'दिवानी मैं दिवानी, सजनकी दिवानी...'
यसपालि तिहारमा यो गीत भाइरल भयो। ठाउँ ठाउँमा भएका देउसी–भैलो कार्यक्रममा धेरै जना यो गीतमा नाचे। ती भिडिओ सामाजिक सञ्जाल, खासगरी टिकटकमा भाइरल भए।
यस्तै भिडिओमध्ये एक थियो पोखराको देउसी–भैलोको।
त्यहाँ भने यो गीतको भन्दा धेरै चर्चा नाच्ने व्यक्तिको थियो। उनको नाच हेर्न भिड लाग्थ्यो।
धेरै भिडिओमा मानिसहरूले बोलेको सुनिन्छ पनि — आज सुनिता नाच्ने भनेर हेर्न आएको!
उनी नाच्न थालेपछि 'सुनिता, सुनिता, सुनिता...' भनेर हुटिङ लाग्छ। कति मानिस उनीसँगै स्टेजमा नाच्न पुग्छन्। धेरैले उनको नृत्य उत्कृष्ट भएको र उनको कामको सम्मान गर्नुपर्ने भनेका छन्।
यसरी सुनिताले 'दिवानी मैं दिवानी, सजनकी दिवानी...' मा नाचेर दर्शकलाई 'दिवाना' बनाएकी छन्।
२८ वर्षीया सुनिता गुरूङ आफूलाई 'ट्रान्सवुमन' (पारलैंगिक महिला) भनेर चिनाउँछिन्। पोखराले उनलाई 'तेस्रोलिंगी डान्सर सुनिता' नाम दिएको छ। धेरैले उनको वास्तविक पहिचान अनुसार सम्मान नभएको टिप्पणी गरेका छन्।
तर दर्शकले जान–अनजानमा दिएको नाममा उनको दुःखमनाउ नभएको, बरू खुसीसाथ स्वीकार गरेको उनी बताउँछिन्।
'दर्शकहरूले मायाले दिएको नाममा मलाई कुनै आपत्ति छैन। जे छ, आज दर्शककै माया र सम्मानले पाएकी हुँ,' सुनिताले भनिन्, 'पोखरामा देउसी–भैलो खेल्दा नाचिएका भिडिओ भाइरल हुनु पनि दर्शककै माया र सम्मान हो।'
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको केही समूहले हरेक तिहारमा पोखराका विभिन्न ठाउँमा देउसी–भैलो कार्यक्रम गर्छन्। यस्तै एक समूहमा छिन् सुनिता। उनी आफ्नो समूह अन्तर्गत रहेर विगत चार वर्षदेखि देउसी–भैलोमा सहभागी भइरहेकी छन्।
सुनिताले अहिलेसम्म औपचारिक रूपमा नृत्य सिकेकी छैनन्। उनी आफै तयारी गर्छिन्, मनदेखि नाच्छिन्।
'दशर्कहरूले तपाईं गीतको भावना बुझेर नाच्नुहुन्छ, त्यसैले मनपर्छ भन्नुहुन्छ,' उनले भनिन्, 'भिडले मेरो नाम लिएर चिच्याउँदा एकदमै खुसी लाग्छ।'
यसपालि उनीहरूले काग तिहारकै दिनदेखि कार्यक्रम गरेका थिए। कार्यक्रम कहाँ र कति बजे हुन्छ भनेर उनले टिकटक लाइभमा जानकारी दिन्थिन्। त्यसैले कार्यक्रम सुरू हुनुभन्दा पहिला नै दर्शकको भिड हुन्थ्यो।

पोखराको नयाँ गाउँमा उनीहरूभन्दा पहिले दशर्क आएर बसिसकेका उनले जानकारी दिइन्। त्यस्तै नयाँ विमानस्थल कार्यालय पछाडिको गाउँमा पनि दर्शकको धेरै माया पाइन्।
तिहार सकिए पनि उनीहरूको कार्यक्रम अहिले सकिँदैन। विभिन्न ठाउँ पुगेर नाच देखाउँछन्। यसपालि कात्तिक अन्तिमसम्म नाच्ने योजना बनाएका छन्।
यसरी कार्यक्रमबाट संकलन भएको पैसा नाच्ने व्यक्ति, स्टेज आयोजना गर्ने समूह र अल्पसंख्यक समुदायका साथीहरूबीच बाँडिन्छ। सुनिता आफूले पाएको पैसा आफ्ना लागि खर्चिन्छिन्। कहिलेकाहीँ सहयोग पनि गर्छिन्।
तिहार सकिएपछि पोखराकै एक वृद्धाश्रमका २०–२५ जनालाई खाना खुवाइन्।
'१२ दिन नाचेर ७०–८० हजार रूपैयाँ पाएकी थिएँ। केही मेकअप सामान र लुगा किनेँ। अरू वृद्धाश्रमका आमाबालाई खाना खुवाएँ। अरूलाई सहयोग गर्न रमाइलो लाग्छ,' सुनिताले भनिन्।
कार्यक्रमहरूमा पहिरन चाहिने र त्यही अनुसार मेकअप गर्नुपर्ने भएकाले यिनै सामानमा खर्च बढी लाग्ने उनले बताइन्।
सुनिता आफ्नो समुदायको विशेष कार्यक्रममा मात्र नाच्दिनन्। अरू चाडपर्व, मेला, कार्यक्रममा पनि उनलाई निम्तो आउँछ। पोखराभित्रैको र बाहिरको कार्यक्रमका लागि उनले पारिश्रमिक तोकेकी छन्।
पारलैंगिक महिला सुनिताले आफ्नो वास्तविक यौनिक पहिचान खुलाएर बाँच्न थालेको ८ वर्ष भयो। त्यसअघि उनी पुरूषकै स्वरूपमा थिइन्।
सुनिता पोखरा महानगरपालिका – ७ मा जन्मिएकी हुन्। घरको माइला छोराका रूपमा जन्मिएका उनका तीन दाजुभाइ र एक दिदी छन्।
पुरूष भए पनि किशोरावस्थामा प्रवेश हुँदै जाँदा उनको बोलीचाली र व्यवहारमा परिवर्तन आउँदै गयो। महिलापन बढी हावी भयो। त्यति बेला उनलाई आफूमा आएको परिवर्तनबारे धेरै चासो भएन।
तर स्कुलमा हुने कार्यक्रमहरूमा नाच्दा साथीहरू जिस्काउँथे।
'केटीजस्तो नाच्छ, बोली पनि त्यस्तै छ भन्थे,' सुनिताले सम्झिइन्, 'साथीहरूका कुरा मनमै लिइनँ।'
स्कुल पढुन्जेल उनलाई आफ्नो पहिचान यकिन भएन।
एसएलसी दिएपछि पोखरामा एक जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिससँग उनको भेट भयो। उनीहरूको कुरा सुन्दै गर्दा उनलाई आफ्नो व्यवहारसँग मिलेजस्तो लाग्यो। त्यसपछि यही समुदायका अरू व्यक्तिहरूसँग निकटता बढ्यो।
'उनीहरूसँग नजिकिँदै जाँदा मेरो बोलीचाली, व्यवहार र रूचि किन महिलाको जस्तो छ भन्ने कुरा थाहा भयो,' सुनिताले भनिन्, 'त्यसपछि आफ्नो व्यवहार नियाल्दै अगाडि बढेँ। झन्डै एक वर्षपछि, १९ वर्षको उमेरमा बल्ल आफू पारलैंगिक महिला रहेछु भन्ने यकिन भयो।'
त्यसपछि उनी घरभन्दा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकै मानिसहरूसँग बढी बस्न थालिन्। त्यहीँ बस्दाबस्दै समुदायका लागि काम गर्ने अवसर मिल्यो।
२१ वर्षको उमेरमा उनले आफ्नो रहर अनुसार जिउने निर्णय गरिन् र महिलाकै स्वरूपमा हिँडिन्।
'जब महिलाले लगाउने लुगा पहिरिएँ, मनमा छुट्टै आनन्द आयो,' उनले सुनाइन्, 'केही दिन बाहिर निस्किन अप्ठ्यारो लाग्यो। साथीहरूको पछाडि लुक्दै हिँड्थेँ। बिस्तारै बानी पर्यो।'
चार वर्षअघि देउसी–भैलो कार्यक्रममा नाच्दा दर्शकहरूले खुब मनपराएका थिए। त्यसपछि हरेक वर्ष नाच्न थालेका उनले बताइन्।
'धेरै त पुरूष भएर पनि केटीको पहिरनमा कसरी नाच्छ भन्ने सोचेर पनि आउँछन्। नाच हेरेपछि केटा भएर पनि शरीर लचिलो रहेर भनेर फर्किन्छन्,' सुनिताले भनिन्, 'बिस्तारै शारीरिक स्वरूप पनि महिलाको बनाउँदैछु।'