काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा होटल 'रमाडा इनकोर' खुलेको डेढ वर्ष हुनै लाग्यो। कोरोना मत्थर भएसँगै सञ्चालनमा आएको यो चारतारे होटल अहिले पर्यटकले भरिभराउ हुन थालेको छ।
होटलका सञ्चालक गोपाल पंगेनी रमाडा इनकोर विदेशी पर्यटकमाझ लोकप्रिय बनेको बताउँछन्। उनका अनुसार सन् २०२३ यता होटलले १५ करोड रूपैयाँभन्दा बढी आम्दानी गरिसकेको छ।
अमेरिकी कम्पनी 'वेन्दहाम होटल एन्ड रिसोर्ट' का २२ वटा ब्रान्डमध्ये एउटा हो 'रमाडा'। सत्तरी वर्ष पुरानो यो कम्पनीले विश्वका थुप्रै पर्यटकीय गन्तव्यमा होटल-रिसोर्ट व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ। ९५ मुलुकमा यसका नौ हजार ६ सयवटा होटल-रिसोर्ट सञ्चालित छन्।
रमाडा ब्रान्ड अन्तर्गत मात्र ६० भन्दा बढी देशमा नौ सयभन्दा बढी होटल-रिसोर्ट छन्।
'नेपालमा भने पहिलोपटक रमाडा हामीले भित्र्याएका हौं,' सञ्चालक पंगेनीले भने, 'अन्तर्राष्ट्रिय चेन ब्रान्डकै कारण होटलमा विदेशी पर्यटकको चहलपहल राम्रो छ। अहिले शतप्रतिशत अकुपेन्सी छ।'
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/business/ramada%20%282%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/business/ramada%20%284%29.jpg)
अघिल्लो वर्षको तुलनामा ग्राहक बढेपछि होटलको आम्दानी पनि बढेको हो। सन् २०२२ मा होटलले ११ करोड रूपैयाँ हाराहारीको व्यापार गरेको थियो भने सन् २०२१ मा जम्मा २ करोड रूपैयाँ थियो। सन् २०२३ मा भने लगभग पाँच महिनामै होटलले १५ करोडभन्दा बढीको व्यापार गर्न सफल भएको छ।
रमाडा इनकोर ठमेल प्लाजा होटल एन्ड स्विट्स प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याएको हो। कम्पनीले पोखरामा 'डालिया बुटिक होटल' सञ्चालन गरिरहेको छ।
साढे ३ रोपनीमा फैलिएको रमाडा इनकोरको भवन साततले छ। यहाँ दुइटा रेस्टुरेन्ट, स्पा, स्विमिङ पुल, जिम हल र दुइटा कन्फरेन्स हल छन्।
'अझ यहाँको मुख्य विशेषता भनेको होटलको छतबाट काठमाडौं उपत्यकाको रमणीय दृश्य देख्न सकिन्छ,' होटलका सेल्स एक्जुकेटिभ राजाराम गौतमले भने, 'यसकारण पनि होटलमा पर्यटक बढेका छन्।'
होटलले दुइटा रेस्टुरेन्टमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई विभिन्न देशका परिकार पस्किन्छ। स्पेनिस, अरेबिक, टर्किस, मोरक्कन, भारतीय लगायत परिकारको स्वाद यहाँ पाइन्छ।
'एल बेसो कारो' नामको एउटा रेस्टुरेन्ट होटलको सबभन्दा माथिल्लो तलामा छ। यहाँ एकैपटकमा तीन सय जना अटाउन सक्छन्।
अर्को 'पेटियो' नामको रेस्टुरेन्ट अन्डर-ग्राउन्डमा छ। यहीँ लबी र 'चोकोज एन्ड सब्स डेली सप' क्याफे पनि छ।
जिम र स्पा सातौं तलामा छ।
होटलमा कुल ९० वटा कोठा छन्। यसमध्ये २१ वटा डिलक्स, ४० वटा ट्विन डिलक्स, ९ वटा सुपर-डिलक्स र १५ वटा ट्विन सुपर डिलक्स छन्। त्यस्तै चार वटा स्टुडियो रूम र एउटा अपांगमैत्री (विशेष) कोठा छ।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/business/ramada%20%287%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/ramada%20%285%29.jpg)
स्टुडियो रूम रमाडाको अर्को विशेषता भएको पंगेनी बताउँछन्।
'स्टुडियो अरू कोठाभन्दा फराकिलो छ। यसमा आफैं पकाएर खान मिल्नेगरी भान्साको सुविधा पनि छ,' उनले भने, 'त्यसकारण पनि स्टुडियो रूम धेरैले रूचाउनुभएको छ।'
होटलको दोस्रो, तेस्रो, चौथो र पाचौं तलामा एक/एकवटा स्टुडियो रूम छ।
पहिलो तलामा ७० जना बस्न मिल्ने बैठक हल र आठवटा कोठा छन्। दोस्रो, तेस्रो, चौथो र पाँचौं तलामा १७/१७ वटा कोठा छन्। छैठौं तलामा १४ वटा कोठा छन्।
यहाँ कोठा हेरेर एक रात बस्न १० हजारदेखि २० हजार रूपैयाँसम्म पर्छ।
'अब पार्किङ, क्याटरिङ र बैंक्वेट हल थप्ने योजना छ,' पंगेनीले भने।
रमाडा इनकोर साढे दुई अर्ब रूपैयाँ लगानीमा बनेको उनले जानकारी दिए।
यो होटल २०७१ सालको अन्तिमबाटै बन्न थालेको थियो। बेसमेन्टको काम भइरहेका बेला भुइँचालो आएपछि निर्माण केही समय ठप्पै भयो। त्यसपछि नाकाबन्दीको पनि मार खेप्यो। सरकारले घोषणा गरेको 'भ्रमण वर्ष २०२०' लाई लक्षित गर्दै २०७७ सालदेखि सञ्चालनमा ल्याउने तयारी थियो। फेरि त्यही बीचमा कोरोना आयो, लकडाउन भयो। २०७८ माघबाट बल्ल होटल पूर्ण रूपमा सञ्चालनमा आएको हो।
'भूकम्प, नाकाबन्दी र कोरोनाका कारण होटल भनेको समयमा सञ्चालनमा आउन सकेन। तर अहिले बुकिङ र सोधपुछ राम्रो छ। धेरै वर्ष लागे पनि अहिलेको अवस्थामा उत्साही छौं,' पंगेनीले भने, 'विभिन्न देशका रमाडा होटल-रिसोर्टमा बसेका विदेशीहरू नेपाल आउँदा रमाडा इनकोर नै खोजेर आउँछन्।'
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/business/ramada%20%289%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/business/ramada%20%283%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/business/ramada%20%285%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/business/ramada%20%286%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/business/ramada%20%288%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/Chetana/ramada%20%283%29.jpg)