रेसुंगा विमानस्थलको व्यवस्थापन कमजोर भएको भन्दै नेपाल वायुसेवा निगमका पाइलटहरूले उडानलाई निरन्तरता दिन नसकिने बताउन थालेका छन्।
पछिल्लो तीन सातादेखि हरेक शुक्रबार यस विमानस्थलमा निगम (नेपाल एयरलाइन्स) ले उडान गरिरहेको छ।
यस विमानस्थलमा आफैंले यात्रुको सामान जाँच, परीक्षण र लोड गर्ने (जहाजमा राख्ने/झार्ने) देखि जहाजको ढोका लगाउनेसम्मको काम गर्नुपरेको भन्दै पाइलटहरूले उडान निरन्तरता दिन नसक्ने बताएका हुन्।
'तीनवटा उडान भइसक्दा पनि निगमले विमानस्थलको व्यवस्थापन गर्न सकेको छैन। हामी आफैंले सबै काम हेर्नुपरेको छ,' उडानमा संलग्न एक पाइलटले भने, 'पाइलटको काम जहाज उडाउने हो कि सामान ओसार्ने?'
यो विमानस्थल अघिल्लो महिनाबाट सञ्चालनमा आएको हो। विमानस्थलमा निगमले हालसम्म दुईतर्फी ६ वटा (अराइभल र डिपार्चर) उडान गरिसकेको छ।
सुरक्षित हवाइ यात्राका लागि दक्ष र अनुभवी कर्मचारी चाहिए पनि निगमले व्यवस्थापन गर्न नसकेको विमानस्थलका एक कर्मचारीले बताए। ती कर्मचारीका अनुसार विमानस्थलमा अहिले रेसुंगा नगरपालिकाका केही कर्मचारी र सम्बन्धित जहाजका पाइलटले काम गरिरहेका छन्।
'जहाज उडाएर मात्र हुँदैन, सम्बन्धित निकायले अनुभवी कर्मचारी राख्नुपर्छ,' उनले सेतोपाटीसँग भने, 'नगरपालिकाका कर्मचारीलाई एयरलाइन्समा यात्रुका सामान राख्ने र झार्ने अनुमति दिएर हुँदैन।'
रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले पनि अहिले नगरपालिकाले नै विमानस्थलको व्यवस्थापन गरिरहेको बताए। हरेक शुक्रबार जहाज विमानस्थलमा अवतरण भइसकेपछि र उडानको तयारी हुँदै गर्दा पालिकाका कर्मचारीहरूले सहयोग गरिरहेको उनले बताए।
'जहाजमा काठमाडौं जाने वर्षौंदेखिको गुल्मेली जनताको सपना पूरा भएको छ,' मेयर पन्थीले सेतोपाटीसँग भने, 'यसका लागि नगरपालिकाले सहयोग गरिरहेको छ।'
उनका अनुसार सम्बन्धित निकायले विमानस्थलको व्यवस्थापन नगरेपछि नगरपालिकाले नै गर्दै आइरहेको हो।
यात्रुको चाप बढेसँगै उडान संख्या बढाउन नगरपालिकाले पहल समेत गरिरहेको उनले जानकारी दिए। त्यस्तै विमानस्थलको व्यवस्थापनका लागि नागरिक उड्डयन प्राधिकरण र निगमसँग धेरैपटक छलफल भइसकेको मेयर पन्थीको भनाइ छ।
'निगमको उडानपछि गुल्मेली जनता उत्साहित छन्। जहाज चढेर काठमाडौं आउने-जानेको चाप बढेको छ,' उनले भने, 'त्यसकारण सम्बन्धित निकायसँग सम्पूर्ण व्यवस्थापनसँगै उडान संख्या बढाउन समेत जोड दिइरहेका छौं।'
कुनै पनि विमानस्थलमा उडान सुरू गर्दैगर्दा सम्बन्धित वायुसेवा कम्पनीले सम्पूर्ण व्यवस्थापन गर्नुपर्छ। सामान्यतया यात्रुको सामान (लगेज) जाँच गर्ने र मिलाउने कामका लागि तालिमप्राप्त 'लोडर' र 'लोड-मास्टर' हुन्छन्।
रेसुंगा विमानस्थलका एक कर्मचारीका अनुसार यहाँ अहिले लोड-मास्टरको तालिमप्राप्त एक जना र दुई जना लोडरको आवश्यकता छ। सातामा एक उडान हुने विमानस्थलमा एक जना मात्र लोड-मास्टर हुँदा पनि काम चल्छ। लोड-मास्टरको रोहबरमा अन्य कर्मचारीले पनि काम गर्न सक्छन्।
'अराइभल र डिपार्चरको झोला र ट्रली ठेल्नुपर्ने हुन्छ,' विमानस्थलका ती कर्मचारीले भने, 'त्यसकारण उडान एउटै भए पनि, चारवटा भए पनि कम्तीमा दुई जना लोडर र एक जना प्रमुख चाहिन्छ।'
यसका लागि निगमको मानव संशाधन विभागले कर्मचारी पठाउनुपर्छ। तर व्यवस्थापन र तयारीबिनै उडान सुरू गर्दा सुरक्षामाथि नै प्रश्न उठेको निगमकै कर्मचारीहरू बताउँछन्।
निगमले भने सातामा एक मात्र उडान हुने हुँदा कर्मचारी पठाउन समस्या भइरहेको बताएको छ।
'हवाइ सुरक्षामा कुनै पनि सम्झौता गर्नु हुँदैन। तत्कालका लागि व्यवस्थापनमा कठिनाइ भए पनि सम्बन्धित विभागले यसलाई व्यवस्थापन गर्नेछ,' निगमका प्रवक्ता रमेश पौडेलले भने, 'यो समस्या छिट्टै समाधान हुनेछ।'
हाल काठमाडौं-रेसुंगा र रेसुंगा-काठमाडौंको भाडा ६ हजार पाँच सय रूपैयाँ तोकिएको छ। १७ सिटे निगमको ट्विनअटरमा शतप्रतिशत अकुपेन्सी भएको बताइएको छ।
रेसुंगा विमानस्थल २०६३ सालमा शिलान्यास गरिएको थियो। २०७१ सालबाट नियमित काम भएर २०७५ सालमा कच्ची (धूले) धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो। विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ।