दुई दशक अघिको कुरा हो, केदार थापा भर्खर १६ वर्ष टेक्दै थिए।
सिन्धुपाल्चोकको भोटेकोशीमा त्यसबेला न्युजिल्याण्डका नागरिक डेभिड एलाडाइसले 'द लास्ट रिसोर्ट' सँगै बन्जी सुरू गरेका थिए।
बन्जी खेल्न आन्तरिक र बाह्य पर्यटक आउन थाले। बाह्रबिसेका केदारका बुवा गोविन्द त्यो बेला भोटेकोशी गाविस सचिव थिए।
बन्जी खेल्न विदेशीहरूका साथमा एक दिन केदार भोटेकोशी पुगे। उनले साहसिक बन्जी खेलबारे बुझ्ने मात्र होइन त्यहीँ काम गर्ने मौकासमेत पाए।
बन्जी जम्प गरेका मानिसलाई खोलादेखि रिसोर्टसम्म पुर्याउने काम केदारको थियो। बन्जी जम्प गरेका मानिसलाई उनले अनुभव सोध्थे।
जवाफ आउँथ्यो- हाम फाल्ने बेला डर लागे पनि पछि मज्जा आउने रहेछ!
त्यो बेला बन्जीमा 'कुलिङ मेसिन' थिएन। मेसिन जोडेपछि बन्जीको डोरीसँगै मानिस माथि पुलमै तान्न सकिने भयो। अब मानिसलाई लिन खोला धाउन नपर्ने भयो। केदारले पनि यो काम छाडे।
त्यसैबेला उनका बुवाले अरनिको राजमार्गमा बस व्यवसाय सुरू गरेका थिए।
‘अरूकोमा जागिर खानुभन्दा म पनि आफ्नै व्यवसायतिर लागेँ,’ उनले भने।
एउटा बसबाट उनीहरूले व्यवसाय सुरू गरेका थिए। केही वर्षमा १० वटा बस पुर्याए। तीमध्ये दुई बस बन्जी जम्प गर्न आउने मानिसका सामानले नै भरिन्थ्यो।
उनीहरूले व्यवसायको दायरा अझै फराकिलो बनाए। बाबुछोरा मिलेर चीनबाट सामान ल्याएर बेच्न थाले। धेरै समय यो व्यवसाय चलेन। २०७२ को भूकम्पले नाका र सडक बन्द हुँदा उनीहरूको व्यवसायमा धक्का पुग्यो।
यसपछि केदारले फरक व्यवसाय गर्ने सोचे। पहिले पनि काम गरेको भएर होला, उनलाई 'एड्भेन्चर' क्षेत्रमै केही गर्न सकिन्छ भन्ने थियो। सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको थियो।
पर्यटक आउँछन् भनेर उनले जिपलाइन सञ्चालनको सोच बनाए। २०७५ फागुन १६ गते चार करोड रूपैयाँको लगानीमा काभ्रेको धुलिखेलमा जिपलाइन सञ्चालनमा ल्याए।
उनले ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिका जोड्ने गरी बागमती नदीमाथि चोभार क्षेत्रमा जिपलाइन बनाउन खोजे पनि कीर्तिपुरले अनुमति दिन आनाकानी गर्यो। तीन महिनाजति कीर्तिपुर नगरपालिका धाए पनि अनुमति नपाएपछि उनी धुलिखेल पुगेका थिए।
उनले धुलिखेल नगरपालिका वडा नम्बर ८ र पाँचखाल नगरपालिका वडा नम्बर ५ जोड्ने गरी एक हजार एक सय मिटर लामो जिपलाइन बनाए। धुलिखेलतिर टेकअफ र पाँचखालतिर ल्याण्डिङ गर्ने पोइन्टसहित जिपलाइन बन्यो र राम्रोसँग चल्यो पनि!
यसपछि उनलाई नगरकोटमा पनि जिपलाइन बनाउन मन लाग्यो। काठमाडौं आएका ९० प्रतिशत पर्यटक नगरकोट आउने उनले थाहा पाएका उनले २०७६ फागुन २७ मा जीपलाइन शिलान्यास गरेका थिए।
तर फटाफट काम नहुँदा समयमै जिपलाइन बनेन।
गत मंसिर २९ गते नगरकोटमा दुई हजार दुई सय ५० मिटर लामो जिपलाइन बन्यो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायतलाई बोलाएर जीपलाइन उद्घाटन गरिएको थियो।
भक्तपुरको चाँगुनारायण नगरपालिका-६ मा टेकअप पोइन्ट र वडा नम्बर ७ मा ल्यान्डिङ पोइन्ट छ। अहिले क्लासिक, सिंगल सुपरम्यान खेल्न मिल्ने बनाइएको छ। केही समयमा सुपरम्यानमा जोडी खेल्न मिल्ने बनाइने थापाले बताए।
सिंगल क्लासिक खेल्न प्रतिव्यक्ति चार हजार पाँच सय रूपैयाँ तोकिएको छ भने जोडी सुपरम्यान खेल्न ६ हजार रूपैयाँ शुल्क छ। केही समयसम्म २५ प्रतिशत छुट दिने तयारी रहेको उनले बताए।
प्रेमबहादुर बस्नेतसँग मिलेर उनले चार करोड रूपैयाँमा जिपलाइन चलाएका हुन्।
'जीपलाइन एक साहसिक खेल हो। सुरक्षालाई प्राथमिकतामा राखेर जीपलाइन बनाइएको छ,' उनले भने।
पर्यटकीय केन्द्र नगरकोटमा जिपलाइनसँगै नगर रानीझुला, बझिनी ड्याम, मोहन पोखरी झरना, हाइकिङ, साइकलिङ पनि छ। यी गन्तव्य प्रवर्द्धन गर्न सक्ने हो भने नगरकोटमा थप पर्यटक भित्रिने उनी बताउँछन्।
जंगल सफारी गर्न मिल्ने र स-साना भिल्ला बनाउने तयारीमा पनि उनी छन्। यसका लागि आठ करोड रूपैयाँ लगानी गर्ने तयारी उनको छ।
साथै नगरकोट क्षेत्रमा २५ रोपनी जग्गा लिजमा लिएर उनले तरकारी, बाख्रा र कुखुरा फार्मसमेत खोलेका छन्।
‘अर्गानिक तरकारी टिपेर खान मिल्ने बनाउन खोजिएको छ,’ उनले भने।
नगरकोटमा होटल र होमस्टे पनि रहेकोले त्यहाँ आएका पाहुना जिपलाइनसम्म आउने उनको अपेक्षा छ।
मुलुकका अन्य ठाउँमा जिपलाइन जडानमा आफूले सहयोग गरेको उनले सुनाए।
‘चन्द्रागिरि हिल्स, पाइलटबाबा, बुटवल केवुलकार, त्रिशुली फन्ट रिसोर्ट, भेटेटार, मकवानपुर र कुलेखानीमा जिपलाइन जडानमा सहयोग गरेको छु,’ उनले भने।
स्वदेशमै लगानी गर्नेहरूलाई सरकारले सहयोग गर्नुपर्ने उनले बताए।
‘भौतिक संरचना निर्माणमा सरकारले सहयोग गरिदिए नेपालीहरूलाई स्वदेशमै बसेर केही उद्यम गर्न प्रोत्साहन मिल्थ्यो कि,’ उनले भने।