पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्ड मर्मतका लागि सोमबार निर्माण पक्षसँग सम्झौता हुँदैछ।
अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) र नेपाल सरकारको लगानीमा मर्मत हुने भनिएको धानखोला– लमही ४० किलोमिटर सडक खण्ड स्तरोन्नतिको लागि बोलपत्र आह्वान भएको थियो।
टेण्डर प्रक्रियाबाट शर्मा/कुमार श्रेष्ठ जेभीले कामको ठेक्का पाएको छ। सोही कम्पनीसँग सोमबार सम्झौता हुन लागेको हो।
यही निर्माण कम्पनीले बाँकेस्थित विमानस्थलको टर्मिनल भवनको काम निर्धारित समयभन्दा अगाडि नै सकेको थियो। कोहलपुर –नेपालगन्ज लगयतका सडक निर्माणको काम पनि यही कम्पनीले गरेको थियो।
त्यस्तै धनगढीको निर्माण कम्पनी कुमार श्रेष्ठ पनि ठूला विकास निर्माणको काम समयमै पूरा गर्दै आएको कम्पनी हो ।
आज निर्माण व्यवसायीसँग काठमाडौस्थित होटेल रोयल सिङ्ग्रीमा बिहान १० बजे पछि त्यो सम्झौता हुने एमसिए नेपालका निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्ड स्तरोन्नतिका लागि अघिल्लो वर्षको ३० अक्टोबरमा टेण्डर आह्वान भएको थियो।
ठेक्का आह्वानपछि प्राविधिक मूल्यांकन कार्य पूरा गरी उत्कृष्ट मध्यका निर्माण व्यवसायी छनोट गरिएका हुन्।
नेपाल सरकारले नेपाल र अमेरिकी सरकारको मिलिनियम च्यालेञ्ज कर्पोरेसनको सह–लगानीमा कार्यान्वय गरिने कार्यक्रमको जिम्मेवार निकायको रुपमा विकास समिति ऐन, २०१३ अन्तर्गत २०७५ साल वैशाख ५ गते एमसिए –नेपाल स्थापना गरेको थियो।
जसअनुसार सडक खण्ड स्तरोन्नतिको काम यसअघि नै हुनुपर्ने थियो। नेपालमा भएको विभिन्न राजनीतिक अवरोधका कारण पनि काममा ढिलाइ भएको हो। अमेरिकी सरकार परिवर्तनको असर पनि यसमा पर्यो।
पछिल्लो समय फेरि एमसिसी अन्तर्गतको सहायता भने नरोकिने निर्णय ट्रम्प सरकारले गरेपछि मात्रै पुनः सडक स्तरोन्नतिको अन्तर्गतका परियोजनाको काम अगाडि बढेको हो।
दाङको धानखोलादेखि लमही नगरपालिका– ५ सम्मको सडक खण्ड एमसीएले पाइलट प्रोजेक्टका रूपमा अगाडि बढाएकाले सरकारी तवरबाट तीन/चार वर्षयता खाल्डाखुल्डी पुर्ने काम मात्रै हुँदै आएका थिए।
जबकी २०७९ सालतिरै यस सडक खण्डमा भौतिक संरचना हटाउन सार्वजनिक सूचना नै जारी भएको थियो। जसअनुसार सडकको दायाँ/बायाँ रूखहरू राप्ति गाउँपालिका क्षेत्रमा कटान गरिएको थियो।
डिभिजन सडक कार्यालय दाङका प्रमुख सिडिई दिपेन्द्रबहादुर विष्टले यो अवधिमा भालुवाङ–लमही सडक खण्डमा सामान्य मर्मत सम्भारका काम मात्रै भएको बताए। एमसिएले अगाडि बढाएकाले अन्य मर्मत सम्भारको लागि बजेट विनियोजन गर्न नमिलेको हुँदा आफूहरुले समेत गाली खेप्नु परेको उनले बताए ।
खाल्डाखुल्डी पुर्ने काम मात्रै गर्न पाएकाले सडक जीर्ण हुँदा स्थानीयको गाली खानु परेको पनि उनको भनाइ छ।
‘सडक बनेन भनेर स्थानीयले कहिले सडकमै केराका बोटहरू रोपे, कहिले धान रोपे र कहिले नाचेर विरोध गरे। ती सबै गतिविधि सहन हामी बाध्य थियौं,’ उनले भने।
एमसिए नेपाल परियोजना अन्तर्गत काम हुने भए पछि धानखोला–लमही सडकखण्डमा सुरक्षा ट्राफिक संकेतहरूको मर्मत सम्भारको काम समेत नभएको गर्न नमिलेको विष्टले बताए।
नेपाल सरकारको निर्णयअनुसार स्तरोन्नति गरिने सडकमा गाडी गुड्ने चौडाइ ७ मिटर र दुवैतर्फ २.५ र २.५ मिटर चौडा कालोपत्रे सोल्डर गरी जम्मा १२ मिटर कालोपत्रे सडक रहने छ।
सडक खण्डमा प्रयोग भएका अधिकांश निर्माण सामग्री पुनः प्रयोग गर्न मिल्ने गरी गर्ने नयाँ प्रविधिबाट सडक स्तरोन्नति हुनेछ। पहिले सडक कालोपत्रेका क्रममा प्रयोग गरिएको बालुवा गिट्टी पुनः प्रशोधन गरी फेरि सोही कार्यका लागि प्रयोग गरिने छ।
यदी यो प्रविधि सफलतापूर्वक सम्पन्न भएमा लमहीदेखि बाँकेको सीमाना क्षेत्र शिवखोलासम्मको थप करिब ३७ किलोमिटर सडक पनि सोही प्रविधिबाट स्तरोन्नति गर्ने उद्देश्य राखिएको छ।
परियोजना अन्तर्गत अमेरिकी बिकास परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल बिकास समिति (एमसिए नेपाल),नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को ७४.७ करोड अमेरिकी डरल संयुक्त लगानीमा संचालन भएको छ।
जस अन्तर्गत अमेरिकी सरकारको एमसीसी कम्प्याक्ट कोषको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७ करोड अमेरिकी डरलको लगानी रहेको छ।
यो परियोजनाको उदेश्य नेपालमा आर्थिक बृद्धिमा तीब्रता ल्याउन बिजुलीको सहज उपलब्धता र भरपर्दोपनामा वृद्धि गर्नु, सडकको गुणस्तर कायम राख्नु तथा नेपालको उर्जा ब्यापारलाई सहजीकरण गर्ने भन्ने रहेको छ ।
त्यही कार्यक्रम अन्तर्गत राष्ट्रिय गौरवको बिद्युत प्रशारण आयोजना र सडक मर्मत आयोजनाका कार्यहरु अगाडि बढ्न थालेका हुन्।
सडक खण्ड चार लेनमा विकास हुनुपर्ने माग
यसैबीच दाङको धानखोलादेखि लमहीसम्म सडक खण्डमा स्तरोन्नतिको काम एमसिए नेपाल र नेपाल सरकारको लगानीमा हुने गरी सम्झौता हुँदै गर्दा उक्त सडक खण्ड चार लेनमा विकास गर्नुपर्ने माग केही स्थानीयले राखेका छन्।
चार लेन सडक निर्माण संघर्ष समितिले एमसिसी अन्तर्गत एमसिए नेपालले अघि बढाएको धानखोला–लमही दुई लेन सडक परियोजना तत्काल खारेज गरी चार लेन एसियन हाइवे निर्माण प्रक्रिया अघि बढाउन माग गरेको छ।
त्यो कार्य अघि नबढाए देउखुरी क्षेत्रमा पुस ७ गतेदेखि सरकारी सवारी साधन चल्न नदिने चेतावनी दिइएको छ।
संघर्ष समितिका संयोजक प्रकाश शाहीले शनिबार जारी गरेको प्रेस विज्ञप्ती लुम्बिनी प्रदेशको राजधानी क्षेत्रसमेत रहेको देउखुरीमा दुई लेन सडक दीर्घकालीन रूपमा अव्यवहारिक, असुरक्षित तथा विकासविरोधी हुने उल्लेख गर्दै सडक खण्ड चारलेनमा विकास गरिनुपर्ने माग गरेका छन्।
तर, सरोकारवालहरु भने पहिलै दुई लेन सडक स्तरोन्नति गर्ने बारे बोलपत्र आह्वान भइ निर्माण व्यवसायीसँग आज सम्झौता हुने अवस्थामा रहेको हुँदा यतिखेर आएर चारलेन सडकको माग गर्दा त्यसको सुनुवाई हुने सम्भावना न्यून रहेको बताउँछन्।