प्रथम राष्ट्रपति रामवरण यादवले जेन–जी युवाहरूको आन्दोलनपछि विकासित नयाँ परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानअनुसार अघि बढ्दै निकासको बाटो पहिल्याएको बताएका छन्।
संविधान दिवस तथा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा शुक्रबार सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै प्रथम राष्ट्रपति यादवले भने, 'ठूलो राजनीतिक उथलपुथलबीच पनि संविधान सम्पूर्ण रूपमा ड्यामेज भएको छैन। संविधान पालक र राष्ट्रिय एकता सम्वर्द्धन गर्ने जिम्मेवारी राष्ट्रपतिको हो। उहाँले संविधानबाटै निकासको बाटो निकाल्नुभयो।'
'राष्ट्रपतिज्यूले रोजेको बाटो संवैधानिक छ। सरकार पनि संवैधानिक तवरबाटै बनेको छ। प्रधानमन्त्रीले राष्ट्रपतिसँग शपथ लिनुभएको छ। सर्वोच्च अदालत पनि छ। अब विधि–विधान र कानुनअनुसार सरकारले काम गर्नुपर्छ,' उनले भने, '६ महिनाभित्र चुनाव गराएपछि सबै अन्यौल हट्छन्। संविधान ट्रयाकमा आउँछ।'
उनले अहिलेको पूरा प्रक्रिया संवैधानिक छ कि छैन भन्नेतिर आफू नलाग्ने पनि बताए।
'यो प्रक्रिया संवैधानिक छ कि छैन भन्ने कुरा राजनीतिक मानिस भएकाले मैले भन्ने होइन। यो न्यायालयको विषय हो,' उनले भने, 'म यति मात्र भन्छु — राष्ट्रपतिले यो परिस्थितिलाई संविधानबाटै निकास दिनुभएको छ।'
प्रथम राष्ट्रपति यादवले आगामी दिनमा अन्तरिम प्रधानमन्त्रीले सरकारका कामकाजमा राष्ट्रपतिसँग समन्वय गर्दै जानुपर्नेमा जोड दिए।
'प्रधानमन्त्रीले राष्ट्रपतिसँग सरसल्लाह गर्ने वैधानिक बाटोमा हामी छौं,' उनले भने, 'यसलाई अबका दिनमा पनि पालना गरिनुपर्छ।'
उनले भ्रष्टाचारमा शून्य सहनशिलता, सुशासन, शिक्षा, रोजगारी र स्वास्थ्यमा जनताको पहुँच हुने गरी युवा पुस्ताको चाहनाअनुसार अघि बढ्नुपर्ने बताए।
'युवा पुस्ताले आन्दोलन गरेको छ। उनीहरू लोकतन्त्रमा जनताको मत लिएर प्रतिनिधि भएर आउनुपर्छ। सरकारले फागुन २१ का लागि प्रतिनिधिसभा चुनाव घोषणा पनि गरेको छ। हामी यही संविधानबाट अघि बढ्न सक्छौं। केही छन् भने संशोधन गर्दै जान सकिने विषय भयो,' उनले भने।
आठ दशकको संघर्षले ल्याएको यो संविधानले लोकतान्त्रिक, समावेशी र समानुपातिक व्यवस्था सुनिश्चित गरेको उनले बताए।
'यही संविधानअनुसार दुईपटक चुनाव भइसक्यो। सरकार र सुरक्षा निकायको कमजोरीले भदौ २३ को प्रदर्शनमा नरसंहार भयो। त्यसलाई जति भर्त्सना गरे पनि पुग्दैन,' उनले भने, 'कतिपयले घुसपैठ भयो भनेका छन्, त्यसमा पनि मसिनो गरी छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ।'
सर्वोच्च अदालत, सिंहदरबार, नेताका घरहरूमा आगजनी र तोडफोड हुनुले आर्थिक मेरूदण्ड र लोकतन्त्रमा प्रहार भएको प्रथम राष्ट्रपति यादव बताउँछन्।
'आर्थिक मेरूदण्ड र लोकतन्त्रमाथि प्रहार गर्ने तत्वलाई चिनेर कारबाही गर्नुपर्छ। सरकारले पनि राम्रोसँग छानबिन गरोस्, सबै कुरा जनताका सामुन्ने ल्याउनुपर्छ,' उनले भने।
सुशीला कार्की नेतृत्वको सरकारलाई सबै राजनीतिक दल तथा जेन–जी पुस्ताले संयमताका साथ सहयोग गर्नुपर्ने प्रथम राष्ट्रपति यादवको भनाइ छ।
'राष्ट्रिय एकता कायम गरी चुनावमा गएर जनताको भोटसहित प्रतिनिधि भएर आउनुपर्यो,' उनले भने, 'जनताको म्यान्डेटअनुसार संविधान समयसापेक्ष रूपमा परिमार्जन गर्दै जान सकिन्छ।'
उनले अहिलेको सरकारले पनि सबैलाई समेट्दै अघि बढ्नुपर्ने बताए।
'धेरै समय छैन, ६ महिनामा चुनाव गर्ने भनिएको छ। सरकारले सबैलाई समेट्दै जानुपर्छ। राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्छ। सबै मिलेर संविधान बचाएर जानुपर्छ,' उनले भने, 'लोकतन्त्रकै बाटो हिँडौं।'
राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधानमा धारा ७६ अनुसार सरकार गठनको व्यवस्था भए पनि राष्ट्रपतिले दलहरूसँगको संवादमा धारा ६१ अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले भदौ २८ गते विज्ञप्ति निकालेर 'कठिन प्रयत्नपश्चात शान्तिपूर्ण निकास निस्किएको' उल्लेख गरेका थिए।
उनले 'बडो जुक्तिले प्राप्त अवसर सदुपयोग गर्दै जनता रिझाउने र आफैमा सम्हालिँदै फागुन २१ को चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न' दलहरूलाई भनेका थिए।