आज शुक्रबार। आकाश सफा छ। सबैजना घरको छतमा जम्मा भए। शरदपूर्णिमाका पूर्णचन्द्र जीवन्त साक्षीको रुपमा हेरिरहेछन् माथिबाट।
छोरा सुनन्दले गिलासमा वाइन खन्याउँदै भने - बुवा के गर्ने ? खाने त होला?
बुवा - एक गिलास त खानुपर्ला।
सुनन्द - बुवासँग एउटा सल्लाह गर्नु थियो।
बुहारी सुतिष्ठा - सल्लाह गर्न पनि जिब्रो चपाउनु पर्छ र? बुवालाई घरबाट निकाला गरेर वृद्धाश्रम पठाउन लागेको होइन क्यार! बूढो भएपछि सजिलो हुन पनि सिक्नुपर्छ। जति हैकम चालाउनु पर्ने चलाइसक्नुभयो बुवाले। बुवाले कपाल रंगाएर जवान बन्ने असफल प्रयास गर्नुको पनि कुनै अर्थ छैन। अब त एकान्तमा बसेर रामनाम जप्नु पर्छ। यस्तै वृद्ध उमेरका लागि बनेका हुन् राम! हो कि होइन बुवा?
बुवा - हो। तिम्रो बेलाबेलामा शिक्षा दिने बानी निकै मन पर्छ मलाई।
सुनन्द - बुवा अब बाको कोठामा सर्नु पर्ने भयो।
यी बुवा हुन् सुधीन्द्रनाथ। प्रोफेसर सुधीन्द्रनाथ शर्मा। रिटायर्ड भएको वर्षदिन भयो। अहिले चौसट्ठी वर्ष पुगे।
सुधीन्द्रका बाबु त्रिशक्तिनाथ राणाशासनको समयमै पाल्पाबाट काठमाडौं आएका, यतैको यतै भए। तीनधारामा पढ्न भनेर एक मोहर कम्मरमा बाँधेर आएका थिए उनी। पाल्पातिर घर भएका एक जना बिचारीको साथ लागेर काठमाडौं खाल्डो प्रवेश गरेका त्रिशक्तिनाथ गुरुजुको घरमा बसे। दस-एघार वर्षका उनको काम थियो, तमाखु भर्ने, पूजाको सामान तयार गर्ने, चन्दन घोट्ने र गुरुजु बाजेका लागि पान सुपारी किनेर ल्याइदिने।
पूर्वमध्यमासम्म पढेका त्रिशक्तिनाथ महाराज जुद्ध शमशेरको समयमा सरकारी जागिरे भएका थिए। धेरै वर्ष खरिदार भएर काम गरेको हुँदा डिल्लीबजारतिरका मानिसहरु उनलाई 'खरदार बाजे' भनेर चिन्थे। सुधीन्द्र जन्मेको तीन वर्षमै खरदार्नी बज्यै बितिन्I सुधीन्द्रलाई आमाको माया के हो भन्ने अनुभव हुनै पाएन।
खरदार बाजे भन्ने गर्थे- आमाको माया नपाएको मानिसको जीवन अरुले माया नगरे पनि सजिलोसँग बित्छ। यस्तो मानिस मायाको लोभी हुँदैन रे।
सुतिष्ठा- एउटा कुरा भन्छु बुवा। दु:ख नमानिस्यो है! के ठिस घर बनाको हजुरले यो? युनिभर्सिटीको प्रोफेसर रे!
सुधीन्द्र- किन दु:ख मान्नु मैले? मैले दु:ख मान्छु कि भन्ने सोचेर नभने तापनि यो तिम्रो मनमा बसेको कुरा हो। मनको कुरा मुखमा ल्यायौ, मलाई यसमा कुनै गुनासो छैन। मेरो बाले बुढेसकालमा बनाएको घर हो यो। मलाई तिम्रो सामु कुनै बडप्पन देखाउनु छैन। यो आठ आना जग्गा गुरुजुले टीका लाएर दिएको रे बालाई।
सुतिष्ठा- खरदार बाजेको नाति, प्रोफेसरको छोरा। निकै होला भनेर ड्याडीले दिस्या हो रे। भित्र पस्दा औकात देखियो।
सुनन्द- तिमी बढी बोल्दै छौ सुतिष्ठा!
सुधीन्द्र- सुतिष्ठा ठीक भन्दै छन्। उनले खोजे जस्तो नपाएको कुरा फरासिलो तरिकाले व्यक्त गर्नु बढी हुनु होइन। क्रुद्ध मानिसलाई मनको झ्याँको झार्न दिनुपर्छ, सुन्नुपर्छ। जस्तो प्राप्त गरेको छस् त्यसलाई स्वीकार गर्। आफूलाई उपलव्ध भएको कुरा मन परेन भने त्याग्न सक्नु पर्छ। त्याग्न नसक्ने हो भने वास्तविकता स्वीकार गर्नु पर्छ। सुतिष्ठा तेरो वास्तविकता हो। यसलाई सुधार र परिमार्जन गर्नु आवश्यक छ। यो सुतिष्ठाको गल्ती होइन। उनको लालनपालन र माइतीघरको सभ्यताको प्रतिनिधित्व मात्र हो।
ठीक अर्को दिन शनिबारः
प्रोफेसर सुधीन्द्रले बाको कोठा खोले। अहो! बाको कोठा त भूतखाना भएछ। स्वार्थी जीवनप्रवाहमा मानिसले आफू पनि 'बा' भएको बिर्सन्छ। बा हुने 'प्रोसेस' लामो छ।
सुधीन्द्र धनी बाबुको छोरा नभए पनि खान लाउन दिन सक्ने बाबुका छोरा थिए। आमाबिनाको बाल्यावस्था। खरदार बाजेले छोराले माया नपाउला भनेर अर्को विवाह गरेनन्। टुहुरो छोरालाई सकेसम्म सुविधामा राख्ने प्रयत्न गरे उनले। तर पुलपुलिएर बिग्रन दिएनन्।
डिल्लीबजारको ओरोलामा डेराको कौशीमा बसेर मोटरगाडी हिँडेको हेर्थे बालक सुधीन्द्र। यदाकदा साइकल चढेर हिँड्ने केटाहरू देखेर उनलाई पनि रहर लाग्दथ्यो। किन्तु त्यस बखतको नेपालमा साइकल चढ्ने औकात जो कोहीको हुँदैन भन्ने कुरा अबोध बालकलाई के थाहा!
पच्चीस वर्षअघिसम्म सुधीन्द्रलाई कोही सर भन्थे भने कोही दाइ। बसका कुनै सहचालकले 'ओए सर! अलि पर जानुस् या ओ दाइ अलि मिलाएर उभिनुस्' भन्थे। बा त के कसैले अंकल पनि भन्दैनथ्यो।
एक दिन बाको लागि च्यवनप्रास किन्न गएका थिए। बाठी दुकाने नानीले उनलाई हेर्दै भनेकी थिइन्- यो बर्नभिटा पनि लैजानुस् 'अंकल', तपाईंलाई राम्रो गर्छ।
दुकाने नानीको छ-सात वर्षको छोरोसँगै खेलिरहेको थियो। तै पनि अंकल? उनी झस्केका थिए। यसरी दाइबाट अंकलमा मानोन्नति भएको थियो उनको। यो उनको जीवनधाराको नयाँ मोडले दिएको 'अलार्म' थियो। निर्मम वास्तविकताको 'दस्तक' थियो त्यो।
बाको कोठाभित्र विस्तारै टाउको छिराए उनले। छुचुन्द्राहरु च्वाँच्वाँ गर्दै दगुर्न थाले। टाउकाभरि माकुराको जाल बेरियो। बा बितेको बीस वर्ष भयो। उनले बाको चिनो भनी नफालेर राखेका कोही आधा र कोही रित्ता औषधिका सिसी, फोटा, दारी काट्ने ब्लेड र रेजर, कलम डुबाएर राखेको चेल्पार्क मसीको सिसी। नाकभित्रको रौं काट्ने सानो चुच्चे कैंची, बाक्ला मोटा दुइटा डायरी। सबै सामान धूलोले छपक्क ढाकिएका।
काठको तखतामा क्रमश: मिलाएर राखिएका किताबहरु। गोर्कीको आमा, मुन्सी प्रेमचन्द्रको गोदान, देवकोटाको साकुन्तल र सुलोचना, लेखनाथको तरुण तपसी, कालीदासको रघुवंश र कुमारसम्भव, त्यस बखतको नेपाल, गीता, पुराण र अन्य किताबहरू। समयको थप्पड खाइरहेको ज्ञानको भण्डारको कैदखाना।
आज सुधीन्द्रले सोचे- बाको कोठामा यतिका किताब रहेछन्। बाको संग्रहमा के छ भन्ने समेत वास्ता गरिएन। जीवनको तरङ्गमा रङमगिँदैमा बा बिर्सियो। बैंक खाता र लालपुर्जामा मात्र ध्यान गयो।
सरको दम बढ्न थाल्यो। झ्याल खोल्ने विचारले पर्दा ताने। गलेको पर्दाको टुक्रो हातमा आयो। उनले बा बोलेको सुने त्यहाँ।
'लघारेपछि आइस् हैन? मलाई थाहा थियो, नियतीले तँलाई एक न एक दिन यस कोठाभित्र छिराउने छ। आज कालचक्र घुम्दै तँसम्म आयो। केही समयपश्चात तेरो छोरामा आइपुग्नेछ। अब समयको नियमलाई स्वीकार गर्दै मौनव्रती भएर बस्। कोही खराब हुँदैन। कसैलाई दोष नदे। दुनियाँको रिति हो। सकारात्मक सोच राख्। आफ्नो शरीर र बुद्धिले भ्याएसम्म परिश्रम गर्। परिस्थितिलाई आत्मसात गर्।'
सुधीन्द्रले ऐना हेरे। कपाल बीस प्रतिशत बाँकी छ। त्यही बीस प्रतिशत कपालमा शत प्रतिशत कालो दल्छन् उनी। आफ्नो सक्कली रुपलाई आफैंबाट लुकाउने प्रयत्न मात्र हो यो। अरुबाट त कहाँ लुकाउन सक्नु? संसार लाटो छैन, सब जान्दछ।
सरले आफूलाई बा जस्तै देखे। गालामा उम्रेको मुसो, दुरुस्त बाको जस्तो। पानी भरिएका आँखा, जुरुक्क उठ्दा ऐया ऐया भन्ने बानी, थोरै चिडचिडे स्वभाव। यही हो उनले पाएको विरासत।
पुस्तौंदेखि क्रमागत रुपमा बा बनेका बालकहरू। परिस्थिति आफ्नो नियन्त्रणभन्दा बाहिर पुगेपछि सबै बाहरुले भन्दै आएको वाक्य,'तेरो / तिम्रो जो विचार' यसैमा कल्याण छ भन्ने बुझेका अनन्त बाहरू।
सुधीन्द्रले अतीतको याद गरे। उनी सानै हुँदाको कुरा हो। माघको महिना थियो। बाहिर झमझम माघेझरी लागिरहेको थियो। उनलाई अकस्मात ज्वरो आयो। बाले बाक्लो सिरक ओडाउनुभयो। सुधीन्द्रलाई झ्यालबाट बाहिर परिरहेको झरी हेर्न मन लाग्ने। उनी सिरक फालेर झ्यालको डण्डी समातेर बाहिर हेर्न थाल्थे। हैरान भएपछि बा उनीसँगै बसेर सिरक समातिरहनुहुन्थ्यो। बाको ताल देखेर उनी मनमनै सोच्थे, 'कस्तो खराब बाउ'।
आज उनी सोच्दैछन्, संसारका सबै बाहरु अलिखित उपन्यास हुन्, महाकाव्य! प्राग ऐतिहासिक पात्र जस्तै हुन् बाहरु, जसको बारेमा लेख्न छुट्यो। खरदार बाजेको सबै इतिहास सुधीन्द्रलाई थाहा थिएन। उनलाई बाले सरकारी जागिर खाएर राणाको चाकरी गरेको मात्र थाहा थियो। बाले केटाकेटी उमेरमा गुरुजुको तमाखु भरेको वृतान्त त उनले डायरी पढेर मात्र थाहा पाए। जीवन कति बनावटी र कृत्रिम छ! जीवनका कतिपय कुरा यस्ता हुन्छन् जुन बाबुले प्यारो छोराबाट समेत लुकाएर राख्ने प्रयास गर्छ। आफैंले आफूलाई लुकाएर राख्ने असफल प्रयत्न!
सुधीन्द्र कलेज भर्ना भएपछि बासँग बाको बचपन र पढाइबारे सोध्थे। बा भन्थे, 'हामी पाल्पाली हो बुझिस्! नेपाले राजाले धोका दिएर काठमाडौं बोलाएर पाल्पाली राजालाई थुनेर राखे। पछि भिउसेन थापाले राजालाई मारेर पाल्पा कब्जा गरेका हुन्। तैंले यत्ति बुझे हुन्छ कि पाल्पाली राजा तखतमा रहिरहेको भए म राणाको चाकरी गर्न यो खाल्डोमा आउनु पर्ने थिएन। हाम्रा पूर्वज पाल्पाली राजाको दरबारमा काम गर्थे। हामी दरबारी खान्दानका सन्तान हौं। अरु कुरा बुझ्नु परे म मरेपछि मेरो डायरी हेर्नू।'
उनी बाको कोठामा बसाइ सरे। त्यहाँ उनले चारवटा हलुका कुर्सी राखे आगन्तुकहरुलाई बसाउन। आहा! खुसी त मनको तरङ्ग पो रहेछ! सगोलमा मिसिएर बस्नुभन्दा यो एकान्तवास आनन्दको लाग्यो उनलाई। बाकै कोठामा चिया पकाउन थाले। आफूलाई खान मन लागेको समयमा खान पाए। भुइँतलाको कोठा भएको हुँदा साँझ बिहान खाना खान बाहेक तलमाथि पनि गरिरहनु परेन। सरले खाली जग्गामा तरकारी रोपे, फूल रोपे, गमला सिँगारे।
खुसी हुँदै सोचे- नकारात्मक घटनाको सकारात्मक परिणाम! साथीहरु भेट्न र चिच्च्याई चिच्च्याई गफ गर्न छुट पाइयो। धन्यवाद छोरा बुहारी!
रिटायर्ड प्रोफेसरहरु जम्मा हुन पाउने स्वतन्त्रविश्व बन्यो बाको कोठा। तर उनीहरुले बाको कोठाको महत्व बुझेका थिएनन्।
कतिपय मित्रहरु सोच्थे- यो बुढेसकालमा हाम्रो सुधीन्द्र सरलाई के भयो ? किन आफ्नै घरको बैठक कोठा प्रयोग गर्न वन्चित छन् यी? तर उनीहरुलाई होस थिएन या होस भएर पनि बुझ पचाउँथे कि धेरैको अवस्था करिब करिब उस्तै हो। बाको कोठा एक बिम्ब हो, जो सार्वभौम र सार्वकालीन छ।
सर चुपचाप खाना खान जान्छन्। जे प्राप्त भयो खान्छन्। कुनै गुनासो छैन। तथापि बुहारीको स्वभाव उस्तै छ।
उनले एक दिन भनेकी थिइन्, 'बुवाका बूढा साथीहरुलाई घरका मान्छेले लघारेर यता पठाउँछन् कि क्या हो? बुवा पनि कति शान्त भएर बस्न नसकेको होला? अब रामायणको किताब किनेर ल्याइदिन्छु त्यही पढेर बस्नुहोस्। कस्तो 'नोइजी' बानी!'
सुतिष्ठाको पाँच वर्षको छोरो- 'म नोइजी हैन।'
सुतिष्ठा- तिमी होइन बाबु, बुवा हो।
बालक- बुवा नोइजी? ओ गड! यु नोइजी वुमन! माई ग्रयाण्डपा इज अ काम जेन्टलम्यान।
अचेल नाति बुवाको नजिक आउन छाडेको छ। सुतिष्ठाले बाको कोठालाई 'भूतको कोठा' भन्ने हुँदा उसलाई त्यो कोठामा जान डर लाग्छ। बुवा भान्सामा खान आएको बेलामा मात्र उनीसँग बोल्छ बालक।
सुधीन्द्र- तिमीले भनेको पनि ठीकै हो। मेरो अलि जोडले बोल्ने बानी छ। मास्टर न परियो! मेरा साथीहरु पनि मास्टर हुन्, जोडले बोल्छन्। तिम्रो कुनै पनि गुनासोलाई मैले अनुचित रुपमा लिएको छैन। तिम्रो फ्र्यांक स्वभाव मन पर्छ मलाई। तिमी आएर मेरो घर उज्यालो पारेकी छ्यौ।
मैले आमा कस्तो हुन्छ जानिनँ। विवाह गरेको दुई वर्षपछि सुनन्द जन्म्यो। छोरो जन्मेको छ महिनापछि उसकी आमा बितिन्। साथीहरुको करबलले मैले अर्को विवाह गरेँ। परन्तु उनी पनि दक्खिनकाली गएर आउँदा बसले किचेर बितिन्। हाम्रो घरलाई यति लामो समय उज्यालो पार्ने तिमी एक्ली नारी हौ।
सुतिष्ठा- कस्तो अभिशप्त घर हो हजुरको? अनि म कसरी सुखी हुन सक्छु यहाँ? विवाह हुँदाको समयमै हजुरको खुट्टी देखेको हो मैले। न गहना राम्रो, न लुगा राम्रो, न त घर नै राम्रो। हजुरको छोराको राम्रो मुखले के दियो मलाई? थुतुनो देखेर मक्ख पर्नु पनि बेकार रहेछ। स्ट्याटस नभएको फ्यामिली हो हजुरको!
सुनन्द- मलाई माफ गर्नुस् बुवा। यो आइमाईसँग नसकिने भयो। अरु सबै बानी राम्रो भएर के गर्नु, मुखै साह्रै क्षुद्र!
सुतिष्ठा- मेरो पेटमा पाप छैन।
सुनन्द- सबै पाप जति बाहिर निकालेपछि कसरी रहोस् त पेटमा?
सुधीन्द्र- भन्न दे बाबु यिनलाई। सबै मनका क्लेशहरु पोख्न दे। पीडा बाहिर फालेपछि मन सफा र शान्त हुँदै जान्छ। पर्खेर बस्, एक दिन यस्तो आउनेछ जब अहङ्कार आफैं थाकेर विश्राम लिन विवश हुनेछ। सबै आगो भैयो भने के बाँकी रह्यो? कोही त पानी हुनै पर्छ। त्यही पानीले आगो शान्त हुँदै जान्छ।
सुधीन्द्र विद्वान प्रोफेसर थिए। उनको विद्वताबाट एउटै घर मात्र अपरिचित थियो। त्यो थियो उनको आफ्नै घर। उनको कोठामा साथीहरुबीच बहस हुन्थ्यो जीवनका बारेमा।
एकदिन एउटा साथीले भनेको थियो- मित्र सुधीन्द्र! यो संसार स्वार्थी रहेछ यार! खाली उँधो माया मात्र। के मायालाई उँभोतर्फ उचाल्न मिल्दैन?
सुधीन्द्र- मेरो बा भन्नु हुन्थ्यो, माया भन्ने कुरा साश्वत रुपमै उँधो हुन्छ, प्राकृतिक। आमाले शिशुलाई माया गर्नु प्राकृतिक घटना हो। त्यो कसैले सिकाएर हुने होइन। गौंथलीले टाढाटाढाबाट नरम माटो ल्याएर गुँड बनाउँछ, फूल पार्छ, बच्चा कोरल्छ। आफू भोको बसेर खुवाउँछ, हुर्काउँछ। जब बचेरा बलिष्ठ हुन्छन्, भुर्र उडेर जान्छन् बिदा पनि नमागेर। त्यो दिन आमा गौंथलीको सर्वाधिक सुखको दिन हुन्छ। थाहा छ अब फेरि भेट हुने छैन, तर आफूले जन्म दिएका सन्तान उडेर जानु नै उनका लागि असीम खुसीको विषय हो। प्रायः सबै पशुपंक्षी जगतमा यही रित छ प्रकृतिको। केही जलचर र छुद्र थलचर प्राणीहरुमा फरक प्रकृति पनि रहेको पाइन्छ, तर बाबुआमालाई माया गर्ने प्रवृत्ति कुनै प्राणीमा पनि छैन। प्रायःले आमा मात्र चिन्छन्, बाबु को हो भन्ने थाहा नै हुँदैन। उँधो माया प्रकृति हो, उँभो माया संस्कृति। उँभो माया स्वाभाविक जैविक प्रवृत्ति होइन। सिकाइएको मात्र हो।
सुधीन्द्रका यी साथी नाम चलेका विद्वान हुन्। धेरै कुराको जानकारी राख्छन्। लेखहरु पनि लेखिरहन्छन्। तर पनि सधै दु:ख मात्र देखाइरहने। यी साथीलाई जीवनमा गुमेका अवसरको मात्र ख्याल आउँछ, छोपेका अवसर बिर्सन्छन्।
उनी भनिरहन्छन्, 'आफू कहाँ छु, कहाँ पुग्नु छ र कहाँ पुगेर टुंगिनु छ भन्ने थाहा हुँदाहुँदै पनि ती सबै कुरालाई भविष्यको लागि भनेर थन्क्याएर राखियो। सधै यथास्थितिमा बसिरहने बानीले गर्दा यस्तो मुकाममा पुगियो, जहाँबाट न अगाडि बढ्न सकिन्छ, न त फर्कन नै। आज त्यही स्थानमा बसेर समयको फैसला कुर्न विवश छु साथी! जीवनको खेलमैदान आफूले खाली गरिदिनु पर्दो रहेनछ। पत्तै नपाई आफै खाली हुँदै जाँदो रहेछ त्यो।
सुधीन्द्र - हामी पूर्ण छौं। कालक्रममा पूर्णताका विषयवस्तु 'चेन्ज' हुँदै जान्छन्। त्यसलाई स्वीकार गरेर समय र बरकत अनुरुपको कर्म गर्दै जानु नै जीवन हो। फेरि बितेको समयको पूर्णता प्राप्त गर्न त अर्को जन्म लिनु पर्छ। जसरी चन्द्रमा आफ्नो पूर्णतामा प्राप्त भएपछि घट्दै जान्छ। घट्दै जानु पूर्णतामा ह्रास आएको होइन, बरकत र कर्मको विषयवस्तु बदलिएको मात्र हो। एक दिन यस्तो आउँछ, जब चन्द्रमाले कत्ति पनि रोशनी छर्न सक्दैन। यही नै हो अर्को जन्म या अर्को पूर्णता प्राप्त गर्ने शुभ साइत। हामीले बुझ्नु आवश्यक छ, हरेक अँध्यारो आसन्न उज्यालोको पूर्वसूचना हो।
साथी- तपाईंको कुरा सुनेपछि आङमा घाम लागेको महसुस हुन्छ। तपाईं यति शान्त, शालीन र सहनशील हुनुहुन्छ। तर तपाईंकी बुहारी भने साह्रो क्षुद्र! कसरी निर्वाह गर्नुहुन्छ तपाईं?
सुधीन्द्र- बुहारी क्षुद्र होइन परिस्थिति क्षुद्र हो। उनका बाबुले चार-पाँच वर्षमै जग्गाको दलाली गरेर करोडौं कमाएछन्। बिना परिश्रमको धन जताततै छताछुल्ल भयो। आफू बाहिर होटलतिर बस्ने, छोराछोरीलाई जे भन्यो त्यही मनग्गे। मेरी बुहारीले सबै कुरा पाइन्, तर अनुशासन, सभ्यता र संस्कार सिक्नबाट वन्चित पारिइन्। मलाई विश्वास छ यी सुसंस्कृत नारी बन्नेछिन्।
साथी- संसारलाई मायामय अर्थात मायाको अधीन भन्छन्। के हो सर यो माया?
सुधीन्द्र- एक दिनको कुरा हो। नारदले कृष्णलाई भने, 'प्रभुको मायाको लीला पनि अचम्मै छ। कृष्णले नारदलाई 'हिँड घुम्न जाऊँ' भनेर लिएर गए। जाँदाजाँदा उनीहरू टाढा मरुभूमि पुगे। गर्मीले व्याकुल भए। बल्लबल्ल एउटा वृक्ष भेटियो। उनीहरू त्यही रुखको छहारीमुनि सुस्ताएर बसे।
कृष्णले भ, 'हे नारद! मलाई साह्रै नै प्यास लाग्यो। ऊ त्यो गाउँ देखिन्छ नि! त्यहाँ गएर मेरा लागि पानी मागेर ल्याऊ। म यही छहारीमा आराम गरेर बस्छु।'
नारद बडो मुस्किलले गाउँमा पुगे। दोपहरको समयको मरुभूमिको गाउँ। कुनै घरको ढोका खुला थिएन। लाग्थ्यो यो गाउँका सारा प्रजाहरु गर्मी सहन नसकेर अन्यत्र कतै भागे। नारदले एउटा ढोकामा विस्तारै 'टक टक' हाने। ढोका खुल्यो।
अहो! यो के देख्छन् उनी ? आश्चर्यचकित भए नारद। द्वार खोलेर मधुर मुस्कानले स्वागत गर्ने रति समान सुन्दरी षोडसीलाई देखेर धीरचेता नारद अकस्मात कामोत्तेजनाले ग्रस्त भए।
प्रेमिल उन्मादले व्यथित नारद! अझ कन्याको मन्द मुस्कानमय कटाक्ष। मादकताले परिपूर्ण ती युवतीले नारदको सुन्दर मुहार, माला र आकर्षक महानीय शरीरलाई तलदेखि माथिसम्म हेर्न थालिन्। नारदले युवतीको सुन्दरताको वर्णन गर्न थाले।
भोलिपल्ट फेरि पुगे नारद। प्रेमले आफ्नो सीमा नाघ्यो। दोहोरो प्रेम, मन मिल्यो, कामवाणले प्रमत्त दुवै। तनको मिलनलाई वैधानिक स्वीकृति आवश्यक थियो। व्याकुल नारदले सुन्दरीका बाबुलाई भेटे। विवाह भयो।
सँगै बस्न थाले। गहिरो अनुराग, अमर प्रेम समान। यस्तैमा ससुरा बा बिते। अब नारद घरज्वाइँबाट घरमालिक भए। आनन्दातिरेकमा बाह्र वर्ष बितेको पत्तै भएन। सम्पत्ति बढ्दै गयो। सन्तान जन्मे। योभन्दा सुखी जिन्दगी कसले पाउँछ यो मर्त्यलोकमा?
तर समय सधै एकनास कहाँ चल्छ ? एक दिन गाउँमा भयानक बाढी आयो। चौदिशामा जहाँसम्म आँखा पुग्थे पानी नै पानी। पकाएको खाना डुब्यो, साँचेर राखेको अन्न डुब्यो, पशुहरु डुबे, घरै डुब्न लाग्यो। नारदले एउटा छोरालाई काँधमा राखे। सुन्दरी र अर्को बालकलाई एक एक हातले समातेर किनाराको खोजीमा निस्केI
बाढीको प्रबल तरङ्गले थप्पड हान्दा शरीरको सन्तुलन मिलेन, काँधको छोरो पानीमा खस्यो। उसलाई छोप्न खोज्दा अर्को छोरो पनि हातबाट फुत्केर हेर्दा हेर्दै बगेर गयो। उनी भारी जलतरङ्गको बीचमा पत्नीलाई च्याप्प समातेर घोर विलाप गर्न थाले। तर उनको करुण क्रन्दन सुन्ने र गुहार दिने कोही थिएन त्यहाँ। अँठ्याएर राख्ने यत्न काम लागेन, पत्नी पनि बगिन्।
आकुलव्याकुल र शोकले ग्रस्त निसहाय नारद जेनतेन किनारामा पुगे। घोप्टो परेर बिलौना गर्न थाले। त्यसै समयमा कसैले प्रेमले पीठ थप्थपायो। उनले असहाय आँखा उठाएर हेरे। उनै कृष्ण रहेछन्।
कृष्णले भने, 'पानी खै त नारद! आधा घण्टा भयो मैले कुरेर बसेको।'
नारदले भने, आधा घण्टा? म त बाह्र वर्षसम्म भोग गरेर यो अवस्थामा पुगेको छु प्रभु!'
आधा घन्टामा नारदले जुन बाह्र वर्षको भोग गरे त्यही हो माया।'
अचेल सुधीन्द्र सरको जीवन तुलनात्मक रुपमा सरल र सहज भएको छ। उनी आँगन बढार्छन्, तरकारी फलाउँछन्। फूलहरु ढकमक्क फुलेका छन्। बिहान नित्य गीता पाठ गर्छन्। आधा घण्टा व्यायाम गर्छन्। स्वास्थ्य पनि राम्रो छ। 'स्वावलम्बन एव स्वतन्त्रता' भन्ने माहानवाणीलाई चरितार्थ पारेका छन् सरले।
एक दिन बुहारी आएर बाको कोठामा चियाएर हेरिन्।
सुधीन्द्र- किन आयौ सुतिष्ठा? केही भन्नु छ?
सुतिष्ठा- हजुरको केही लुगा धुनु छ भने दिस्यो, म धोइदिन्छु।
सुधीन्द्र- धन्यवाद छ नानी! म मेरो लुगा आफैं धुन्छु। ज्यानले सक्दासम्म आफ्नो काम आफैं गर्नुपर्छ।
सुतिष्ठा- कोठा पनि सफा गर्नुपर्ने जस्तो छ। म सफा गरिदिन्छु बुवा।
सुधीन्द्र- पर्दैन सुतिष्ठा। यति पनि गरिनँ भने त बिरामी हुन्छु म। तिम्रो आफ्नै त्यत्रो काम छ।
सुधीन्द्र सुत्ने खाटको परसम्म कुचो छिराएर बढार्न थाले। उनलाई कुनै वस्तुले कुचोको लय बिगारेको महसुस भयो। टर्च बालेर हेरे। सानो कन्तुर रहेछ। खाटमुनि छिरेर कन्तुर बाहिर ल्याए। कालो रङको कन्तुरमा सानो ताला झुन्डिएको। बाको पुरानो कन्तुर! के होला यसमा? सुधीन्द्रलाई तीव्र जिज्ञासा लाग्यो।
जोडले ताला ताने। ताला खुल्यो। भित्र पाँच छ वटा चाँदीका सिक्का, गुरुजुको फोटो, जुद्ध शमशेरको पालाका चार पाँच नोटहरु। कन्तुरभित्र एउटा सुर्काउने थैली पनि रहेछ। खोलेर हेरे।
एउटा सानो कागजमा लेखिएको थियो 'नातिको विवाहमा गहना बनाउने सुन।'
पन्ध्र तोला रहेछ। केही सल्लाह गर्न नपाई हृदयाघात भएर बितेका थिए बा। सुधीन्द्र एक्लै धरधरी रोए। ठीक दुई वर्षपछिको शरदपूर्णिमा।
उनीहरू त्यसै गरी छतमा बसेका थिए।
सुनन्द- एक गिलास वाइन खाने त होला नि बुवा।
बुवा- खाने।
सुतिष्ठा- बुवा पनि खाने हामी पनि खाने। बुवा एउटा कुरा भनूँ?
बुवा- भन न! तिमीबाट मैले धेरै शिक्षा लिनु छ।
सुतिष्ठा रुन थालिन्। उनले भनिन् 'बुवा यु आर ग्रेट! हजुर मेरो बुवा हुनुपर्थ्यो। मैले जीवनमा धेरै गुमाएको रहेछु बुवा। मेरो माइतीमा रातदिन रडाको गर्छन्। मेरो ड्याडीको पुरानो बानी छुटेको छैन। बुहारीहरु पनि राकस परेछन्। सबै मिलेर सम्पत्ति सक्न थाले। मलाई त्यहाँ फर्केर जान मन लाग्दैन।'
सुनन्द- के यो सपना हो?
सुधीन्द्र- बिपना हो छोरा। हामी धैर्य हुनुपर्छ। यहाँ जन्मेको कुनै व्यक्ति स्वतः खराब या असल हुँदैन। मानिसलाई खराब र असल बनाउने वातावरण र परिस्थितिले हो।
सुधीन्द्रले बाको कोठामा फेला परेको सुर्के थैली सुतिष्ठाको हातमा राखिदिँदै भने, 'यो तिमीलाई बाको उपहार।'