राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ बाट पूर्वअध्यक्ष पशुपति शम्शेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पहिलो नम्बरमा राखेर फरक-फरक उम्मेदवार सूची सिफारिस भएपछि त्यसले पार्टीभित्र विवाद उत्पन्न गरेको छ।
पूर्वअध्यक्ष राणा पहिलो नम्बरमा राखेको सूची क्षेत्रीय कार्यसमितिबाट सिधै केन्द्रीय कार्यालयमा पुर्याइएको हो।
वरिष्ठ उपाध्यक्ष मिश्र पहिलो नम्बरमा सिफारिसमा परेको सूची भने जिल्ला हुँदै केन्द्रीय कार्यालय पठाउने तयारीमा छ।
क्षेत्रीय सभापति रामेश्वर श्रेष्ठले आइतबार दिउँसो १ बजे मिश्रसहित नाम रहेको सूची जिल्ला कार्यसमितिमा बुझाएका छन्।
राप्रपाले क्षेत्रबाट सिफारिस भएका नाम जिल्ला पठाएर रायसहित केन्द्रमा नाम पठाउन परिपत्र गरेको थियो।
क्षेत्रीय कार्यसमितिबाट पशुपति शम्शेर राणा, सोभित उप्रेती, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठको नाम प्रत्यक्षतर्फ तथा जयन्तनाथ खनाल, रामेश्वर श्रेष्ठ, रिना शाही वली, पुष्कर जङ्गम, भीमसेन पुरी र अम्बिका अर्यालको नाम समानुपातिकमा सिफारिस भएको छ।
अर्को सूचीअनुसार प्रत्यक्षतर्फ वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, रामेश्वर श्रेष्ठ र राम तन्दुकार तथा समानुपातिकमा मीना सुवेदी, खिना शाही, सुमिरा कार्की र लक्ष्मी तन्दुकारको नाम सिफारिस भएको छ।
यस्तो छ दुई वटा सिफारिस;

दुवै पक्षले आफूहरूको सूची आधिकारिक रहेको दाबी गर्दै आएका छन्।
यसबारे हामीले क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिमा बुझ्ने प्रयास गरेका छौं। क्षेत्रीय सभापति रामेश्वर श्रेष्ठ भने पटक पटक फोन गर्दा पनि सम्पर्कमा आएनन्। यसपछि हामीले राप्रपा जिल्ला कार्यसमिति काठमाडौंमा यस विषयमा बुझ्यौं।
‘रवीन्द्र मिश्रसहित उम्मेदवारहरू सिफारिस भएको पत्र प्राप्त भएको छ, अब रायसहित केन्द्रमा पठाउने हो, वैधानिक बाटो यही हो,’ राप्रपा जिल्ला अध्यक्ष नवराज सिम्खडाले सेतोपाटीसँग भने, ‘अरू कुनै सूची हामीलाई प्राप्त भएको छैन।’
पूर्वअध्यक्ष पशुपति शम्शेर राणा पहिलो नम्बरमा राखेर सिफारिस भएको जानकारी जिल्ला कार्यसमितिलाई दिइएको छैन, सिधै केन्द्रीय कार्यालयमा पठाइएको नेताहरूले जनाएका छन्।
सेतोपाटीसँगको कुराकानीमा एक जना पदाधिकारीले काठमाडौं १ बाट पशुपति शम्शेर राणाको नाम पहिलो नम्बरमा राखेको सूची मात्रै प्राप्त भएको जानकारी दिए।
‘पूर्वअध्यक्ष पशुपति शम्शेर राणासहितको नाम रहेको सूची केन्द्रीय कार्यालयमा प्राप्त भएको अवस्था छ,’ ती पदाधिकारीले भने, ‘वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पहिलो नम्बरमा रहेको अर्को सूची पनि छ भन्ने सुनिएको छ, केन्द्रीय कार्यालयमा आएको भने छैन।’
वरिष्ठ उपाध्यक्ष मिश्रनिकट एक नेताका अनुसार क्षेत्रीय कार्यसमिति बैठकबाट मिश्रसहित ३ जनाको नाम सिफारिस भई जिल्लामा पठाइएको हो।
पूर्वअध्यक्ष पशुपति शम्शेरको नाम पहिलो नम्बरमा राखेर काठमाडौं १ बाटै उम्मेदवार सिफारिस गरिएको विवरण आएको सम्बन्धमा सोधिएको प्रश्नमा मिश्रनिकट ती नेताले भने, ‘कोरम नै नपुग्ने गरी बैठक गरेजस्तो गरेर सिधै नाम केन्द्रमा पठाएको भन्ने सुनियो, यो वैधानिक हुँदैन। पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले पनि काठमाडौं १ मा उठ्ने मेरो चाहना छैन, रवीन्द्र मिश्र नै उठ्नु हुन्छ, दुई पटक उठिसक्नुभयो, थोरै मतले पराजित हुनुभएकोले अब पनि उहाँ नै उठ्ने हो, विवाद गर्न हुन्न भनेर भन्नुभएको रहेछ।’
पूर्वअध्यक्षको नाम सिफारिस गरेर अरू कोही उम्मेदवार बन्न 'चलखेल' गरेको हुन सक्ने ती नेताको दाबी छ।
राप्रपाले २०६४ सालपछि पटक पटक समानुपातिकतर्फ अवसर पाएका नेताहरूलाई यो चुनावमा समानुपातिकतर्फ नै नदोहोर्याउने तयारी गरेको छ।
हालै अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको संसदीय समिति बैठकले धेरै पटक अवसर पाएकाहरूलाई पुन: समानुपातिकतर्फ उम्मेदवार नबनाउने तयारी गरेको थियो। यस्तो निर्णय राप्रपाले २०७९ को चुनावमा गरे पनि कार्यान्वयन गर्न सकेको थिएन।
त्यसैले यसअघि समानुपातिकतर्फ सांसद बनेका पशुपति शम्शेर राणा प्रत्यक्षतर्फ उम्मेदवार बन्न खोजेको हुन सक्ने चर्चा राप्रपाभित्र छ। यसअघि राणा सिन्धुपाल्चोकबाट चुनाव लड्दै आएका थिए।
राप्रपाका उम्मेदवार मिश्र २०७८ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए। त्यसअघि २०७४ मा भएको चुनावमा मिश्र सिंहसँगै पराजित भएका थिए।
यसपालि पनि कांग्रेस काठमाडौं १ ले पहिलो नम्बरमा प्रकाशमान सिंहकै नाम सिफारिस गरेको छ भने त्यसपछि बाबुराम आचार्यको नाम पनि उम्मेदवारका लागि सिफारिस भएको अवस्था छ।
राप्रपामा क्षेत्र र जिल्लाबाट रायसहित आएका उम्मेदवार आकांक्षीहरूबारे छलफल गरेर संसदीय समितिले टिकट दिने विधानको व्यवस्था छ। काठमाडौं १ बाट फरक फरक उम्मेदवार सूची आए पनि संसदीय समितिबाट सहमतिमै उम्मेदवार तय गरिने राप्रपाका ती पदाधिकारीले जानकारी दिए।