पारि दोर्जे लाक्पा (६,९६६ मिटर) हिमाल। शिरमाथि लाङटाङ लिरूङ (७,२३४ मिटर)। पुछारमा हिमाल रसाएर बगिरहेको लाङटाङ।
प्रकृतिको यो अनुपम छटाबीच पनि क्याञ्जिन उपत्यका दुःखको भवसागर नै थियो। क्याञ्जिन उपत्यका आज पनि रसुवाका स्याफ्रुबेंसीबाट मुस्किलले एक दिनमा पुगिन्छ।
४० को दशकसम्म त नुवाकोट सदरमुकाम विदुरबाट सात दिनको पैदल हिँडेर नुनतेल, मरमसला किन्न आउँथे त्यहाँका मानिसहरू।
‘हिँड्न सक्ने ६ दिनमै आइपुग्थे। हिँड्न नसक्नेलाई त हप्ता दिनसम्म लाग्थ्यो,’ लाङटाङका पासाङ छिरिङ तामाङले बताए।
४० को दशक अघिसम्म क्याञ्जिन भ्यालीमा मानव बसोबास थिएन। तामाङका अनुसार लाङटाङ, मुन्दु, सिन्दुम उपत्यकाबासीहरूको त्यो मुलाखर्क हो।
‘यहाँ फर्सीजत्रा गान्टेमुला हुन्छ। याक, माथिमाथि चौरी, याक चर्ने खर्क, (क्यान्जिन, रि (१, २, चेरगो रि) छ, तिनको मलमुत्र पाएर पनि हुन सक्छ, ढुंगैढुंगाले भरिएको र बलौटे जमिन भए पनि मुला फस्टाउँछ,’ उनले भने।
अहिले १६० धुरी (गुम्बादेखि क्याञ्जिन उपत्यकासम्म) बसोबास गर्ने त्यहाँका स्थानीयबासीले मुला खाइसक्दैनथे। बिक्री हुने कुरा भएन। त्यसैले उनीहरू ती मुला चाना पारेर ढुंगामा सुकाउँथे। र, याक, चौंरीलाई दानाका रूपमा प्रयोग गर्थे।
समयक्रममा मुलाखर्कको परिचय बदलियो। अहिले क्याञ्जिन उपत्यकामा खच्चड, घोडा र हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरेर विशालकाय संरचना बनेका छन्। घरैपिच्छे होटल, रेस्टुरेन्ट छन्। सिजनमा दैनिक नै एक लाखभन्दा बढी व्यापार हुन्छ।
क्याञ्जिन उपत्यका आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ। पर्वको छेको पारेर होस् या बिदा खपत गर्न लाङटाङ हुँदै क्याञ्जिन पुग्नेको लर्को देख्न सकिन्छ।
वृत्ताकार परिधिमा फैलिएका हिमशृंखला, हिउँ नै हिउँले भरिएका पहाड र हिमालको आडैमा रहेको क्याञ्जिन गुम्बा त्यहाँको सौन्दर्य हुँदै हो। साथै उँचो स्थानमा रहेको १०० किलोवाटको जलविद्युत परियोजना (क्याञ्जिन मिनी हाइड्रो) पनि छ।
हिम पहिरोबाट जम्मा भएको पानी सञ्चित गरेर निकालिएको विद्युतले क्याञ्जिन उपत्यकाको सौन्दर्यमा झन् बढोत्तरी ल्याएको छ।
क्याञ्जिन उपत्यको आसपासमा ४,३०० र ४७,७३ मिटर उचाइका क्याञ्जिन रि र ४, ९८४ मिटर उचाइको चेरगो रि आदि पर्वत रहेका छन्। यी पर्वतमाला पुग्नका लागि पनि त्यहाँ आन्तरिक एवं बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ।
क्याञ्जिन उपत्यका स्याफ्रुबेंसीबाट बिहान ६ बजे हिँड्यो भने बेलुका पुग्न सकिन्छ। आराम गरेर हिँड्ने हो भने काठमाडौंबाट रसुवा सदरमुकाम धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म गाडीमा र त्यहाँबाट हिँडेर लामा होटल पुगेर बास बस्न सकिन्छ। भोलिपल्ट अपराह्नसम्म क्याञ्जिन उपत्यका पुग्न सकिन्छ। झिसमिसेमै उठेर क्याञ्जिन पर्वत चढ्न सक्दा सूर्योदयसँगै खुलेका हिमशृंखलाको मनोरम छटा देख्न सकिन्छ।
तस्बिरहरूः