आले सर!
गाउँमा उनलाई सबैले यही नामले बोलाउँछन्। पढाउन छाडेको एक्काइस वर्ष भयो, तर प्यारो सम्बोधन जीवितै छ। पहिले पहिले ‘आले सर’ शब्दप्रति उनलाई बडो गौरव लाग्दथ्यो। अहिले त कता कता व्यङ्ग्यजस्तो लाग्छ।
फिटिक्क निद्रा लागेन। कालो रातको नीरवतामा हाते घडीको टिकटिक पनि घन ठटाए जस्तो! सरले घडी हेरे। बाह्र बजिसकेछ।
उठेर बत्ती बाले। भित्तामा टाँगेको ऐनामा मुख देखियो। सरले दाहिने गालाको डामलाई नरमसँग मुसारे। एक सय बीस
वर्गफिटको कोठाको दुई कुनामा दुई खाट लमतन्न छन्। एउटा खाटमाथि खाने सामान र भाँडाकुँडा राखेको छ। सरले यसो हेरे।
पाँच थान आलु, चार थान प्याज, चार चम्चाजति नून, त्यति नै चिनी, दुई चम्चा चियापत्ती र दुई माना चामल बाँकी छ। दुई तीन दिनलाई ढुक्क।
सरले यसो पर्दा सारे। पर जाँड खाएर हल्ला गर्ने केटाहरू कराएको सुनियो। एउटा केटो भन्दै थियो, ‘बानहरूले यो देश बर्बाद पारे। यी डाम्नाहरूलाई सोत्तर पार्नुपर्छ।’
अर्को केटोले भन्यो, ‘अब तैंले सोत्तर पारिस तेरा बाहरूलाई। आमाले चामल किन्न भनेर राखेको पैसा चोरेर जाँड धोक्नेका धक्कु!’
आले सर काठमाडौं बस्न भनेर आएका होइनन्। सरसँग साउदीको भिसा थियो। चैत्र बाह्र गतेको टिकट। एघार गतेदेखि ‘लकडाउन’ भयो। सर न साउदी जान पाए न त गाउँ फर्कन नै। यो डेरा त उनले चिनेका इँटा कारखानामा काम गर्ने दुई जना
भाइहरूको हो। उनीहरू बलिया भएको हुँदा वैशाख लाग्नासाथ पैदलै बाटो लागे। सर पाँच छ दिनको बाटो लगातार हिँड्न सक्दैनन्।
प्रत्येक व्यक्ति आफ्नै समयको उपज हो। तर कुनै कुनै समय क्रूर हुँदो रहेछ। आले सरका बाबु साधारण किसान। प्रकृति र मनुष्यको संघर्षमा दुवै विजयी हुन खोज्ने। प्रकृति धेरै बाठी! चाकरी पाएमा मात्र पैदा गर्ने स्वार्थी। मनुष्य जसरी हुन्छ लिएरै छाड्ने। जति धेरै पसिना त्यति धेरै उत्पादन। परन्तु, समयले उनलाई लात हान्नु थियो, हान्यो। आले सरका सोझा बाबु द्वन्द्वको समयमा पुलिसको गोली खाएर मरे। जीवनमा कहिल्यै कम्युनिस्ट, कार्लमार्क्स, कमरेड माओ र कमरेड प्रचण्ड शब्द नसुनेको सोझो मगरलाई ‘खतरनाक लडाकू’को आरोप लाग्यो। जीवनमा कहिल्यै पुलिस नदेखेको मानिस पुलिसको गोली खाएर मर्यो।
बल्लबल्ल एसएलसी गरेका आले सर! जीवनमा स्कूलको किताब बाहेक अर्को किताबसम्म पहुँच नभएका उनी। यो दुनियाँ यति जटिल र निर्दयी होला भन्ने थाहै थिएन। सर क्रान्तिकारी बन्न पुगे। ‘रातो फौज’को होनहार योद्धा कमरेड ‘फिलिप्स’ मा रुपान्तर भए उनी। चार वर्ष पुरानो स्कुल शिक्षकको जागिरलाई ‘गोली मारेर’ तातो गोली भरिएको बन्दुक उचाले सरले।
तिलस्मी कल्पनाको रोमान्चकारी लडाकू दुनियाँ। त्यहाँ उनले माओका भाषण र रचनाको ‘बुकलेट’ पढे। केही बुझेनन्। अझै पनि केही बुझेका छैनन्। उनका धेरै ‘कमरेड’हरूले पनि बुझेका छैनन् सायद। किन्तु, केही वाक्य छन् जुन्, उनीहरू सबै निकै राम्रोसँग भन्न सक्छन्। सुन्नेलाई रनक्क रन्काउने वाक्यहरू! आले सर पनि पाँच मिनेटसम्म मजाले भाषण गर्न सक्दथे। अहिले बिर्से।
केटाकेटी, किशोरकिशोरी आधुनिक वनबासीजस्ता। खाने ठेगान छैन। बासको ठेगान छैन। दिनभरि बनिवास, रातभरिको अज्ञात स्थानको यात्रा। थकाइ लाग्यो भोक लाग्यो भन्नु हुँदैन। इज्जतको सवाल छ, बहादुरीको!
सुस्ताएको बेला आले सर (अब कमरेड ‘फिलिप्स’)ले मिल्ने कमरेड ‘ओस्कर’सँग भने- के गरिब भएर जन्मनु नै अपराध हो कमरेड?
ओस्कर - गरिब घरमा जन्मनु अपराध होइन तर अभिशाप पक्कै हो।
फिलिप्स - सामन्त भनेको के हो?
ओस्कर - मलाई पनि धेरै थाहा छैन। तर मेरो विचारमा जसले हाम्रो विरोध गर्छन्, ती सबै सामन्त हुन्।
फिलिप्स - त्यस्तो पनि हुन्छ? हाम्रो विचार सबैलाई मन पर्नुपर्छ र?
ओस्कर - यहाँ धेरै तर्क गर्ने हैन कमरेड। क्रान्तिले तर्क बुझ्दैन। आदेश मान्नुस् आदेश!
सबैसँग एउटा फोटो छ। सर्वोच्च कमरेडको फोटो! यिनै हुन् कङ्गाल र अकिन्चन नेपालीका तारणहार। श्रद्धा राख्नु है तस्बिरमा! सिकाइएको छ। गीत गाउँछन् युवायुवती।
नारानहिटी साँढा छ बुद्धि आधा छ
सिंहदरबार टाढा छ लक्ष गाढा छ
बाटाभरि काँढा छ …
त्यो दिन आउँछ। मुक्तिको बाटो सजिलो छैन, तर पार हुन्छ। एक दिन हाम्रो झण्डा फहराउनेछ देशैभरि। भोक, रोग र पीडाबाट मुक्ति पाउने छ नेपालीजनले। एउटा मनोरम स्वर्गीय आनन्द आहा! सबै बराबर, सबैको सरकार, सबैको देश! शोषणवाद, कृपावाद र आफन्तवाद ‘बात’! जो गर्दैन काम त्यसलाई छैन ठाम्! योग्यता अनुसारको काम, सबैलाई माम! लजालु कमरेड फिलिप्स पनि रोमान्चित हुने नै भए।
जेनतेन उज्यालो भयो। कसैले ढोका हान्यो, ढक! ढक! सरको मुटु धक! धक! गर्यो। पक्कै पनि घरबेटी हुनुपर्छ। सरले रुमालले आँखाको कचरा पुछे, जाँघे भिरे। घरबेटी बा कोठाभित्र पसेर खडा भए।
मास्क नखोलेरै बोले उनी - तीन महिना भयो था छ?
आले सर - नमस्कार! हो हजुर भयो। तर विवश छु। मसँग जम्मा एघार सय थियो। यहाँ बस्ने भाइहरूले शरण दिएर राखेका हुन्। उनीहरू हिँड्न सक्ने हुँदा पैदलै गए। म सकिनँ। दुई महिनाको कोठाभाडा दिएर गएका थिए, चैत र वैशाखको। जेठ, असार र साउनसमेत तीन महिनाको बाह्र हजार बाँकी छ। उनीहरूले छोडेर गएको ग्यास र चामलले आजसम्म सास धान्न पुग्यो हजुर! अब बाँकी ऊ त्यही हो। तैपनि तीन दिनलाई त, पुर्याउँछु।
घरबेटी - त्यो गालामा के को डाम नि?
फिलिप - गोली लागेको हो हजुर!
घरबेटी - अहो! यता आउनुस् त!
घरबेटी अघि लागे, आले सर पछिपछि। घरबेटीले आँगनमा अलि पर पर हुने गरी कुर्सी राखे।
घरबेटी - बस्नुस्!
सर डराई डराई कुर्सीमा बसे।
घरबेटी - कसरी गोली लाग्यो?
सर - पुलिसले हानेको हो हजुर। द्वन्द्वको घाउ हो। अरु केही नदिए पनि यो दामल चिनो दिएर सकियो।
घरबेटी - तपाईंले अघि नमस्ते गर्दा किन हात तेर्सो पारेको नि?
सर - मेरो बायाँ हातमाथि उठाउन मिल्दैन। वनबासको बेलामा भाँचिएको हो। औषधि मूलो गर्न मौका मिलेन, हात बिग्रियो।
घरबेटी - अनि त्यो तिघ्राको डाम?
सर - यो त बारुदले डढेको।
घरबेटी - यस्तो मान्छेले साउदीमा के काम गर्ने हो?
सर - उँट चराउन त सक्छु नि हजुर!
घरबेटी - उतै पहाडमा खेती गरेर बसे हुन्न?
सर - हुन्थ्यो नि हजुर किन नहुनु! बा मारिएपछि म उता लागें। मास्टरको जागिर छुट्यो। एउटी छोरी थिई, पोइल गई। उसलाई पनि दु:खै छ। द्वन्द्वपछि जन्मेको बाह्र वर्षको छोरो छ दृष्टिविहीन। थोरै खेत थियो, डोजरे विकासले पुरिदियो। पचास हजार ऋण छ। त्यति तिर्न पाए साहुमारा बनेर मर्नु पर्दैनथ्यो हजुर!
घरबेटी - द्वन्द्वले के दियो यो देशलाई? यिनै कहिल्यै नमेटिने नीलडाम र चोट बोकेर बाँच्न बाध्य पारिएकाहरूको दारुण कथा हो त्यो द्वन्द्व। देश पनि घायल जनता पनि घायल। निधारमा सदा देखिने विभत्स दामल! तपाईंले भाडा दिनु पर्दैन। भाइहरू आएर दिए भने ठीकै छ।
सरको मोबाइलमा बीस रुपैयाँ बाँकी छ। एघार सयमध्ये तीन सय नगद पनि अझै बाँकी छ। पहिलोपल्ट राजधानी आएका उनी खुब घुमे। उनले बाहिरैबाट सिंहदरबार देखे, पाटन, वसन्तपुर, असन, इन्द्रचोक, रानीपोखरी, नारायणहिटी सबै। साउदीको भिसाको म्याद सकियो। यातायात खुल्छ भन्छन्। अब अर्को समस्या खडा भयो कसरी घर जाने? उनले अकस्मात् कमरेड ओस्करलाई सम्झे।
ओस्करसँग भेट नभएको पन्ध्र वर्ष भयो। राजधानी छिरेदेखि कमरेड ओस्कर गाउँ गएको छैन। ‘ठूलो मान्छे’ भएर बसेको छ भन्ने सुनेका छन् सरले। उनलाई कसैले ओस्करको नम्बर दिएको थियो। सरले फोन गरे। ओस्करले अफिसमा आउनु भनेर बोलायो। सरले भनेका थिए, ‘तपाईं ठूलो मान्छे! म कता भेट्न आऊँ? बरु मलाई मैले गर्न सक्ने कुनै काम खोजिदिनुहोस्। बाटोखर्च जुटाएर गाउँ फर्कन्छु।’
तर ओस्करले जिद्दी गरिरह्यो।
आले सर हिँडेरै गए अफिस। डर लाग्यो। यस्तो ठूलो सफा घरमा कसरी पस्नु? कसरी पत्ता लगाउनु? सरले जानेको नाम नै
ओस्कर! सोध्न थाले, ‘कमरेड ओस्कर कता हुनुहुन्छ होला?’
एक जनाले हप्कायो, ‘को ओस्कर? के हो कमरेड भनेको?’
उपाय लागेन। सरले मोबाइलमा ब्यालेन्स हेरे।
बाह्र बाँकी छ। अहँ! यो पनि बेमाख भयो भने? सर फर्के। एक घण्टापछि ओस्करको फोन आयो, ‘किन नआको?’
सरले केही भनेनन्। उताबाट आवाज आयो, ‘चार बजे अन्नपूर्ण होटेलमा आउनु! त्यहीँ भेट हुन्छ।’
चार बजे। अन्नपूर्ण होटेलको गेट। गार्डले रोक्यो, ‘ए ए! भित्र जान मिल्दैन।’
सर - कमरेड ओस्करले बोलाउनु भएको छ।
गार्ड (हाँस्दै) - यता आउने हो त ओस्कर ओस्कर्नी खोज्न? उता वसन्तपुरतिर जानु नि।
सरले यसो विचार गरे - यो दुनियाँ मेरो लागि होइन। उनले आफूलाई हेरे। एक महिनादेखि नधोएको प्यान्ट, कलेटी परेको सर्ट, मैला खुट्टा र खिइएको चप्पल। गालामा विभत्स ‘दामल’, मैलो कपाल। कसाले पस्न दिन्छ यहाँ? ठूलो गाडी आयो। पाँच मिनेटपछि उनलाई भित्र बोलायो कसैले। आले सर अन्नपूर्ण छिरे।
उनलाई एक ठाउँमा लगेर बसालियो। ओस्कर आयो। सर उसलाई ठाउँ दिन पर सरे। सरले भने, ‘बाहिर कतै भेटेको भए त नचिन्ने रहेछु। कस्तो भव्य हुनुभएछ कमरेड त। कति सुकिलो। माया लाग्यो कमरेड! खुसी पनि लाग्यो। एकछिन् बस्नुस् न, कुरा गरम्।’
ओस्करले उठीउठी भन्यो, ‘तपाईं सुहाउँदो काम पाउन कठिन छ। कोरोनाको कहर पनि छ। अहिले मेरो मिटिङ छ। बरु यो लिनुस्।’
ओस्करले एउटा खाम थमायो। सरले यन्त्रवत् खाम समाते।
आले सर डेरा फर्के। साह्रै भोक लाग्यो। दस रुपैयाँको चिउरा किने। चिया पकाए। कालो चियासँग चिउरा औधी मीठो थियो। थाकेका सर यसो पल्टेको फुसुक्क निदाइहाले। सरले सपना देखे। सिंहदरबार! उनी ठूलो मान्छे भएका। सिंहदरबार टाढा छ लक्ष्य गाढा छ, बाटाभरि काँडा छ …I
उनी कमरेड ओस्करजस्तै सुकिला! गाउँ-गाउँमा पनि विकास भएको रे! सबै खुसी रे! सबै बराबर! एक घण्टा सुनौला सपना देखेर जागा भए सर। सरले मनमनै सोचे - त्यो सत्य कि यो सत्य?
कटु छ जीवन। सपनाजस्तो मीठो वास्तविकता कहाँ? क्रान्ति पनि सुन्दा मीठो। चमत्कारी, तिलस्मी र विष्मयकारी।
क्रान्तिपछिको वास्तविकताको कल्पना गर्न थालेको भए कहाँ हुन्थ्यो क्रान्ति? सुन्दा त युद्ध पनि रमाइलो हुन्छ। मर्ने बिर्सिन्छ, बाँच्नेको पदोन्नति हुन्छ। दुनियाँ मर्नेको होइन जिउनेको हो। दुनियाँ हार्नेको होइन, जित्नेको हो। दुनियाँ आलेको होइन, ओस्करको हो।
आले सरले भात पकाए। एक थान आलु र आधा थान प्याजको झोल। मनमनै सोचे - मेरो लागि यही काफी छ। ओस्करहरूले यतिसम्म खाने बन्दोबस्त गरिदिए नेपाली जनताले विदेशमा गधा चराउनु पर्ने थिएन। उनले ओस्करको व्यस्तता सम्झे। ठीकै त हो। व्यस्त हुनु राम्रो हो। ओस्करको हकमा क्रान्ति सफल भयो भनेर इर्श्या गर्नुको कुनै प्रयोजन छैन। कसैलाई दोष छैन। सबै भाग्यको खेल हो।
हिजोको कर्मठ योद्धा फिलिप्स आज भाग्यवादी हुँदैछ। विस्तारै आध्यात्मिक हुने लक्षण!
सरले खाम निकालेर हेरे। रुपैयाँ रहेछ, हजार हजारका नोट! उनले खोजेको काम हो, पैसा होइन। दु:खको साथीले एकक्षण बसेर भालाकुसारी गर्ने समयसम्म निकाल्न चाहेन। मास्कभित्र कस्तो मुख थियो, देख्न पनि पाएनन् उनले। सरले खाम पानीको बाल्टीमा फ्याँकिदिए। खाम झम्लङ्ग गर्दै बाल्टीको पिंधमा पुगेर विस्तारै माथि आएर तैरिन थाल्यो। सरले बाबु सम्झे, आफ्नो शारीरिक र मानसिक पीडा सम्झे। अपाङ्ग भएको शरीर र गोलीले दामल भएको कुरूप अनुहार सम्झे। भावुक भएर रुन थाले सर। तर त्यो रोदनको कारुणिक दृश्य देख्ने र महसुस गर्ने भित्तोबाहेक कोही थिएन।
अकस्मात् छोरीको फोन आयो। छोरी रुन थालिन्।
‘आमालाई सन्चो छैन, ब्लिडिङ भइरहेको छ।’
सरले फालेको खाम बाल्टीबाट झिके। भिजेका प्रत्येक नोट निकालेर भुइँभरि फिँजाए सुकाउन। बीस हजार रहेछ। सर भोलि गाउँ जानेछन्।