गाउँघरको कुनै सानो पाखोमा
खिच्रिंग मिच्रिंग रोपिरेहेकी
अथवा भिरपाखाहरूमा
घाँसका भारीहरू बोकेर
थकित र बेसहारा अवस्थामा
जसोतसो जिन्दगी हिँडाइरहेकी भेटिन्छन्
हजारौं लाचार आमाहरू
डाक्टर नर्सहरुको दृष्टिमा नपरेका
कुलंगार कुरुवाहरूद्वारा परित्यक्त
जीवन र मरणका दोसाँधमा
आँसुको आहालमा डुबेकी
बग्रेल्ती नाजुक आमाहरू भेटिन्छन्
अस्पतालका चिसो भुइँहरूमा ।
पुस माघको ठिहीमा
एकसरो मजेत्रो र भोको पेट लतार्दै
निलो आकाशलाई
फुटेका आफ्ना ओठहरूमा टाँसेर
भौतारिँदै हिँडिरहेकी आमाहरू भेटिन्छन्
सहरका गल्ली र सडकपेटीहरूमा।
घर भएर पनि
आफ्नो घर नभएको
घरभरि मान्छे हुँदा पनि
कोही आफ्नो नभएको
आफैं एउटा मृतघर जस्तो
विरक्तिएको वृद्धाश्रमहरूमा भेटिन्छन्
टोलाएर बसेका आशाविहीन आमाहरू ।
तपाईं ! जहाँ पनि भेट्न सक्नुहुन्छ
पीडा र दर्दनाक अवस्थामा
आँसु सुकिसकेका आमाहरू
तर अफसोच
अहँ कहिँकतै भेट्नु हुन्न
उसले जन्म दिएकी छोराहरू
के तपाईंले कतै देख्नु भएको छ?
मलाई लाग्छ
पहिचान गुमाएर
सबै छोराहरू लोग्ने भइसकेका छन्
या त सहरिया भइसकेका छन्
नत्र यी आमाहरू
सबैका घर घरमा
जुन बोकेर बस्नुपर्थ्यो
पुस माघको ठिहीमा
घरको पेटी अगाडि
घाम ताप्दै गरेको देख्नुहुन्थ्यो
तपाईं देख्न सक्नुहुन्थ्यो
चराहरू जस्तै माथि माथि आकाशतिर
स्वतन्त्र उडिरहेको
आमाका मुस्कानहरू
घरका भित्ता भित्ताहरूमा
आँगनहरूमा
विछ्यौनाहरूमा
खेलिरहेको भेट्न सक्नुहुन्थ्यो
तपाईं हिँड्ने बाटाभरि
खुसीले उन्मक्त फूलहरू जस्तै
फुलिरहेको भेट्नुहुन्थ्यो
आमाका मुस्कानहरू ।