त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार राति दुबईका लागि उडेको आफ्नो जहाजमा चरा ठोक्किएको फ्लाई दुबईले जनाएको छ।
दुबई मिडिया अफिसका अनुसार फ्लाई दुबईले आफ्नो एफजेड ५७६ जहाजमा चरा ठोक्किएका कारण आगोको झिल्का देखिएको र ठूलो आवाज आएको बताएको हो।
हाल उक्त जहाज सामान्य अवस्थामा उडिरहेको पनि फ्लाई दुबईले जानकारी दिएको छ।
'काठमाडौं विमानस्थलबाट फ्लाई दुबईको एफजेड ५७६ जहाजले उडान भर्ने क्रममा चरा ठोक्किएको थियो। केही प्रक्रियाहरू पूरा गरेपछि अहिले सामान्य अवस्थामै जहाज गइरहेको छ र दुबईको स्थानीय समय अनुसार १२ बजेर १४ मिनेट जाँदा अवतरण हुने छ,' दुबई मिडिया अफिसले फ्लाई दुबईका प्रवक्ताको भनाइ उद्धृत गर्दै लेखेको छ।
फ्लाइट राडारका अनुसार अहिले विमान पाकिस्तानको आकाशमा उडिरहेको छ।
फ्लाई दुबईको एफजेड ५७६ नम्बरको जहाज ९ बजेर २० मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो। उड्नेबित्तिकै जहाजमा आगोको झिल्का देखिएर पड्केको आवाज आएको थियो। समस्या आएको थाहा भएपछि पाइलटले जहाज धार्केमा लगेर होल्ड गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रदीप अधिकारीका अनुसार पाइलटले धार्केको आकाशमा पुगेर जहाजको निरीक्षण गरेका थिए।
'धार्केको आकाशमा पाइलटले जहाज होल्ड गरेर निरीक्षण गरेका थिए। सबै नर्मल छ भनेपछि गन्तव्यतर्फ उडेको हो,' महानिर्देशक अधिकारीले सेतोपाटीलाई भने, 'पाइलटले आफ्नो जहाजको समस्या समाधान भएको र गन्तव्यमा जान लागेको जानकारी दिएर गएका हुन्।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका टावर हेर्ने अधिकारीहरूले पनि जहाजमा आगो देखिएको र पड्केको भए पनि इन्जिनमा समस्या नभएको बताएका छन्। जहाज सामान्य अवस्थामा भएकाले त्यसमा सवार यात्रुका परिवार र आफन्तजनलाई चिन्ता नलिन पनि उनीहरूले आग्रह गरेका छन्।
फ्लाई दुबईको जहाजका कारण नेपाली आकाशमा केहीबेर सात वटा जहाज नेपाली आकाशमा होल्ड भएका छन्। एयर अरेबिया, मलेसियन एयर, सिंगापुर एयर र बुद्ध एयरका चारवटा जहाज नेपालकै आकाशमा होल्ड गरिएका हुन्। यी जहाज ल्यान्ड गर्ने क्रममा छन्।