अन्नपूर्ण क्षेत्रको मुल्डे भ्यू पदमार्गको दोबाटोमा पोखराकी पर्यटन व्यवसायी रिता रेग्मी पौडेल बिहान ५ बजे उठिन्। त्यही बेला फ्रान्सेली पर्यटक इन्डिया मस्कोले रिताको हात समातेर पूर्वतर्फ दौडाइन्। अन्नपूर्ण हिमशृंखला देखाउँदै फन्को मारेर नाचिन्।
'हिमाल राम्रोसँग खुलेको रहेछ,' रिताले भनिन्, 'इन्डियाले औंलाले हिमाल देखाइन् अनि खुसीले नाचिन्।'
त्यति बेला माछापुच्छ्रेको चुचुरोमा बादलको घेरा बाँकी नै थियो। अरू हिमाल खुलिसक्दा पनि माछापुच्छ्रे पूरा खुलेको थिएन। बिस्तारै बादल फाट्दै थियो। हुस्सु र कुहिराले छोपिएका हिमाल आइतबार बिहान पूरै खुले।
बिहानै हिमाल खुलेको देखेपछि उनीहरू बास बस्ने ठाउँ दोबाटो (३४२६ मिटर) बाट मुल्डे भ्यु प्वान्ट (३६३७ मिटर) जान उकालो लागे। इन्डियाले रितालाई पनि प्रस्ताव गरिन्। अघिल्लो दिन नै पुगेको ठाउँ जान उनलाई इच्छा नभए पनि इन्डियाको आग्रह टारिनन्।
तर रिताले ढिलो गरेपछि इन्डिया आफ्नी साथी फिलिपिन डि' हेलिन र गाइड वीरू तामाङसँग उकालो लागिन्। दोबाटोबाट करिब ३० मिनेट हिँडेपछि मुल्डे भ्यु पुग्न सकिन्छ। इन्डियाको टोली सबेरै पुग्यो, रिताको केहीबेर ढिला।
गाइड वीरू तामाङसँग इन्डिया र फिलिपनि
'हामी अघिल्लो दिन नै गएका थियौं। बादल र कुहिरोले हिमाल देखिएन,' रिताले भनिन्, 'नजाने सोचेकी थिएँ, विदेशीको उत्साहले मलाई पनि जान मन लाग्यो।'
इन्डिया र फिलिपिन पहिलो पटक नेपाल आएका थिए। पदयात्रा थालेदेखि हिमाल देख्न पाएका थिएनन्। आइतबार पनि हिमाल खुल्दैन कि भन्ने चिन्ता उनीहरूलाई थियो।
'मौसम खराब भएकाले हिमाल देख्न पाइँदैन होला भन्ने सोचेका थियौं,' इन्डियाले भनिन्, 'बिहान त अद्भुत दृश्य देखियो। यो ठाउँ देख्दा आफैलाई भाग्यमानी महसुस भएको छ।'
उनले नेपालीको आतिथ्य सत्कार र मुस्कान असाध्यै मनपरेको पनि बताइन्। उनले आफ्नो नाम इन्डिया रहनुको कथा पनि गाइड वीरूलाई सुनाइन्। उनका आमाबुबाको भेट भारतमा भएको रहेछ। भेट बाक्लिँदै प्रेम बस्यो। फ्रान्स फर्किएर उनीहरूले बिहे गरे। अनि छोरीको नाम भेट भएको देशको नामबाट 'इन्डिया' राखे।
इन्डिया र फिलिपिन अन्नपूर्ण क्षेत्रको ५ दिने पदयात्रामा गएका थिए। पहिलो दिन घान्द्रुक, दोस्रो दिन टाढापानी, तेस्रो दिन दोबाटो र चौथो दिन मुल्डे भ्यु प्वाइन्ट हुँदै घोरेपानी–पुनहिल पुगे। पुनहिलबाट पोखरा फर्किए।
त्यस्तै बेलायतकी बिट्रिस जोन्स दोस्रो पटक नेपाल आएकी थिइन्। पहिलो पटक ६ वर्षअघि आएकी उनी त्यो बेला क्याम्ब्रिज विश्वविद्यालय पढ्थिन्। स्वयंसेवीका रूपमा हेलम्बु क्षेत्रको एउटा स्कुलमा दुई महिना बसिन्। रसायन शास्त्रमा विद्यावारिधि सकेर अहिले उनी अनुसन्धानकर्ताका रूपमा काम गर्छिन्।
'अहिले यो पदयात्रामा दोस्रो पटक आएकी हुँ। यी पहाड र हिमाल साँच्चै सुन्दर छन्। बादल लाग्ला भन्ने सोचेकी थिएँ, तर घाम झुल्कियो। धेरै खुसी लागेको छ,' उनले भनिन्।
१२ दिने पदयात्रामा गाइड कुसुम मिजार र सहायक अष्टलक्ष्मी बुढाले उनलाई साथ दिएका थिए। उनीहरू पोखराबाट नयाँपुल, देउपुर, नागी, खाप्रा हुँदै दोबाटो पुगे। दोबाटोमा बास बसेर आइतबार बिहान मुल्डे भ्यु प्वाइन्ट पुगेका थिए।
मुल्डेबाट उनीहरू चुइले गाउँ झरे। त्यसपछि झिनुडाँडा हुँदै पोथना पुगेर पोखरा फर्किएको गाइड कुसुमले बताइन्।
मुल्डे पदयात्रामै गएका जापानी युवाहरू हायुमा र जेन साटो हिमालबाट बादल फाट्ने दिन पर्खेर दुई दिन दोबाटोमा बसे। आइतबार बिहान हिमाल खुलेपछि मुल्डे भ्यु प्वाइन्ट पुगे। धित मरून्जेल हिमाल हेरेर फर्किए।
जेनले भने, 'मुल्डेबाट देखिएको दृश्य देखेर एकदमै रमायौं।'
ज र मार्टिन आफ्ना गाइडसँग
पोखराको महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले अन्तर्राष्ट्रिय महिला दिवसमा शुक्रबारदेखि आइतबारसम्म मुल्डे पदयात्रा गरेको थियो। नयाँ पदमार्ग प्रवर्द्धन गर्नुका साथै स्थानीय पर्यटन व्यवसायीका समस्या बुझ्नु यो कार्यक्रमको उद्देश्य थियो।
मुल्डे भ्यु पदयात्रामा नेपालीभन्दा धेरै विदेशी पदयात्री पुग्छन्। पोखराबाट तीन दिनमै पदयात्रा पूरा गर्न सकिन्छ।
मुल्डे भ्यु पार्क पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजमान गुरूङका अनुसार मुल्डेबाट खोप्रो, त्रिवेणी ताल (हिडन लेक), घोरेपानी–पुनहिल, अन्नपूर्ण आधार शिविर, उत्तर र दक्षिण लगायत पदयात्रा गर्न पनि सकिन्छ।
'छोटो पदयात्रा मुल्डेसम्म २ रात, ३ दिनको र लामो पदयात्रामा २२ दिनसम्मको रूट छ,' उनले भने।
भिडभाड नभएकाले यो पदमार्ग शान्त छ। पदमार्ग खुलाउने प्रयास पुरानो भए पनि नेपालीका लागि भने यो नयाँ रहेको राजमानले बताए।
'मुल्डे अन्नपूर्ण क्षेत्रको नयाँ पदमार्ग हो,' उनले भने, 'यहाँ पदयात्रीको भिडभाड छैन।'
पदयात्रीले सधैं नयाँ गन्तव्य खोजी गर्ने भएकाले बिस्तारै विदेशी र नेपालीहरू बढ्न थालेको उनले बताए।
मुल्डे भ्यु आउजाउ गर्न सिजन कुर्न पर्दैन। हिउँदमा हिउँ खेल्न पाइन्छ तर हिमपहिरोको जोखिम छैन। जंगलभरि रंगीचंगी लालीगुराँस फुल्छ। वर्खामा पनि वर्खेफूल, हिमाली जनावर र चराचुरूंगी देख्न सकिन्छ।
मुल्डेबाट धौलागिरि र अन्नपूर्ण शृंखलाका सबै हिमाल देखिन्छ। माछापुच्छ्रेको उत्तर-पश्चिम मोहोडा, पश्चिममा गुर्जा, टुकुचे पिक, निलगिरि, हिउँचुली, हिमालचुली हुँदै गणेश हिमालसम्म सूर्योदयको पहिलो किरण पुग्छ।
घान्द्रुकपारि चुइले गाउँका राजमान सानो छँदा बुबाहरूसँग दोबाटो हुँदै मुल्डे पुगेका थिए। मुल्डेबाट देखिने दृश्यले लोभिएका थिए।
'असार १५ मा दोबाटो–मुल्डेतिर गोठ ल्याउँथ्यौं अनि भदौ १५ मा तल गाउँतिर झार्थ्यौं,' उनले भने, 'त्यति बेला लगभग गोठाले जीवन थियो। पढाइ पनि भएन।'
मुल्डेबाट देखिने दृश्यबाट रोमाञ्चित राजमान मुल्डे भ्यु पदमार्ग खोल्न होमिए। २०५८ सालमा दोबाटोमा होटल खोल्न उनले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) सँग अनुमति मागे। गाउँमा एक्यापले गठन गरेको संरक्षण क्षेत्र व्यवस्थापन समिति र गाउँलेहरूसँग पनि प्रस्ताव राखे। पटक पटक बैठक भयो। गाउँलेहरू 'पागल भयो क्या हो' भनेर कराउँथे। एक्यापले पनि अनुमति दिएन।
'दोबाटोमा होटल खोल्छु भने गाउँलेहरूले त्यो ठाउँमा को विदेशी आउँछ भनेका थिए,' उनले भने, 'अहिले बल्ल काम गरेपछि हुँदो रहेछ भनेर विश्वास गरेका छन्।'
मुल्डे पदमार्ग निर्माण एवं प्रवर्द्धन गर्न उनले दोबाटोमा २०५८ सालमै झुप्रो बनाएर व्यवसाय सुरू गरे। माओवादी द्वन्द्व उत्कर्षमा थियो। संकटकालमा दिनहुँ बन्द, हड्ताल र भिडन्त हुन्थ्यो। पर्यटक एकदमै कम आउँथे। राजमान दिनभर पर्यटक कुरेर झुप्रोमा बस्थे। सिजनका समयमा पनि हप्तौंसम्म होटल खाली भयो।
'कहिलेकाहीँ १०/१५ दिनसम्म एक जना पनि आउँथेन,' उनले भने, 'मानवविहीन थियो मुल्डे।'
बिस्तारै उनलाई परिवारले विदेश जान दबाब दियो। मन नभए पनि उनी रोजगारीका लागि दुबई पुगे। साढे ५ वर्ष दुबईमा बिजुलीको काम गरे। माओवादी द्वन्द्व सकियो। उनी फर्किए।


२०६३ सालमा उनी फेरि मुल्डे उक्लिए। आफ्नो पुरानो छाप्रो मर्मत गरेर बस्न थाले। मुल्डेमा पर्यटक ल्याउने अभियानमा कस्सिए।
अहिले दोबाटोमा उनले माउन्ट लक्की होटल खोलेका छन्। गाउँलेहरू बोलाएर अन्नपूर्ण भ्यु प्वाइन्ट र होटल भ्यु प्वाइन्ट पनि खोल्न लगाएका छन्। दोबाटोका यी तीन होटलमा एकै रात सय जना पदयात्री बास बस्न सक्छन्।
राजमानको पहलमा पदमार्गका अन्य ठाउँमा पनि होटल खुलेका छन्।
समुद्री सतहदेखि ४४०० मिटर उचाइमा रहेको त्रिवेणी ताल (हिडन लेक) जाने पदयात्रीका लागि सुविधा दिन ४०६० मिटरमा दुइटा होटल खुलेका छन्। मेसार भन्ने ठाउँमा पनि राजमानकै पहलमा गाउँले युवाहरूले तीन वटा होटल चलाएका छन्। विदेशी पर्यटकको चहलपहल बढेसँगै स्थानीय युवाले आम्दानी गरेका छन्।
'सबभन्दा धेरै युरोपियन पर्यटक आउँछन्। पटकपटक नेपाल आएका पर्यटक पनि मुल्डे आएपछि अरू ठाउँ भन्दा शान्त र मनोरम भनेर रमाउँछन्,' उनले सुनाए।
यस्तै पर्यटक हुन् फ्रान्सेली वृद्ध दम्पती ७७ वर्षीय ज र ७२ वर्षीया मार्टिन। उनीहरूले मुल्डे भ्यु पदमार्ग शान्त र शानदार रहेको बताए।
विगत ३० वर्षदेखि नेपाल आउन थालेका ज र मार्टिन आफूहरूलाई 'बाजे–बज्यै' भन्न लगाउँछन्। अलिअलि नेपाली बोल्न सिकेका ज १५ पटक नेपाल आइसके, मार्टिन ११ पटक। उनीहरूले अन्नपूर्ण आधार शिविर, सगरमाथा आधार शिविर, चोला पास, लाङटाङ, हेलम्बु, मुस्ताङ, मनास्लु, डोल्पो, लुक्ला लगायत पदयात्रा गरिसकेका छन्। यसपटक १२ दिने मुल्डे भ्यु हुँदै खोप्रा पदयात्रा गरे। अर्को वर्ष कञ्चनजंघा पदयात्रा जाने सोचेका छन्।
'नेपाल देश धेरै मनपर्छ। यहाँका मानिसहरू ज्ञानी छन्। इमानदार छन्,' जले भने, 'नेपालीहरू मुखमा हेरेर मुस्कुराउँछन्। त्यो देख्दा साह्रै आनन्द आउँछ।'
मुल्डे भ्यु पदमार्गमा पर्यटक बढेसँगै व्यवसायीका समस्या पनि बढेका छन्।
राजमानका अनुसार पर्यटक बास बस्ने ठाउँ दोबाटोमा खानेपानी छैन। पानी ल्याउन डेढ घण्टा टाढा जानुपर्छ।
'हिँड्ने बाटो व्यवस्थित बनाउनुछ। भिरमा रेलिङ हाल्नुपर्नेछ। यी सबै काम स्थानीयको मात्र प्रयासले सम्भव हुँदैन,' राजमानले भने, 'करिब ५ किलोमिटर टाढा पानीको मूल छ, त्यहाँबाट पानी ल्याउन सरकारले सहयोग गरोस्।'


दोबाटोका होटल


त्रिवेणी ताल (हिडन लेक)
बिट्रिस जोन्स आफ्ना गाइड कुसुम मिजार र अस्टलक्ष्मी बुढासँग