पछिल्लो समय 'हामी नेपाल' संस्थाका संस्थापक सुदन गुरूङ गृहमन्त्री ओमप्रकाश अर्यालसँग आक्रोशित छन्।
उनले सामाजिक सञ्जालमा 'गृहमन्त्री अर्याललाई हटाउनुपर्ने' लेखेका छन्। साथै फागुन २१ गते निर्वाचन हुन नदिने अभिव्यक्ति दिएका छन्।
सुदनले केही दिनभित्र पत्रकार सम्मेलन गरी 'एउटा घोषणा' गर्ने समेत बताइरहेका छन्। के घोषणा गर्न लागेका हुन् भन्ने चाहिँ खुलाएका छैनन्।
राजनीतिक दल खोलेर चुनावमा जाने तयारीमा रहेका भनिएका सुदन गृहमन्त्रीप्रति किन आक्रोशित भए? किन चुनावको विपक्षमा उभिए? उनी के गर्न लागिरहेका छन्?
प्रस्तुत छ सुदन गुरूङसँग सेतोपाटीका मनोज सत्यालले गरेको टेलिफोन वार्ताको सम्पादित अंशः
तपाईंले केही दिनभित्रै पत्रकार सम्मेलन गर्छु भनेर सामाजिक सञ्जालमा लेख्नुभएको छ। के गर्न लाग्नुभएको हो?
'डिफेन्सिभ' मोडबाट अब 'अफेन्सिभ' मोडमा जान आँटेका छौं।
के आन्दोलन घोषणा गर्न लाग्नुभएको हो?
खै के हो?
तपाईंहरू पार्टी बनाउने, चुनाव लड्ने भनेर बोल्नुभएको थियो। त्यसमा के काम भइरहेको छ?
पार्टी, सार्टी बनाउनेमा लाग्दैनौं। चुनावमा जानुपर्छ भनेर सबै जनाले भनिराख्दा होला, तर हाम्रो माग पूरा हुन्छ अनि चुनाव पनि लडौंला भन्ने कुरा हो। माग पूरा हुँदैन भने चुनाव सार्न हामीले आन्दोलन गरेको होइन। त्यसमा अडिग छौं।
यो चुनाव हुन दिँदैनौं हामी। जेनजी सबै जनालाई युनाइटेड गरिसक्यौं। हाम्रो रगतमा खेलेर २०८४ को चुनावलाई २०८२ मा सारेर यिनीहरूले के जोक गर्न खोजेको? चुनाव, चुनाव भनेको मात्र सुन्छौं। जेनजीको हत्यारालाई कारबाही र भ्रष्टाचारीलाई कारबाही भनेको त सुन्दैनौं।
हत्यारालाई कारबाही भनेर माग गर्नुभएको छ। त्यो त छानबिनकै चरणमा छ। छानबिन नसकिएसम्म त गृहमन्त्रीले कसरी कारबाही गर्न सक्नुहुन्छ त?
गृहमन्त्रीले अहिले कारबाही गर्न नसके पनि, महेश बस्नेतले उथलपुथल गर्दा, अभिव्यक्ति दिदाँ समात्न नसक्ने! गृहमन्त्रीको छाती नहुने!
जाबो निकोलस भुसाल बच्चालाई समात्ने? कामले जो होचो, त्यसको मुखमा घोचो जस्तो गर्न खोजिएको छ। केपी ओलीले सिधा प्रधानमन्त्रीलाई थर्काएको छ। त्यसमा के हेरेर बसेको हो? गृहमन्त्रीले हेर्नुपर्ने कुरा होइन?
प्रधानमन्त्रीलाई थर्काउने भनेको त राष्ट्र र नेपाली जनताप्रतिको आशा र भरोसामा सिधा प्रहार गरेको हो। प्रधानमन्त्री त जनताले बनाएको हो। हामीले बनाएको हो। गृहमन्त्रीको छाती रहेनछ। छाती नभएको मान्छे रहेछ।
कसैले राजनीतिक अभिव्यक्ति दिएकै आधारमा त समात्न मिलेन। तपाईंले भनेजस्तो निकोलस भुसालको हकमा गलत भयो भने ओलीलाई समाउनुपर्छ भन्ने पनि गलत भएन र?
राजनीतिक अभिव्यक्ति पनि एउटा चरमसम्म हुन्छ। समाज भड्काउने काम गर्नु हुँदैन। समाज भड्काउन चाहे त हामीले पनि सक्छौं नि! भटाभट हामी पनि गाली गर्न थाल्छौं।
हामीले समाज भड्कायो भने त राज्यले समात्ने रहेछ। निकोलस भुसाललाई समात्न सक्छ भने अरूलाई समात्न सक्दैन?
यति मात्र कुरा हो। केपी ओलीले त्यस्तो भन्दा समात्नुपर्यो। नियम, कानुन सबैलाई बराबर हुनुपर्यो।
निकोलस भुसाल अहिले बोलेको होइन, धेरै भएपछि बोलेको होला। केपी ओली त नानाभाँती भनिरहेको थियो। किन कारबाही भएन?
ल ठिकै छ ओलीलाई कारबाही भएन भने निकोलस भुसाललाई किन कारबाही भयो त? कानुन बराबर हो भने निकोलस भुसाललाई कारबाही नहुनुपर्ने हो। छानबिनले भन्ला नि त्यो पनि।
एमाले देशको कुनामा १०–२० लाख कार्यकर्ता भएको सानो पार्टी हो। बाँकी दुई करोड ८० लाखसँग नडराउने?
यसरी पक्राउ गर्दै जाँदा त राजनीतिक द्वन्द्व बढ्दै जान्छ। सरकारको उद्देश्य त चुनावतर्फ देखिन्छ नि?
यो आन्दोलन चुनाव गराउन भएको थियो? त्यसका लागि लडेका थियौं हामी?
आन्दोलन त विशुद्ध भ्रष्टाचारविरूद्ध भएको थियो होइन र?
अनि! कहाँबाट आयो चुनावको कुरा? चुनावको च पनि मैले निकालेको थिइनँ। राष्ट्रपति कार्यालयमा पनि चुनाव गराउनु भनेको थिइनँ।
तपाईंहरूले चुनाव गराउने कुरा कहिल्यै गर्नुभएको थिएन प्रधानमन्त्रीसँग?
छैन। प्रधानमन्त्रीसँग चुनाव गराउने कुरा सुरूदेखि नै भएको होइन। राष्ट्रपतिसँगको कुरा गरौं, प्रधानमन्त्रीसँगको कुरै होइन नि।
राष्ट्रपतिसँग कुरा गरौँ न – माग पूरा हुन्छ अनि चुनावमा जाउँला नि त भन्ने कुरा उहाँहरूले गर्नुभएको हो। तपाईंहरूको जेनजीको सरकार आउनुपर्छ भन्नुभएको हो। त्यसमा हामी राजी छौं भन्यौं। तर हाम्रो माग पूरा नभएर चुनावै चुनावको कार भएको छ। भ्रष्टाचारी एक जनालाई कारबाही भएको छ? भन्नुहोस् त!
भ्रष्टाचारीलाई कारबाही हुने त प्रक्रिया हुन्छ। कानुन छ, न्याय छ। अदालत बल्ल खुलेको छ। प्रक्रिया पूरा गर्नुपर्छ नि होइन र?
खोलिएको फाइल त्यत्रो छ। दुई महिनासम्म धेरै छानबिन गर्न सकिँदैन थियो र? हरेक मन्त्रालयमा कहाँ कहाँ भ्रष्टाचार भएको छ भनेर छानबिन निकाय बनाउन सकिन्थ्यो। प्रधानमन्त्रीकहाँबाट उच्चस्तरीय छानबिन आयोग बनाएर प्रत्येक मन्त्रालयमा 'मिनी' छानबिन आयोग बनाउन सकिँदैन थियो? भ्रष्टाचार भएका फाइल खोल्न सकिँदैन थियो?
सुरूआतमा गर्नुपर्ने 'अट्याक' त यो थियो नि त!
ल यो भएन रे। मैले दुई महिनादेखि घाइते र सहिद परिवारका लागि आयोग बनाउन भनेको छु। त्यति गाह्रो छ एउटा आयोग बनाउन? घाइते कोही प्यारालाइसिस छ, कोही पढ्न पाएको छैन। कसैलाई ऋण छ। एउटा आयोग बनाउन भनेको त अहिलेसम्म बनाउन सकेको छैन। अनि यस्तो गृहमन्त्री हुन्छ?
ल भ्रष्टाचारको कुरा छाडौ। जेनजी आन्दोलनले बनेको सरकारले एउटा आयोगले जेनजीको सुरक्षाका लागि आयोग बनाउन नसक्ने भन्ने हुन्छ? अझ अहिले भएभरको जेनजी समातेको छ। कांग्रेस–एमाले किन नसमातेको?
कांग्रेस र एमालेले आन्दोलन गर्न बाटो रोकेर ट्याँट्याँ र टुँटुँ गर्दै र्याली निकाल्न पाउने। अनि माइतीघर मण्डलमा गएर बसेको मान्छे झ्याम झ्याम समात्ने?
शान्तिपूर्ण विरोध, प्रदर्शन गर्न त सबैले पाउनुपर्यो। शान्तिपूर्ण विरोध, प्रदर्शन गर्न दिनुपर्यो भन्नेमा त तपाईं र केपी ओलीको कुरामा समानता देखियो।
शान्तिपूर्ण आन्दोलनमा हामीलाई समात्ने हो भने तिनीहरू (कांग्रेस–एमाले) लाई पनि समात्नुपर्यो नि। हामीलाई समात्ने हो भने उनीहरूलाई खै त?
अहिले सरकारले जथाभावी जेनजीहरू समातेको कि भदौ २४ गतेको आगजनी र घटनामा संलग्नलाई समातेको?
जथाभावी नै समातेको छ। १४ वर्षको बच्चालाई (ब्वाइफ्रेन्डसँग आएको कि कोसँग आएको भनेर) प्रहरीले सोधेको छ। त्यसको जिम्मेवार प्रहरी होइन। गृहमन्त्री हो। जसरी हामीले प्रहरीले गरेको काममा रमेश लेखक र केपी ओली जिम्मेवार भनेका छौं, त्यसैगरी आफ्नो गृहमन्त्रीलाई पनि हामीले भन्नुपर्छ।
हामीले गृहमन्त्री आफ्नो होइन, राम्रो मान्छे हुनुपर्छ भनेको हो। जसले काम गर्न सक्छ, जसले पर्फरमेन्स दिन सक्छ, त्यसलाई पठाएको हो। गृहमन्त्रीले मलाई 'सुदनजी, काम गर्न सकिनँ भने म छाडिदिन्छु नि' भन्नुभएको थियो।
गृहमन्त्रीले कहिले भन्नुभएको थियो?
गृहमन्त्रीमा उहाँको नाम आउने बित्तिकै मैले भनेको थिएँ — तपाईं गृहमन्त्रीमा जाने होइन। तपाईंको विज्ञता भनेको कानुनमा हो। तपाईं कानुनमा बस्नुस्। गृहमन्त्री त कमान्डिङ मान्छे चाहिन्छ जसलाई गृह चलाउन आउँछ। अनुभव भएको, प्रहरी प्रशासन र संगठन बुझेको मान्छे त्यहाँ चाहिन्छ भनेको हो। संविधानको धारा पल्टाउने, वकालत गर्ने मान्छे गृहमन्त्री बनेर हुन्छ? मिल्दै मिल्दैन।
तर विश्वासमा 'ल त गर्ला नि त' भनेर दियौं।
पहिला 'सर, दसैंपछि पर्फरमेन्स आउँछ' भन्नुभयो। त्यसपछि तिहारपछि पर्फरमेन्स आउँछ भन्नुभयो। अनि छठपछि भन्नुभयो। अब के चुनावपछि भन्ने?
तपाईंले प्रहरीको डिआइजी बढुवा गर्दा 'केही व्यक्तिलाई बढुवा गरिदिनुपर्यो' भनेको भनेर गृहमन्त्रीले निकटहरूसँग भन्नुभएको रहेछ। 'त्यो नगरेपछि सुदनजी रिसाउनुभयो' भन्नुभयो भन्ने हामीले सुनेका छौं। तपाईंले बढुवाको कुरा भन्नुभएको हो?
अहिले राजनीति खेल्ने काम भएको छ। मैले बढुवा सढुवाको कुरा कसैसँग गरेको छैन। मन्त्रीको पदका लागि भनेको छैन भने कोही व्यक्तिको बढुवाका लागि मैले भन्छु होला त? अहिले राजनीति खेल्ने काम भएको छ। नालायक गृहमन्त्रीलाई ठाउँमा ल्याउनुपर्ने भएको छ। त्यो नहुँदासम्म म सुखचैनले बस्न सक्दिनँ। ठाउँमा ल्याउन नसके मेरो नाम सुदन गुरूङ होइन।
गृहमन्त्रीले केही मानिसको नाम मन्त्रीमा सिफारिस गर्नुभएको रहेछ। अनि कसले भनेको भन्दा – सुदन गुरूङले भन्नुहुँदो रहेछ। दोषजति मलाइ दिनुहुँदो रहेछ। थाहा पाएँ नि मैले यस्तो कुरा!
हामीले कसैलाई सिफारिस गरेको छैन। हामीले विभिन्न व्यक्तिको बायोडाटा लगेर प्रधानमन्त्रीज्यू तपाईं आफैं छनौट गर्नुस् भन्ने गरेका छौं। अनि एउटा पदका लागि टप टप मान्छे टिप्छौं? मन्त्री पदका लागि टिपेको छैन, एसएसपीको बढुवाका लागि कुरा गर्छौं?
मलाई ओमप्रकाश अर्याल कसरी गृहमन्त्री बन्नुभयो भन्ने सबै थाहा छ। गृहमन्त्रीका लागि सबभन्दा ठूलो थ्रेट म हो। त्यही भएर जे जे नराम्रो काम हुन्छ, प्रधानमन्त्रीलाई 'सुदन गुरूङले गरेको भनेर' ब्रिफिङ गरिएको छ। कान भर्ने काम भएको छ। गृहमन्त्री प्रधानमन्त्रीको विश्वासिलो पात्र हुनुहँदो रहेछ। त्यो कुरा मैले थाहा पाएँ।
मैले अहिलेसम्म धेरै कुरा सहेको छु – न त म टिओबी (टिबेटियन ओरिजिनल ब्लड) सँग छु, न मेरो नागरिकता नक्कली छ। मैले कहीँबाट पैसा खाएको छु? कहीँ सेटिङ गरेको छु? म त घाइतेहरूसँग छु।
गृहमन्त्रीले दसैंपछि भनेकाले काम गरेर देखाउनुहोला भनेर म चुप लागेर बसेँ। देशका लागि गाली थेगेर बसेँ। नत्र हरेक मानिसलाई प्रमाणसहित जबाफ दिने मसँग क्षमता छ। हरेकको जबाफ छ। एक एक रूपैयाँको हिसाब छ। म डराउने मान्छे होइन। ढाँटेको, छलेको, लुटेको भए पो डराउनु? केका लागि डराउने? के म अब गृहमन्त्रीका लागि ढाल बन्नुपर्ने?
पूर्वगृहमन्त्रीले रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी ओलीलाई समात्नुपर्यो भन्ने तपाईंहरूको बटमलाइन हो?
ल त्यो काम गृहमन्त्रीले सक्नुभएन रे। छानबिन आयोगले गर्छ भनेर मैले मानेँ। तर सानो भन्दा सानो कुरा घाइतेको आयोग समेत नबनाउने, चुनाव चुनाव भनेर कुद्ने, जेनजीको माग सम्बोधन गर्न नसक्ने!
मैले प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा लड्दा गृहमन्त्री सँगै हुनुहुन्थ्यो। त्यति बेला उहाँले 'म संविधानविद हो सुदनजी' भन्नुभयो। 'मलाई सबै कुरा थाहा छ' भन्नुभयो। त्यति बेला 'तपाईंहरूले उठाएको माग सम्बोधन हुन सक्दैन सुदनजी' भन्नुपर्दैन थियो?
आयोग बनाउने कुरामा?
आयोग बनाउने कुरामा, जेनजी समातेको घटनामा। शान्तिपूर्ण र्याली गर्न नदिने कुरामा। उनीहरू ट्याँट्याँ र टुँटुँ गरेर बाटो ब्लक गरेर, झन्डा उचालेर, सबैलाई दुःख दिएर हिँड्दा कारबाही गर्नुपर्छ कि पर्दैन? अहिले गएर हामीले बाटो ब्लक गरे प्रहरीले हान्छ कि हान्दैन? तपाईं भन्नुहोस् त?
निषेधित क्षेत्रमा मात्र होइन, अहिले बच्चाहरूलाई घाँटी न्याकेर प्रहरीले लगेको छ माइतीघर मण्डलबाट। गृहमन्त्रीले एक जना कांग्रेस र एमाले समातेर जेलमा हालेर देखाउनुहोस्।
कांग्रेस–एमाले विरूद्ध पनि आरोप, अभियोग छ भने न समात्ने हो। उसै त कसैलाई पनि समात्न भएन नि!
ठ्याक्कै त्यही भनेको हो हामीले। हुँदै नभएको प्रहरीको टोपी लगाएको मानिस किन समात्ने काम भएको छ? प्रहरीले त चुस्ता फालेर हिँडेको हो। बाटोमा भेटेर टिपे होला। बच्चाहरू हुन्। देशमा भ्रष्टाचारको विरोध भएपछि प्रधानमन्त्री भागेर हिँडेको हो देश। सेनाबाहेक केही पनि नचलेको देश हो।
घटना हेर्नुपर्दैन? सुरूआतमा गोली चलाएको हो कि जलाएको हो? भदौ २३ गते बानेश्वरमा गोली हानेपछिको प्रतिक्रिया हो। हरेक क्रियाको प्रतिक्रिया हुन्छ। एक्सनको रियाक्सन हो। उनीहरूले एक्सन नगरेको भए यो रियाक्सन हुन्थ्यो त?
भदौ २३ र २४ गतेको त्यो 'एक्सन र रियाक्सन' को बारेमा त आयोगले पत्ता लगाउँदै छ नि!
त्यही त। जेनजीलाई पनि छानबिन आयोगले भनेपछि मात्र पक्राउ गर्नुपर्यो। अहिले किन पक्राउ गरेको? त्यसका लागि कुर्नुपर्थ्यो। टोपी (प्रहरीको) लगाएका हाम्रा मान्छे चाहिँ भ्याट कि भ्याट छिराउने, अनि उनीहरूका लागि चाहिँ छानबिन आयोग कुर्नुपर्ने? यो न्याय हो?
हामीले बनाएकै प्रधानमन्त्री र गृहमन्त्री हुनुहुन्छ।
तपाईंले प्रधानमन्त्रीलाई 'गृहमन्त्री हटाउनुहोस्' भन्नुभएको छ कि छैन?
मैले गृहमन्त्रीलाई काम गराउनुहोस् भनेर बारम्बार भनेको छु। काम गर्न नसक्ने मान्छे कोही पनि राख्न जरूरी छैन। यो आन्दोलनको स्पिरिटमा बनेको सरकार हो। यसले एक्सन खोज्छ। हाम्रो मात्र होइन, हरेक नेपालीको उच्च आशा छ। नेपाली ३ करोड जनताले गरेको आन्दोलन हो। सरकारमा गएकाहरू पनि गर्न सक्छु भनेर गएका हुन्। तर किन नगरेको? कामै नगर्ने मान्छे हो भने त केपी ओली नै ठिकै थियो त। हामी किन लड्नुपर्थ्यो? न्याय त बराबर हुनुपर्छ।
सरकार अलिक द्वन्द्व नबढोस् र चुनावको वातावरण बनोस् भन्नेमा केन्द्रित भएको हो कि?
होइन, द्वन्द्वको कुरा होइन। द्वन्द्व भइसक्यो, विध्वंस भइसक्यो।
तपाईंको र मेरो झगडा पर्यो, पहिला मैले हात हालेँ भने प्रहरीले कसलाई कारबाही गर्छ? पक्कै पनि हात हाल्नेलाई कारबाही गर्छ।
यो आन्दोलनमा सुरूमा हात हाल्ने को हो? नेपाल सरकार।
अनि दोस्रो दिनमा रियाक्सन गर्नेलाई कारबाही गरेर हुन्छ? देशको रक्षाका लागि मानिसहरूले रियाक्सन गरेका हुन्। आत्मरक्षा र देशको रक्षाका लागि मान्छेहरू लडेका हुन्।
तपाईंले भनेका यी सबै कुराको समाधान के हो त? गृहमन्त्रीले राजीनामा दिनुपर्यो?
गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने छैन। गृहमन्त्रीले कानुन मन्त्रालय सम्हाले हुन्छ। उहाँको विज्ञता त्यही हो। हामी अहिलेसम्म चुप लागेको त जो मान्छे जे विषयमा विज्ञ छ, त्यहीँ जानुपर्छ भनेर हो। प्रधानमन्त्री पनि राम्रो हुनुपर्छ। विज्ञता भएको हुनुपर्छ।
हरेक मन्त्रालयमा विज्ञ मान्छे हुनुपर्छ भनेर हामी चुप लागेर बसेको हो। त्यसका लागि लडेको हो। हरेक मन्त्रालयमा विज्ञता भएका मान्छे बस्ने अनि विज्ञता नभएको मान्छे गृहमन्त्री जस्तो पोजिसनमा बस्ने? जबकि हरेक हाम्रो आशा त्यही कुर्सीमा केन्द्रित छ। अनि त्यही पोजिसनमा कमान्ड गर्न सक्ने मान्छे नभएपछि के हुन्छ हालत? गृहमन्त्री कानुन मन्त्रालयमा गए हुन्छ!
मैले तीन जना मन्त्रीले शपथ लिन लागेको अनि ओमप्रकाश अर्याल गृहमन्त्री बन्ने हल्ला सुनेपछि नै प्रधानमन्त्रीको निवास बाहिर कराएको हुँ। त्यति बेला सहिद परिवारले प्रधानमन्त्रीको राजीनामा मागेको थियो।
अनि मैले भनेको थिएँ – ओमप्रकाश अर्यालले सहिदको माग पूरा गर्ने कुरा बुझ्नुपर्दैन? मन्त्रीका लागि यति छिटो उभिने हो? सहिदको व्यवस्थापनमा लाग्नुपर्छ कि पर्दैन?
मैले त्यस्तो व्यक्तिलाई 'थुतेर ल्याउँछु' भनेको थिएँ। मेरो बोली साँच्चिकै हो। सबैसँग लडिन्छ। काम नगर्ने मान्छे पदमा राख्ने होइन। काम नलाग्ने मान्छे पदमा राख्न हामी लडेको होइन।
अहिले घाउ मुटुमा लागेको छ। खुट्टामा मल्हम लगाएर गृहमन्त्री पहिला नै फाइल खुलेकाहरूलाई कारबाही गरेर भ्रष्टाचारीलाई कारबाही गरेँ भन्नुहुन्छ। ती सबै मरेका माछा हुन्। मोहरा हुन्।
गृहमन्त्रीले फाइल खोल्ने भनेको त प्रहरी मातहतको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट होला। नभए भ्रष्टाचारको अनुसन्धान गर्ने निकाय त अख्तियार दुरूपयोग अनुसन्धान आयोग हो नि!
यी काम गर्न सकिँदैन थियो भने गृहमन्त्रीले सुरूमै प्रस्ट पार्नुपर्थ्यो। हामीभन्दा बेसी जान्ने मान्छे भनेर पो हामीले सल्लाह र सुझाव लिएका थियौं। राष्ट्रपति कार्यालयमा पनि मैले 'ओमप्रकाशजी, तपाईं संविधानविद, तपाईंलाई सबै कुरा थाहा छ' भनेको थिएँ।
आन्दोलनपछि नेपालमा 'पावर भ्याकुम' हुँदा, प्रधानमन्त्रीका लागि उनीहरूले सिफारिस गर्दा पनि दुई–तीन दिनसम्म नियुक्ति हुन सकेन।
त्यसपछि मलाई ओमप्रकाशजीले 'सुदनजी, तपाईं नै आउनुहोस्, हामीले भनेको मानेन' भनेको होइन? त्यो भनेपछि बल्ल मेरो 'इन्ट्री' भएको हो।
त्यसपछि मैले 'मलाई घिसारेर लैजाने हो कि मारेर लैजाने हो लैजाऊ, तर यत्रो मानिस मरेको छ, प्रधानमन्त्री परिवर्तन हुनुपर्यो' भनेँ।
त्यसका लागि म लडेको हो। त्यो कुरा गृहमन्त्रीले बुझ्नुपर्दैन?
हामीलाई राजीनीति खेल्न आउँदैन। मलाई कुनै एसएसपी बढुवामा चासो छैन। मन्त्रीको कुर्सीका लागि चासो राखेको छैन।
तर तपाईंको त आइजिपी कसलाई बनाउने भन्नेमा पनि चासो छ भन्ने सुनिएको छ नि?
आइजिपीका लागि हामी लड्छौं? हामी मन्त्री बनाउने क्षमता भएको मान्छे हो। तर हामीले 'पावर एक्सरसाइज' गरेका छैनौं। हामीले चुनेर एकदमै राम्रो मान्छे बनाउनुहोस् भनेका छौं। दायाँबायाँ नहोस्। सत्यको पक्षमा लड्ने मान्छे बनाउनुहोस् जसले आफै काम गरोस्।
तपाईंको यी सबै विषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको होला नि! सरकारको पर्फरमेन्स लगायत विषयमा? प्रधानमन्त्री के भन्नुहुन्छ?
कति भन्नु! प्रधान्मन्त्री काम हुँदैछ भन्नुहुन्छ, गृहमन्त्रीको कुरा सुन्नुहुन्छ। हाम्रो कुरा पनि सुन्न छाड्नुभएको हो कि!
हाम्रो माग भनेको जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्यो, भ्रष्टाचारका लागि हरेक मन्त्रालयमा एउटा आयोग बनाउनुपर्यो, फाइल खोल्नुपर्यो भन्ने हो।
यो एक्सनमा गर्न सकिँदैन थियो?
सकिन्थ्यो होला। राजनीतिक नेताहरूले नै सम्पत्ति छानबिन गरौं भनिरहेकै छन् नि!
नेताहरू नै राम्रो देख्न थालिसक्यो अब त। भित्रभित्र कुरा गर्ने, अनि आइजिपीको चलेखेल गर्ने! अब आइजिपी बनाउने अनि सुदन गुरूङले बनायो भन्दिन्छ। सबैलाई दुश्मन बनाउनका लागि।
जबकि ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाएको विषयमा बालेन (काठमाडौं महानगरपालिकाका मेयर) का केटाहरू मलाई भेटेर रिसाए।
'सुदनजी, कस्तो खालको गृहमन्त्री बनाउनुभएको तपाईंहरूले' भन्छन्।
मैले त 'तपाईंहरूको पो नाम आउँछ' भनेँ।
त्यसपछि उनीहरूले त 'हामीले जमानामा निकालेको हो, कामै गर्न नसक्ने रहेछ भनेर निकालेको यो मान्छे' भनेर मसँग रिसाए।
मेयर बालेनको समूह पनि गृहमन्त्री अर्याललाई निकाल्नुपर्यो भन्ने पक्षमै छन्?
काम नगरेपछि जसले पनि हटाउनुपर्छ भनिहाल्छ नि। हाम्रो स्पिरिट अनुसार काम गर्ने मान्छे चाहिएको हो।
मैले बरू मन्त्रालय, मन्त्रालय धाएर कति मान्छेको समस्या समाधान गरिरहेको छु। उखु किसानका लागि लड्यौ|। नागरिक उड्ययन प्राधिकरणका लागि लड्यौं। भित्रभित्र कति काम गर्यौं। विपदका बेला हामीले कमान्ड नलिएको भए कम्ता मानिस मर्ने थिए? हरेक हेलिकप्टर राम्रो ठाउँमा प्रयोग भयो। सबै कुरा निगरानी गर्यौं।
यति राम्रोसँग हामीले गर्न सक्छौं, विज्ञता अनुसार काम गर्दा। हाम्रो विज्ञता भनेको नेपालीको दुःख बुझेर काम गर्ने हो।
एउटा आम नागरिक भएर बाँच्नुपर्छ। पासपोर्टको लाइनमा कुर्नुपर्छ, एक नम्बर कोठा र दुई नम्बर कोठा भन्दै हिँड्नुपर्छ। एउटा कम्पनी खोलेर सञ्चालन गर्न कति ठाउँमा घुस दिनुपर्छ। कति ठाउँमा लात खानुपर्छ— यी सबै कुरा बुझ्नुपर्छ।
हामीले दुःख पाएकाले त हामीलाई मानिसको दुःख र चोट थाहा छ। उनीहरूलाई अदालत बाहेक के थाहा छ?
अब तपाईंले देखेको सक्षम गृहमन्त्रीको उम्मेदवार को हो त? कि तपाईं आफै हुने हो?
गृहमन्त्रीले हट्छु भनेपछि जेनजीको स्परिटमा काम गर्न सक्ने मान्छे जेनजीले खोज्छ। जसरी प्रधानमन्त्री डिस्कर्डबाट चुन्यौं, त्यसैगरी नेपाली जनता एक भएर राम्रो उम्मेदवार को हुन्छ भनेर चुनौंला। सबै जना मिलेर छानौं। उसको बायोडाटा यो छ भनेर पो छान्ने हो त! टपक्क टिपेर ल्याएर टीका लगाएर राखेर हुन्छ?
मन्त्री हटाउने अधिकार प्रधानमन्त्रीसँग छ। तपाईंहरूले त प्रधानमन्त्रीलाई आश्वस्त पार्नुपर्यो होला नि!
मन्त्री नियुक्त गर्ने र हटाउने अधिकार प्रधानमन्त्रीसँग छ।
प्रधानमन्त्रीलाई हामीले डेढ महिनादेखि 'गृहमन्त्रीलाई काम गर्न भन्दिनुस्, आमा' भनेको हो।
'बरू म बाहिर थेगिदिन्छु, बाहिर सहिदिन्छु, हरेक आरोप सहन तयार छु' भनेको छु। मैले सहनुपर्ने जरूरत थिएन। गृहमन्त्रीले काम गर्नुहोला। अनि सहुँला। मान्छेले बुझिहाल्छन् भन्ने ठानेको हुँ। म सिध्धिएर देश बन्छ भने म तयार छु। म सिध्धिन आएको हुँ।
करोडौं खर्च गरेर नेता भएकाहरूका हामीले बाहिर पठाएका छौं। म जिम्मेवार छु। त्यस कारण मलाई र परिवारलाई रिस्क छ भन्ने थाहा छैन होला त? अहिले पनि म प्रहरी सुरक्षा लिएर हिँडेको छैन। छाती फुलाएर हिँडेको छु। बाटोमै हिँडेको छु। मारे मार्छन्। देशका लागि मर्छु भनेको हुँ।
यत्रो आँसु र रगत बगायौं। मान्छे मरेका छन्। अनि चुनाव, चुनावको तयारी भनेर हुन्छ? सुरूमा जेनजीको माग कसरी पूरा गर्ने तयारी गर्नुपर्ने होइन? त्यसपछि चुनावको कुरा गरौंला भन्नुपर्ने होइन?
चुनाव त प्रक्रिया हुने भएकाले तयारी गर्नैपर्यो। तपाईंले भनेजस्तो जेनजीको माग पनि पूरा गर्नुपर्यो। बरू तपाईंहरूले पो दल खोल्नेतिर चुनावको तयारी पो गर्नुपर्ने हो कि?
चुनावका लागि किन लड्ने? चुनाव हुनै दिन्नँ। एक हुन दिन्नँ, दुई हुन दिन्नँ, तीन हुन दिन्नँ।
सबै जनालाई स्ट्यान्डबाइ बस भनेर ७७ जिल्लामा पत्राचार गरेका छौं। हामीले चुनाव २०८४ बाट २०८२ मा सार्न आन्दोलन गरेको होइन। दुई वर्ष कुर्थ्यौं नि, यत्रो मानिस मर्न जरूरत थिएन।
तपाईंहरूको माग भनेको घाइते र सहिदका लागि आयोग बन्नुपर्यो, भ्रष्टाचारका लागि छानबिन आयोग बन्नुपर्यो भन्ने हो?
हरेक मन्त्रालयमा आयोग बन्नुपर्यो। सानो तहका भ्रष्टाचार पनि छानबिन हुनुपर्यो। हामी त यही राजनीतिबाट फ्रस्टेट भएको मान्छे हो। भित्र राजनीति खेल्नु भएन। सरकार पारदर्शी हुनुपर्यो।
पारदर्शिताका लागि लड्ने अनि आफ्नै सरकार पारदर्शी नभएर हुन्छ? आइजिपी र एसएसपीको गोटी फ्याक्नेँ, सुदन गुरूङ त्यही भएर रिसाएको भन्ने!
नेपालको गृहमन्त्रीको हिम्मत छ आइजिपीका लागि गेम खेल्यो भनेर मेरो मुखमा भन्ने?
छाती छैन गृहमन्त्रीको।
मैले प्रधानमन्त्रीलाई पनि राम्रो आइजिपी हुनुपर्छ भनेको हो। यो हुनुपर्छ र त्यो हुनुपर्छ भनेको होइन।
हामीलाई थाहा भएको जेनजीको माग भनेको भ्रष्टाचार विरूद्धको आन्दोलन हो। भ्रष्टाचारका मुद्दामा सम्पत्ति छानबिन गर्ने होला। तपाईंले भनेजस्तो भ्रष्टाचारको फाइल खोल्ने होला। ती माग पूरा गर्ने बाटो सरकारले लिनुपर्यो भन्ने हो?
पक्कै हो। हामी त भ्रष्टाचार विरूद्ध, सुशासनका लागि र सिस्टमका लागि लडेको हो। हामी अनुहार परिवर्तनका लागि लडेको होइन। सिस्टम त्यही हुने अनि अनुहार परिवर्तन हुने होइन।
तपाईंहरूको दोस्रो माग भनेको जेनजीलाई पक्राउ गर्नुभएन भन्ने हो?
जेनजीलाई पक्राउ गर्नुपर्ने भए छानबिन आयोगले गरोस् न! जेनजी सबै पक्राउ गर्ने अनि हत्यारालाई अहिले पक्राउ नगर्ने? उनीहरूलाई पनि भटाभट कारबाही गर्नुपर्यो नि। पुलिस मार्ने पनि दोषी हो, बच्चा मार्ने पनि उत्तिकै दोषी हो। कारबाही हुनुपर्यो।
प्रहरी मार्ने समातेकोमा हाम्रो कुनै गुनासो छैन। त्यो राम्रो काम हो। मान्छे मार्नेलाई समाउनुपर्छ। त्यसमा सहमति जनाउँछौं। प्रहरीलाई हामी पनि सहयोग गर्छौं। तर बालबालिका मार्नेलाई पनि कारबाही हुनुपर्यो।
तपाईंको गृहमन्त्रीसँग अन्तिम पटक कहिले कुरा भएको थियो?
एक–डेढ महिनायता कुराकानी भएको छैन। छाती नभएको मानिससँग कुरा गरेर के हुन्छ? गृहमन्त्रीका कारण सबै डुब्ने अवस्था आउँछ।
तपाईंले पत्रकार सम्मेलन गर्नुअघि प्रधानमन्त्रीसँग कुरा गर्नुहोला नि त? प्रधानमन्त्रीले नै हो गृहमन्त्री हटाउने वा राख्ने त!
बारबार भनिसक्यो। प्रधानमन्त्रीको प्रिय पात्र भन्दैमा देश डुबाउनु त भएन नि! देशलाई धरापमा राख्नुभएन। सबैले आन्दोलनको स्पिरिट अनुसार काम गर्नुपर्यो।