भौतिक विकासका हिसाबले देशकै अग्रस्थानमा रहेको रूपन्देहीभित्रै रहँदा पनि मर्चवार दुर्गम क्षेत्रका रूपमा चिनिन्छ।
जिल्लाभित्र मात्र होइन, देशकै प्रमुख अन्न भण्डार मानिने मर्चवारमा कृषि र पर्यटनको अथाह सम्भावना भएर पनि सधैं पछाडि परिरह्यो।
भैरहवा–लुम्बिनी सडक खण्डको बेथरीदेखि दक्षिणतर्फ भारतीय सीमा क्षेत्र खैराघाट र ठोटरीसम्मको सिंगो क्षेत्र मर्चवारको रूपमा चिनिन्छ। यहाँ डेढ दर्जनभन्दा बढी गाउँ छन्।
मर्चवार क्षेत्रका साविकका बैरघाट, मर्यादपुर, गोनहा, सक्रौनपकडी, हाटीबनगाई, कम्हरिया, रायपुर, सिलौटिया, बगौली, ओडवलिया, बोगडी, मझगावा, असुरैना, सिसोसेमरा, थुम्वापिपरहवा, रोहिनिहवा, बेतकुइया र फरेना गरी १८ वटा गाविसलाई जोडेर अहिले तीन वटा गाउँपालिका बनाइएको छ।
मर्चवार क्षेत्रमा अहिले मर्चवारीमाई, कोटहीमाई र सम्मरीमाई तीन वटा गाउँपालिका बनाइएको छ।
शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी मात्र होइन, कृषिका लागि सिँचाइ, मल र बिउको अभावमा सधैं तड्पिने यहाँका किसानलाई सडक र पुलको सुविधा नहुँदा जसोतसो उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्याउन सकस थियो।
पछिल्ला तीन–चार वर्षयता भने सडक र पुलजस्ता पूर्वाधारले प्राथमिकता पाउन थालेपछि मर्चवारवासीले विकासको अनुभूति गर्न थालेका छन्।
मायादेवी गाउँपालिकाको गुरवानियादेखि खैराघाटसम्मको व्यवस्थित चार लेनको सडक, पुरैनी र मोहनघाटका दुई लेनका पक्की पुलले मर्चवारको मुहार फेर्दैछन्।

विगतमा सडक सञ्जालसँग जोडिन नसक्दा एउटा गाउँबाट अर्को गाउँसम्म पुग्न मुस्किल पर्ने मर्चवारवासीलाई गुरवानियादेखि मर्यादपुरसम्म चार लेनको कालोपत्रे सडक बनेपछि लुम्बिनी, भैरहवा र बुटवलसँग जोडिन सहज भएको छ।
सडकसँगै सो क्षेत्रमा पर्ने तिनाउ नदीको पक्की पुल पनि दुई लेनमा निर्माण भएको छ। पहिले स्थानीय स्तरमा काठका फलेक जोडेर बनाइएको डुंगाबाट खोला वारपार गर्ने स्थानीयहरू आकर्षक पुल बनेपछि खुसी छन्।
सडक बनेपछि गाउँमा सवारी साधन पुगेको र स्थानीय उत्पादन भैरहवा, बुटवलसम्म पुर्याउन सकिएको स्थानीय किसानहरू बताउँछन्।
लामो समयदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका सम्मरीमाई–असुरैनाका दिलेन्द्र यादव सडक बनेपछि आफ्नो उत्पादन बजारसम्म पुर्याउन सजिलो भएको बताउँछन्।
'मैले धेरै पहिल्यैदेखि तरकारी खेती गर्दै आएको छु। बाटो राम्रो नहुँदा बजार पुर्याउन गाह्रो हुन्थ्यो। अहिले बिक्रीका लागि आफैले बेथरी, भैरहवा र बुटवलसम्म पनि लिएर जान्छु,' उनले भने।
सम्मरीमाईका सन्तराम गुप्ता पनि व्यावसायिक किसान हुन्। वर्षौंदेखि तरकारी उत्पादन गरी जीविकोपार्जन गर्दै आएका गुप्ताले किसानलाई मलखादको समस्या भए पनि सडक निर्माणले उत्पादन बजारसम्म पुर्याउन सजिलो भएको बताए।
लुम्बिनी प्रदेश सरकारले रूपन्देहीको पिछडिएको क्षेत्र मानिने मर्चवारलाई सडक सञ्जालसँग जोड्ने गरी २०७७ सालमा बेथरी–मर्चवार सडक निर्माण सुरू गरेको थियो।
बुटवलको बेलबासदेखि मायादेवीको बेथरीसम्मको सडक यसअघि नै निर्माण भइसकेको थियो। त्यस्तै डिजाइनमा बेथरीको गुरवानियादेखि मर्यादपुरसम्मको पाँच किलोमिटर सडक हालै मात्र निर्माण भएको हो।
प्रदेश सरकार मातहतको सडक पूर्वाधार कार्यालय बुटवलले सडक र पुल दुई प्याकेजमा निर्माण सुरू गरेको थियो।
प्रदेश सरकार मातहतको सडक पूर्वाधार विकास कार्यालय रूपन्देहीले २६ करोड ३८ लाख रूपैयाँमा २०७७ कात्तिक १६ गते निर्माण कम्पनी लुम्बिनी–अर्घाखाँची–बाबुल जेभीसँग ठेक्का सम्झौता गरेर सडक निर्माणको काम अगाडि बढाएको थियो।
सम्झौता अनुसार २०८० वैशाख ३१ सम्म सडकको निर्माण सकिनुपर्थ्यो। तर सडक क्षेत्रमा पर्ने एक सय १७ वटा रूख काट्ने अनुमति समयमै नपाउँदा झन्डै दुई वर्ष ढिलो गरी काम पूरा भएको हो।
सोही सडकअन्तर्गत तिनाउ नदीमाथि पुल निर्माणका लागि टुली काली गण्डकी जेभीले २६ करोड रूपैयाँमा ठेक्का लिएको थियो।
यसरी ५२ करोड ३८ लाख रूपैयाँ लागतमा अहिले पाँच किलोमिटर सडक र पुल दुवै बनिसकेको छ।


स्तरीय सडक नहुँदा मर्चवारका बासिन्दाको जीवनस्तर माथि उठ्न नसकेको अवस्थामा सहज मार्गले मर्चवारलाई भैरहवा, बुटवल लगायत सहरसँग जोड्न सहज भएको छ।
यही सडकमार्फत उत्तर चुरे क्षेत्र भारतीय सीमासँग जोडिँदै छ। करिब ३५ किलोमिटर सडकले मर्चवारलाई बुटवलसँग जोड्छ। बेलबासदेखि बेथरीसम्मको २२ किलोमिटर सडकको अधिकांश भाग यसअघि नै कालोपत्रे भइसकेको छ।
गुरवानियादेखि मर्यादपुरसम्मको पाँच किलोमिटर सडक थपिएपछि २७ किलोमिटर सडक चार लेनको बनेको छ। दोस्रो चरणमा बाँकी रहेको आठ किलोमिटर सडक पनि चार लेनमै निर्माण गर्ने प्रदेश सरकारको योजना छ।
भारतसँग सीमा जोडिएको मर्चवारको खैराघाटसम्मको सडक निर्माण पूरा भएपछि मर्चवारका बासिन्दाको जीवनस्तरमा परिवर्तन आउने विश्वास गर्न सकिन्छ।
वर्षौँदेखि शिक्षा, स्वास्थ्य र बजारको पहुँचभन्दा टाढा रहेका स्थानीयलाई त्यही सडकले ती सबै सेवाको पहुँचमा पुर्याएको स्थानीय युवाहरू बताउँछन्।
मर्यादपुरका शैलेन्द्र पाल हरेक दिन २५ किलोमिटर यात्रा गरी पढ्न भैरहवा पुग्छन्। भैरहवा बहुमुखी क्याम्पसका विद्यार्थी पालले सडक र पुल निर्माण भएपछि घरबाटै आउन–जान सहज भएको बताए।
सडक र पुल बनेपछि भारतसँग सीमा जोडिएको खैराघाट र ठोटरीबाट बुटवलसम्मको दुरी पनि छोट्टिएको छ। अहिले दैनिक सयौं सवारीसाधन सडकमा ओहोरदोहोर गर्न थालेपछि विकासको अनुभूति गर्न पाएको स्थानीयको भनाइ छ।
'सडक बनेपछि बल्ल विकासको अनुभूति गर्न पाएका छौं,' मझगावाका जाफर अलीले भने, 'मानिसहरूको आवागमन र चहलपहल बढ्दै गएपछि व्यावसायिक कारोबार पनि बढ्न थालेको छ।'
कोटहीमाई गाउँपालिका–५ मझगावाका घरभरन चाई बेथरीदेखि मर्यादपुरसम्मजस्तै दक्षिणतर्फ पनि सडक निर्माण हुनुपर्ने बताउँछन्।


'मर्यादपुरसम्म मात्र सडक निर्माण भएर सबै विकास भयो भन्न मिल्दैन। अरू गाउँसम्म पुग्ने सडक पनि बन्नुपर्छ,' उनले भने।
भौतिक पूर्वाधारको अभावमा चर्को गर्मीमा पनि टिनको छानो र खुला चौरमा बसेर पढ्ने विद्यार्थीहरू अहिले मर्चवार आदर्श मावि र असुरैना माविका तीनतले पक्की भवनमा बसेर पढ्न थालेका छन्।
धान, गहुँ, आलु, तरकारी लगायत कृषिजन्य वस्तुको उत्पादन यहाँ धेरै हुन्छ। अन्न, दाल, तरकारी लगायत उत्पादन रूपन्देहीका बुटवल, भैरहवा मात्र होइन, काठमाडौंसम्म पुग्छ।
मर्चवार कृषिको भण्डार मात्र होइन, प्राचीन र ऐतिहासिक बस्ती पनि हो। यहाँ रहेको मर्चवारी मन्दिरको नामबाटै मर्चवार नाम रहेको हो। मर्चवारका मात्र नभई भैरहवा, नवलपरासी लगायत सीमावर्ती भारतीय गाउँहरूबाट पनि श्रद्धालुहरू मर्चवारी मन्दिर दर्शनका लागि आउँछन्।
पहिले ठूलो शिलाका रूपमा रहेको मर्चवारीमाईलाई अहिले प्रदेश सरकारको सहयोगमा भव्य मन्दिर बनाइएको छ।
त्यससँगै कोटहीमाई, सम्मरीमाई, पिपरहवा दुर्गा मन्दिर लगायत बुद्धकालीन देउरवा बाबा, सगरहवा ताल, हस्तिनापुर समकालीन भूमिगत सहर अजमा, सिद्धनाथ मन्दिर लगायत ऐतिहासिक मन्दिरहरू सडक सञ्जाल जोडिएपछि पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदैछन्।
सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) सधैं पछाडि परिरहेको मर्चवार भौतिक विकासको बाटोमा हिँड्दै गरे पनि अहिलेको प्रमुख समस्या मल र सिँचाइ रहेको बताउँछन्।
'यहाँ बाटोघाटो बनिरहेको छ। अब किसानलाई सहज रूपमा मल, बिउ र सिँचाइ पुर्याउन सके मर्चवारको मुहार फेरिन्थ्यो,' उनले भने।
उनले सिंगो मर्चवारको विकासका लागि त्यहाँका तीनै पालिका मिलेर सामूहिक योजना बनाउनुपर्ने बताए।
'मर्चवारमा उच्च शिक्षाका निम्ति राम्रो क्याम्पस र विशेषज्ञ सेवा सहितको अस्पताल आवश्यक छ। त्यसैले सबै पालिका एक ठाउँमा जुटेर काम गर्नुपर्छ,' उनले भने।