कविता
खबरदार !
साना नानीहरू
र बोरामा पसिना गन्हाउने थोत्रा गुन्टा बोकेर
घर हिँडेका आतंकित मान्छेहरू हो !
मनाही गरिएको छ तिमीहरूलाई
यो सडकको बीचमा उभिएर
पिलपिल आँसु झार्न
अस्वीकार गरिएको छ
भोकै छु भनेर संसारलाई सुनाउने
तिम्रा नौटंकी बोलीहरू
त्यसैगरी मनाही गरिएको छ
रातबिरात हिँडेर
चरचरी चिरिएका पैतलाहरू देखाउन
र, पुरापुर खारेज गरिएको छ
सरकारप्रति रोष व्यक्त गर्ने
या लान्छना लगाउने तिम्रो नैतिक अधिकारहरूलाई
देशभन्दा माथि धेरै माथि बसेर
तिमीहरूलाई शासन गर्नेहरू
यस्तै फरमानहरू जारी गरिरहेका छन्
यथार्थ नागरिकभन्दा
मिडियाले उचालेका
या एकाएक प्रकटभएका
निसाचार वा कृतिम मान्छे हुनसक्छौ तिमीहरू
प्रतिपक्ष वा विरोधीको सिपाही हुनसक्छौ
सरकार असफल बनाउन
प्रचारबाजी र षड्यन्त्र रचेका हुनसक्छौ
अथवा, योजनाबद्ध परिचालित
सत्ताको विद्रोही हुन सक्छौ
खबरदार! के तिमीहरू
पहिलो पटक मात्र भोकाएका हौ?
अहिले मात्र सडकमा सास्ती पाएका हौ?
अहिले मात्र पीडामा आँसु झारेका हौ?
के तिम्रा सपनाहरू
अहिले मात्र चकनाचुर भएका हुन्?
अहँ होइन
कुमालेको चक्र झैं पुस्तौदेखि घुमिरहेको छ
तिमीहरूको वरिपरि यस्तो नियति
त्यसो हो भने
यो विषम परिस्थितिमा
चुपचाप बस्ने हो तिमीहरू
कसले सिकायो यो नौटंकी गर्न?
अनि कसले फरमान जारी गर्यो
आफ्नै सरकारमाथि घृणाले औला उठाउन?
यो जीवन र मृत्युको लडाइँको बेला
नियम कानुनका कुरा उठाउनेहरू
भ्रष्टाचारको कुरा उठाउनेहरू
आदर्श राज्यका कल्पना गर्नेहरू
कसैको इसारामा परिचालित
सत्ताको विद्रोही हुन सक्छ
सत्यको बाटो स्वीकार्ने
अन्याय, दूराचार र अव्यवस्था विरूद्ध
घन्टाउके अक्षरमा
शब्द जन्माउने जाली कविहरू
यो विषम परिस्थितिमा
तिमीहरू पनि सत्ताका विद्रोही हुन सक्छौ
तिम्रा विचारहरू
तिम्रा कलमहरू
हाललाई स्थगित राख
समयले संमृद्धिको गर्भाधरण गरेको बेला
बरू सबै मिलेर
राणाको जस्तै
पञ्चायतको जस्तै
सरकारको जय जयकार गर
अन्धविश्वासी भएर
यो बेला मनोकांक्षा पूरा गर्न
कुनै दैवी भाकल गर्नुपर्दैन
मनकामना वा पाथिभाराको
ठाडै उकालो चढ्नु पर्दैन
बरू खुसी बनाऊ सिंहदरबार बालुवाटार
त्यहाँ सर्वज्ञानी नवमहाराजहरू
प्रवचन दिँदै विराजमान होइबक्सेको छ!