सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग निर्माण ६५ प्रतिशत सकिएको छ।
आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत छ। ११२६ मिटर लम्बाइ भएको सुरूङ निर्माण ६५ प्रतिशत सकिएको हो।
सुरूङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङ वाल लगायत संरचना निर्माणाधीन छन्।
समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नु पर्ने आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालु रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ।
मुख्य सुरूङबाट सवारी साधन चलाउन सुरू भएपछि रक सेड निर्माण थालिने छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सुरूङमार्ग निर्माणस्थलको आइतबार अनुगमन गरी निर्माणलाई तीव्रता दिन आग्रह गरेका छन्।
उनले तोकिएको अवधिमा काम सक्न ताकेता समेत गरेका छन्।
'समयमा साइट उपलब्ध गराउन नसकेको, वन कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानीमा ढिलाइ गरिएको लगायतका काबू बाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीबाट १९ महिना म्याद थप माग भएको रहेछ, यस विषयलाई आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुहोस्, निर्णय नगरेर आयोजनाको निर्माण कुनै पनि हालतमा प्रभावित हुन दिनु हुँदैन,' मन्त्री घिसिङले भने।
सुरूङ इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माण भइरहेको छ।
निर्माणका लागि २५ फागुन २०७८ मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सात अर्ब ३४ करोड २१ लाख (करसहित)मा ठेक्का सम्झौता भएको थियो।
सम्झौता बमोजिम चैत २०८३ भित्र सुरूङको निर्माण सम्पन्न गर्नुपर्ने छ।
त्यसपछि कम्पनीले १८२५ दिन सुरूङ सञ्चालन एवं मर्मत सम्भार गर्नेछ। सुरूङ सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको हो।
सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँदसमेत ढुंगा खस्ने, माटो बगेर आउने तथा सुख्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ।
वर्षायाममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौंसम्म ट्राफिक अवरोध हुने गरेको छ।
उक्त समस्या समाधानका लागि भनेर सुरूङमार्ग निर्माण गरिएको हो।