चुनावअघि १५ औं महाधिवेशन गर्न भ्याइन्छ कि भ्याइन्न भन्ने बहस गर्दागर्दै नेपाली कांग्रेसले एक महिना गुजारेको छ।
भदौ २४ र २४ गते जेनजी आन्दोलनपछि नीति र नेतृत्व परिवर्तनको आवाज उठेपछि कांग्रेसमा महाधिवेशनको माग भएको थियो।
भदौ २४ मा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका सभापति शेरबहादुर देउवाले एक महिनापछि असोज २८ मा केन्द्रीय समिति बैठक राखेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिए पनि त्यसयता बसेको केन्द्रीय समितिले महाधिवेशन मिति तोक्न सकेको छैन।
महामन्त्री गगन थापाले केन्द्रीय समितिमा छलफल गर्न १० एजेन्डा राखे पनि फागुन २१ गतेअघि महाधिवेशन गर्ने वा चुनावपछि गर्ने भन्नेमा मात्रै नेताहरू केन्द्रित छन्, निष्कर्ष निकाल्न सकेका छैनन्।
यही बहसमा कांग्रेस रूमलिएको छ।
त्यसैले केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरूले आक्रमक रूपमा धारणा पनि राख्न थालेका छन्।
केन्द्रीय सदस्य अब्दुल सत्तारले निर्वाचनमा जानुभन्दा पहिला कार्यकर्ताहरूलाई ‘तिखारिएर होमिने वातावरण बनाउन’ पनि चुनावअघि महाधिवेशन गर्नुपर्ने बताए।
‘त्यो वातावरण बनाउने भनेको पार्टीको अधिवेशनबाट हो,’ कात्तिक १९ गतेको केन्द्रीय समिति बैठकमा उनले चुनौती दिए, ‘हामीले तार्किक र व्यवहारिक कुरा गरौं, पार्टीको अधिवेशन गर्न नसकेका बेला हामी निर्वाचन गर्छौं भन्ने निर्णय गर्ने हो भने को गइदिन्छ फिल्डमा? केन्द्रीय सदस्यहरूलाई एक साता निर्वाचन क्षेत्र पठाऔं, सार्वजनिक कार्यक्रम गर्न सक्छौं? कोठाभित्र बैठक राखेर चुनावमा जाऔं भनेर मात्र वातावरण बन्छ?’
उनले चुनावअघि महाधिवेशन कि पछि भनेर केन्द्रीय समितिमा जुँगाको लडाइँ भइरहेको उनले बताए।
अर्का केन्द्रीय सदस्य मदन अमात्यले चुनावअघि महाधिवेशन अनिवार्य रहेको बताए। ‘हिजोको अवस्थामा माओवादीसँग मिलेर चुनाव जितेको हो, यही अवस्थामा चुनावमा गए हामी जितिन्छ? त्यसैले महाधिवेशन चुनावअघि अनिवार्य छ,’ उनले भने, ‘चुनाव हुन्छ कि हुँदैन थाहा छैन, प्रधानमन्त्री र गृहमन्त्रीले बोलेका हेर्नुस्। जनताका माझ नेताहरू जान सक्नुभएको छ? जानुस्। नियमित गरौं, नेतृत्व परिवर्तन गरौं। जिल्ला कार्यसमितिहरू चकनाचुर छन्। यस्तो अवस्थामा चुनावमा टिकट बाँड्न पाए पैसा पाउँछु भनेर बस्ने?’
उनले चुनावअघि अधिवेशन गर्न किन डराएको भनेर असोज १९ को केन्द्रीय समितिमै नेताहरूलाई सोधेका थिए।
‘हामीलाई नेतृत्वमा आउने रहर छैन, तपाईंहरूमध्ये नै आउने हो, कांग्रेस नै जित्ने हो, ५५ वर्ष कांग्रेसमा लागेको छु म अनि हाम्रा कुरा सुन्नु पर्दैन?,’ उनले भने, ‘नेताहरू अन्याय गरिरहने हामी सहिरहने, अनि जनताले लात हान्ने हामीले टाउको थाप्नुपर्ने, तपाईंहरू दरबारमा बसेर आफ्नो हिसाबकिताब गर्ने, के हो यो?’
पार्टी सहमहामन्त्री महेन्द्र यादवले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग समय लिएर वैशाख मसान्तमा महाधिवेशन गर्न उपयुक्त हुने धारणा पनि राखेका छन्।
महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्न सकिने भन्दै कार्यतालिका केन्द्रीय समितिमा पेस गरेका छन्। तैपनि तयारीगत हिसाबले महाधिवेशन गर्न सकिन्न भनेर सभापति शेरबहादुर देउवानिकट कतिपय नेताहरू दाबी गरिरहेका छन्।
यस्तो दाबी गर्ने नेताहरूलाई केन्द्रीय सदस्य अब्दुल सत्तारले केन्द्रीय समितिमै भनिदिएका छन्- महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्न सकिन्छ र त्यसअघि गर्नुपर्ने सबै काम गर्न सकिन्छ भनेर कार्यतालिकामै प्रस्तुत गर्दा पनि हामी महाधिवेशन गर्न भ्याइन्न भनिराख्ने?
कांग्रेसमा चुनावअघि महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा बहुमत पदाधिकारी छन्। सहमहामन्त्री फरमुल्लाह मन्सुरले नियमित वा विशेष जे महाधिवेशन गरेर भए पनि नयाँ नेतृत्व चयन गरी गगन थापालाई प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा जानुपर्ने कुरा केन्द्रीय समितिमै बताइसकेका छन्।
सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले चुनावअघि र चुनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने दुई मत भए पनि केन्द्रीय समितिले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी मिलनविन्दुमा पुगिने बताएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै उनले महामन्त्री थापाले पेस गरेको कार्यतालिकामै नेता शेखर कोइरालादेखि सबै आइपुग्ने विश्वास व्यक्त गरे।
यो पनि:
पुस १६ देखि १९ सम्म महाधिवेशन गर्नेमा शेखर कोइरालादेखि सबैको सहमति जुट्नेछ: सहमहामन्त्री पाण्डे
पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंह भने चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। उनीहरू सबै सभापति देउवानिकट छन्।
केन्द्रीय सदस्य एनपी साउदले आजको केन्द्रीय समिति बैठकमा बोल्दै अहिले महाधिवेशनको मिति निर्वाचन पछाडि तोक्दा फागुनको निर्वाचन पछाडि सरेको खण्डमा महाधिवेशन पनि अझ पछाडि सार्नु पर्ने बाध्यता हुने बताए।
‘त्यसकारण महाधिवशेनलाई निर्वाचनको सापेक्षतामा हेर्नु पर्ने हुन्छ। निर्वाचनभन्दा अगाडि वा पछाडि महाधिवेशन गर्नुपर्ने भन्दा पनि फागुनमा निर्वाचन हुने सुनिश्चित भयो भने वैशाख र वैशाखमा निर्वाचन हुने भयो भने फागुनमै महाधिवेशन गर्न उपयुक्त हुन्छ,’ उनले भने।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले ११ औं महाधिवेशनको कुरा स्मरण गराउँदै ४० दिनको तयारीले त्यसबेला महाधिवेशन गरिएको बताए।
‘कांग्रेसको नियमित अधिवेशन नै हामी सबैको माग हो। ११ औं महाधिवेशन, मात्र ४० दिनको तयारीमा सुम्पन्न भएको हामीकहाँ उदाहरण छ भने असाधारण परिस्थितिमा महाधिवेशन हुन सक्दैन भन्ने बहाना निरर्थक छ। एकातिर राजाको प्रत्यक्ष शासनको दबदबा, अर्कातिर माओवादी सशस्त्र द्वन्द्वको चरम उत्कर्षको अवस्थामा समेत ४० दिनको तयारीमा हामीले महाधिवेशन सम्पन्न गरेका थियौं,’ आजको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुक गरिए पनि तत्कालीन शाही सत्ताले उक्त स्थल उपलब्ध नगराएपछि एघारौं महाधिवेशनको उद्घाटन समारोह जावलाखेलस्थित चिडियाखाना अगाडिको मैदानमा र बन्द सत्र केन्द्रीय कार्यालयको प्राङ्गणमा सम्पन्न गरेको सम्झौं।’
सभापति शेरबहादुर देउवाले भने समयमै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने असोज २८ को केन्द्रीय समितिमा बताएका थिए। उनी थप उपचारका लागि सिंगापुरमा छन्।
असोज २७ गते साँझ देउवाको मन्तव्य तयार हुँदा त्यसमा मंसिरमै महाधिवेशन हुने उल्लेख थियो। मंसिरमै महाधिवेशन सम्पन्न गरेर कांग्रेसमा नयाँ सभापतिले कार्यभार सम्हालोस् र आफूले विश्राम लिन पाऊँ भन्नेमा थिए, देउवा।
उनको मन्तव्यको मसौदा तयार गर्ने रमेश लेखक र महामन्त्री गगन थापाले सबभन्दा पहिले देउवाको मनसुवा थाहा पाए। त्यसपछि देउवानिकट अरूले पनि थाहा पाए।
भोलिपल्ट बिहानैदेखि देउवानिकट कतिपय नेताहरूले मन्तव्यमा मंसिरमै महाधिवेशन गर्ने कुरा नलेखिदिन अनुनय–विनय गरेका थिए। छलफल गरेर हामी सहमतिमा आफै मिति तय गरिहाल्छौं भनेर देउवालाई उनीहरूले नै आश्वस्त पारेको कतिपय नेताहरू बताउँछन्।
दशकौंदेखि साथ दिएका कतिपय 'साथीभाइ' लाई उनले टार्न सकेनन् वा उनीहरूको चित्त दुखाउन चाहेनन्, मंसिरमै महाधिवेशन गर्ने कुरा देउवाले आफ्नो मन्तव्यबाट हटाए। र, विधान अनुसार 'समय' मै महाधिवेशन गर्ने कुरा राखेका थिए।
कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते हस्ताक्षर पनि बुझाएका थिए। उनीहरूले विशेष महाधिवेशन प्रक्रिया थाल्न भेला गरी दबाब पनि दिएका छन्।
साथै नियमित महाधिवेशन पक्षधरले पनि आज काठमाडौंको बत्तिसपुतलीमा कार्यक्रम गरी केन्द्रीय समितिलाई समयमै महाधिवेशन गर्न भनेका छन्। नियमित महाधिवेशनमा जोड दिँदै भेला गर्नेहरू सभापति देउवा, नेता शेखर कोइराला पक्षका केही, पूर्वमहामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधि र तरूण-विद्यार्थी नेताहरू हुन्।
केन्द्रीय समिति बैठकमा र बाहिर पनि कांग्रेस महाधिवेशन तिथिमिति तोक्न माग भइरहेका बेला नेतृत्वले भने अझै केही दिन समय गुजारेर महाधिवेशनबारे निर्णय गर्ने सम्भावना छ।