द कन्भरसेसन– ५९
आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई लक्ष्य गरेर नयाँ राजनीतिक दलहरू दर्ता हुने क्रम तीव्र छ।
त्यसैमध्ये एक हो, गतिशील लोकतान्त्रिक पार्टी (गतिलो)।
निर्वाचन आयोगमा दर्ता भई सनाखत क्रममा रहेको यो पार्टी चर्चामा आउनुको एउटा कारण यसका संस्थापक वीरेन्द्रबहादुर बस्नेत हुन्।
बुद्ध एयर जस्तो सफल व्यावसायिक कम्पनी चलाएका बस्नेत पछिल्लो समय कृषि व्यवसायमा सक्रिय छन्।
एउटा सफल कम्पनी चलाइरहेको मान्छेलाई राजनीतिले किन तान्यो? कसरी तान्यो?
सेतोपाटी कन्भरसेसनको आजको शृंखलामा मैले यही विषयमा केन्द्रित रहेर बस्नेतसँग कुराकानी गरेको छु।
करिब एक वर्षअघि पनि मैले बस्नेतसँग लामो कुराकानी गरेको थिएँ। त्यति बेला मोरङको डाँगीहाटस्थित उनको धान-चामल मिलमै गएर, कृषि फार्म हेरेर, कृषकहरूसँग भेटेर हामीले उनको भिडिओ स्टोरी तयार पारेका थियौं।
त्यसै क्रममा मैले उनलाई बुद्ध एयरको सफलताबाट पाएको अनुभवले अरू कुनै नयाँ कम्पनी खोल्ने इच्छा छ कि छैन भनेर सोधेको थिएँ।
उनको जबाफ थियो, '६० वर्ष नाघिसकेँ। यो उमेरमा नयाँ कम्पनी खोल्ने ऊर्जा छैन। बुद्ध एयरलाई पनि अटो-मोडमा लगाइसकेँ। व्यवस्थापन छोरीले हेर्छिन्। म चाहिँ पूर्ण रूपमा यही कृषि फार्ममा लागेको छु।'
एक वर्षअघि यस्तो जबाफ दिएका तिनै बस्नेत एकाएक नयाँ पार्टी खोलेर राजनीतिमा प्रवेश गर्दै छन्। त्यस्तो क्षेत्रमा प्रवेश गर्दै छन्, जसका लागि कम्पनी चलाउनभन्दा बढी ऊर्जा र बढी मिहिनेत चाहिन्छ।
यही सन्दर्भमा मैले उनलाई सोधेँ, 'किसानहरूको जीवनयापन सुधार्ने काममा केन्द्रित हुन्छु भन्नुभएको थियो, एकाएक राजनीतिमा किन आउनुभयो?'
मलाई व्यक्तिगत रूपमा कसैले पनि देश विकास गर्न वा देशका लागि योगदान गर्न राजनीतिमा आउनुपर्छ भन्ने लाग्दैन। राजनीतिमा लागेरभन्दा अरू क्षेत्रबाटै योगदान गर्न सकिन्छ भन्ने मेरो विचार छ। म अहिले जे गरिरहेको छु, यही कामबाट पनि कुनै न कुनै रूपमा देश विकासमा योगदान गरिरहेकै छु।
त्यसमाथि बुद्ध एयरले त झन् कुनै पनि राजनीतिक नेताले भन्दा बढी योगदान गर्न सक्छ। देशका अतिदुर्गम ठाउँहरूमा उडान सञ्चालन गरेर त्यहाँका जनतालाई सेवा दिन सक्छ। बस्नेतले जसरी कृषि व्यवसायमा हात हालेका छन्, त्यसले त देशव्यापी रूपमा अझ बढी योगदान गर्न सक्छ। उत्पादनको समर्थन मूल्य निर्धारणदेखि बजार विस्तार र कृषि उपजमा आत्मनिर्भर बनाउनेसम्मको काम गर्न सक्छ।
राजनीतिक पार्टीहरू त यहाँ थुप्रै छन्। तर जुन काम उनले गरिरहेका छन्, त्यो गर्न सक्ने क्षमता र अनुभव भएकाहरू कम छन्।
यस्तोमा उनलाई बुद्ध एयर वा कृषि व्यवसायबाट भन्दा राजनीतिबाट देश विकासमा धेरै योगदान गर्न सक्छु भन्ने किन लाग्यो? मैले यो प्रश्न पनि बस्नेतलाई सोधेको छु।
मैले यो पनि सोधेको छु, 'तपाईं जुन उद्देश्य र योजनासहित राजनीतिमा आउनुभएको छ, त्यो पूरा गर्न त तपाईंको पार्टीले बहुमत ल्याउनुपर्यो, सरकार बनाउनुपर्यो, कानुन परिवर्तन गर्ने हैसियतमा पुग्नुपर्यो, के तपाईंहरू अहिले नै त्यो हैसियतमा पुग्न सक्नुहुन्छ?'
यो भिडिओ संवादमा एक सफल व्यवसायीबाट राजनीतिक दल खोल्दाको अनुभवदेखि नयाँ पार्टीको नीति, कार्यक्रम र आगामी निर्वाचनको तयारीबारे पनि हाम्रो कुराकानी भएको छ।
हेर्नुहोस्, वीरेन्द्रबहादुर बस्नेतसँगको भिडिओ कुराकानी सेतोपाटी कन्भरसेसनमा —