सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र राखिएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएका छन्। ठेक्का तोडिएका आयोजनाको कुल सम्झौता रकम १४ अर्ब २३ करोड रूपैयाँ छ।
बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गत १५ र सुनकोशी मरिनको एक गरी २२ वटा रूग्ण ठेक्का सम्झौता तोडिएका हुन्।
यसमा भेरी बबईको १ करोड ७६ लाख रूपैयाँ बराबरको ठेक्का तोडिएको छ भने जनकपुरधाम कार्यालयअन्तर्गत १३ करोड १७ लाख रूपैयाँ बराबरको ठेक्का तोडिएको छ।
जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रूग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए। त्यसपछि कार्यालयहरूले वर्षौंदेखि समस्याग्रस्त ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका हुन्।
जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत चालू ठेक्का २१५ छन्। तीमध्ये ३३ ठेक्का समस्याग्रस्त छन्। समस्याग्रस्तमध्ये हालसम्म २२ वटा तोडिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए।
सिँचाइतर्फको सबभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तोडिएको छ।
आयोजनाको बाँध (हेडवर्क्स), विद्युत गृह लगायत सिभिल संरचना, गेट लगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल-रमण जेभी, जनकपुर-९ धनुषासँगको ठेक्का सम्झौता तोडिएको हो।
आयोजना निर्माणका लागि पटेल-रमण जेभीसँग १४ अर्ब ८ करोड रूपैयाँ (करसहित) मा ठेक्का सम्झौता भएको थियो।