तिम्बुङ पोखरी — कोशी प्रदेशको चर्चित पर्यटकीय गन्तव्य।
चार हजार ३ सय ३८ मिटर उचाइमा रहेको तिम्बुङ पोखरीको धार्मिक महत्त्व पनि छ। स्थानीय बासिन्दा अमीर राईका अनुसार ताप्लेजुङको सिदिङ्वा र पाँचथरको याङवरक गाउँपालिकामा पर्ने यो पोखरी प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ।
'दुई जिल्लाको सिमानामा रहेको यो पोखरी पर्यटकको पर्खाइमा छ,' राईले भने, 'पछिल्लो समय देशभरका पर्यटकीय गन्तव्यमा विदेशीसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ। तर कोशी प्रदेशको चर्चित गन्तव्य भए पनि प्रचारप्रसार अभावमा तिम्बुङ पोखरीले पर्यटक तान्न सकेको छैन।'
तिम्बुङमा धेरैजसो धार्मिक पर्यटनका लागि पुग्छन्। जनै पूर्णिमा र नाग पञ्चमीका दिन धार्मिक आस्था राख्दै पर्यटकहरू पुगे पनि अन्य समयमा प्रायः सुनसान नै हुने उनले बताए।
यहाँ पर्यटक आगमन बढाउन पहल भइरहेको राई बताउँछन्। स्थानीय सरकारसँग सहकार्य गर्दै विभिन्न समिति नै बनाएर पनि तिम्बुङको विकासका लागि अहिले दुबै जिल्लाका स्थानीय बासिन्दा लागि परेका छन्।
'धेरै पहिले आसपासका जिल्लाबाट धार्मिक आस्था बोकेर आउन पर्यटक मात्र हुन्थे। अहिले बिस्तारै ट्रेकिङका लागि पनि आउन थालेका छन्,' उनले सेतोपाटीसँग भने, ‘बाह्रै महिना तिम्बुङमा पर्यटक भित्र्याउन हामी लागि परेका छौं।'
-1700063897.jpg?timestamp=1700064145759)
-1700063885.jpg?timestamp=1700064145759)
मौसमअनुसार तिम्बुङका फरक विशेषता छन्। असोजदेखि वैशाख महिनासम्म तिम्बुङमा हिउँ पर्छ। हिउँ हेर्न र खेल्न रूचाउनेका लागि यो उपयुक्त समय र गन्तव्य बन्न सक्छ।
यसको अर्को विशेषता भनेको पोखरी आसपासमा फूल्ने 'केन्जो' अर्थात् पदमचाल फूल हो। त्यस्तै भेडा, चौंरी र उराङका गोठ हुन्। विशेषगरी चैत/वैशाखमा तिम्बुङ जाँदा केन्जोले स्वागत गर्छ। यो फूल यहाँको पनि केही सीमित ठाउँमा मात्र राईले बताए।
योसँगै वर्षाको समयमा तिम्बुङ जाँदा भेडी गोठको आनन्द लिन सकिन्छ। भदौदेखि असोजसम्म यी गोठमा बस्न पाइन्छ।
पर्यटकहरूले भेडाको जीवनशैली हेर्न र बुझ्न सक्ने छन्। चौंरीको दूध र छुर्पी खान पाइन्छ।
विगतमा तिम्बुङ पुग्नेहरूका लागि भेडी गोठ मात्र आवास सुविधा थियो। होटल थिएन। अहिले जुनसुकै समयमा जानेका लागि होटलहरू पर्याप्त छन्।
'यो क्षेत्रको पर्यटन चलायमान बनाउनकै लागि स्थानीयहरूले धेरै काम गरेका छौं,' राईले भने, 'अहिले तिम्बुङमा होटलको राम्रो व्यवस्था छ।'
तिम्बुङ पोखरी वरपर हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूध पोखरी, मयुर पोखरी, नीर पोखरी लगायत दर्जन पोखरी छन्। यसलाई पूर्वको गोसाइँकुण्ड समेत भनिन्छ। पोखरीबाट थोरै माथि चार हजार ६ सय मिटरको उचाइमा जाने हो भने आधा दर्जन बढी हिमाल हेर्न पाइने उनले जानकारी दिए।
'सगरमाथा, कञ्चनजंघा, मकालु, कुम्भकर्ण र भारतको सिक्किम, दार्जिलिङ लगायत ठाउँको दृश्यावलोकन गर्न पनि पाइन्छ,' उनले भने।
तिम्बुङ पोखरी कञ्चनजंघा आधार शिविर जाने 'गेट-वे' पनि हो। तिम्बुङ हुँदै कञ्चनजंघा आधार शिविर जाने मार्ग बनाउने हो भने यहाँको पर्यटनमा अझ टेवा पुग्ने उनले बताए।
ट्रेकिङ गाइड समेत रहेका राईले यसअघि केही पर्यटकलाई तिम्बुङ हुँदै कञ्चनजंघा आधार शिविर पुर्याएका थिए। तर बीचमा केही कठिनाइ भएकाले यो रूट रोजाइमा नपरेको उनको भनाइ छ।
-1700063886.jpg?timestamp=1700064165457)
-1700063885.jpg?timestamp=1700064165457)
'पदयात्राका क्रममा केही ठाउँमा खाने बस्ने होटल छैनन्। पहिले यसको व्यवस्था गर्न सकियो भने कञ्चनजंघा दक्षिणका लागि यो राम्रो गेट-वे बन्न सक्छ,' उनले भने।
सामान्यतया काठमाडौंबाट कञ्चनजंघा आधार शिविर जान ६ दिन लाग्छ। एक दिन थप्यो भने यो गन्तव्यलाई तिम्बुङ पोखरीमा पनि जोड्न सकिन्छ। कञ्चनजंघा आधार शिविरको गेट-वे बनाउन सके तिम्बुङ पनि पर्यटकको रोजाइमा पर्ने स्थानीय बासिन्दाको आशा भएको राईले बताए।
सरकारले केही समयअघि घुम्नैपर्ने सय गन्तव्यको सूचीमा तिम्बुङ पोखरीलाई समावेश गरेको थियो। त्यसयता पोखरी सौन्दर्यीकरणका लागि बजेट गइरहेको छ। त्यस्तै पोखरी जाने बाटो बन्दैछ।
काठमाडौंबाट तिम्बुङ पोखरी जान ७ दिन छुट्ट्याउनुपर्छ। सवारीसाधनमा पहिलो दिन काठमाडौंबाट झापा जान सकिन्छ। दोस्रो दिन झापाको बिर्तामोडबाट ताप्लेजुङको काली खोलासम्म गाडीमै जान सकिन्छ। तेस्रो दिन पदयात्रा सुरू हुन्छ। काली खोलाको आकासेबाट नुनथलासम्म र चौथो दिन नुनथलाबाट ठूलो भञ्ज्याङ हुँदै तिम्बुङ पोखरी पुगिन्छ।
पोखरीमा एक दिन बिताएपछि पाँचौं दिन काली खोलासम्म फर्किइन्छ। छैटौं दिन गाडीमार्फत झापासम्म र सातौं दिन काठमाडौं फर्किन सकिन्छ।
पदयात्रामा लाग्ने खर्च निश्चित हुँदैन। कस्तो ठाउँमा बस्ने र कस्तो खाना खाने भन्ने कुरा पदयात्रीमा भर पर्छ। तर सामान्यतया तिम्बुङ पोखरी जान सरसामानबाहेक एक व्यक्तिलाई १५ हजार रूपैयाँ लाग्ने राई बताउँछन्।
-1700063886.jpg?timestamp=1700064188734)
सबै तस्बिर: अमीर राई