जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजना निर्माणको काम अन्तिमचरणमा आएर रोकिएको छ।
जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै विद्युत् उत्पादन गर्ने तयारी प्रभावित बनेको छ।
बाँधदेखि विद्युतगृहसम्मको दुई हजार ७०० मिटर पाइपलाइन अन्तर्गतको जग्गाबारे विवाद भएको छ। विवादपछि पाइपलाइन जोड्न बाँकी रहेको छ निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडका अध्यक्ष इञ्जिनियर सूर्यप्रसाद अधिकारीले जानकारी दिए।
जग्गाधनी खगेश्वर शर्माले मापदण्डभन्दा बढी मुआब्जा मागेपछि काम रोकिएको उनले बताए। शर्माको चार रोपनी जग्गा आयोजना प्रभावित क्षेत्रमा पर्छ। उनले एक करोड पाँच लाख रुपैयाँ मुआब्जा माग गरेका छन्।
आयोजनाले ३२ रोपनी जग्गाको मुआब्जा ९२ लाख रुपैयाँ वितरण गरिसकेको छ। “एउटै व्यक्तिको कारण आयोजनाको काम रोकिएको छ,” अधिकारीले भने। जग्गाको सरकारी मूल्य र भएको क्षतिको मूल्यांकनका आधारमा मुआब्जा दिन तयार रहेको उनको भनाइ छ।
निर्माण कम्पनी र जग्गाधनीबीच पाखो जग्गाको प्रतिरोपनी ४० हजार, बारीको ७० हजार र खेतको दुई लाख ५० हजार रुपैयाँ मुआब्जा दिने सहमति भएको थियो। सोही सहमति अनुसार जग्गाधनीलाई मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ।
मुआब्जा विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीयवासी चित्रप्रसाद चापागाईं, तिलक थापा, विष्णु आचार्य र चिरञ्जीवी आचार्य सहितको समिति गठन गरेको छ।
३३ करोड रुपैयाँको लागतमा बनेको साढे एक मेगावाट क्षमताको उक्त आयोजनाले जिल्लाको एक तिहाइ विद्युत् माग धान्ने बताइएको छ।
जैमिनी नगरपालिका– १ र कुश्मीसेरा– ४ सर्कुवाको सीमामा रहेको ठेउलेखोलाको पानीलाई दुई हजार ७०० मिटरको पेनस्टक पाइपमार्फत वडा नं– ५ विनामारे स्थित विद्युतगृहमा पुर्याइएको छ।
आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीको समेत १० प्रतिशत संस्थागत शेयर रहेको छ। रासस