भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटना भएको एयर इन्डियाको जहाजको ब्ल्याक बक्स भेटिएको छ।
अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबार दिउँसो १:३८ बजे उडान भरेको जहाज मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटना भएको थियो।
दुर्घटनास्थलबाट २८ घन्टापछि शुक्रबार अपराह्न जहाजको ब्ल्याक बक्स भेटिएको विमान दुर्घटना अनुसन्धान ब्युरोले जनाएको छ।
ब्युरोका अधिकारी राममोहन नायडू किन्जारापुले समाचार संस्था एशोशियटेड प्रेसलाई बताएअनुसार दुर्घटनाग्रस्त जहाजको दुईवटा ब्ल्याक बक्स भेटिएको हो।
ब्ल्याक बक्स भेटिएपछि जहाज दुर्घटनाको अनुसन्धानमा सहज हुने उनले बताएका छन्।
दुईमध्ये एउटा ब्ल्याक बक्सले प्राविधिक विवरणहरु; उचाई र गतिको विवरण दिन्छ भने अर्कोले ककपिटमा आवाज रेकर्ड गर्छ। ब्ल्याक बक्स भेटिएपछि दुर्घटनाअघि पाइलटले के भनेका थिए भनेर खुल्नेछ। त्यसबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
बिहीबार दिउँसो लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भरेको उक्त जहाज अहमदाबाट उडेको एक मिनेट नबित्दै दुर्घटनामा परेको थियो।
विमानले उचाइ लिन नसक्दा मेघनीनगरको एउटा आवासीय भवनमा खसेको थियो। उक्त भवन बिजे मेडिकल कलेजका इन्टर्न डाक्टरहरू बस्ने होस्टल हो। विमान खस्दा त्यहाँका १९ जनाको मृत्यु भएको र कम्तिमा ५० जना घाइते भएको बताइएको छ।
विमानमा सवार २४२ मध्ये १४१ जनाको मृत्यु भएको छ।
जसमा १५९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र एक जना क्यानाडेली छन्।
दुर्घटनामा एक यात्रु भने जिवित रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जिवित भेटिएका यात्रु बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेश छन्। उनको उपचार भइरहेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अस्पताल पुगेर रमेशलाई भेटेका थिए।
बोइङलाई ६ वर्षपछि फेरि ठूलो क्षति
यो घटनापछि अमेरिकी जहाज निर्माण कम्पनी बोइङ फेरि आलोचनाको घेरामा परेको छ। केही वर्षयता बोइङ जहाजको सुरक्षामाथि लगातार प्रश्न उठ्दै आएका बेला ड्रिमलाइनर जहाज पनि यति ठूलो दुर्घटनामा परेको हो।
अमेरिकी अखबार 'द न्यूयोर्क टाइम्स' का अनुसार बोइङ-७८७ ड्रिमलाइनर जहाजमा यसअघि पनि प्राविधिक समस्या देखिएको थियो। आकाशमा उड्दा उड्दै प्राविधिक समस्या उत्पन्न हुँदा केही यात्रु घाइते भएका थिए। तर अहिलेसम्म यो मोडलको जहाजमा मानवीय क्षतिको घटना नभएको एभियसन सेफ्टी नेटवर्कले जनाएको छ।
बोइङ कम्पनीले दुर्घटनाबारे प्रतिक्रिया जनाउँदै विज्ञप्ति निकालेको छ र भनेको छ, 'हामी यो दुर्घटनाको प्रारम्भिक रिपोर्टबारे जानकार छौं र थप जानकारी संकलन गरिरहेका छौं।'
यो दुर्घटना यस्तो बेला भएको छ, जब बोइङ कम्पनी आफ्नो ७३७ म्याक्स विमानका दुई घातक दुर्घटनालाई लिएर कानुनी समस्या भोगिरहेको छ। ती दुर्घटना सन् २०१८ र २०१९ मा भएका थिए। यसमा ३४६ जनाको मृत्यु भएको थियो।
गत महिना बोइङ कम्पनीले ती दुर्घटनाका लागि आफूलाई दोषी नठहर्याउने सर्तमा अमेरिकी न्याय मन्त्रालयसँग सम्झौता गरेको थियो।
उक्त सम्झौताअनुसार बोइङले जरिवाना तिर्नुका साथै पीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउनुपर्नेछ। सुरक्षा तथा गुणस्तर सुधार कार्यक्रममा लगानी गर्नुपर्नेछ। यो सम्झौता अदालतबाट स्वीकृत हुन बाँकी छ। जहाज दुर्घटनाका धेरै पीडित परिवारले यसको विरोध गरिरहेका छन्।
यति मात्र होइन, बोइङले पछिल्ला दिन अरू सुरक्षा समस्याहरू पनि भोगेको छ।
सन् २०२४ जनवरीमा अलास्का एयरलाइन्सको एक उडानमा बोइङ-७३७ म्याक्स ९ जहाजमा प्वाल परेर यात्रुहरू तेज हावा सामना गर्नुपरेको थियो। त्यसै वर्ष अगस्टमा बोइङले आफ्नो जहाजको निम्ति केही प्यानल पुनः डिजाइन गर्ने भनेर नियामक निकायलाई बताएको थियो।
सन् २०२४ अप्रिलमा अमेरिकी नागरिक उड्डयन प्राधिकरणले बोइङका एक इञ्जिनियरले राखेको गुनासोमाथि अनुसन्धान गरेको थियो। ती इञ्जिनियरले ड्रिमलाइनर जहाजको गुणस्तरलाई लिएर प्राविधिक र संरचनात्मक त्रुटि औंल्याएका थिए। जहाजका केही भाग राम्रोसँग नजोडिएको र धेरै उडानपछि ती भाग टुक्रिन सक्ने बताएका थिए। अहिले गुजरातमा दुर्घटना परेको जहाज यही मोडलको हो।
बोइङले त्यति बेला भनेको थियो, 'हामीले ड्रिमलाइनरमा व्यापक परीक्षण गरेका छौं। यसले उडान सुरक्षामा खतरा नल्याउने हाम्रो निष्कर्ष छ।'
बोइङका प्रमुख कार्यकारी केली ओर्टबर्गले सन् २०२५ लाई कम्पनीको 'पुनरूत्थान वर्ष' भनेका थिए। यो वर्ष कम्पनीले अपेक्षाभन्दा राम्रो आर्थिक नतिजा सार्वजनिक गरेको थियो।
तर भारतको दुर्घटनापछि बिहीबार कम्पनीको सेयर मूल्य ८ प्रतिशतसम्म घटेको छ।
यो पनिः
भारतको जहाज दुर्घटनामा ११ए सिटका यात्रु बाँचेको पुष्टि, भने– उडेको ३० सेकेन्डमै जहाज खस्यो
बोइङ जहाजले उड्नेबित्तिकै दिएको थियो आपतकालीन सूचना
घरमा विमान खसेपछि झ्यालबाट हामफालेर ज्यान जोगाए एक डाक्टरले