नेपाली कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पत्र पुगेको छ।
बुधबार नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेकपा (समाजवादी), नेकपा, जनसमाजवादी पार्टी, नेकपा (साम्यवादी) पार्टीसहित १० वटा पार्टी एकीकरण भएको थियो।
लगत्तै उनीहरूले पार्टी एकीकरणको जानकारी सहितको पत्र निर्वाचन आयोग पठाएको एक अधिकारीले जानकारी दिए।
उनका अनुसार एकीकृत पार्टीले पठाएको दुई पाने पत्रमा पार्टीको केन्द्रीय कमिटीको सूची बुझाइएको छैन। एकीकृत पार्टीको विधानलगायत दस्तावेज पनि नभएको उनले बताए।
‘हामी १० वटा राजनीतिक दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ भनेर एकीकृत पार्टीको नाम, चुनाव चिह्न (तारा) सहितको जानकारी पठाउनु भएको छ,’ ती अधिकारीले सेतोपाटीसँग भने, ‘यति नै कागजातले पार्टी दर्ताको टिप्पणी उठाउन मिलेन। उहाँहरूले थप कागजात पठाउनुहोला।’
विधान, नियमावली, घोषणापत्र २–२ झण्डा, लोगो, छाप, चुनाव चिह्नसहित दल दर्ताका लागि २३ वटा प्रावधान पूरा गर्नुपर्नेछ।
नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कमिटीको आकार टुंगो लागिसकेको छैन।
उनले अहिलेसम्म सबै घटकको केन्द्रीय कमिटी सदस्यहरू एकीकृत पार्टीको केन्द्रीय सदस्य रहने हुँदा केन्द्रीय कमिटीको आकार नै एक हजारभन्दा पनि बढी नाघ्ने देखिएको छ।
माओवादी केन्द्रको ४०८ सदस्यीय केन्द्रीय कमिटी छ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको आकार झन्डै ६०० सदस्यीय पुगेको छ। ८८ जना केन्द्रीय सदस्य अन्तिम केन्द्रीय कमिटी बैठकमा थपिएका हुन्। सबै घटक जोड्न केन्द्रीय कमिटीको आकार भीमकाय देखिने भएको हो।
‘हामी केही दिनमा केन्द्रीय कमिटी, यसको संख्या, पार्टीका दस्तावेज तय गर्छौं,’ ज्वालाले भने।