाको रथलाई लिखुरे घोडाले तान्ने तन्नम टाँगा बनाएर छाडेको छु। उत्तराधिकार सुम्पेको छु प्यारे! अझै बिगार या मर्मत गर। आफू त उडान भरियो!
'पेडकी जड उखडी बरबादे गुलिस्तां है, कहाँ सजाऊँ तखते ताउस हजुर! सारी जमी पे काँटे है'
आफैले रोपेका काँढाले भरिएको सत्ताको बागमा धन्न चाम्रो भएर मात्र टिक्न सकेका हुन यी। अपार बहुमतले दिएको ताड्ना हो यो। जब्बर भएर मानिस थकाउने र गलाउने कलाले भरपूर चतुर खेलाडी। अभेद्य किल्ला जतो चट्टान! तथापि पीडा त असीम छ मनग्गे छ। मनमै राख्नुपर्छ पीडा! भन्नु हुँदैन।
यो किल्ला कहाँनेर चुक्यो? किन तय गरेको रोमान्चक, रोमहर्षक र आकर्षक यात्राको ब्रेकफेल भयो? चालकले आफै कमजोरी खोज्ने थोरै झन्झट गरे भने आफ्नै वरिपरि र आफैभित्र फेला पार्नेछन्।
यात्रालाई सम्यक तरिकाले अग्रगमनतर्फ लैजाने समय सकियो कि बाँकी छ? कतिपय मानिसहरु अब समय घर्क्यो पनि भन्दैछन्। कतिपयले वर्तमान व्यवस्था नै असफल भयो भन्दै छन्। परन्तु अगाडिको यात्रा कस्तो हुने र कसले मार्गदर्शन गर्ने भन्ने कुरामा भ्रान्ति छ। कसैसँग पनि सम्यक, सुन्दर र शुभ्र बाटो देखाउने सामर्थ्य देखिएको छैन। यसले देखाउने भविष्य अन्योल, अलमल र विभ्रमपूर्ण नै हो।
असंगठित र नेतृत्वविहीन आवाजहरु मुखर हुँदै आइरहेका छन्। यो परिस्थितिलाई दुई चार जनाले देखाएका 'कालाटाला’ भनेर बेवास्ता गर्नुभन्दा सजग र सचेत हुनु जरुरी छ। क्याप्टेन साबहरु अलि संभालिन सक्नुभयो र विपक्षी महोदयले जिम्मेवारीबोध गर्नुभयो भने सायद नैयाले आफ्नो बाटो चिन्ला।
रोजगारी भएन सरकार! स्वरोजगारी सिकाउनु पर्छ कि? भोका धेरै छन् है हजुर! भ्रममा नपरौँ। पर्वको बेलामा दुई रोटीको खोजीमा दक्षिणाभीमुख यात्रा रहर र रेल देख्ने उत्कण्ठाले भएको होइन।
अन्त्यमा- मुगलसम्राट अकबर निरक्षर थिए। तर उनलाई मानिस, हात्ती र घोडा त के कुरा हजार परेवाको नाम पनि मुखाग्र थियो। धेरै जडीबुटी, औषधि र कला एवं साहित्यको पनि ज्ञान थियो। किन्तु यी कुरा उनी आफैले भनेर होइन अरुले भनेर थाहा भएको हो दुनियाँलाई।
औरंगजेवको बुद्धि प्रखर थियो, मेधा दुर्जेय थियो, विलक्षण स्मरणशक्ति थियो, न कुनै डर थियो न कर। तर समयको फेर बुझ्न नसक्दा आफ्नै अगाडि साम्राज्य छिन्नभिन्न भयो। धन्न सलाम गर्नको लागि अन्तिम सिपाही बाँकी रहँदासम्म कुर्नु परेन। अन्तिम समयमा विवश सम्राटको चित्कार सुनियो, 'मेरे बाद सिर्फ फसाद!'