ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गरेका छन्।
बर्दियाका राजापुर नगरपालिका-१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका-५ टीकापुर पार्कसँग जोड्ने कर्णाली नदीस्थित दौलतपुरघाट झोलुङ्गे पुलको बुधबार शिलान्यास गरेका हुन्।
सहरी विकास मन्त्रालय मातहत रहेको स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सस्पेन्स बृज डिभिजनमार्फत निर्माण हुने पुलको लम्बाइ ४८२.२० र चौडाइ १.६० मिटर छ।
पुल निर्माणबाट दौलतपुर र टीकापुर क्षेत्र दुवैतर्फका करिब दुई हजार घरधुरी लाभान्वित हुनेछन्।
पुलको मध्य भागमा फोटो खिच्न मिल्ने गरी आवश्यक संरचना पनि बनाइनेछ।
दौलतपुरघाटमा पुल नहुँदा डुंगाको प्रयोग गरी कर्णाली नदीमा जोखिमपूर्ण यात्रा हुँदै आएको छ।
वर्षायामका डुंगाको प्रयोग गर्न नसकिने हुँदा आतजावत नै बन्द हुने अवस्था छ। झोलुङ्गे पुलको निर्माण पश्चात स्थानीय बासिन्दालाई बाह्रै महिना सहज रूपमा नदी वारपार सुविधा हुनेछ।
शिलान्यास समारोहमा मन्त्री घिसिङले पुल निर्माणपछि राजापुर र टीकापुरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न योगदान पुग्ने बताए।
दौलतपुरतर्फका स्थानीयलाई टीकापुर बजार क्षेत्रमा क्याम्पस, अस्पताल लगायतका पहुँचमा सहज हुने एवं कृषि उत्पादन टीकापुर क्षेत्रसम्म ढुवानी गर्ने वातावरण बन्ने उल्लेख गरे। उनले त्यस क्षेत्रमा रहेको नदी कटानलाई नियन्त्रण गरी सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताए।
तोकिएकै समयमा पुलको निर्माण सम्पन्न गर्न निर्देशन घिसिङले दिए।
ठेक्का सम्झौताअनुसार पुल ११ असार २०८४ भित्र सकिनेछ।
सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले झोलुङ्गे पुल निर्माणले दौलतपुर क्षेत्रको आर्थिक, सामाजिक र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने आधार तय गर्ने उल्लेख गरे।
पुल निर्माणका लागि १५ करोड ७४ लाख रूपैयाँ (भ्याटसहित)मा ठेक्का सम्झौता भएको छ।