'हामी नेपाल' का संयोजक सुदन गुरूङले आफ्नो संस्थालाई अब जेन–जी आन्दोलनबाट पूर्णतया अलग गराउने बताएका छन्।
उनले फेसबुकमा भिडिओ प्रसारण गर्दै उक्त जानकारी दिएका हुन्।
जेन–जी आन्दोलनपछि चर्चामा आएका गुरूङ जेन–जीहरूको प्रतिनिधिकै रूपमा सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति प्रक्रियामा पनि जोडिएका थिए। उनी कार्कीको शपथग्रहण समारोहमा उपस्थित थिए। पछि मन्त्री नियुक्तिमा उनको टिप्पणी पनि सार्वजनिक भएको थियो।
उनले भिडिओमा भनेका छन्, 'अब जेन–जी र हामी नेपाललाई पूर्णतया अलग गराउने हाम्रो सोचाइ छ। हामी नेपाल एक सामाजिक संस्था हो, र यो विगतमा जस्तै सामाजिक काममा मात्र केन्द्रित हुनेछ।'
हामी नेपालले लामो समयदेखि समाजका बेथिति, विसंगति र भ्रष्टाचारविरूद्ध आवाज उठाउँदै आएको उनले बताए।
जेन–जी आन्दोलनका सहिद र घाइतेहरूका नाममा हामी नेपालले पैसा उठाएर दुरूपयोग गरेको आरोपको पनि उनले खण्डन गरेका छन्।
'आन्दोलनको समयदेखि अहिलेसम्म हामीले कसैसँग एक पैसा सहयोग लिएका छैनौं,' उनले भने, 'राजनीतिक पार्टीका साइबर सेनालाई हामीलाई विभाजित गर्न यस्तो अफवाह फैलाएका हुन्।'
यो अफवाह मेट्न हामी नेपालले छुट्टै वेबसाइट बनाएर त्यसमा आन्दोलनका सहिद र घाइतेहरूको सूची राख्ने र इच्छुक दाताहरूले सम्बन्धित परिवारलाई सिधै सहयोग गर्न सक्ने उनले बताए।
यसका लागि घाइतेहरूलाई आन्दोलन बेला कहाँ थियो, कसरी गोली लाग्यो लगायतका विवरण भरिदिन उनले आह्वान गरेका छन्। सबैले विवरण दिएपछि उक्त तथ्यांकका आधारमा दाताहरूलाई सहयोग गर्न सहज हुने उनले बताए।
त्यस्तै, हामी नेपालले देशभरका जनताको माग सम्बोधन गर्न एकीकृत एजेन्डा तयार पार्ने काम गरिरहेको पनि उनले जानकारी दिए।
'यो आन्दोलन जेन–जीहरूबाट सुरू भए पनि भोलिपल्ट सम्पूर्ण नेपाली होमिएका थिए। त्यसैले हामीले एजेन्डा कोर्दा २०–२५ जना टेबलमा बसेर कोर्ने होइन। दुर्गम गाउँको एजेन्डा बनाउँदा उनीहरूको पनि समस्या सम्बोधन हुने गरी बनाउनुपर्छ,' उनले भने।
यसका लागि विभिन्न क्षेत्रका ५० जनाभन्दा बढी विज्ञहरूको टिम बनाएर एजेन्डा तयार पार्ने काम भइरहेको उनले बताए।
उनका अनुसार उक्त एजेन्डा तयार भएपछि त्यसलाई सार्वजनिक गरेर सबैको सुझाव आह्वान गरिनेछ। त्यसमा सुझाव दिन राजनीतिक दलमा आबद्धहरूसँग पनि उनले आग्रह गरेका छन्।
'पार्टीका सम्पूर्ण साथीहरूसँग मेरो आग्रह छ, यो राष्ट्र तपाईंहरूको पनि हो। पार्टीभन्दा माथि देश हो। त्यसैले यो एजेन्डामा सहयोग गर्नुहुन म सबैसँग अनुरोध गर्छु,' उनले भने।
गुरूङले हालै एक अन्तर्वार्तामा जेन–जी पुस्ताले नयाँ पार्टी खोलेर निर्वाचनमा भाग लिने बताएका थिए।