सहिदको कथा
भगवती बलामी श्रेष्ठको दिन घरधन्दा र खेतबारीमा काम गरेर बित्छ। जब रात पर्छ, छोरा शुभराज बलामी कतैबाट टुप्लुक्क आइपुग्छन् कि भनेर बाटो हेरेर बस्छिन्।
दिनभर जहाँ पुगे पनि राति आठ/नौ बजेसम्म शुभराज घर फर्किन्थे। त्यही झझल्को भगवतीलाई आज पनि आइरहन्छ।
तर शुभराज कहिल्यै नआउने गरी भदौ २४ गते जेनजी आन्दोलनमा अस्ताइसकेका छन्।
यो कुरा भगवतीको मनले अझै मानेको छैन।
'प्रायः साथीहरूसँग हिँडिरहन्थ्यो। दिनभर जहाँ पुगे पनि राति ढिलोमा ९ बजेसम्म आइपुग्थ्यो,' भगवतीले भनिन्, 'तपाईं एक्लै हुनुहुन्छ, त्यसैले बाहिर बस्न मन लाग्दैन भन्दै घर आउँथ्यो।'
उनले थपिन्, 'त्यो दिन पनि म साँझ ७ बजेतिर आइपुग्छु भन्थ्यो। तर अहिलेसम्म आएन।'
नुवाकोटको ककनी गाउँपालिका–१ स्थायी घर भएका २८ वर्षीय शुभराज भदौ २३ गते आन्दोलनमा गएका थिए। त्यस दिन साँझ ७ बजेतिर घर आइपुगेका थिए। दिनभर आन्दोलनमा भएका घटना भगवतीलाई सुनाएका पनि थिए।
दिनभरका घटना सुनेपछि भगवतीले यस्तो आन्दोलनमा जानु हुँदैन भनेकी थिइन्।
दोस्रो दिन, भदौ २४ गते बिहान १० बजेतिर आमाछोरा सँगै बसेर खाना खाए। साढे १० बजेपछि साथीहरूले बोलाएका छन् भन्दै शुभराज घरबाट निस्किए।
भगवतीलाई अघिल्लो दिन धेरै मान्छे मारिएको खबर थाहा थियो। त्यसैले दोस्रो दिन नजान आग्रह गरिन्।
'प्रहरीले गोली हानेर मान्छे मारिरहेको छ, नजाऊ भनेकी थिएँ। तर मानेन,' भगवतीले भनिन्, 'साँझ छिट्टै आइहाल्छु, मेरो काम पनि छ भनेर बिहान साढे १० बजेतिर निस्किएको थियो।'
छोरा निस्किएपछि भगवती घरधन्दा र खेतबारीको काममा व्यस्त भइन्। तर त्यो दिन शुभराज घर फर्किएनन्।
उनी रातभर छोराको बाटो हेरेर बसिरहिन्। वरपर कोही हिँडेको आवाज आउनासाथ छोरा आयो कि भनेर झ्यालबाट बाटोतिर हेर्थिन्। यसरी नै उनको रात बित्यो।
२५ गते बिहानसम्म नआएपछि शुभराजका साथीहरू र आफन्तहरूकहाँ सोधपुछ गरिन्। तर शुभराज छन् भन्ने खबर कतैबाट पनि पाइएन।
'बहिनीहरूको बिहे भएदेखि म एक्लै हुन्छु भनेर कतै गएर बस्दैन थियो,' उनले भनिन्, 'भोलिपल्ट बिहानसम्म नआएपछि मुटुले ठाउँ छोड्यो।'
उनले दिनभर खोज्न कतै बाँकी राखिनन्। अघिल्लो दिन नआए पनि भोलिपल्ट समयमै आइपुग्छ कि भन्ने आसमा साँझ ७ बजे भान्सामा छिरेकी थिइन्।
त्यही बेला छिमेकीले फोन गरे।
'टिकटकको एउटा भिडिओमा शुभराजजस्तै देखिएको छ। हेर्न आउनुहोस्,' भगवतीले सुनाइन्, 'त्यति सुन्नासाथ दौडिएर १० मिनेटको बाटो चार/पाँच मिनेटमै पुगेकी थिएँ। छोरा नै रहेछ।'
उनले भिडिओ पटक पटक हेरिरहिन्। शुभराजले अघिल्लो दिन बिहान लगाएर निस्किएको लुगामा रगतका दागबाहेक अरू केही फरक देखिनन्।
छोरालाई गोली लागेको भन्ने थाहा पाएपछि उनले छिमेकीहरूलाई खोजिदिन गुहार गरिन्। बुझ्दै जाँदा वीर अस्पतालमा छोराको उपचार भइरहेको थाहा पाइन्।
'त्यही राति अस्पताल आउन सकिएन। भोलिपल्ट जाँदा भेन्टिलेटरमा राखिएको थियो,' उनले भनिन्, 'आवाज नै सुन्न नपाई उपचारकै क्रममा अस्पतालले शनिबार (भदौ २८) मृत घोषित गरिदियो।'
त्यसपछि दुई दिनसम्म के के भयो भन्ने भगवतीलाई केही याद छैन। छोरा संसारमा रहेन भन्ने कुरा स्वीकारेर उनले आफूलाई सम्हाल्न सकिनन्।
शुभराजलाई बालाजु प्रहरी वृत्त तोडफोडका क्रममा प्रहरीले चलाएको गोली लागेको भन्ने उनले सुनेकी छन्। त्यसबाहेक आफूलाई केही थाहा नभएको उनी बताउँछिन्।
भगवती शुभराजकै सहारामा बाँचिरहेकी थिइन्।
भगवतीका श्रीमान १०/११ वर्षदेखि परिवारको सम्पर्कमा छैनन्। कहाँ छन्, के अवस्था छ भन्ने थाहा छैन। दुई छोरी र एक छोरा शुभराजको जिम्मेवारी उनकै काँधमा थियो। दुःख गरेर हुर्काएकी थिइन्।
दुई छोरीको बिहेपछि घरमा आमाछोरा मात्र थिए। दुवै मिलेर खेतबारीको काम गर्थे।
शुभराजले कक्षा ७ सम्म गाउँमै पढेका थिए। त्यसपछि थप पढ्न मानेनन्। पाँच–सात महिनायता मलेसिया जाने तयारी पनि गरिरहेका थिए।
'विदेश गएर दुई–चार पैसा कमाएर स्वदेशमै व्यवसाय गर्छु, तपाईंलाई खेतबारीको काम लगाउँदिनँ भन्थ्यो,' उनले भनिन्।
एक्लो सहारा शुभराजको मृत्यु भएपछि भगवती एक्ली भएकी छन्। छोरीहरू कहिलेकाहीँ आउँछन्, जान्छन्। साँझ परेपछि एक्लै बसिरहनुपर्दा उनको मन झन् अत्तालिन्छ।
'खेतबारीको काम सधैं हुँदैन। बोलचाल गर्न छिमेकीहरू सधैं हुँदैनन्। घरमा एक्लै बसिरहन मन लाग्दैन,' उनले भनिन्, 'अब छोरा फर्किएर आउँदैन। मन भुलाउने बाटो पनि छैन। बरू कतै जागिर पाए हुन्थ्यो।'
उनको चाहना छ— छोराहरूले जुन माग राखेर ज्यान गुमाउनुपर्यो, त्यो पूरा होस्! छोरा गुमाएका आमाहरूलाई सरकारले निःशुल्क स्वास्थ्य सेवा दिओस् र हेरचाह गरिदिओस्!
'मेरो छोरा जस्तै ज्यान गुमाएका नानीबाबुका आमाहरूलाई सरकारले हेरिदिओस्,' ४५ वर्षीया भगवतीले भनिन्, 'हामी आमाहरू उनीहरूकै अनुहार हेरेर बाँचेका थियौं। अब बाँच्न गाह्रो भइरहेको छ।'
***