गत असोजको कुरा हो।
चाडबाड नजिकिँदै थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेग्लै चहलपहल सुरू भएको थियो। बिदा मिल्ने परदेशीहरू फर्किन थालेका थिए। चाडबाडकै समयमा बाध्यताको झोला भिरेर परदेसिनेको लर्को पनि कम थिएन।
सर्लाही लालबन्दीकी ३४ वर्षीया मनमायाले पनि त्यही लर्कोमा मिसिने योजना बुनिन्। यो उनको रहरको योजना थिएन। पाँच सन्तानकी आमा बनिसकेकी मनमायालाई बाध्यताले थिचेको थियो।
लेखपढ गर्न पनि नजानेकी मनमाया। नोकरी थिएन। घरधन्दामै व्यस्त हुन्थिन्।
उनका श्रीमान श्यामबहादुर गाउँमै ज्याला-मजदुरी गर्दै थिए। केही समयअघि मजदुरीकै लागि भारत पुगेका उनी पछिल्लो समय गाउँमै ठेक्कापट्टाको काम गर्छन्। तर उनको आम्दानीबाट मात्रै हातमुख जोर्न मुस्किल भयो। छोराछोरीलाई सरकारी विद्यालयमै पढाउन पनि सकस।
'सुरूमा त मलाई नै विदेश जाऊ भनेकी थिइन्। तर म रोगी। पायल्स भएर गह्रौं काम गर्नै नहुने। मेरो अवस्था बुझेपछि मेरी मनमायाले आफैं जान्छु भनिन्,' भक्कानिँदै श्यामबहादुरले सुनाए।
मनमायाले इराकमा घरेलु काममा राम्रो कमाइ हुने सुनेकी रहिछन्। त्यहाँ महिनामा ३०० डलर कमाइ हुने सुनेको बताएकी थिइन्।
'गाउँको चिनजानकै एकजना दिदी पनि जाने, उहाँसँगै भइन्छ, सजिलो हुन्छ भन्थिन्,' श्यामबहादुरले भने।
घरको अवस्था कठिन भए पनि उनले मनमायालाई नजाऊ भनेर सम्झाए। तर बाध्यताका अगाडि मनमाया अटेर भइदिइन्। उनी इराक जाने पक्का भयो।
श्यामबहादुरले ढक्क मुटु फुलाउँदै अन्तमा हुन्छ भने। त्यहाँ जान ५० हजार रूपैयाँ बुझाए पुग्ने भनेपछि उनले त्यो पनि बन्दोबस्त गरिदिए।
इराक जानेबारे मनमायाले परिवारका सबैलाई सुनाइन्।
'कस्तो हो इराक, मलाई त केही थाहा थिएन। कस्तो हो भनेर सोध्दा बुहारीले बुबा राम्रो छ भनिन्। राम्रोसँग बुझेर जाऊ भनेको थिएँ,' मनमायाका ससुराले बुहारी जानुअघिको कुराकानी सम्झिँदै भने।
मनमाया असोज ५ गते उडिन्। उनीसँगै गाउँकै एक जना साथी पनि उडेकी थिइन्।
उनीहरूलाई इराक पुर्याएर काममा लगाइदिन्छु भन्ने व्यक्ति उनकी साथीकै चिनजानका थिए। चिनजानकै मान्छे भएकाले उनीहरू ढुक्कले उडे।
इराक नेपालबाट वैदेशिक रोजगारीमा जान प्रतिबन्धित मुलुक हो। नेपालबाट इराक सिधा उडान पनि छैन। उनीहरूलाई दुबईको फर्जी भिसा बनाएर त्रिभुवन विमानस्थलबाट उडाइएको थियो।
उनीहरूलाई दुबईस्थित एक होटलमा १५ दिन राखियो। त्यसपछि पुर्याइयो इराकको राजधानी बगदाद। त्यहाँबाट कुन ठाउँ पुर्याइयो, मनमायालाई याद छैन। एउटा कार्यालयमा लगेर राखिएको उनले बताएकी थिइन्।
'म अफिस पुगेँ, राम्रो छ,' मनमायाले एक रात श्यामबहादुरलाई फोनमा भनेकी थिइन्। श्यामबहादुरलाई आश पलायो। उनी त्यो रात ढुक्कले निदाए।
फेरि अर्को पटक कुरा हुँदा मनमायालाई त्यो कार्यालयबाट कामका लागि एउटा घरमा पुर्याइएको थियो। त्यो घरले उनलाई काममा नलगाउने भएछ।
'प्रहरीको आँखा छल्दैछल्दै कता कताबाट लगेको धपेडी। मनमाया बिरामी थिइन्। भाषा पनि नबुझ्ने त्यो घरले काम नदिएर निकालिदिएछ,' श्यामबहादुरले सुनाए।
उनका अनुसार इराकमा काम लगाइदिने कार्यालयमा अर्की एक एजेन्ट नेपाली महिला छन्। ती महिलाले मनमायालाई फेरि अर्को घरमा काम गर्न भनेर पठाइन्। त्यो घरमा काम गर्न जाँदै गर्दा बाटैदेखि मनमाया घरमालिकबाट यौन शोषणमा परिन्।
'गाडीमा राखेर लगेछ। त्यहीँ गाडीमै कताकता शरीरमा हात पुर्याएर नराम्रो व्यवहार गरेछ,' श्यामबहादुरले भने।
घर पुर्याएर पनि धेरै यातना दिएको उनले बताए।
श्यामबहादुरलाई ठ्याक्कै मिति त याद छैन। तर एक दिन मनमायाले फोन गरिन्।
'साहुले नराम्रो व्यहार गर्छ। नमान्दा पेस्तोल देखाउँछ। यहाँबाट मलाई जसरी पनि निकाल्नुस्,' फोनमा आवाज आइरहेको थियो।
श्यामबहादुरको मुटुमा चिसो पस्यो। हातखुट्टा सल्याकसुलुक भए। केही बोल्न सकेनन्। फोन पनि यत्तिकै काटियो। त्यसपछि केही दिन मनमायासँग कुरा हुन सकेन। नम्बर डायल गरिरहे, फोन लागेन।
'फोन बिगारिदिएको रहेछ। साहुले पानीमा डुबाइदिएछ,' उनले भने, 'धेरै हारगुहार गरेपछि त्यहाँबाट एजेन्ट कार्यालय लगिदिएछ।'
कार्यालयले फेरि तेस्रो घरमा कामका लागि पठायो। उनले त्यहाँ पाँच दिन काम गरिन्। त्यो घरले पनि राम्रोसँग खान नदिई कुटपिट गरेको थियो । पानी पनि ट्वाइलेटको खानुपर्यो।
उनीसँगै गएकी साथी कहाँ कस्तो अवस्थामा छिन्, खबर छैन। श्यामबहादुरका अनुसार मनमायालाई अहिले एजेन्ट कार्यालयले बन्धक बनाएको छ। घर पुछपाछको काम लगाउँछ। तलब दिएको छैन। खान पनि अघाउन्जेल दिँदैन।
'फोन गर्नै दिँदैन। कत्ति दिनपछि आइतबार बल्ल बल्ल एकैछिन फोन गर्न दिएको थियो। म फसेँ, अब बाँचेर फर्किन सक्छु जस्तो लागेको छैन भनेर रोइरहेकी छन् मेरी श्रीमती। फर्काउन मुस्किल छ भन्छन्। के गर्ने होला,' श्यामबहादुरका आँखा भरिए।
एजेन्टसँग कुरा गर्दा फर्काउने हो भने पाँच लाख लाग्ने भनेको उनले बताए।
'कमाउँछ भनेर ऋणपान गरेर पठाएको पाँच लाख कहाँबाट ल्याउनू? सम्पतिका नाममा ओत लाग्ने एउटा छाप्रो मात्र छ, कसो गर्नु?,' उनले भने।
उनीहरूले मनमायालाई स्वदेश फिर्ताका लागि मानव बेचविखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन्। ब्युरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले इराक प्रतिबन्धित मुलुक भएकाले त्यहाँ समस्यामा परेकाहरूको उद्धार सहज नहुने बताए।
'हामीसँग उद्धारको संयन्त्र छ। तर इराकसँग औपचारिक रूपमै समन्वय गर्न सकिने अवस्था छैन। त्यहाँको प्रहरीसँग अनौपचारिक सम्बन्ध भएको अवस्थामा समन्वय गरेर उद्धार गर्न सकिएला,' उनले भने।
एजेन्टहरूलाई दबाब दिएर पनि समस्यामा परेकाहरूको उद्धार गर्दै आएको उनले बताए।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद- इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार नेपालबाट त्यहाँका एजेन्ट कम्पनीहरूले श्रमिक लैजान्छन्। र, एजेन्ट कम्पनीले नै रोजगारदातासम्म पुर्याउँछन्। श्रमिक पुर्याएबापत रोजगारदाताबाट पाँचदेखि ६ हजार डलर (करिब ८ लाख नेपाली रूपैयाँ) शुल्क एजेन्ट कम्पनीले लिन्छन्।
'धेरै सेटिङ मिलाएर ल्याइँदो रहेछ। सेटिङ मिलाउँदा एजेन्ट कम्पनीको पनि प्रतिश्रमिक तीन हजार ५०० डलरसम्म खर्च हुने रहेछ। अनि त्यो खर्च उठाएर नाफा राख्दा ठूलै पैसा लिँदा रहेछन्,' उनले सेतोपाटीसँग भने।
त्यसरी काम लगाउँदा कतिपय श्रमिकलाई रोजगारदाताले मासिक ३०० डलर तलब दिने पाइएको उनले बताए।
कतिपय रोजगारदाताले पैसामा किनेको भन्दै तलब नदिई काम लगाउने, कुटपिट गर्ने लगायत समस्या इराकमा पाइएको छ।
पछिल्लो समय ठूलो संख्यामा नेपाली श्रमिकहरू इराक पुगेर समस्या पर्ने क्रम देखिएको अध्यक्ष श्रेष्ठले बताए। त्यहाँ समस्यामा परेका कतिपय नेपालीलाई एनआरएनए- इराकले सहयोग गरेको पनि उनले बताए।
'कूटनीतिक पहलका लागि यहाँ सरकारको संयन्त्र छैन। हाम्रो पहुँच कुर्दिस्तानमा मात्रै छ। अन्य ठाउँमा समस्या परेको भए पठाउने एजेन्ट र यहाँको कम्पनी कुन हो भन्ने जानकारी पाए पहल गर्न सकिन्छ,' उनले भने।
श्रेष्ठका अनुसार अहिले इराकमा २० हजारभन्दा धेरै संख्यामा नेपालीहरू पुगिसकेका छन्। यहाँबाट अवैध प्रक्रियामा गए पनि अधिकांश नेपाली इराकमा वैधानिक हैसियतमा रहेर काम गरिरहेको उनले बताए।
'हामीले यहाँ वैधानिक हैसियतमा काम गरिरहेकालाई श्रम स्वीकृति दिनुपर्छ भनेर सरकारसँग आवाज उठाइरहेका छौं। नयाँ आउँदा कतिपय समस्या छन्। नयाँ खुलाउने कि नखुलाउने त त्यो सरकारको कुरा भयो। इराकसँग सरकारले यसमा समन्वय गर्न सक्छ,' उनले भने।
(समाचारमा उल्लिखित इराक पुगेकी महिला र उनका श्रीमानको नाम परिवर्तन गरिएको हो।)