नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न सरकारसँग अनुमति दिन आग्रह गरेका छन्।
नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले लागू गरेको युरो–६ मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनले केही समस्या निम्त्याउन सक्ने भन्दै एकपटक अनुमति दिन आग्रह गरेका हुन्।
यस आग्रहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक प्रतिक्रिया दिँदै यस विषयमा सरकारले विचार गर्ने बताए।
प्रधानमन्त्री ओलीले सरकारले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरिरहेको उल्लेख गरेर लगानीमा कुनै बाधा नहुने धारणा व्यक्त गरे।
अध्यक्ष ढकालले नाडा अटो शोले नेपालको अर्थतन्त्रमा योगदान पुर्याएको बताए। उनले इलेक्ट्रिक गाडीको आयात बढिरहेको उल्लेख गर्दै नेपालमा गाडी एसेम्बल उद्योग, डाटा सेन्टर र वातावरणमैत्री उत्पादनको सम्भावना रहेको बताए।
उनले हालसालै ३० भन्दा बढी उद्योग, लगानी र व्यवसाय सम्बन्धी कानुन परिमार्जन गरिएको र यसले निजी क्षेत्रप्रति सकारात्मक धारणा सिर्जना गरेको टिप्पणी गरे। ढकालका अनुसार, पछिल्ला वर्षमा सवारीसाधन बिक्री करिब ४० प्रतिशतले बढेको छ, कर्जा प्रवाह ८.७ प्रतिशतले वृद्धि भएको छ र बैंकको नाफा बढेको छ, जुन बजारमा विश्वास बढेको संकेत हो।
महासंघको पहलमा स्थापना भएको १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनीले पूर्वाधार, ऊर्जा, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ। अध्यक्ष ढकालले कम्पनीले १० अर्ब रुपैयाँ पूँजीबाट ४० अर्ब रुपैयाँसम्मका ठूला आयोजनामा लगानी गर्न सक्ने जानकारी दिए।