घोरेपानी–पुनहिल पदयात्रा गरेर फर्किएका योगेन्द्र थापाले हिमाल देखेनन्। खोलानाला, झरना र चराचुरुंगीका आवाज पनि सुनेनन्। लालीगुराँसको जंगलमा ढकमक्क फुलेका गुराँसका दृश्य पनि देखेनन्।
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह पढ्दै गरेका योगेन्द्रले हिमाल, पहाड र लालीगुराँसका दृश्य मनको क्यानभासमा उतारे। अनेक चराका चिरबिर र झरनाका झरझर पनि मनमै संगीतबद्ध गरे।
‘आँखाले नदेखेर के भो र! त्यहाँको चिसोपानी, रनवन, वातावरण र बाटोघाटो अनुभव त गर्न सकें,’ उनले आफ्नो संवाद शैलीमा भने, ‘आँखाले नदेखेको हिमाल पनि यस्तो छ भनेर मनमै चित्र बनेको छ। मनको आँखाले सबै देख्न सक्छ, अनुभव गर्न सक्छ।’
योगेन्द्रको आँखामा दृष्टि छैन। कान पनि कमजोर छ, राम्ररी सुन्दैनन्।। कसैले केही सुनाउन चर्को स्वरमा भन्नुपर्छ वा छामेर इशारा दिनुपर्छ। उनी यस्तैमा अभ्यस्त छन्।
पहाड र हिमालबारे उनले आफ्नो अनुभव सुनाए, ‘पहाड विशाल हुन्छ। ठूल्ठूला ढुंगा हुन्छन्। हिउँ छुँदा त्यसको चिसो मनमै गढेको छ। अग्लाअग्ला हिमाल हिउँले छोपिएर सेताम्मे भएको मेरो मनले देखेको छ।’
चितवनको इच्छाकामना गाउँपालिका–७ का स्थायी बासिन्दा योगेन्द्र फागुन २० गते पोखराबाट पाँच दिवसीय पदयात्रामा निस्किएका थिए। उनी पहिलो दिन वनठाँटीमा बास बसे। दोस्रो दिन घोरेपानी पुगे।
तेस्रो दिन बिहान चार बजे उठेर पुनहिल उक्लिए। त्यहाँबाट देखिने धौलागिरि र अन्नपूर्ण हिमशृंखला मनले अनुभव गरे।
योगेन्द्र आफ्ना सहयोगीका साथमा थिए। सहयोगीले बाटोका दृश्य बयान गरिदिए। उनले त्यही बयानअनुसारका चित्र आफ्नो मनको क्यानभासमा कोरे। हिमाल छोएर आएको चिसो हावाको झोक्का अनुभव गरे। त्यही चिसोमा हिउँले ढाकिएका हिमाल अनुभूत गरे।
उनले भने, ‘मेरा सहयोगीले हिमालको बयान गरिदिनुभयो। चिसो हावा चलेको थियो। बाटोमा हिउँ पनि छुन पाइएको थियो। मैले मनमा हिमाल महसुस गरें।’
पदयात्रा गर्न होस् कि अध्ययन–अनुसन्धान लागि होस्, उनी आफ्नो स्मार्ट फोनबाट गुगलमा खोजी गर्छन्। गुगलले बाटो बताइदिन्छ, हिमालको व्याख्या गरिदिन्छ।
उनका मनमा उठ्ने धेरैजसो जिज्ञासाको जबाफ गुगलले नै दिन्छ।
यही पदयात्रामा सहयात्री थिइन् आशा गुरुङ। चराजस्तै उड्न मन लागेर पदयात्रामा निस्किएको उनले बताइन्। पदयात्रा गरेकोमा उनी निकै खुसी थिइन्।
‘आँखा नदेख्ने भनेर हामी घरभित्र मात्र बसिरहने होइन, अरू व्यक्ति जस्तै हामी पनि यात्रा गर्छौं,’ उनले भनिन्, ‘हामी पनि चराजस्तै उड्न पाउँछौं भनेर पदयात्रामा आयौं। हाम्रो सिकाइ, भोगाइ र बुझाइ धेरै राम्रो भयो।’
उनले पनि पुनहिलमा हिमालबाट आएको चिसो हावाको झोक्का अनुभव गरिन्। त्यही हावाले उनको सारा थकान मेटाइदियो।
उनका अनुसार अपांगता भएका व्यक्तिका लागि यस्तो अवसर महत्त्वपूर्ण हुन्छ। अरू व्यक्तिले जस्तै अपांगता भएका व्यक्तिले पनि जुनसुकै क्षेत्रमा काम गर्न सक्छन्। ।
‘बिहान पुनहिलको चिसो हावाले हाम्रो सबै दुःख मेटाइदियो। त्यो क्षण मेरो स्मरणमा रहिरहने छ,’ उनले भनिन्, ‘हामी अपांगता भएका व्यक्तिका लागि यात्राको यस्तो अवसर एकदमै महत्त्वपूर्ण हुन्छ।’
आशा ‘श्रवण दृष्टिविहीन संघ’ कोषाध्यक्ष हुन्।


समूहमा अर्का पदयात्री थिए तराईमा जन्मेहुर्केका दीपक कहर। उनमा श्रवण र दृष्टि दुबै छैन। उनले आफ्नो शैलीमा यात्राको वर्णन गरे, ‘मेरा सहयोगीले दृश्य वर्णन गर्दा मेरो मनमा त्यसको चित्र बस्यो। यो पदयात्रा मेरो जिन्दगीको भुल्नै नसक्ने समय हो।’
यो पदयात्रामा नेपाली मात्र थिएनन्। भारत, बंगलादेश, जर्मनी, स्पेन, डेनमार्क, नेदरल्यान्ड र अस्ट्रेलियाबाट आएका अपांगता भएका व्यक्तिहरू पनि थिए।
उनीहरू सबैको अपांगता एकै किसिमको थिएन। कसैको श्रवण थिएन त कसैको दृष्टि। कोही वाक्य नभएका थिए। श्रवण र दृष्टि दुबै नभएका पनि थिए।
पदयात्रामा अपांगता भएका २० जना, तिनका सहयोगी र गाइड (पथप्रदर्शक) सहित ६० जना सहभागी थिए।
भारतीय पदयात्री श्रुतिलता दृष्टिविहीन थिइन्। उनले पदयात्राको अनुभव सुनाइन्। उकाली–ओह्रालीमा सहयोगीका साथ सचेत भएर हिँड्नु परे पनि सुखद् अनुभूति भएको उनले बताइन्।
‘सबैसरह पढ्न पाउनु, पदयात्रा गर्न पाउनु, मनोरञ्जन गर्न पाउनु, खेलकुदमा भाग लिन पाउनु अपांगता भएका व्यक्तिको अधिकार हो,’ उनले भनिन्, ‘सबै क्षेत्रमा सबैलाई समान पहुँच हुनुपर्छ।’
आँखाले नदेखे पनि पदयात्राको सिंगो प्राकृतिक वातावरण अनुभव गरेको र हिमालको दृश्य मनमा कैद गरेको उनले बताइन्।
‘हिमाल यस्तो छ भनेर सहयोगीले बताइदिनुभयो। हातले छोएर हिउँ अनुभव गर्यौं,’ उनले भनिन्, ‘आँखाले मात्र देखेर मात्र सबै अनुभव हुन्छ भन्ने होइन। नदेखेरै पनि धेरै अनुभव गर्न र सिक्न सकिन्छ। पदयात्रामा अत्यन्तै रमाइलो र फरक अनुभव भयो।’
अर्की पदयात्री थिइन् अस्ट्रेलियाकी मेरिडेथ प्रेन। उनका आँखा कमजोर छन्। पदयात्रामा निकै कठिनाइ भए पनि धेरै रमाइलो भएको उनले बताइन्।
‘पुनहिल पुग्दा हिमाल नै चढेको जस्तो भयो। वरिपरि हिमाल भएको पहाडको टुप्पोमा पुग्दा मलाई सगरमाथाको उचाइमा पुगेको अनुभव भयो,’ उनले भनिन्, ‘पहिलोपटक हिमालको नजिक पुग्न पाएँ। सबै दृश्य सहयोगीले बताइदिनुभयो।’
श्रवण र दृष्टि दुबै नभएका व्यक्तिसँग छुवाइको माध्यमबाट संवाद हुन्छ।
राष्ट्रिय बहिरा महासंघ नेपालका परियोजना संयोजक शंकरसिंह चैसिरका अनुसार यस्तो जटिल अपांगता भएका व्यक्तिसँग छोएर संवाद र सञ्चार गर्ने तरिका हुन्छ।
‘मानिसले आँखा, कान, नाक, जिब्रो र छाला गरी पाँच वटा इन्द्रियका माध्यमबाट वातावरण र त्यसको परिवर्तन थाहा पाउँछ। एउटा इन्द्रियले काम नगरे अर्को सक्रिय हुन्छ,’ उनी भन्छन्, ‘आँखा र कानले काम गरेन भने छालाले काम गर्छ। सञ्चारको जुन माध्यम सजिलो हुन्छ त्यही प्रयोग गर्न सकिन्छ।’
समूहमा जर्मनीकी आना पनि थिइन्। उनी आपंगता भएकी व्यक्ति होइनन् तर आफ्नो देशमा अपांगता भएका बालबालिकासँग काम गर्छिन्।
उनले पदयात्राका क्रममा नेपालीहरूले असाध्यै सम्मान दिएको बताइन्।
‘आँखा नदेख्ने, कान नसुन्ने वा अन्य अपांगता भएका व्यक्तिहरू लामो पदयात्रामा देखेको भनेर स्थानीयवासीले धेरै सम्मान गरे। सम्मानले हामी खुसी भयौं,’ उनले भनिन्, ‘स्थानीय मानिसहरूले जटिल अपांगता भएका व्यक्तिहरू अप्ठ्यारो पदयात्रा पनि गर्न सक्दा रहेछन्, अवसर सबैलाई चाहिने रहेछ भन्ने महसुस गरे।’
शंकरसिंह राष्ट्रिय बहिरा महासंघ नेपालले चलाएको ‘श्रवण दृष्टिविहीन बालबालिकाका लागि समावेशी शिक्षा परियोजना’ का संयोजक हुन्। यस किसिमको पदयात्रा तीन वर्षअघि सुरु भएको उनले बताए।
उनका अनुसार ‘श्रवण दृष्टिविहीन’ को पदयात्रा सन् २०२२ मा पोखराबाट अस्ट्रेलियन क्याम्पसम्म भएको थियो। त्यो अनुभव निकै सुखद रह्यो, पदयात्रीहरू खुसी भए। पदयात्रा कार्यक्रम बहुआयामिकरूपमा प्रभावकारी देखियो।


अर्को पदयात्रा सन् २०२३ मा पोखराबाट घान्द्रकु, छोमरोङ, र लान्द्रुक हुँदै धम्पुससम्मको थियो।
हालै पोखरामा ‘श्रवण दृष्टिविहीन’ अपांगता भएका व्यक्तिहरूको तीन दिने कार्यशाला भएको थियो। यसपालिको पदयात्रमा सहभागी विदेशीहरू त्यही कार्यशालामा सहभागी हुन आएका थिए।
कार्यशालापछि घोरेपानी र पुनहिल हुँदै घान्द्रुकसम्मको पदयात्रा भएको हो।
शंकरसिंहले भने, ‘अपाङ्गता भएका व्यक्तिले अवसर पाउँदा जस्तो काम पनि गर्न सक्छन् भन्ने देखाउनु थियो। यसैकारण हामीले पदयात्रा आयोजना गरेका हौं।’
पदयात्रामा श्रवण र दृष्टि दुबै नभएका व्यक्तिलाई हिमाल चिनाउन विभिन्न आकृति प्रयोग गरिएको उनले बताए।
माछापुच्छ्रे हिमालको चुचुरो माछाको पुच्छरजस्तो छ भनेर बुझाउन पहिला माछाको पुच्छर चिनाउनु पर्यो। सहयोगीहरूले हातमा माछाको पुच्छरजस्तो आकृति समाउन दिएर माछापुच्छ्रे हिमाल चिनाए।
बाटोमा भेटिएका घोडा छुन लगाएर घोडा चिनाए।
दृष्टिविहीनका लागि पहाडी पदयात्रा कठिन हुन्छ। त्योभन्दा बढी कठिन ‘श्रवण दृष्टिविहीन’ का लागि हुन्छ। बाटोघाटो सबै अपांगतामैत्री (अपांगताअनुकूल) पाइने होइन।
यस्तो अवस्थामा पनि सबैले पदयात्रा पूरा गरेको र निकै खुसी भएको शंकरसिंहको भनाइ छ। पदयात्रामार्गका होटल र शौचालय अपांगतामैत्री बनाउन उनको सुझाब छ।
‘अपांगतामैत्री भनेको भौतिक पूर्वाधार मात्र होइन, व्यवहार र अरू कुरा पनि हुन्छ,’ उनी भन्छन्, ‘पूरै पदमार्गमा सिँढी हालेर अपाङ्गतामैत्री बनाऊ भन्न सकिँदैन, तर होटल र शौचालय त्यस्ता बनाउन सकिन्छ।’
