आङ थार्के शेर्पा पर्वतारोहणमा लाग्दा नेपालका हिमाल आरोहणका लागि खुला गरिएको थिएन। उनी भारतमा हिमाल आरोहण अभ्यास गर्थे। सिजनमा भारतका हिमाल जान्थे। अफ सिजनमा सोलुखुम्बू घर फर्किन्थे।
आङ थार्केका भतिज, पर्वतारोही आङ छिरिङ शेर्पाका अनुसार सन् १९३५ अघिदेखि नै आङ थार्के भारतका विभिन्न हिमाल आरोहणका मुख्य सहयोगी बनेका थिए। हिमाल आरोहणमा लागेका पहिलो शेर्पा पर्वतारोही पनि उनी नै थिए। उनले नै शेर्पा समुदायलाई आरोहणमा संलग्न गर्दै लगेका थिए।
'आङ थार्के शेर्पाले नै हामी शेर्पालाई हिमाल आरोहणमा लगाउनुभएको थियो,' उनले भने, 'उहाँले गर्दा नै हामी शेर्पाहरू हिमाल आरोहणमा लाग्न थालेका हौं।'
त्यति बेला भारतमा ब्रिटिस शासन थियो। हिमाल आरोहण गर्न बेलायत, फ्रान्स, न्युजिल्यान्ड, स्पेन लगायत देशका आरोही भारत आउँथे। अधिकांश आरोहण दलले मुख्य सहयोगीका रूपमा नेपाली युवा आङ थार्केलाई रोज्थे।
आङ थार्के पर्वतारोही लिएर भारतका हिमाल चढिरहँदा नेपालमा हिमाल आरोहण प्रतिबन्धित थियो। त्यति बेला नेपालमा राणा शासन थियो। विदेशी पर्वतारोहीलाई नेपाल आउन सजिलो थिएन।
राणा सरकारले सन् १९४९ मा नेपालका हिमाल आरोहणका लागि खुला गर्यो। त्यसपछि नै विदेशी आरोहीहरूले नेपालका हिमाल पैतालाले नाप्न पाएका थिए। त्यति बेला युरोपमा हिमाल आरोहणको 'म्याराथन' चलिरहेको थियो।
युरोपका आरोहीले भारत र अन्य देशका ८ हजार मिटरभन्दा कम उचाइका हिमाल आरोहण गरे पनि कसैले ८ हजार मिटर अग्लो हिमाल चढ्न सकेका थिएनन्। विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ वटा त नेपालमै छन्।
८ हजार मिटरभन्दा माथि पाइला राख्ने होडमा फ्रान्सका पर्वतारोही मौरिस हर्जोग र लुई लचेनले बाजी मारे। उनीहरूले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम (८०९१ मिटर) चढेर आरोहणको इतिहास रचे।

भारतमा पर्वतारोहण गर्दा आरोहीहरूबीच ख्याति कमाएका आङ थार्के नै हर्जोग नेतृत्वको फ्रान्सेली आरोहण दलका मुख्य सहयोगी बनेका थिए। हर्जोगले उनलाई रोज्नुका पछाडि आङ थार्केको साहस, समर्पण र सहयोग मुख्य कारण थियो। हिमालमा बाटो बनाउनेदेखि आरोहणका अनेक उपाय निकाल्न आङ थार्के खप्पिस थिए।
त्यही कारण हर्जोगको छनोटमा आङ थार्के परेका थिए।
हर्जोग नेतृत्वको टोलीले ८ हजार मिटरभन्दा अग्लो हिमाल चढेको खबरले विश्वभर सनसनी मच्चायो। मान्छेले विजय प्राप्त गर्न बाँकी ठाउँ नरहेको सन्देश गयो। यो सफलतामा फ्रान्सले राष्ट्रिय विजय उत्सव मनायो।
अन्नपूर्ण आरोहण गरेर फर्किएपछि हर्जोगले 'अन्नपूर्णः प्रिमियर ८०००' लेखे। फ्रान्सेली भाषामा लेखिएको किताब अंग्रेजीमा अनुवाद भएपछि विश्वभर चर्चित बन्यो। किताबमा उनले आफ्ना सफलताका पछाडि आङ थार्के शेर्पाको योगदानको मुक्त कण्ठले प्रशंसा गरेका छन्। उनले नेपाली शेर्पालाई 'सहयोगी, साहसी र थकानविहीन जीवनरक्षक' भनेका छन्।
'शेर्पाहरू अद्भूत थिए। उनीहरूको साहस, थकानविहीन समर्पण बिना न हामी शिखरमा पुग्न सक्थ्यौं, न त जिउँदै फर्कन सक्थ्यौं,' हर्जोगले अन्नपूर्णमा लेखेका छन्।
हर्जोगको टोलीमा फ्रान्सेली आरोही र नेपाली सहयोगीमध्ये मुख्य सहयोगी आङ थार्के थिए भने अन्य सहयोगीमा दावा तेन्जिङ शेर्पा, बोधी शेर्पा, पासाङ शेर्पा लगायत थिए।

अन्नपूर्ण आरोहणको त्यो ऐतिहासिक सफलताका एक जना सहयोगी दावा तेन्जिङ शेर्पा अहिले पनि जीवित छन्। आङ छिरिङका अनुसार दावा १०५ वर्षभन्दा बढी उमेर पुगेका छन्। उनी हाल बेलायतमा बस्छन्।
पर्वतारोहणमा लागेका पहिलो शेर्पा आङ थार्केका भतिज पर्छन् आङ छिरिङ। उनकी हजुरआमा र आङ थार्केका आमा दिदीबहिनी हुन्। आङ छिरिङ काठमाडौं पढ्न आउँदा आङ थार्केकै घरमा बसेका थिए।
अन्नपूर्ण आरोहणका बारेमा आङ थार्केले सुनाएका कथा अहिले पनि आङ छिरिङको कानमा गुञ्जिरहन्छ।
उनका अनुसार, मौरिस हर्जोग र लुई लचेन अन्नपूर्ण चुचुरामा पुगे पनि लचेन छिट्टै क्याम्प फर्किए। हर्जोग भने अत्यन्त उत्साहित भएर चुचुरामै रमाएर फोटो खिचिरहेका थिए। जुन दृश्य आङ थार्केले क्याम्प ४ बाट हेरेका थिए।
'हर्जोग एकदम उत्साहित हुनुभएको थियो रे। चुचुरोमा रमाएर करिब एक घण्टा बिताउनुभयो भनेर मलाई काकाले भन्नुभएको थियो,' आङ छिरिङले सेतोपाटीलाई भने।
विश्वमै ८ हजार मिटरभन्दा माथिको शिखरमा मान्छेले पाइला राखेको सफलताको मूल्यस्वरूप हर्जोगले हात र खुट्टा गुमाए। उनी तल झर्न नसक्ने भए।
आङ थार्केले नै हर्जोगलाई बोकेर तल झार्ने योजना बनाए। नेपाली सहयोगीहरूले पालैपालो बोके। ८ हजार मिटर अग्लो हिमालमा चलेको हिमआँधीमा हर्जोगलाई बोकेर तल झारियो। अन्ततः उनी सकुशल फर्किए। हातखुट्टाको केही भाग भने हिउँले खायो।
अन्नपूर्ण आरोहणपछि मौरिस हर्जोग
हर्जोगले आफूलाई बोकेर झारिएको कुरा पनि किताबमा लेखेका छन्, 'अन्नपूर्णका वास्तविक नायकहरू, जसले आफ्नै दाजुभाइ सम्झेर हामीलाई बोकेर झारे।'
पर्वतारोहणको दुनियामा हर्जोगको अन्नपूर्ण किताबको अंग्रेजी संस्करण एक करोड वटाभन्दा बढी बिक्री भएको मानिन्छ। यो किताब अमेरिकी अखबार 'द न्यूयोर्क टाइम्स' को 'नम्बर वान बेस्ट सेलर' पनि बनेको थियो।
यही किताबले नेपाललाई पर्वतारोहणको केन्द्र बनायो। हिमाल वरपर पदयात्रा पर्यटनको विकास भयो। नेपाल नचिनेका पाठकहरूले पनि अन्नपूर्ण हिमालमार्फत नेपाल चिने।
किताबले नेपाली संस्कृतिलाई, सहयोगी भावना, समर्पण र तत्कालीन राजनीति समेत विश्व सामु पस्कियो। राणा शासनमा अनुमति लिँदाको प्रक्रिया र आरोहणबाट फर्किँदासम्मका कथा किताबमा छन्।
हर्जोगसँगै अन्नपूर्ण चढेर आङ थार्केलाई पनि ८ हजार मिटर अग्लो हिमाल चढ्ने कीर्तिमान कायम गर्ने अवसर थियो। तर चुचुरो नजिकै पुगेर पनि उनले पाइला राखेनन्।
क्याम्प ४ मा पुगेपछि हर्जोगले उनलाई पनि चुचुरो चुम्न प्रस्ताव गरेका थिए। उनले खुट्टा दुखेको भन्दै अस्वीकार गरे। आङ थार्केले क्याम्प ४ मै बसेर हर्जोग र लचेनलाई पर्खिने बताएका थिए।
'भोलि ८ हजार मिटरमाथि चुचुरोमा पुग्न आङ थार्के मात्र योग्य छन्,' हर्जोगको प्रस्तावमा उनले भनेका रहेछन्, 'धेरै धन्यवाद साहेब। मेरा खुट्टा जम्न थालेका छन्, म क्याम्प ४ मा फर्किन चाहन्छु।'
आङ छिरिङका अनुसार, आङ थार्केले चुचुरोमा पाइला नराख्नुको कारण धार्मिक विश्वास थियो।
'हामी शेर्पाहरू हिमाललाई देउता मान्छौं। देउताको शिरमा पाइला राख्न हुँदैन भनेर काका चुचुरोमा जानुभएन,' उनले भने।
उनका अनुसार हर्जोगको टोली प्रारम्भमा धौलागिरि (८१६७ मिटर) चढ्न आएको थियो। भरपर्दो नक्सा थिएन। बाटो थाहा नपाएर टुकुचे पुगेर लामा गुरूसँग सोध्दा, गुरुले पूर्वतिर जान भनेपछि अन्नपूर्ण पुगिएको थियो।
'लामा गुरूले पूर्वतिर जानु भनेपछि अन्नपूर्ण हिमालतिर पुगियो भनेर काकाले भन्नुभएको थियो,' आङ छिरिङले भने।
आङ थार्के शेर्पाका नाममा औपचारिक रेकर्ड छैन। तर उनलाई पर्वतारोहीहरूले 'पर्वतारोहणका पिता' मान्छन्। उनैले सिंगो शेर्पा समुदायलाई पर्वतारोहणमा संलग्न गराएको आङ छिरिङ बताउँछन्।
तेन्जिङ नोर्गे शेर्पालाई पनि सगरमाथा आरोहण गर्न न्युजिल्यान्डबाट आएका एडमन्ड हिलारीको टोलीमा आङ थार्केले नै सिफारिस गरेका थिए। उनीहरूको आरोहण सफल भयो। इतिहास बन्यो।
'तेन्जिङ नोर्गेलाई आरोहणमा लगाउने काम काकाकै थियो,' आङ छिरिङले भने, 'उहाँहरू घनिष्ठ साथी भए पनि काका मातहतमै काम गर्नुभएको थियो।'
एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सन् १९५३ मे २९ मा सगरमाथा चढेर इतिहास बनाए।
आङ थार्केले आफू संलग्न भएका सबै आरोहण दलमा सबैको मन जितेका थिए। विविध देशका आरोहीहरूले उनलाई साहसी, समर्पित, सहयोगी र समस्यामा विकल्प खोज्न सक्ने व्यक्ति भएको लेखेका छन्।
सन् १९५१ मा सगरमाथा अन्वेषणमा गएका बेलायती आरोही माइकल वार्डले 'द ग्रेट आङ थार्के' शीर्षकको लेख लेखेका छन्। सन १९९६ मा अल्पाइन जर्नलमा छापिएको सो लेखमा उनले आफ्नो टोलीलाई तिब्बत प्रशासनले पक्राउ गर्दा आङ थार्केले पैसा तिरेर छुटाएको उल्लेख गरेका छन्।
'हामीलाई नियन्त्रणमा लिएपछि आङ थार्केले ७ रूपैयाँ बुझाएर छुटाएका थिए,' उनले लेखेका छन्।
सन् १९०७ मा सोलुखुम्बूमा जन्मिएका आङ थार्के १२ वर्षको उमेरदेखि पर्वतारोहणमा लागेका थिए। उनले दार्जिलिङ र काठमाडौंमा ट्रेकिङ तथा पर्वतारोहण कम्पनी चलाएका थिए।
अन्नपूर्णभन्दा पहिले उनी जर्मन टोलीसँग कञ्चनजंघा आरोहणमा सामेल थिए। त्यो आरोहण असफल भयो। त्यसपछि उनले बेलायती एरिक सिप्टन नेतृत्वको सगरमाथा टोलीमा काम गरे। टोली ८२०० मिटर पुगे पनि चुचुरो चुम्न सकेन।
उनी संलग्न आरोहण दलले सफलता पाउँदा होस् वा असफलता भोग्दा, आङ थार्केको योगदान भने बिर्सिएका छैनन्।
आङ थार्केसँग आङ छिरिङका व्यक्तिगत सम्झना पनि छन्।
'काकाले शेर्पा डाक्टर कोही छैन, तिमी डाक्टर पढ भनेर मलाई काठमाडौंमा राख्नुभएको थियो,' आङ छिरिङले भने।
आइएससीपछि स्नातकोत्तर पढ्न भारत गएका उनी गर्मीका कारण बिरामी नै परे। अनि त पढाइ अधुरै छाडेर फर्किए र पर्वतारोहणमा लागे।
'हिमाल गइरहँदा पनि काकाले पढाइ पूरा गर भन्नुहुन्थ्यो,' उनले भने, 'तर मैले पर्यटन र पर्वतारोहणमै लाग्छु भनेँ।'
काकाले दिएको जीवन उपयोगी 'टिप्स' उनले जीवनभर पालन गरे।
'पर्वतारोहणमा इमानदार हुनुपर्छ। हिमाल चढ्न आएकालाई त्यसै छोड्न हुँदैन। धोका दिन हुँदैन। आत्तिनु हुँदैन। धैर्य गर्नुपर्छ। काकाले भनेका यी कुरा सधैं सम्झिन्छु,' उनले भने।
आफू मात्र नभई सिंगो शेर्पा समुदायलाई पर्वतारोहणमा जोड्ने आङ थार्केको निधन सन् १९८१ जुलाई २८ मा काठमाडौंमा भएको थियो।