अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनले बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ लिएका हुन्।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले उनी अर्थमन्त्रालयको अर्थ सचिवमा सरूवा भएका थिए। यसअघि उपाध्याय अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा थिए।
उनले कर्णाली प्रदेशको अर्थ सचिव भएर एक वर्ष काम गरिसकेका छन्।
त्यस्तै, बागमती प्रदेशको प्रमुख सचिवका रूपमा पनि एक वर्ष बिताएका थिए।
उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिवको रूपमा चार महिना र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सात महिना सचिवको रूपमा कार्य गरिसकेका छन्।