रोजगार अनुमति प्रणाली (इपिएस) प्रणाली अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जान भाषा पास गरेका युवाहरूले इपिएस शाखा घेराउ गरेका छन्।
भाषा पास गरेको लामो समय भइसक्दा पनि कोरिया पठाउन ढिलाई भएको भन्दै युवाहरूले ग्वार्कोस्थित इपिएस शाखा घेराउ गरेका हुन्।
आफूहरूले भाषा पास गरेको दुई वर्ष बित्न लाग्दा पनि कोरिया जान नपाएको गुनासो युवाहरूको छ। धेरैजसो कृषि तथा पानीजहाज निर्माणका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा रहेकाहरू छन्।
दक्षिण कोरियाले सन् २००८ देखि इपिएस मार्फत अदक्ष कामदार लैजाँदै आएको छ।
कोरिया नेपाली युवाहरूको आकर्षक गन्तव्य मुलुक हो।
सन् २०२५ का लागि कोरियाले उत्पादनमूलक क्षेत्रतर्फ ३५ सय तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८ सय कोटा तोकेको छ। लगभग पाँच हजार कोटा तोकेकोमा एक लाखभन्दा धेरै युवाले आवेदन दिएका थिए।
इपिएस शाखाले रोस्टरमा रहेकाले छिटो कोरिया जान पाउँ भन्दै जुलुस, धर्ना तथा आन्दोलन जस्ता गतिविधि गर्दै आएकाले नकारात्मक असर पुगिरहेको जनाएको छ।
शाखाले कतिपय युवाहरूबाट गैरजिम्मेवार क्रियाकलापले इपिएसको दीगोपनलाई नकारात्मक असर परेको जनाएको हो।
कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया रोजगारीमा जाने सुनिश्चितता नहुने समेत शाखाले स्पष्ट पार्दै आएको छ। तर भाषा पास गरेपछि जतिसक्दो छिटो कोरिया जान पाउनुपर्ने माग युवाहरूले राखिरहेका छन्।